logo
२०८१ जेष्ठ ६ आईतवार



समाजमा झाँगिदो नकारात्मक प्रवृत्ति

विचार/दृष्टिकोण |




पुष्करराज प्रसाई
आजकल नेपाली समाजमा नकारात्मक प्रवृत्ति झाँगिदै गएकोे छ । अरूले गरेको राम्रो रचनात्मक कार्यलाई नदेख्ने र अरूप्रति शुभेच्छा पनि नचाहने, उल्टै भ्रम सिर्जना गर्दै हिँड्ने प्रवृत्तिले समाज सङ्क्रमित भएको छ । यस्ता प्रवृत्तिलाई शकुुुुनी–प्रवृत्ति भनिन्छ । जसले समाजमा शान्ति र विकासभन्दा अन्तरकलह वृद्धि गर्छ र परिणामतः विकासको गति अवरुद्ध हुन पुग्छ ।
राज्यचरित्र पनि समयमै राष्ट्रिय मुद्दाहरूमा गम्भीर भई छलफल नगर्ने अनि समयले नेटो काट्न लाग्दा महŒवपूर्ण निर्णय गर्ने परम्परा हटेको छैन । सामाजिक सद्भाव र सहिष्णुता भन्ने कतै एकादेशको कथा नबनून् । संवेदनशीलताको सट्टा क्रूरतातर्फ समाज उन्मुख हुँदै गएको विभिन्न आपराधिक कुकर्मले देखाउँछन् ।
हाम्रो समाज हिजोको समाज हो, जहाँ ठूला अपेक्षा र महŒवाकाङ्क्षाभन्दा पनि सरल, सौम्य, इमानदार, सकारात्मक, जीवनशैली थियो । जुन संस्कार, शैली नै सामाजिक एकताको मुख्य आधार रहिआएको छ । आज झाँगिदै गएको नकारात्मक प्रवृत्तिले त्यो सामाजिक एकताको आधार खल्बलिएको छ ।
हामीले समृद्धि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशिलता भन्ने नाराको साथ ४१आँै सामाजिक सेवा दिवस पनि मनायौँ । तर, हाम्रा सङ्घ र प्रदेशबीच अधिकार खोसाखोस, नागरिक र सरकारबीच भनाभन छ भने स्थानीय जनप्रतिनिधिहरूद्वारा स्थानीय तहबाट रूपान्तरित स्थानीय सरकारको अनुभूति जनतामा पर्न सकेको छैन । निजी क्षेत्र प्रक्रियागत झन्झट र कानुनी अस्पष्टताका कारण देखाउँदै जनतालाई सेवा दिनबाट पन्छिरहेको छ । गैरसरकारी संस्थाहरू पनि सेवाभन्दा आफ्नै सुख–सुविधामा रमाएका देखिन्छन् । सामाजिक मूल्य–मान्यताहरू पनि स्खलित हुन थालेका पाइन्छन् । यसको ज्वलन्त उदाहरण स्वजीवन नै जोखिममा राखेर जनसेवामा खटिरहेका डाक्टर, नर्स, स्वास्थ्यकर्मीउपर छिमेकीहरूबाट भएको अमानवीय, अमर्यादित व्यवहार र सङ्क्रमित बिरामीउपर आफन्त छिमेकीजनबाट भएको अवहेलना, अमर्यादित व्यवहार हुन् । आधुनिक युगमा प्रवेश गरे पनि मानवीयता हराउनुहँुदैनथ्यो । यसरी समाजमा मानवीयता हराउँदै गएकोप्रति आत्मसमीक्षा गर्न कोही चाहँदैनन् ।
नागरिक समाज अनि सरकार पनि आ–आफ्ना ठाउँमा ठीक, अरूलाई चाहिँ बेठिक देखाउनमै व्यस्त छन् । संविधानको संरक्षण र पालन गर्ने शपथ खाएका व्यक्ति नै आफूमाथि संविधानले निर्दिष्ट गरेको दायित्वप्रति बेखबरजस्तै देखिन्छन् । संविधानले आगामी अर्थतन्त्रको कार्यदिशा समाजवादउन्मुख भनेको छ । आगामी कार्यभार समाजवादका आधारशिला तयार पार्नु हो भन्ने स्पष्ट छ । तर, कस्तो समाजवाद हो ? सोबारे नै स्पष्ट भइसकेका छैनौँ ।
अन्तर्राष्ट्रिय महासन्धिहरूमा हस्ताक्षर गर्ने, विश्वव्यापी एजेन्डाहरू स्वीकार गर्ने तर अक्षरशः पालना नगर्ने शैली यथावत् रह्यो ।
दिगो विकासका लक्ष्यहरूलाई स्वीकार गरी राष्ट्रिय योजना आयोगले केही वर्षअगाडि एक रिपोर्ट प्रकाशन ग¥यो । सोअनुरूपका योजना तर्जुमालाई प्राथमिकता दिनेगरी स्थानीय तहका जनप्रतिनिधि कर्मचारीलाई योजना बनाउन लगाउने र सोबारे जनतालाई सुसूचित गराउन बहस, छलफल, अन्तक्र्रिया चलाउनु आवश्यक थियो र अझै पनि छ । जसले २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यमा सघाउ पुग्ने थियो ।
हाम्रो उक्ति छ– जस्तो अन्न त्यस्तै मन, जस्तो मन त्यस्तै तन । हो, हाम्रो विचार जस्तो बन्छ, त्यस्तै कार्य हुन्छ । कुनै पनि अवस्थाप्रति धेरै दुःखी या चिन्तित नभई, त्यसलाई सहज बनाएर मनमा लिनु सकारात्मक सोच हो । सकारात्मक सोचको प्रतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ । त्यसैले राग, द्वेष, रिस, घृणा र चिन्ता त्यागेर सबैप्रति सद्भाव राख्दै समाज विकासको गतिलाई अगाडि बढाउन हरेक व्यक्ति, समूह, राज्यशक्ति लाग्नुपर्छ । परिवर्तनका संवाहक नकारात्मक सोच, प्रवृत्तिबाट ग्रसित हुने होइन, सिर्जनशील,
सकारात्मक हुनुपर्छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?