logo
२०८१ जेष्ठ ५ शनिवार



अमेरिकामा ट्रम्प कि वाइडेन ?

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

कोरोना महामारीबीच अमेरिकामा आउँदो मङ्गलबार (नोभेम्बर ३) राष्ट्रपतीय निर्वाचन हुँदै छ । मतदातासामु राष्ट्रपति पदका लागि सत्तारूढ रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए वाइडेन मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरूबीच यसपटकको निर्वाचनमा मूलतः प्रमुख आठ विषयमा बहस केन्द्रित छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथाम अहिले विश्वकै प्रमुख विषय र चुनौती बनेको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशको सूचीमा अमेरिका पहिलो छ । राष्ट्रपति ट्रम्पले गत जनवरीको अन्त्यमै कोरोना नियन्त्रणका लागि एक टास्क फोर्स
(कार्यदल)को गठन गर्नुभएको थियो । ट्रम्पका अनुसार मानिसको सुरक्षा र देशको अर्थ व्यवस्था कसरी खोल्ने भन्ने विषयमा अब यस टास्क फोर्सको ध्यान केन्द्रित छ । ट्रम्पले कोरोना उपचार र यसको खोप विकास गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको छ । यसका लागि १० अर्ब डलर लगानी हुँदै छ ।
अर्कोतर्फ बाइडेनले यसका लागि नेसनल कन्ट्याक्ट टे«सिङ कार्यक्रम सञ्चालन गर्न चाहनुभएको छ । उहाँले हरेक राज्यमा कम्तीमा १० परीक्षण केन्द्र पनि स्थापना गर्ने बताउनुभएको छ । त्यस्तै उहाँ सबै नागरिकको निःशुल्क कोरोना उपचार गर्ने पक्षमा हुनुहुन्छ । उहाँले मास्कको प्रयोगबारे राष्ट्रव्यापी नीतिको पनि कुरा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई लिएर सधैँ शङ्का प्रकट गर्दै आउनुभएको छ । उहाँ ऊर्जालाई यस्तो स्रोतका रूपमा विस्तार गर्न चाहनुहुन्छ, जो एकपटकमात्रै प्रयोग हुन्छ । उहाँको लक्ष्य तेल र ग्यास निकाल्ने कामलाई तीव्र गर्नु हो । पर्यावरणसँग सम्बन्धित जे पनि सुरक्षा दिइएको हो, त्यसलाई उहाँ फिर्ता गर्ने पक्षमा हुनुहुन्छ । पेरिस जलवायु सम्झौताबाट हट्ने विषयमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । ट्रम्पले चुनाव जिते यस वर्षको अन्त्यमा अमेरिका यस सम्झौताबाट औपचारिक रूपमा बाहिरिनेछ । तर, बाइडेनले चुनाव जिते तत्कालै पेरिस सम्झौतामा सहभागी हुने बताउनुभएको छ । उहाँले सन् २०५० सम्म अमेरिकाले कार्बन उत्सर्जनलाई शून्यको स्तरसम्म लैजाओस् भन्ने चाहनुहुन्छ । त्यस्तै, सार्वजनिक स्थानमा तेल र ग्यास निकाल्न नयाँ लिकमा रोक लगाउने उहाँको प्रस्ताव छ । उहाँले हरित् ऊर्जाको क्षेत्रमा २० खर्ब डलर लगानीको प्रस्ताव पनि गर्नुभएको छ ।
चुनाव प्रचारका क्रममा ट्रम्पले १० महिनामा एक करोड रोजगारीका अवसर सिर्जना गर्ने, १० लाख नयाँ साना उद्योग पनि स्थापित गर्ने बताउनुभएको छ । आयकरमा कटौती गर्ने र कम्पनीहरूलाई ट्याक्स क्रेडिट दिने ताकि कम्पनीहरूलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न सकियोस् भन्ने उहाँको योजना छ ।
बाइडेन भने उच्च आय भएका वर्गका लागि कर उठाउने र त्यस्तो करलाई सार्वजनिक सेवाहरूमा लगानी गर्न सकियोस् भन्ने चाहनुहुन्छ । उहाँका अनुसार वार्षिक चार लाख डलरभन्दा बढी कमाउने व्यक्तिलाई मात्रै आयकर बढ्नेछ । राष्ट्रियस्तरमा न्यूनतम मजदुरीको मूल्य बढाएर १५ डलर प्रतिघण्टा बनाउने बाइडेनको चाहना छ । अहिले यो प्रतिघण्टा ७ दशमलव २५ डलर छ ।
ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पारित भएको अफोर्डेबल केयर ऐन समाप्त गर्न चाहनुभएको छ । यस ऐनले निजी स्वास्थ्य बीमा प्रणालीमा सङ्घीय सरकारको नियन्त्रण बढाएको थियो । त्यस्तै पहिलेदेखि नै बिरामी भएका मानिसलाई बीमा रकम नदिने कार्यलाई गैरकानुनी बनाइदिएको थियो । उहाँ यसमा सुधार ल्याएर यसलाई बदल्न चाहनुभएको छ । ट्रम्पको लक्ष्य औषधिको मूल्य कम गर्नु पनि हो । यसका लागि उहाँ बाहिरबाट सस्ता औषधिहरूलाई आयातको अनुमति दिन चाहनुहुन्छ ।
बाइडेनको लक्ष्य ओबामाको बीमा ऐनलाई बचाउनुमात्रै होइन, यसको विस्तार पनि गर्नु हो । उहाँले मेडिकेयरका लागि आयुको सीमालाई ६५ बाट घटाएर ६० मा झार्न चाहनुभएको छ । मेडिकेयरअन्तर्गत ज्येष्ठ नागरिकलाई चिकित्सा सुविधा मिल्छ । सबै अमेरिकीलाई मेडिकेयरअन्तर्गत जनस्वास्थको बीमामा पञ्जीकृत हुने विकल्प दिनुपर्छ भन्ने बाइडेनको जोड छ । ट्रम्पले विदेशमा रहेका अमेरिकी सैनिकको सङ्ख्या कम गर्ने प्रतिबद्धतासहित सेनामा थप लगानी गरिने योजना सार्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिने कार्य जारी राख्न र चीनमाथि व्यापार शुल्क पनि कायम राख्न चाहनुहुन्छ । यद्यपि, बाइडेन सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्न चाहनुहुन्छ । चीनमाथि एकतर्फी शुल्क नलगाउने बरु अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर चीनलाई जवाफदेही बनाउने उहाँको योजना छ ।
ट्रम्पका अनुसार नश्लवाद अमेरिकी पुलिस फोर्समा व्यवस्थासँग जोडिएको सम्बन्ध होइन । उहाँ कानुनी व्यवस्थालाई लागू गर्ने ठूलो पक्षधरका रूपमा देखिन चाहनुहुन्छ । तर, प्रहरीका कडा कदमहरूको विरोध गरेका गर्दै राम्रो कार्यप्रणालीका लागि अनुदान दिने बताउनुभएको छ ।
बाइडेनले नश्लवादलाई एक प्रणालीगत समस्याका रूपमा हेर्नुभएको छ । न्याय व्यवस्थामा नश्लवादी असमानता हटाउन उहाँले नीतिहरू निर्धारण गर्नुभएको छ । जसअन्तर्गत कैदीहरूको सङ्ख्या कम गर्नेदेखि राज्यलाई प्रोत्साहन दिनेसम्मको कुरा छ । पुलिसलाई बजेट दिन नहुने मागलाई उहाँले खारेज गर्नुभएको छैन । एउटा उचित मापदण्डमा प्रहरीलाई कायम राख्नका लागि अतिरिक्त संशाधन दिनुपर्ने उहाँको विचार छ ।
ट्रम्पले अमेरिकी संविधानको दोस्रो संशोधनलाई आफ्नै दृष्टिले व्याख्या गर्नुभएको छ । जसअन्तर्गत अमेरिकीलाई हतियार राख्ने अधिकार दिएर सुरक्षा दिइएको हो । ट्रम्पले सन् २०१९ मा गोलाबारीका धेरै घटना भएपछि बन्दुक किन्नेवाला व्यक्तिको पृष्ठभूमिको जाँच कडाइका साथ गर्नुपर्ने प्रस्ताव गरे पनि यसले मूर्त रूप लिन सकेन ।
बाइडेनले असल्ट राइफलमाथि प्रतिबन्ध लगाउन चाहनुभएको छ । समान रूपले बन्दुक किन्ने सबैको पृष्ठभूमिमाथि छानबिन गर्ने, प्रतिमहिनामा प्रतिव्यक्तिले बन्दुक किन्न पाउने सङ्ख्यालाई सीमित गर्ने र मनपरी बन्दुक निर्माण गर्ने तथा बिक्री गर्नेविरुद्ध मुद्दा चलाउन सहज बनाउनेगरी अगाडि बढ्ने उहाँको प्रस्ताव छ । बन्दुकबाट हुने हिंसालाई रोक्नका लागि अनुसन्धान गर्ने बाइडेनको इच्छा छ र यसका लागि उहाँ लगानी गर्न
तयार हुनुहुन्छ ।
राष्ट्रपति ट्रम्पका अनुसार आफ्नो विद्यमान कार्यकालमा सर्वोच्च अदालतमा खाली पद भर्न पाउनुु उहाँको संवैधानिक अधिकार हो । तर, वाइडेन अदालतको खाली पद नयाँ राष्ट्रपतिले आफ्नो कार्यकाल सम्हालेपछि मात्र पूर्ति गर्नुपर्ने पक्षमा हुनुहुन्छ । पार्टीगत रूपमा यसपटक डेमोक्रेटिक पार्टीले कोरोना महामारी नियन्त्रण, राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाएको छ ।
रिपब्लिकन पार्टीले भने अमेरिकालाई फेरि महान् बनाउने नारा अगाडि सारेको छ । सो पार्टीले आप्रवासी समस्या समाधान गर्ने, रोजगारी वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने नारा दिएको छ । राष्ट्रपति ट्रम्पले आप्रवासी र मुसलमानबाट अमेरिका असुरक्षित भएकाले दुवैको आगमन रोक्न मेक्सिकोसँगको सीमाक्षेत्रमा बनाउन लागिएको पर्खाललाई पूर्णता दिने बताउनुभएको छ । कठोर र आक्रामक अभिव्यक्तिको आलोचना भए पनि पार्टीभित्र उहाँको पकड बलियो छ ।
अमेरिकामा डेमोक्रेटिक पार्टीलाई उदार र रिपब्लिकन पार्टीलाई अनुदार पार्टी मानिन्छ । डेमोक्रेटिक पार्टी सत्तामा आएपछि अमेरिकालगायत विश्वभर उदारवाद र सुधारवादले स्थान पाउने गरेको छ भने रिपब्लिकन पार्टी सत्तामा आएपछि अनुदारवाद हाबी हुँदै आएको छ । अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्छ । नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ । त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ ।
अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ । अमेरिकी मतदाताहरूले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अपत्यक्ष अर्थात् गठित ५३८ सदस्यीय इलेक्ट्रोरल कलेज (निर्वाचन क्षेत्र)ले गर्ने गर्छ । अमेरिकी कङ्ग्रेस (संसद्) दुई सदनात्मक छ । हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ सिटमध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।
अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचन सुरु भएको हो । पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेरिकामा बसोवास गर्दै आएको हुनुपर्नेछ । एक व्यक्ति लगातार दुईपटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ । ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन
हुने गर्छ ।
तत्कालीन बेलायतको उपनिवेशमा रहेको अमेरिकामा सन् १६१९ मा काला जातिका मानिसलाई दासका रूपमा अफ्रिकाबाट भिœयाइएको हो । काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार दिइएको थिएन । बेलायती उपनिवेशबाट सन् १७७६ मा अमेरिका मुक्त भई जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे । आन्दोलनले गृहयुद्धको रूप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दासप्रथा उन्मूलनको घोषणा गरिएको थियो ।
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?