अशोक अधिकारी
काठमाडौँ, पुस १६ गते । नेपालको राजनीतिक ‘कोर्स’ बदल्ने ऐतिहासिक दिन थियो, वि.सं. २०३३ पुस १६ गते । त्यस दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किनुभएको थियो ।
नेपाली काँग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । निर्वासनमा रहेका बेला दक्षिण एसियाको बदलिँदो राजनीतिक घटनाक्रमका कारण देशको राष्ट्रियतामाथि खतरा देखेपछि उहाँ स्वदेश फर्किनुभएको थियो । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेताहरूले अब उक्त नीतिअनुसार देश विकास र समृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियता र लोकतन्त्रका लागि ज्यानको बाजी लगाउनुभएका बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्यपूर्ण रहेको प्रभावशाली नेताहरूले बताउनुभयो । काँग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानको रक्षा र लोकतन्त्रलाई सुदृढ बनाउनका लागि बीपीले देखाउनुभएको बाटोबाटै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०३३ सालतिर दक्षिण एसियामा बङ्गलादेशको उदय, सिक्किमको भारतमा विलयजस्ता राजनीतिक सङ्कटबाट बीपीले नेपाली राष्ट्रियतामाथि खतरा देखेर एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो ।”
उहाँका अनुसार बीपीको त्यही कदमले २०३६ सालमा जनमत सङ्ग्रह भएको थियो । उहाँले भन्नुभयो, “मेरो जीवनभन्दा नेपाल राष्ट्र ठूलो हो भनेर बीपी स्वदेश फर्किनुभयो । राष्ट्रियताका सवालमा हामी राजासँग मिल्छौँ तर प्रजातन्त्रले मात्रै राष्ट्रियता सुदृढ हुनसक्छ भन्ने प्रस्ट धारणा थियो । बीपी स्वदेश फर्किएपछि जनमत सङ्ग्रह र २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएको होे ।”
सहमहामन्त्री मन्सुरले २०४६ सालमा देशका प्रमुख राजनीतिक दलहरू एकजुट भएर प्रजातन्त्रका लागि लडेको स्मरण गर्दै यो कार्यगत एकताको आधार तयार गर्ने काम बीपीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बीपीलाई थाहा थियो–राष्ट्रियताका पक्षमा सबै दल एक छन् । लोकतन्त्र बलियो भयो भने राष्ट्रियता बलियो हुन्छ । त्यही नीतिमा अहिले पनि काँग्रेस अघि बढ्दै छ । र, सबै राजनीतिक दललाई मिलाएर लाने सवालमा बीपीको मेलमिलाप नीति कहीँ न कहीँ कार्यान्वयन भइरहेको छ ।”
वर्षौंदेखिको राजनीतिक लडाइँ अब सकिएको बताउँदै मन्सुरले अब देशको मालिक जनता भएको र अब समृद्धिको यात्रा प्रारम्भ भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बीपीकै मेलमिलाप नीतिअनुसार देशका सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्नुभएको मन्सुरको भनाइ छ । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि सभापतिले गठबन्धन सरकारको नेतृत्व गर्नुभएको छ । सबैलाई मिलाएर अघि बढ्दै हुनुहुन्छ ।”
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि सबै राजनीतिक दलबीच मेलमिलाप आवश्यक रहेको बताउनुभयो । बीपीको मेलमिलाप नीति र सबै राजनीतिक दलबीच सहकार्य गरेर मात्रै राजनीति आन्दोलन सफल हुनसक्ने सचेतताकै कारण २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएको उहाँले बताउनुभयो । उहाँले अब देश निर्माणको काममा सबै दलबीच सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “समृद्धि र रूपान्तरणको काम बाँकी छ । यसका लागि दलहरू एक्लाएक्लै गएर हुँदैन । सहकार्य र राष्ट्रिय एकतामार्फत जनतालाई खुसी र सुखी बनाउने दिशामा अघि बढ्नैपर्छ ।”
व्यवस्था परिवर्तनपछि साझा एजेन्डाका साथ अघि नबढेकै कारण सुशासन कायम गर्न नसकेको उपाध्यक्ष शाक्यको धारणा छ । उहाँले भन्नुभयो, “त्यसैले बीपीको मेलमिलाप नीतिअनुसार सबै दल मिलेर आर्थिक, सामाजिक रूपान्तरणका लागि अघि बढ्नुपर्छ । संविधानले व्यवस्था गरेअनुसार समाजवादको लक्ष्य प्राप्त गर्नका लागि पनि सबै दलबीच सहकार्य जरुरी छ ।”
काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले बीपीको त्याग र बलिदानलाई फाइदा–बेफाइदाका रूपमा लिन नहुने बताउनुभयो । बीपीसँगै कयौँ आन्दोलनमा सहभागी हुनुभएका उहाँले अलि फरक विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बीपीको मेलमिलाप नीतिको औचित्य अहिले पनि छ तर कतिपयले फाइदा र बेफाइदामा बीपीको नीतिलाई प्रयोग गरेका छन् । त्यसो हुनु हुँदैन । कतिपय नेताले पार्टी छोडेका छन् । अब यस्तो नहोस् ।”
केन्द्रीय सदस्य रञ्जितले तत्कालीन परिवेशमा बीपी निर्वासनमा जान नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “बीपी निर्वासनमा नगएको भए कार्यकर्ताले यति धेरै दुःख पाउने थिएनन् । किसुनजी, गणेशमानजी जस्तै देशमै बसेर मेलमिलापको नीति लिएर अघि बढ्नुपथ्र्यो ।”