logo
२०८० चैत्र १६ शुक्रवार



अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून

स्वास्थ्य |
खुला |


अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून


काठमाडौँ, माघ १८ गते । चिकित्सकहरूले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएको जनाएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या गत वर्षको भन्दा कम छ ।

राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पतालसहित अधिकांश कोभिड अस्पतालमा बिरामीको चाप सामान्य छ । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी भूपेन्द्रकुमार बस्नेतका अनुसार अघिल्लो लहरभन्दा यस पटक सङ्क्रमितको सङ्ख्या बढी भए पनि अस्पतालमा भर्ना हुनेको सङ्ख्या न्यून छ । उहाँले भन्नुभयो, “अघिल्लो पटक देशभरि दैनिक आठ हजारका दरले सङ्क्रमित थपिँदा अस्पताल भरिभराउ थिए । बिरामीको उपचार गर्न निकै ठूलो चुनौती झेल्नुपरेको थियो तर यस पटक स्वास्थ्य सल्लाह लिने र फर्किने बढी छन् ।” वीर अस्पतालमा गत मङ्गलबारसम्ममा १६७ जना सङ्क्रमित भर्ना भएका छन् ।

जटिल रोगी समस्यामा
पाटन अस्पतालका स्वास्थ्य निर्देशक डा. युवराज शर्माले कोभिड–१९ को नयाँ लहरबाट दीर्घरोगी र अरू नै स्वास्थ्य समस्या भएकाहरू प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्याअनुसार अस्पतालमा भर्ना हुनेको सङ्ख्या कम छ । जति पनि सङ्क्रमित हुनुहुन्छ, सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएको छ । अन्य रोगका बिरामीलाई अलि साह्रो पारेको छ ।”

डा. शर्माका अनुसार मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौला र फोक्सोको समस्या भएका बिरामीहरू कोभिड–१९ को सङ्क्रमणपछि अस्पताल आउने गरेका छन् । उहाँले भन्नुभयो, “कोभिड–१९ को खोप नलगाएका र ज्येष्ठ नागरिकहरू पनि भर्ना हुन आउनुभएको छ । डेल्टा भेरियन्टमा अक्सिजनको अभाव देशभरि नै भएको थियो । अहिले अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या थोरै छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोभिड–१९ नयाँ लहर उत्कर्षतर्फ उन्मुख भएको र अब क्रमशः कम हुने अपेक्षा गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँमा अहिले हरेक घरमा सङ्क्रमित हुनुहुन्छ । सबै सङ्क्रमित परीक्षण गर्न आउनुहुन्न । समुदायमा सङ्क्रमण व्यापक छ तर यस पटक कोभिड–१९ सङ्क्रमणको प्रभाव कम भएकै कारण भर्ना हुनुभन्दा अधिकांशले घरमै स्वास्थ्य लाभ गरिरहनुभएको छ ।”

सरुवा रोग विशेषज्ञ डा. पुनले डेल्टा भेरियन्टभन्दा ओमिक्रोनको प्रभाव कम देखिएको बताउँदै कोरोना भाइरसविरुद्धको खोप तथा नयाँ लहरको प्रभाव कमजोर भएकाले धेरै सङ्क्रमितलाई गम्भीर समस्या नआएको हुनसक्ने उल्लेख गर्नुभयो ।
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकलपर्सन डा. निरज बमले कोभिड–१९ को सङ्क्रमण दर उच्च भए पनि भर्ना हुनेको सङ्ख्या न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षण अस्पतालमा छ जना भेन्टिलेटरमा, ४८ जना आईसीयूमा र ९० जना जनरल वार्डमा उपचाररत छन् । दैनिक २० देखि ३० जना सोधपुछका लागि आउनुहुन्छ, १० देखि १५ जना भर्ना हुनुहुन्छ । अहिलेको लहर जित्न निकै सहज जस्तो देखिएको छ ।”

उहाँले सामान्य स्वास्थ्य अवस्था भएका सङ्क्रमितको सङ्ख्या न्यून रहेको बताउनुभयो । उहाँका अनुसार दीर्घरोगी, मिर्गौला, कलेजो र क्यान्सरपीडितहरू कोभिड–१९ को सङ्क्रमण भएपछि भर्ना हुन आउने गरेका छन् । उहाँले भन्नुभयो, “डायलासिस गर्ने र किमो दिइरहेका बिरामीलाई भर्ना गरेर उपचार गर्नु परिरहेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?