logo
२०८१ बैशाख २४ सोमवार



झाङ्गिँदो नकारात्मक प्रवृत्ति

विचार/दृष्टिकोण |




 

पुष्करराज प्रसाईं

आजकल नेपाली समाजमा नकारात्मक प्रवृत्ति झाँगिदै गएकोे छ । अरूले गरेको राम्रो रचनात्मक कार्यलाई नदेख्ने र अरूप्रति शुभेच्छा पनि नचाहने उल्टै भ्रम सिर्जना गर्दै हिँड्ने प्रवृत्तिले समाज सङ्क्रमित छ । यस्ता प्रवृत्तिलाई शकुुुनी प्रवृत्ति भनिन्छ । यसले समाजमा शान्ति र विकासभन्दा अन्तरकलह वृद्धि गर्छ र विकासको गति अवरुद्ध हुन पुग्छ । आज त्यही नियति भोग्न समाज बाध्य छ ।
राज्यको पनि समय छउन्जेल राष्ट्रिय मुद्दाहरूमा गम्भीर भई छलफल नगर्ने अनि समयले नेटो काट्न लाग्दा महŒवपूर्ण निर्णय गर्ने परिपाटी पहिलेदेखिकै हो । अझै पनि राज्य चरित्र त्यही नै देखिन्छ । सामाजिक सद्भाव र सहिष्णुता भन्ने कुरा एकादेशको कथा हुन थालिसक्यो । संवेदनशीलता हराइसक्यो बरु उल्टो अझ क्रूरतातर्फ समाज उन्मुख हँुदै गएको भान हुन्छ ।
हामी बसिरहेको समाज हिजोकै समाज हो, जुन समाजमा ठूला अपेक्षा र महŒवाकाङ्क्षाभन्दा पनि सरल सौम्य, इमानदार, सकारात्मक जीवनशैली थियो । जुन संस्कार, शैली नै सामाजिक एकताको मुख्य आधार रहिआएको थियो । तर, आज झाँगिदै गएको नकारात्मक प्रवृत्तिले ती सामाजिक एकताको आधार खल्बलिएको छ । सामाजिक सद्भाव, सहिष्णुता र संवेदनशीलता हराउँदै गएको छ । यसै अवस्थाबीच हामीले समृद्धि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशिलता भन्ने नाराको साथ ४१औँ सामाजिक सेवा दिवस पनि मनायौँ । त्यो नारा कसरी पूरा होला ?
आज हाम्रा सङ्घ र प्रदेशबीच अधिकार खोसाखोस, नागरिक र सरकारबीच भनाभन छ भने स्थानीय जनप्रतिनिधिहरूद्वारा स्थानीय निकायबाट रूपान्तरित भई स्थानीय सरकारको अनुभूति जनतामा पार्न सकेका छैनन् । निजी क्षेत्र प्रक्रियागत झन्झट र कानुनी अस्पष्टताका कारण देखाउँदै जनतालाई सेवा दिनबाट पन्छिरहेका छन् । गैसस अथवा अन्य सङ्घ संस्थाहरू पनि सेवाभन्दा आफ्नै सुख सुविधामा रमाएका देखिन्छन् । सामाजिक मूल्य–मान्यताहरू स्खलित हुन थालेका पाइन्छन् । यसको ज्वलन्त उदाहरणका रूपमा जीवन नै जोखिममा राखेर जनताको सेवामा खटिइरहेका डाक्टर, नर्स, स्वास्थकर्मीउपर आफ्ना छिमेकीजनहरूबाट भएको अमानवीय अमर्यादित व्यवहार र सङ्क्रमित बिरामीउपरको अवहेलना, अमर्यादित व्यवहार हुन् ।
आधुनिक युगमा प्रवेश गरे पनि हाम्रो मानवीयता हराउनुहुँदैनथ्यो । यसरी समाजमा मानवीयता हराउँदै गएकोप्रति आत्मसमीक्षा गर्नैपर्छ । नागरिक समाज, सरकार, सङ्घ, संस्था, कर्मचारी, सबै आ–आफ्ना ठाउँमा ठीक, अरूलाई चाहिँ बेठिक देखाउनमा नै व्यस्त छन् । संविधानको संरक्षण र पालन गर्ने शपथ खाएका व्यक्ति नै आफैँमाथि संविधानले निर्दिष्ट गरेको दायित्वप्रति बेखबरजस्तै देखिन्छन् । संविधानले आगामी अर्थतन्त्रको कार्यदिशा समाजवादउन्मुख भनेको छ । यस आधारमा हाम्रा आगामी कार्यभार समाजवादका आधारशिला तयार पार्नुु हो भन्ने स्पष्ट छ । तर, कस्तो समाजवाद हो ? सोबारे नै स्पष्ट भइसकेका छैनौँ ।
अन्तर्राष्ट्रिय महासन्धिहरूमा हस्ताक्षर गर्ने, सभा–सम्मेलनहरूमा सहभागी भई विश्वव्यापी एजेन्डाहरू स्वीकार गर्ने तर अक्षरशः पालना नगर्ने शैली हाम्रो पुरानै हो । विश्व शान्ति दिवस, वजन तह बचाऊलगायतका अन्तर्राष्ट्रिय दिवस मनाउँछौँ तर त्यसतर्फको योजना कार्यक्रमबारे ध्यान पुगिरहेको देखिँदैन । दिगो विकासका लक्ष्यहरूलाई स्वीकार गरी राष्ट्रिय योजना आयोगले केही वर्षअगाडि एक रिपोर्ट प्रकाशन ग¥यो । दिगो विकासका लक्ष्य उद्देश्यअनुरूपका योजना तर्जुमालाई प्राथमिकता दिनेगरी स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलाई योजना बनाउन लगाउने र सोबारे जनतालाई सुसूचित गराउन आवश्यक थियो र अझै पनि छ । जसले गर्दा हरेक सूचकहरूको स्थानीयकरण हुन गई लक्ष्य प्राप्त हुने दिशामा बढिने थियो । २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यमा सघाउ पुग्ने थियो ।
सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडि सारेको छ । यसको परिभाषा, योजना, कार्यक्रम, दायित्व र कार्यविधि अझै प्रस्ट रूपमा आउन सकेको छैन । स्थानीय सरकारहरू यसबारे अन्योलमा छन्् । नाराले मात्र त समृद्धि आउँदैन । हामी आधुनिकताका नाममा उपभोक्तावादी हुँदै गएका छौँ तर त्यत्तिकै समृद्धि कसरी आउँछ । वास्तवमा समृद्धिले त उत्पादन प्रणालीसँग सरोकार राख्छ । वस्तुको उत्पादन जनता वा क्षेत्रको उत्पादकत्वसँग जोडिन्छ । त्यसैले उत्पादन र उत्पादकत्वको सहसम्बन्धले मात्र समृद्धि सम्भव हुन सक्छ । यसका लागि कृषिलाई (जल, जमिन र जडीबुटी) पहिलो प्राथमिकतामा राखी यसका पूर्वाधारतर्फ ध्यान दिइहाल्नुपर्ने अवस्था छ । यस्ता तत्काल नगरी नहुने सार्वजनिक हितका काममा आफ्नो ठाउँबाट सोच, चिन्तन गर्ने, छलफल बहस चलाउने र सुझाव दिने गर्दैनौँ तर अरूलाई होचो, अर्घेलो देखाउने काममा चाहिँ तत्कालै समय, बुद्धि खर्च गरिहाल्छौँ । समाजमा आर्थिक समृद्धि ल्याउने हो भने यो नकारात्मक बानी हटाउनु जरुरी छ । यसका लागि नागरिक समाजका हरेकमा सकारात्मक सोचको विकास हुनु जरुरी छ ।
हाम्रो विचार जस्तो बन्छ त्यस्तै कार्य हुन्छ । कुनै पनि अवस्थाप्रति धेरै दुःखी या चिन्तित नभई, त्यसलाई सहज बनाएर मनमा लिनुलाई सकारात्मक सोच हो भन्ने बुझिन्छ । सकारात्मक सोचको प्रतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ । मनमा किन नराम्रो विचार आयो भनी चिन्तन गरी त्यो पत्ता लगाउन सकियो भने मनमा राम्रो विचार भर्न सकिन्छ । त्यसैले राग, द्वेष, घृणा र चिन्ता त्यागेर सबैप्रति सद्भाव राख्दै समाज विकासको गतिलाई अगाडि बढाउन लाग्नुपर्छ ।
परिवर्तनका संवाहक भनेका नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दलहरू नै हुन् । राज्यका सञ्चालक पनि राजनीतिक दलहरू नै हुन् । कर्मचारी सरकारले बनाएका नीति नियमका आधारमा काम गर्ने जनताका सेवक हुन् । त्यसैले जनताका सेवक र जनताका प्रतिनिधि मिलेर समाजमा सकारात्मकता चिन्तन र कार्यको प्रवद्र्धन गर्नुपर्छ । 
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?