logo
२०८१ बैशाख १७ सोमवार



कोरोनाका कारण बालबालिका अनाथ

खुला |


कोरोनाका कारण बालबालिका अनाथ


शिवा तामाङ

काठमाडौँ, पुस २३ गते । कोभिड–१९ का कारण अभिभावक तथा संरक्षक गुमाएका २३५ जना बालबालिकाको तथ्याङ्क सङ्कलन भएको छ ।
विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट अभिभावक तथा संरक्षक गुमाएका बालबालिकालाई सरकारले संरक्षण, शिक्षालगायत आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्यले सातै प्रदेशमा प्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद्मार्फत देशभरका स्थानीय तहलाई महामारीबाट प्रभावित परिवारमा आश्रित बालबालिका संरक्षण र बालअधिकारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले तथ्याङ्क पठाउन आह्वानन गरेको थियो ।
सातै प्रदेशका स्थानीय तहले राष्ट्रिय बालअधिकार परिषद्मा मङ्सिर अन्तिमसम्म पठाएको तथ्याङ्कअनुसार १४३ जना बालबालिकाले बुबा गुमाएका छन् । आमा गुमाएका ३१, आमा/बुबा दुवै गुमाएका १८ र संरक्षक हजुरबुबा गुमाएका चार जना बालबालिका रहेको परिषद्ले जनाएको छ ।
यसैगरी, परिषद्मा स्थानीय तहले पठाएको तथ्याङ्कमध्ये आमा, बुबा वा संरक्षकमध्ये कसको मृत्यु भएको भन्ने स्पष्ट नभएको ३९ जना बालबालिकाको विवरण पनि प्राप्त भएको छ ।

सो विवरणमध्ये सबैभन्दा धेरै सुदूूरपश्चिम प्रदेश, बझाङ जिल्लाको थलारा गाउँपालिकाका २९ र बागमती प्रदेश, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले उपलब्ध गराएको १० गरी ३९ जना बालबालिकाको तथ्याङ्क अपुष्ट प्राप्त भएको हो । परिषद्का कार्यक्रम सहायक लोचन रेग्मीले ३९ जना बालबालिकाको हकमा स्थानीय तहलाई कोरोनाका कारण निधन भएका अभिभावकको स्थिति स्पष्ट पार्न आग्रह गरिएको बताउनुभयो । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार कोभिड–१९ महामारीबाट अभिभावक
गुमाएका र संरक्षण गर्ने व्यक्ति नभएका बालबालिकाको संरक्षण सरकारले नै गर्ने छ ।

दुईमध्ये एक जना अभिभावक गुमाएका बालबालिकालाई नीति तथा योजना बनाएर उनीहरूको शिक्षा र पालनपोषणका लागि आवश्यक सहयोग गर्ने लक्ष्यले बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको बताउनुभयो ।
हालसम्म प्राप्त तथ्याङ्कअनुसार बझाङ जिल्ला, थलारा गाउँपालिकाबाट सबैभन्दा धेरै २९ जना एकै स्थानीय तहबाट, प्रदेशगत रूपमा पनि सुदूूरपश्चिम र प्रदेश २ बाट बढी सङ्ख्यामा बालबालिकाले अभिभावक गुमाएको देखिन्छ । त्यसैगरी, बालबालिकाको आमा÷बुबा दुवै जना गुमाएको
तथ्याङ्क पनि सुदूूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा गाउँपालिकाका बढी छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?