logo
२०८० चैत्र १६ शुक्रवार



पुराना मित्रको मिलन

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

भारत र रुस पुराना मित्र हुन् । अमेरिका र तत्कालीन सोभियत सङ्घबीच शीतयुद्धका बेला पनि यी दुई मुलुक एक ठाउँमा थिए । भारतले अधिकांश रक्षा उपकरण रुसबाट खरिद गर्दै आएको छ । सोभियत सङ्घ विघटनसँगै रुस १५ टुक्रामा विभाजित भयो । यो विभाजनले रुस कमजोर अवस्थामा पुग्यो । रुस कमजोर अवस्थामा पुगेपछि भारतले रुसका अतिरिक्त अमेरिकासँग सम्बन्ध विस्तार ग¥यो । भ्लादिमिर पुटिनको प्रभावशाली नेतृत्वसँगै रुस फेरि पुरानै सशक्त अवस्थामा फर्केको छ । दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतलाई आफ्नो पक्षमा बनाउन अहिले अमेरिका र रुसले कूटनीतिक प्रयासलाई तीव्र बनाएका छन् । भारतले भने दुवै मुलुकसँग सम्बन्ध सुमधुर बनाउने रणनीति अख्तियार गरेको छ ।

भारतसँगको सम्बन्ध सुदृढ बनाउने मेसोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर ६ मा एक दिवसीय भारत भ्रमण गर्नुभयो । उहाँको भारत भ्रमणलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिन मात्रै नभएर दुवै देशका विदेश तथा रक्षामन्त्रीबीच छुट्टै वार्ता भयो । व्यापार, रक्षासहितका क्षेत्रमा सम्बन्ध विस्तारका लागि दुवै देशबीच २८ वटा समझदारी पत्रमा हस्ताक्षर भए । भारत र रुसबीच ५१ अर्ब भारुको सुरक्षा उपकरणको सम्झौता भयो ।

पाँच घन्टामात्र नयाँदिल्लीमा बिताउनुभएका पुटिनको भ्रमणलाई भारतीय सञ्चारमाध्यमले अमेरिका र चीनसहित विश्व राजनीतिमा चासो रहेको बताएका छन् ।
पछिल्लो समयमा भारतको अमेरिकासँग निकटता बढेकोमा रुसलाई चित्त बुझेको छैन । अर्कोतर्फ भारत र चीनबीचको सम्बन्धमा केही खटपट छ । चीन र रुसबीचको सम्बन्ध भने थप घनिभूत बनेको छ । चीनसँग रुसको बढ्दो सहकार्य र निकटताबीच पुटिनको यो भारत भ्रमणले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका लागि महìव राखेको छ ।

भारत र रुसबीचको सम्बन्ध निकै पुरानो हो । सोभियत सङ्घको पतनपछिको एक दशक जति सम्बन्ध त्यत्ति राम्रो भएन । पुटिनको सत्तारोहणसँगै भारत र रुसबीच पुनः सम्बन्ध सुधार हुँदै आएको हो । त्यो भ्रमण त्यसकै निरन्तरता हो । शीतयुद्धको समयमा अमेरिका र भारतबीच सम्बन्ध राम्रो थिएन । पछिल्लो समयमा भने दुवै देश नजिक हुँदै आएका छन् । भारतले अमेरिका र रुसबीच सम्बन्धलाई सन्तुलन साथ अगाडि बढाउन खोजेको छ । उसले दुवै मुलुुुकसँगको सहकार्य र मेलमिलापबाट लाभ लिन चाहेको छ ।

कोरोना महामारी सुरु भएपछि पुटिन पहिलो पटक एसियाली मुलुकको भ्रमणका सिलसिलामा भारत आउनुभएको हो । उहाँको यो दोस्रो विदेश भ्रमण हो । यसअघि अमेरिकी राष्ट्रपति जोए बाइडेनलाई भेट्न गत जुनमा उहाँ स्विजरल्यान्डको जेनेभा जानुभएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो भ्रमणलाई मस्कोले दिल्लीलाई दिएको महìवका रूपमा लिएका छन् ।

सम्बन्धको निरन्तरता भनिए पनि यस क्षेत्रको परिस्थिति भने फरक हुँदै गएको अवस्थामा पुटिन भ्रमण भएको छ । तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको छ । भारत र चीनबीच सीमा क्षेत्रमा तनाव जारी छ । कोरोना महामारीले विश्व आक्रान्त छ । अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच सुरक्षासम्बन्धी सम्झौता (अकस) भएको छ । हिन्द –प्रशान्त क्षेत्रमा सामरिक प्रतिस्पर्धा बढेको छ । यस्तो बेला पुटिनले भारतको भ्रमणलाई महìव लिनु आफैँमा महìवपूर्ण कदम हो ।

मूलतः आफ्नो हितैषी भारतले अमेरिकासँग सम्बन्ध विस्तार गरी उतातिर नढल्कोस् भने रुसको चाहना छ । अमेरिकाको हिन्द–प्रशान्त रणनीति र भारत, अस्ट्रेलिया, जापान र अमेरिकाबीचको क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड)को आलोचक रुसले यी कदमबाट यस क्षेत्रमा सैन्य र क्षेत्रीय तनाव बढ्ने बताएको छ । अमेरिका चीनको बढ्दो प्रभाव नियन्त्रण गर्ने विषयमा अगाडि सारेको रणनीतिमा भारतले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहन्छ । तर, भारत हिन्द–प्रशान्त रणनीतिमा पूरै अमेरिकासँग निर्भर हुनुपर्छ भन्ने पक्षमा छैन । अकस र क्वाडको विषयमा पनि मध्यमार्गको बाटो लिँदै भारत अगाडि बढ्न खोजेको छ । चीनको बढ्दो प्रभावले भने आफू कमजोर हुने चिन्ता भारतलाई छ । चीनको प्रभाव घटाउन नसकेपछि भारत अमेरिकाको नजिक हुन पुगेको हो ।

अफगानिस्तानबाट गत अगस्टमा अमेरिकाले सबै सेना फिर्ता लगेपछि त्यसले भारतीय सामरिक स्वार्थमा केही धक्का लागेको छ । अमेरिकी सेना फिर्तासँगै अफगानिस्तानमा रुस र चीनको प्रभाव बढेको छ । यस्तो बेला भारतलाई आफ्नो पक्षमा ल्याउन पुटिनको यो भ्रमणले भूमिका खेलेको निष्कर्ष निकालिएको छ । अहिले अफगानिस्तानमा मात्रै नभएर रुसको प्रभाव पाकिस्तान र इरानसम्म विस्तार भएको छ । अमेरिकी सेना फर्किएपछि अफगानिस्तान मामिलामा समेत रुस शक्तिशाली बनेको छ । अब अफगानिस्तानमा छिर्न पनि भारतलाई रुसको साथ चाहिने भएको छ ।

दिल्ली मस्कोको सबैभन्दा ठूलो रक्षा साझेदार हो । भारतले पछिल्लो समयमा फ्रान्स र इजरायलबाट हतियार खरिदलाई बढाए पनि भारतीय सेनाले प्रयोग गर्ने आधाभन्दा बढी अस्त्र रुसकै छन् । अहिलेसम्म भारत रक्षामा रुससँग निर्भर छ । भारतले अहिले नै तत्काल त्यसलाई प्रतिस्थापन गर्न पनि सक्दैन तर एउटै मात्र मुलुकका हतियार खरिदमा भर नपर्ने रणनीति बनाएको छ । भारतले अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै रुसबाट एस फोर हन्ड्रोड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले खरिद गरेको छ । रुसबाट हतियार खरिद गरेको विषयको भारतले विशेष छुट नपाउने अमेरिकाले बताइसकेको छ । त्यसैगरी भारतले रुसबाट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस ४०० पनि किनेको छ । यसबाट पनि मस्कोले दिल्लीलाई कति महìव दिएको छ भनेर प्रस्ट हुन्छ ।

दिल्लीले पनि मस्कोसँग सम्बन्ध सुदृढ बनाउँदै काबुलसम्म पुग्ने बाटो खोजेको छ । मध्य एसियामा आफ्नो प्रभावद विस्तार गर्न र पाकिस्तानलाई सन्तुलनमा राख्न अफगानिस्तानसँग सम्बन्धलाई सामान्यीकरण गर्नु उत्तिकै महìवपूर्ण हुन्छ । तालिबान सरकारलाई भारतले औपचारिक मान्यता दिएको छैन । त्यसैगरी मध्य तथा दक्षिण एसिया क्षेत्रलाई प्रभाव पार्नेसक्ने शक्तिका रूपमा रुस रहेको छ । गत नोभेम्बरमा रुसले अफगानिस्तान समस्या समाधानका लागि तालिबानसहितको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । जसमा भारत पनि आमन्त्रण गरिएको थियो ।

भारत रुसबीच रक्षा सम्बन्ध बलियो भए पनि आर्थिक सम्बन्ध भने चीनको तुलनामा कम रहेको छ । मोदी र पुटिनबीच दुवै देशबीचको व्यापार सन् २०२५ सम्ममा ३० अर्ब डलर बराबर पु¥याउने समझदारी भएको छ जबकि तनावबीच पनि चीन र भारतले यो वर्ष एक खर्ब डलरभन्दा बढीको व्यापार गरेका छन् । शीतयुद्धको समयमा भारत रुसबीच सामरिक, सैनिक, आर्थिक र कूटनीतिक सहकार्य रहेको थियो । रुसले कश्मीरको विषयमा भारतको पक्षमा संयुक्त राष्ट्रसङ्घमा भिटो प्रयोग गरेको थियो । शीतयुद्धको समयमा भारतसँग नभई पाकिस्तान अमेरिकाबीचको सम्बन्ध निकट थियो । रुस र भारतबीच भने गाढा सम्बन्ध थियो ।

गेन्नाडी यनाएभको नेतृत्वमा सुधारवादी मिखाइल गोर्वाचोभलाई बन्दी बनाएर कट्टरपन्थी कम्युनिस्टहरूले सोभियत सङ्घ कब्जा गर्न खोजेका थिए । भारतले यनाएभलाई समर्थन गरेको थियो । यनाएभको विद्रोहलाई बोरिस येल्तसिनको नेतृत्वमा असफल बनाइएको थियो । त्यसपछिको एक दशक येल्तसिन हुँदा भारत र रुस सम्बन्ध राम्रो हुन सकेन । आफैँ टाट पल्टिएको रुसले भारतलाई सहयोग गर्न सक्ने अवस्थामा पनि थिएन । पुटिनको सत्तारोहणसँगै भारतसँगको सम्बन्धमा सुधारको प्रयास भयो । प्रत्येक वर्ष दुवै देशका नेताहरूबीच भेट हुने गरेको थियो । तर, कोरोनाका कारण सन् २०१९ सेप्टेम्बरयता मोदी र पुटिनबीच भेट भएको थिएन ।

अर्कोतर्फ भारत अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । मनमोहन सिंहको समयमा सुरु भएको सम्बन्ध सुधारको प्रयास चीनसँग जारी सीमा विवादमा झनै बढेको हो । तर आम रूपमा भारतभित्र रुससँगको सम्बन्ध सहज स्वीकार्य विषयका रूपमा रहेको छ । रुस पहिलेदेखि नै अमेरिकासँग भारतको सम्बन्ध विस्तारको विषयमा असन्तुष्ट रहँदै आएको थियो । दक्षिण एसियामा अमेरिका प्रभाव कम होस् भन्ने रुसको चाहना छ ।
एक करोड ७० लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १४ करोड ३० लाख जनसङ्ख्या भएको रुस विश्वकै ठूलो मुलुक हो । सन् १५४७ देखि राजतन्त्र रहेको यो मुलुकमा सन् १९१७ को अक्टोबर क्रान्तिसँगै राजतन्त्र अन्त्य भई कम्युनिस्ट शासन सुरु भयो ।

सन् १९८९ मा कम्युनिस्ट शासन ढलेपछि कमजोर बनेको रुस अहिले लोकतान्त्रिक शासन व्यवस्थामा पुनः शक्तिशाली बनेको छ । यता ३२ लाख ८७ हजार २६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भारत दोस्रो ठूलो जनसङ्ख्या भएको मुलुक हो । यहाँको जनसङ्ख्या एक अर्ब ३० करोडभन्दा बढी छ । डेढ सय वर्षको बेलायती उपनिवेशपछि सन् १९४७ मा स्वतन्त्र भएको भारत आर्थिक तथा सामरिक हिसाबले दक्षिण एसियामा शक्तिशाली मुलुक बनेको छ । पछिल्ला दिनमा शक्ति सन्तुलनका लागि भारतले रुसका साथै अमेरिकासित पनि निकटता
बढाएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?