logo
२०८१ बैशाख १३ बिहीवार



काँग्रेसका भ्रातृ सङ्गठन प्रभावकारी बनाइँदै

राष्ट्रिय |


काँग्रेसका भ्रातृ सङ्गठन प्रभावकारी बनाइँदै


काठमाडौँ, फागुन २२ गते । नेपाली काँग्रेसले पार्टीका भ्रातृ सङ्गठनलाई क्रियाशील बनाउन गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशन गर्ने तथा नेतृत्व रिक्त रहेका भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्नका लागि छलफल गरिरहनुभएको छ ।काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पार्टी सभापति देउवाले स्थानीय तहको निर्वाचनअघि केही भ्रातृ सङ्गठनको महाधिवेशन गर्ने र नेतृत्व रिक्त रहेका भ्रातृ सङ्गठनको तदर्थ समिति गठन गर्ने गरी परामर्श गरिरहनुभएको छ ।
भ्रातृ सङ्गठनलाई पुनर्जीवन दिनका लागि काँग्रेसभित्र आन्तरिक छलफल तीव्र पारिएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा आन्तरिक परामर्श
गरिरहनुभएको छ ।

काँग्रेसका नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल ठाकुर समाज, नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक सङ्घको महाधिवेशन नहुँदा नेतृत्वको निर्माण प्रक्रिया रोकिएको छ । काँग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले भ्रातृ सङ्स्थालाई प्रभावकारी बनाउने विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको बताउनुभयो ।

भुसालले भ्रातृ सङ्गठनलाई प्रभावकारी बनाएर विचार र सङ्गठनको माध्यमबाट जनतामाझ जाने र निर्वाचनमा भ्रातृ सङ्गठनलाई सशक्त रूपमा परिचालन गर्ने रणनीति बनाइएको बताउनुभयो । यसअघि नै काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको विभिन्न तहको विभिन्न पदमा निर्वाचित र मनोनीत भ्रातृ र शुभेच्छुक संस्थाका सभापति, पदाधिकारी या सदस्य पद स्वतः रिक्त भएको हुँदा ती पदमा पदपूर्ति गर्ने निर्णय गरेको छ ।

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ । नेपाल तरुण दल अध्यक्ष जितजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतार केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाल दलित सङ्घ तदर्थ समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । संयोजक मीनबहादुर विश्वकर्मा (मनोनीत), तदर्थ समिति महासचिव लक्ष्मी परियार र कोषाध्यक्ष हरिशरण नेपाली काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विधानमा उल्लिखित उमेर हदको व्यवस्थाअनुरूप गठन गर्ने निर्णय गरिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान सङ्घ, नेपाल सांस्कृतिक सङ्घ र नेपाल प्रजातन्त्र सेनानी सङ्घको प्रस्तावित विधान बैठकमा प्राप्त सुझाव केन्द्रीय कार्यालयले समाहित गर्नेगरी स्वीकृत गरेको छ ।नेपाल दलित सङ्घका सबै जिल्ला अधिवेशन सम्पन्न भएको र महाधिवेशनको तयारीमा रहेकाले चैत ७, ८ र ९ गते महाधिवेशन सम्पन्न गर्नेगरी तयारी भइरहेको छ । सङ्घको महाधिवेशन आयोजक समितिका संयोजक मीनबहादुर विश्वकर्माले महाधिवेशन तयारी भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?