logo
२०८१ बैशाख १७ सोमवार



ललितपुर महानगरपालिकाले दियो राहत

खुला |


ललितपुर महानगरपालिकाले दियो राहत


शिवा तामाङ

ललितपुर, पुस ९ गते । नेपाल सरकारको समेत संलग्नता रहेको कोरोना बीमाको भुक्तानी रोकिएका बेला ललितपुर महानगरपालिकाले भने कोरोनाबाट पीडितलाई तीन किसिमको राहत प्रदान गरेको छ । बीमा कम्पनीहरूले कोरोना बीमाको रकम भुक्तानी गर्न सकेका छैनन् ।

महानगरपालिकाले गत भदौसम्मका निवेदनका आधारमा मृतकका परिवार, कोरोना सङ्क्रमित भएर सघन उपचार कक्षमा उपचार गराएका तथा आइसोलेसनमा बसेका महानगरपालिकाका बासिन्दाका लागि राहत वितरण गरेको हो ।

महानगरपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार, सघन उपचार कक्षमा उपचार गराएकालाई ६० हजार र सङ्क्रमण भएर आइसोलेसनमा बसेकालाई ३० हजार रुपियाँ प्रदान गरेको छ ।
महानगरपालिकाका सदस्य सचिव हरिशचन्द्र लामिछानेले गत भदौ २ गतेसम्म प्राप्त विवरणअनुसार कोभिड–१९ बाट २६५ जनाको मृत्यु भएको, पचपन्न जनाले सघन उपचार गराएको र २०० जना आइसोलेसनमा उपचार गराएको तथ्याङ्क रहेको जानकारी दिनुभयो ।

स्थानीय सरकारले यसरी मृतकका नाममा राहत दिँदा धेरै जना भावुक बन्नुभयो । ललितपुर महानगरपालिका–९, लोँल टोल निवासी रविन महर्जनले कोरोनाका कारण बुबा बितेको नौ महिनापछि एक लाख २० हजार रुपियाँको राहत चेक लिन सही गर्दा उहाँ भावुक बन्नुभएको हो ।

“८२ वर्षीय बुबालाई १३ दिनसम्म अस्पताल राखे पनि बचाउन सकिएन,” महर्जनले बरखी बारिहनुभएकी आमा बेटीमाया महर्जन पनि साथै लिएर राहत लिन आउनुभएको महर्जनले भन्नुभयो । महानगरपालिकाले यसरी सम्झँदा राहत महसुस भए पनि बुबाको निधनले दुःखी नै बनाएको उल्लेख उहाँले गर्नुभयो । वडा २८ निवासी मुकुन्दराज महर्जनले पनि राहत बुझ्दै विपत्मा महानगरपालिकाले सम्झेकोमा कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले ६९ वर्षीया आमालाई कोरोनाकै कारण गुमाउनुपरेको थियो ।

महागनरपालिकाले यहाँका बासिन्दालाई विकास निर्माण मात्र होइन, कोरोनाबाट प्रभावित हुँदा पनि सम्झेर सहयोग गरेकोमा खुसी लागेको उहाँले बताउनुभयो । उहाँकी श्रीमती दुर्गालक्ष्मी महर्जन भने सङ्क्रमण भएर घरमै आइसोलेसनमा बस्नुपरेको थियो । महानगरपालिकाले उहाँलाई पनि तीस हजार रुपियाँको चेक दिएको थियो ।

महानगरपालिकाका सदस्य सचिव हरिशचन्द्र लामिछानेले महानगरपालिकाले कोरोनाबाट मृत्यु भएका, सङ्क्रमित भएर आइसोलेसनमा बसेको र अस्पतालमा सघन उपचार गर्नुपरेका व्यक्तिहरूको विवरण पठाउन सूचना जारी गरेर प्रभावितको तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो ।

करिब एक साताभित्र पूरा विवरण प्राप्त भएको प्रभावित परिवारलाई राहत दिइसक्ने योजनासहित छुट्टै डेस्क राखेर कोरोना राहत वितरण गरिएको जानकारी दिँदै सदस्य सचिव लामिछानेले राहत लिन बाँकीले महानगरपालिकामा सम्पर्क राखेर लिन सकिने बताउनुभयो ।

महानगरपालिकाका अधिकृत शान्ता पन्थले महानगरपालिकावासीको सहयोगका लागि डेस्कमार्फत सेवा दिइएको बताउनुभयो । महानगरपालिकाको १०५औँ स्थापना दिवसका दिन कोभिड–१९ बाट प्रभावित महानगरभित्र बसोबास गर्ने परिवारलाई नगर सहयोग गर्ने घोषणा गरेसँगै राहत वितरण पनि सुरु गरेको हो । भदौपछिका बारे भने थप निर्णय गरिने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?