logo
२०८१ मंसिर ८ शनिवार



विज्ञानमा महिला पहुँच

विचार/दृष्टिकोण |




पुष्करराज प्रसाईं

अन्तर्राष्ट्रिय जगत्ले हरेक क्षेत्रमा महिला र पुरुषको समान पहुँच बनाउनका लागि वा लैङ्गिक समानताका लागि विभिन्न दिवस र अभियानहरू चलाउँदै आइरहेको छ । जसमध्ये फेब्रुअरी ११ तारिखमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो । आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवर्तनमा महिलाहरूको योगदानको कदर गर्ने विशेष दिनको रूपमा यो दिनलाई लिइन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा विकासका लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महìवपूर्ण छन् । जैविक रूपमा महिला र पुरुष भिन्न छन् । शारीरिक संरचनामा भिन्न हुनु जैविक भिन्नता मात्र हो । तर जैविक भिन्नताकै आधारमा भूमिका र जिम्मेवारीमा पनि भिन्नता गरिनुपर्छ भन्ने मान्यता गलत हो । जैविक असमानताले सामाजिक भूमिका निर्वाहमा कुनै प्रभाव पार्दैैन भन्ने वैचारिक आन्दोलनका कारण महिला विकास र लैङ्गिक सशक्तीकरणको अवधारणा आएको हो । अधिकार, अवसर र सहभागिताको हिसाबमा महिला र पुरुषबीच समान सोच र बुझाइ हुनुपर्छ भन्ने आधुनिक धारणा नै लैङ्गिक अवधारणा हो । यसले समान अधिकार, जिम्मेवारी र सहभागिताको वकालत गर्छ । त्यसैले विकासवादीहरू भन्न थालेका छन् कि लैङ्गिक सवाललाई सम्बोधन नगरिए विकास खतरामा पर्छ ।
महिला विकासका सन्दर्भमा सन् २०७० को दशकदेखि अघि सारिएका रणनीतिअनुसार कल्याणकारी अवधारणा, समतावादी अवधारणा आधारभूत आवश्यकतासम्बन्धी अवधारणा, कार्यदक्षतासम्बन्धी अवधारणा, सशक्तीकरण र समावेशी विकास अवधारणाले सुरुका दिनमा महिलालाई संरक्षण गर्ने दृष्टिकोण राख्थे । पछि विकसित हुँदै जाने क्रममा क्षतिपूर्ति, सशक्तीकरण हँुदै सारभूत समानता वा न्याय प्राप्त गर्ने लक्ष्यसम्म आइपुगेको छ । हाम्रो संविधानमा जात, धर्म र लिङ्गका आधारमा भेदभाव नगर्ने, कानुनी हकको प्रत्याभूति र सामाजिक रूपमा पछाडि परेका वर्गको उत्थानका लागि विशेष व्यवस्था गर्नसक्ने कुरा उल्लेख छ । यसैगरी अन्तर्राष्ट्रिय जगत् पनि लागिपरेको अवस्था छ । तर पनि सोचे जति विज्ञानमा पहँुच स्थापित हुन सकिरहेको छैन । जस्तैः अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक खोज, अनुसन्धान गर्ने व्यक्तिहरूको सूचीमा महिलाको सहभागिता सङ्ख्या ३० प्रतिशतभन्दा कम पाइन्छ । यो अाँकडाले नै महिला पछाडि परेको पुष्टि हुन्छ ।
जबसम्म विज्ञानमा महिलाको समान पहुँच र उत्साहजनक सहभागिता हुँदैन तबसम्म महिला –पुरुषबीचको असमानताको अन्तरलाई घटाउन सकिँदैन । संयुक्त राज्य अमेरिकामा मार्च महिनालाई महिला इतिहास महिनाको रूपमा मनाउने गरिन्छ । किनकि त्यो बेलामा सबै मानिसलाई समान अवसर सुनिश्चित गर्न त्याग गरेका महिलाहरूलाई ससम्मान स्मरण गरिन्छ र समानताका लागि महिलाले गरेका प्रयासको उच्च कदर गरिन्छ । त्यसैले त्यहाँ महिलाहरूको सूचना र प्रविधिमा उन्नत पहँुच स्थापित हुन सकेको छ जसको कारण अमेरिकी वाणिज्य मन्त्रालयको प्रतिवेदनअनुसार महिलाको स्वामित्वमा अहिले झण्डै ८० लाख व्यापार व्यवसाय छन् । त्यसबाट कुल गार्हस्थ उत्पादनमा १२ खर्ब डलरको योगदान पुगेको छ । सबै पेसामा संलग्न अमेरिकी महिलाहरूको सङ्ख्या विगत ४० वर्षमा ३७ प्रतिशतबाट वृद्धि भई झण्डै ४८ प्रतिशत पुगेको छ । यसरी हरेक कार्यस्थलमा महिलाहरूको सक्रिय सहभागिता रहन सक्यो भने हरेक क्षेत्र सफल हुन्छ भन्ने ज्ञान अमेरिकी अनुभवले दिन्छ । तर अन्य देशमा यस्तो अवस्था छैन ।
अझै पनि धेरै देशमा महिलाहरू आर्थिक, प्राविधिक, विज्ञानका क्षेत्रमा पछाडि पारिएका, परेका छन् । विकासोन्मुख, अल्पविकसित देशका छात्राले नै आफ्नो अध्ययनमा विज्ञानप्रति त्यति रुचि देखाइरहेको पाइँदैन । एउटा कोठा नै सारा संसार भइसकेको आजको युगमा अझै सूचना प्रविधि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । विश्व बैङ्कको प्रतिवेदनअनुसार कुल विश्व श्रमशक्तिको करिब ४० प्रतिशत हिस्सा महिलाले ओगटे पनि सबै प्रकारका बेतलवी काममा उनीहरूको सङ्ख्या ५८ प्रतिशत छ भने ५० प्रतिशत महिला अनौपचारिक रोजगारीमा संलग्न रहेको पाइन्छ । नेपालमा नै अझै तीन चौथाइ महिला कृषि क्षेत्रमा काम गर्छन् भनिन्छ । तिनीहरूमध्ये धेरैले न्यायोचित तलब पारिश्रमिक पाउँदैनन् भनिन्छ । अहिले पनि निजामती सेवामा महिला सहभागिता १० प्रतिशतको हाराहारीमा रहनु,
पुरुषभन्दा कम वेतनमा महिलाहरू कार्यरत रहनु, गरिबी र द्वन्द्वको असर पनि लैङ्गिक केन्द्रित रहनु, घर परिवारदेखि समूह, समाज र कार्यालय जतासुकै महिला केवल प्रदर्शनका लागि मात्र हुनु दुःखद पक्ष नै हो । विश्वव्यापी घोषणा पत्रको धारा १ मा सबै व्यक्ति जन्मजात स्वतन्त्र हुन् र ती सबै व्यक्तिको समान अधिकार तथा महìव छ भनिएको छ । तर अझै पनि महिलाहरूले पटक पटक यो मान्यताको स्मरण आफ्ना परिवार, समाज र राज्यलाई गराइरहनु परेको छ । यो विडम्बनापूर्ण अवस्था हो । विश्व आर्थिक मञ्चको लैङ्गिक अन्तरसम्बन्धी प्रतिवेदनले आर्थिक तथा राजनीतिक सहभागिता, शिक्षा तथा स्वास्थ्य सेवा प्रविधिमा पहँुचलगायत लैङ्गिक अन्तर उन्मूलनको सबैभन्दा नजिक पुगेका मुलुक तथा अर्थतन्त्रहरू बढी प्रतिस्पर्धी र समृद्ध हुने जनाएको पाइन्छ । अमेरिकी विदेशमन्त्री जोन केनेडीले भन्नुभएको थियो कि “कुनै पनि देशले आफ्नो जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्यामा रहेका महिलालाई छुटायो भने त्यस्तो देश अगाडि बढ्न सक्तैन ।” त्यसैले महिलाको अवस्थालाई विकसित गर्नु सही मात्र नभई बुद्धिमानी कार्यसमेत हो ।
अब वर्षमा एक दिनको दिवसले मात्र पुग्दैन, हरेक दिनले महिलाले निर्वाह गर्ने महìवपूर्ण भूमिका तथा योगदानको स्मरण र कदर गर्ने परम्पराको विकास गरिनु जरुरी छ । म्याकेन्सी एण्ड कम्पनी नामक व्यवस्थापन परामर्सदाता संस्थाको अनुसार संसारभरका महिला विश्व अर्थतन्त्रमा पुरुषको समस्तरमा सहभागी भए भने सन् २०२५ भित्र विश्वकै कुल गार्हस्थ उत्पादनमा २८० अर्ब डलरसम्मको रकम वृद्धि हुने प्रक्षेपण गरेको देखिन्छ । त्यसकारण अब राज्यले घोषणा गरेर मात्र नीति लागू हँुदैन, नीति, कार्यनीति, कार्यक्रम र क्रियाकलाप लक्षित वर्गसम्म पुगेर सक्रिय सहभागिता, कार्यान्वयन हुन सक्नुपर्छ । घरपरिवार तह जुन समाजको सबैभन्दा शक्तिशाली संस्था हो, त्यहीदेखि नै महिला विकासका प्रयासहरू हुनुपर्छ । केवल घर तहका मायाका पात्र र राज्यतहमा दयाका साधनमात्रको अवस्थाले परिवर्तन आउन सक्तैन ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?