logo
२०८१ बैशाख १७ सोमवार



पद्मसम्भवको तपोभूमिमा गुम्बा

खुला |


पद्मसम्भवको तपोभूमिमा गुम्बा


काठमाडौँ, माघ ९ गते । गुरु पद्मसम्भवले ध्यान गर्नुभएको ऐतिहासिक तपोभूमि काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर–८ टेकानपुरमा धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यले ‘उग्येन पेज्युङ डुब्देलिङ’ गुम्बा निर्माण भएको छ । करिब दुई हजार एक सय मिटर उचाइमा रहेको तेमाल क्षेत्र पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा स्थापित छ ।

धार्मिक पर्यटन तथा बौद्ध दर्शन, संस्कृतिको संरक्षणका लागि निर्माण गरिएको उक्त गुम्बाका भित्तामा बौद्ध दर्शन प्रवद्र्धनका लागि योगदान दिने धार्मिक गुरु र अन्य पात्रका साथै तामाङ पहिचानसँग जोडिएका ऐतिहासिक विषय वस्तुको पनि अध्ययन गर्न पाइनेछ ।
स्थानीय च्याम्पु पाख्रिन र गुञ्जमान दोङले दुई रोपनी १५ आना जग्गा दान दिएर गत वर्ष २०७७ पुस २० देखि निर्माण कार्य सुरु भएको गुम्बाको मुख्य भवन निर्माण सकिएको हो । उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतमान लामा दोङका अनुसार गुम्बामा राखिने मूर्ति बनाउन भुटानबाट टोली नेपाल आइपुगेको छ । मूर्तिकारहरूले आइतबारदेखि बौद्ध धर्म, दर्शन संस्कृतिसँग सम्बन्धित मूर्ति बनाउने कार्य थाल्ने उहाँले बताउनुभयो ।

अध्यक्ष दोङले भन्नुभयो, “करिब ६ महिनामा गुम्बामा राखिने बौद्ध दर्शनका मुख्य देवता, द्विग्दज गुरु, तपस्वीलगायतका धार्मिक पात्रहरू र तामाङ राज्यका अन्तिम राजा रिन्जिन दोर्जेसम्बन्धी इतिहास कोरिने छन् । ”
त्यहाँ आउने श्रद्धालु तथा धार्मिक पर्यटकले सो क्षेत्रमा आएर पूजा प्रार्थना, दान, पुण्यका साथै इतिहासको समेत अध्ययन गर्न सकून् भन्ने लक्ष्यले गुम्बामा काम चलिरहेको समितिले जनाएको छ ।

अनुमानित लागत करिब दुई करोड ५० लाख रुपियाँ रहेकोमा अहिलेसम्म भएको कामका आधारमा करिब दुई करोड रुपियाँसम्ममा सबै काम सकिने अनुमान भएको अध्यक्ष दोङको भनाइ छ । गुम्बाको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्यले एक वर्ष अगाडिदेखि काम सुरु भएकोमा गुम्बामा मूर्ति, बुट्टा कोर्ने, पर्खाल बाटो, पानी, शौचालयलगायतको व्यवस्थापनको काम सुरु भएको छ । गुम्बा निर्माण गरिने स्थानबाट विश्वकै सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, गौरीशङ्कर, लाङटाङ, लाङ्ठाङ्री चुचुरा, दोर्जेलक्पा र उत्तर पश्चिमतर्फका हिमशिखरहरू गणेश हिमाल, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छे्रलगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

बौद्धमार्गी तामाङ जातिको बसोबास रहेको उक्त क्षेत्रमा निर्माण गरिने उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माणस्थल काठमाडौँ बर्दिबास जोड्ने बीपी राजमार्गको माम्ती नेपालथोकबाट पाँच किलोमिटरको दूरीमा रहेको अध्यक्ष दोङले बताउनुभयो ।
राजधानीको नजिकको गन्तव्य भएकाले यस गुम्बाले बौद्ध धर्मप्रति आस्था राख्ने भक्तजनका साथै आन्तरिक तथा बाह्य पर्यटकको ध्यानाकर्षण गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पूजा, प्रार्थना मात्र गर्ने स्थलका रूपमा भन्दा पनि गुम्बालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै स्थानीयको जीवनस्तर उकास्न सीपमूलक विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समितिले जनाएको छ । साथै स्थानीय उत्पादन बिक्री गर्ने, परम्परागत उपचार पद्धति ‘आम्ची’ लाई पनि प्रवद्र्धन गर्दै औषधिजन्य स्थानीय जडीबुटीको खेती तथा सदुपयोगको वातावरण तयार गर्ने पनि समितिको लक्ष्य छ ।

साथै ५ हजारभन्दा बढी सहयोग गर्नुहुने व्यक्तित्वहरूको नाम गुम्बाको शिलापत्रमा राखिनेछ । स्थानीय बासिन्दा कुमार दोङ र सिंहमान लामाको पहिलो चन्दा सहयोगबाट गुम्बा बनाउने काम सुरु गरिएकोमा हालसम्म चार सय श्रद्धालु तथा दाताहरूबाट करिब एक करोड रुपियाँभन्दा बढी चन्दा सङ्कलन भएको छ । बाँकी कामका लागि पनि सहयोग निरन्तर आइरहेकोमा यसको अभिलेख व्यवस्थित र पारदर्शी ढङ्गले राखिएको समितिले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?