logo
२०८१ जेष्ठ ५ शनिवार



काँग्रेसलाई जनतासँग जोड्ने अठोट

मुख्य समाचार |


काँग्रेसलाई जनतासँग जोड्ने अठोट


काठमाडौँ, पुस २९ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेत्रीहरूले पार्टी सङ्गठनलाई जनतासँग जोड्ने अठोट व्यक्त गर्नुभएको छ । काँग्रेसमा ३३ प्रतिशत महिला सहभागिता भएको र अब नेपालीको भावना प्रतिविम्बित हुने गरी सङ्गठन निर्माण गर्ने लक्ष्य महिला नेत्रीहरूको छ ।

काँग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादवले १४औँ महाधिवेशनले पार्टीको संरचनामा सन्तुलन प्रदान गरेको बताउनुभयो । गोरखापत्रसँग कुराकानी गर्दै पूर्वउपसभामुख यादवले भन्नुभयो, “उमेर, जातजाति, भूूगोलसहित सबै क्षेत्रलाई समानुपातिक र समावेशी पद्धतिअनुसार समेटिएको छ । बहुुभाषिक, बहुधार्मिक मुलुकमा विविधतालाई समेट्ने पार्टी काँग्रेस नै हो भन्ने कुरा स्थापित भयो ।” उहाँले समावेशी केन्द्रीय कार्यसमिति हुनुले जनतामा आशा सञ्चार गरेकाले अब जनताका चासोलाई सम्बोधन गर्ने गरी काँग्रेसले कार्यक्रम निर्माण गर्ने बताउनुभयो ।

नेत्री यादवले भन्नुभयो, “काँग्रेस नेतृत्वसँग जनताको आशा र भरोसा जोडिएको छ । समाज र जनतासँग काँग्रेसलाई जोड्नुपर्छ । जनताका हरेक मागको सम्बोधन गर्नु अनिवार्य छ ।” उहाँले आधारभूत तहका नागरिकको जीवनसँग जोडिएका सवालहरू कति कार्यान्वयन भए र के–के बाँकी छन् भन्ने विषयमा प्रस्ट नीति बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकका एक–एक माग सम्बोधन गर्न अब समयावधि तोक्नुपर्छ । नागरिकलाई सचेत गराउने र जनचाहना पूरा गर्ने दोहोरो दायित्व र जिम्मेवारी आएको छ । ” प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विषम् परिवेशमा सरकारको नेतृत्व गरेकाले सबै राजनीतिक दललाई साथमा लिएर संविधानको स्थायित्व र सङ्घीयता कार्यान्वयनको मार्गचित्र कोर्न उहाँ सफल हुने नेत्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “सभापति देउवासँग लामो राजनीतिक अनुभव छ । व्यावहारिक पक्ष सबल भएकाले पनि उहाँले सबै राजनीतिक दलको साथ प्राप्त गर्नुभएको हो । ” संविधान र सङ्घीयता कार्यान्वयन गर्ने बेलामा प्रधानमन्त्री देउवालाई ऐतिहासिक अवसर प्राप्त भएकाले अब समृद्धिको बाटोमा देशलाई अघि बढाउने दायित्व वहन गर्नुपर्ने भनाइ नेत्री यादवको छ ।

परीक्षाको घडी सुरु
यस्तै सहमहामन्त्री डिना महालक्ष्मी उपाध्यायले अनुभवी नेतृत्वका रूपमा सभापति देउवाको निरन्तरता र पदाधिकारीमा युवाको प्रतिनिधित्वले काँग्रेसको परीक्षाको घडी सुरु भएको बताउनुभयो । २०७४ को निर्वाचनमा पराजित काँग्रेसले शक्तिमा फर्किने अवसरका रूपमा नयाँ नेतृत्वलाई प्रयोग गर्ने सामथ्र्य राख्नु अनिवार्य भएको धारणा उहाँको छ । उहाँले काँग्रेसमा रूपान्तरण र पुस्तान्तरण भइसकेको बताउँदै महाधिवेशनले साङ्गठनिक संरचना सशक्त बनाउने प्रक्रिया सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै वर्ग र क्षेत्र समेटेर चुनावमा गयौँ, पार्टीलाई समावेशी बनायौँ । पुराना र पार्टीमा सङ्घर्ष गरेर आएका नेतादेखि युवाको प्रतिनिधित्व गर्नेहरूसम्म निर्वाचित हुनुभयो । यसले काँग्रेसको नेतृत्वमा अब नवीन राष्ट्र निर्माणको बाटो खुलेको छ । ”

निर्णायक भूमिकामा युवा नेताहरूमा स्थापित गर्ने सन्देश महाधिवेशनले दिएको भनाइ उहाँको छ । उहाँले भन्नुभयो, “सबैको अस्तित्व र पहिचानलाई सम्मान गर्ने पार्टीका रूपमा हामी स्थापित भयौँ । सबैको अपनत्व हुने गरी देश र जनताका लागि काम गर्न योजनाबद्ध रूपमा अघि बढ्छौँ । ”
उहाँले भन्नुभयो, “सभापतिका लागि दोस्रो र अन्तिम कार्यकाल हो यो । उहाँले अघिल्लो निर्वाचनमा पार्टी हार्दा काँग्रेसलाई पहिलो पार्टी बनाएर विश्राम लिने बताउनुभएको थियो । त्यसमा हामी सारथि बन्नेछौँ । ”

समृद्धिको यात्रा तय गर्ने दायित्व
यसैगरी काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियारले अब पार्टी नेतृत्वमा ‘देखिने परिवर्तन’ जनतालाई अनुभूति गराउन सक्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र जीवन्त राख्न, दिगो शान्तिका पक्षमा काम गर्न र नागरिकको जीवनमा जोडिने काँग्रेस बनाउने सन्देश महाधिवेशनले दिएको छ । जनतालाई पार्टीमा जोड्दै समृद्धिको यात्रा तय गर्ने दायित्व हामीमाथि छ । ”

काँग्रेसको वर्तमान नेतृत्व लोकतन्त्र, संविधान र सङ्घीयता कार्यान्वयनका पक्षमा दृढ रहेको बताउँदै नेत्री परियारले अब समृद्ध देश बनाउने सङ्कल्प गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेस उभिएकै कारण सभापति देउवाले बहुमत नहुँदा पनि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको हो । अब बहुमत प्राप्तितर्फ हामी अग्रसर छौँ । ”

नयाँ अध्याय थालनी
यसैगरी काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले पार्टीमा काँग्रेसको संरचनागत उपस्थिति असाध्यै राम्रो भएको बताउनुभयो । संविधानले परिकल्पना गरेअनुरूपको समावेशी प्रतिनिधित्व र युवा पुस्ताको उपस्थितिले संरचनागत सुधारको नयाँ अध्याय थालनी भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यो नेतृत्व तयार गर्ने अवसर हो । राष्ट्रिय राजनीतिमा बहसहरू गर्ने र जनताको केन्द्रबिन्दु काँग्रेसलाई बनाउने परिवेश तयार भएको छ । ” नागरिकका एजेन्डालाई प्राथमिकतामा राखेर संविधान र लोकतन्त्रको भावनाअनुसारको थप जिम्मेवारी काँग्रेसले पाएको उहाँले बताउनुभयो ।
भुसालले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यतामा अघि बढ्दै कूटनीतिक सम्बन्धलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने, देशका आवश्यकताहरू पूरा गर्न विश्वमञ्चमा बहस चलाउने र सबै पार्टीलाई एकताबद्ध गराएर अघि बढ्ने चुनौती हामीसामु छ । ”

वैचारिक रूपमा सुस्पष्ट काँग्रेस निर्माण गरेर तमाम चुनौतीलाई अवसरमा बदल्ने अठोट व्यक्त गर्दै भुसालले विचार र सङ्गठनको माध्यमबाट जनताका बीचमा गई पार्टीलाई बलियो बनाउन नवीनतम योजना ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश र केन्द्रको निर्वाचनमा पहिलो दल बनाउने अवसर काँग्रेस नेतृत्वलाई छ । सबै तप्का समेटेर, एकजुट बनाएर नेतृत्वको पहिचान स्थापित गर्ने अवसर हो यो । हाम्रो पार्टी त्यस दिशामा अग्रसर छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?