logo
२०८१ बैशाख १४ शुक्रवार



युक्रेनलाई हराए पनि हार्दै छ रुस

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

विश्व जनमत युक्रेनको पक्षमा भए पनि युक्रेनले विशाल मुलुक रुससँग लामो समयसम्म युद्ध गर्न सक्दैन । रुसले युक्रेनलाई जसरी पनि हराउने गरी सैन्य कारबाही तीव्र पारेको छ । रुसको सैन्य कारबाहीलाई विश्व समुदायले निन्दा र भत्र्सना गरेको छ । यसले रुसको साख गिरेको छ । यस युद्धमा युक्रेनलाई हराए पनि रुस आफैँ हार्दै छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता र शक्ति उन्मादको परिणाम हो युक्रेनमाथि यो अन्यायपूर्ण सैन्य कारबाही । रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेको दुई साता पूरा भएको छ । यो अवधिमा हजारौँ मानिसको ज्यान गइसकेको छ । ज्यान जोगाउन २० लाखभन्दा बढी युक्रेनीले देश छोडेका छन् भने एक करोड २० लाख आन्तरिक रूपमा विस्थापित भएका छन् । रुसी आक्रमणले तीन हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका छन् । राजधानी किभलगायतका ठूला ठूला सहर तहसनहस भएका छन् । युद्ध जति लम्बिन्छ त्यति नै बढी जनधनको क्षति हुने अवस्था छ । त्यसैले यो युद्ध तत्काल अन्त्य गरी थप जनधनको क्षति हुनबाट युक्रेनलाई जोगाउनुपर्छ ।

यो युद्धमा युक्रेनले जित्न सक्ने अवस्था छैन । त्यसैले तत्काल युद्धविराम गराई वार्ताद्वारा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायले पहल गर्नुपर्छ । नेटो सैनिक युक्रेनको पक्षमा नलड्ने खाली हतियारको सहयोगले युद्ध मात्र लम्बिने र यसबाट युक्रेन थप तहसनहस हुनेछ ।युक्रेनमाथिको रुसी सैन्य कारबाहीलाई कुनै पनि हिसाबले जायज मान्न सकिँदैन । एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि गरिएको यो सैन्य कारबाही संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य हो । रुसले युक्रेनमाथि ठूलो मानवताविरोधी अपराध गरेको छ । यसका लागि रुसी राष्ट्रपति पुटिनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ताकि यस्ता खाले अमानवीय आक्रमण भविष्यमा कसैले पनि नगरोस् भनी आवाज उठेको छ ।

युद्ध आफैँमा खराब हो । युद्धबाट कहिल्यै पनि शान्ति प्राप्त हुन सक्दैन । यसले हिंसा र प्रतिहिंसा मात्र जन्माउँछ । त्यही भएर संयुक्त राष्ट्रसङ्घले युद्धलाई अवैध घोषणा गरेको हो । आफ्नो सुरक्षाको निहुँ बनाएर रुसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले युक्रेन त तहसनहस भयो नै रुस पनि दीर्घकालसम्म अन्तर्राष्ट्रिय समुदायबाट एक्लिनुपर्ने अवस्था आउँदैछ । सत्ता र शक्तिको उन्माद लगेका पुटिनले यो युद्धपछि महँगो मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ । आफ्नो मुलुकको सुरक्षा खतरामा पर्छ भन्ने मनोवश्लेषण गरी छिमेकी मुलुकमाथि बर्बरतापूर्ण, अत्यन्तै अमानवीय ढङ्गले बमबारी गरी जनधनको क्षति पु¥याउनु, निमुखा जनताको जीवनमाथि खेलबाड गर्नु अनुचित काम हो । राष्ट्रपति पुटिनले जे गर्नुभयो यसबाट सन् २००० देखि चार पटकसम्म राष्ट्रपति बन्दा उहाँले कमाएको सारा इज्जत, मान, प्रतिष्ठा समाप्त भएको छ । उहाँलाई अब एउटा क्रूर, आततायी र हिंस्रक शासकका रूपमा चित्रित गरिनेछ ।

सोभियत सङ्घको पतनपछि तहसनहस भएको रुसलाई पुनः लयमा ल्याउन चौथो कार्यकालसम्म राष्ट्रपति निर्वाचित हुँदा पुटिनको लोकप्रियता निकै बढेको थियो । सन् २०१८ को मार्च १८ मा भएको राष्ट्रपतीय निर्वाचनमा उहाँ ७६ प्रतिशत मत ल्याई विजयी बन्नुभयो । उहाँबाट विश्व शान्ति र समझदारीका महìवपूर्ण काम हुने अपेक्षा गरिएको थियो तर सन् २०२२ को फेबु्रअरी २४ देखि छिमेकी युक्रेनमाथि गर्नुभएको अन्यायपूर्ण सैन्य कारबाहीले उहाँको विश्वव्यापी रूपमै ठूलो बदनाम भएको छ । सन् २०२४ सम्म पदमा रहे पनि अब उहाँले निकै ठूलो मूल्य चुकाउनुपर्ने भएको छ ।

पुटिन सन् २००० को मेमा पहिलो पटक रुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनभयो । रुसको संविधानमा लगातार दुई पटकभन्दा धेरै राष्ट्रपति बन्न नपाउने प्रावधान थियो । सन् २००८ मा आफ्नो दोस्रो कार्यकाल सकिएपछि उहाँले आफ्ना विश्वास पात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्नुभयो । मेदभेदेभ राष्ट्रपति बने पनि सत्ताको साँचो भने पुटिनको हातमा थियो । पार्टी र राज्यको सर्वशक्तिमान उहाँ नै हुनुभयो । मेदभेदेभको कार्यकालको अन्तिमतिर संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल चार वर्षबाट बढाएर छ वर्ष पु¥याइयो । त्यसपछि सन् २०१२ मा पुटिन तेस्रो पटक छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभयो । सन् २०१८ मा चौथो पटक पनि राष्ट्रपतिमा झन् लोकप्रिय भई निर्वाचत उहाँको युद्धमोहले अब भने साँच्चिकै सङ्कटमा पर्दै हुनुहुन्छ । उहाँ आजीवन राष्ट्रपति बनी शक्तिमै रहिरहने सपना चकनाचुर हुँदैछ । उहाँको युद्धमोहले युक्रेन त तहसनहस भयो नै पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय नाकाबन्दीले लामो समयसम्म रुस पनि आर्थिक रूपमा धराशायी हुने सम्भावना बढेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र रुस सामरिक हिसाबले सबैभन्दा शक्तिशाली राष्ट्र हो । संसारका जुनसुकै कुनामा पनि परमाणु आक्रमण गर्नसक्ने क्षमता रहेको रुसलाई अब आर्थिक रूपले पनि शक्तिशाली बनाउने अभियानमा लाग्नुपर्नेमा युद्ध माजाने पुटिनको महìवाकाङ्क्षाले कूटनीतिक तनाव बढाएको छ । उहाँको पछिल्लो कदम रुसका लागि पनि घातक सिद्ध हुँदैछ ।सन् २०१४ मा युक्रेनसँगको विवादमा युक्रेन अधिनस्थ क्रिमियालाई रुसमा विलय गराएका पुटिनले अहिले युक्रेनमाथि नै सैन्य कारबाही गर्नुलाई कुनै पनि हिसाबले राम्रो मानिएको छैन । सोभियत सङ्घकालीन गणराज्य युक्रेन सोभियत सङ्घको पतनसँगै स्वतन्त्र राष्ट्र बनेको हो । एउटा स्वतन्त्र छिमेकी राष्ट्रले अन्तर्राष्ट्रिय प्रचलित मूल्य र मान्यताअनुसार आफ्नो निर्णय गर्ने अधिकारको प्रयोग गर्न पाउनुपर्छ । युक्रेनलाई आत्मनिर्णयको अधिकार सुरक्षित छ । स्वतन्त्र मुलुकको हैसियतले युक्रेनलाई युरोपेली सङ्घ र नेटोको सदस्यता लिने अधिकार छ । चाहेको खण्डमा उसले दुवैको सदस्यता लिन सक्छ । युक्रेन युरोपेली सङ्घ र नेटोको सदस्य भए आफ्नो सुरक्षा खतरामा पर्छ भनी पुटिनले गरेको सैन्य कारबाहीले विश्वका स्वतन्त्र राष्ट्रको अधिकार खोसिएको छ । यो कारबाहीलाई कुनै पनि हिसाबले सत्य साबित गर्न सकिँदैन । यो कारबाही तत्काल अन्त्य गरी रुसले युक्रेनको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको सम्मान गर्नुका साथै सैन्य कारबाहीबाट भएको जनधनको क्षतिपूर्ति दिनुपर्छ जुन क्षतिपूर्ति निकै ठूलो धनराशिको हुनेछ ।

सन् १९१७ को अक्टोबर क्रान्तिसँगै ७४ वर्ष समाजवादी चलाएको सोभियत सङ्घ १९९१ मा विघटन भएसँगै रुस १५ टुक्रामा विभाजित भयो । यो घटनाले आर्थिक रूपले धराशायी बनेको रुसलाई सन् २००० देखि पुटिनको आगमनले नयाँ गति दियो । पुटिनकै नेतृत्वले रुस फेरि महाशक्ति राष्ट्र बन्यो । रुसलाई शक्तिशाली बनाउन महìवपूर्ण भूमिका निर्वाह गर्नुभएका पुटिनले प्राकृतिक रूपले धनी तेल र ग्यासको उत्खनन तथा बिक्री वितरणलाई जोड दिनुभयो । युरोपलाई तेल र ग्यास बेचेर धनी बनेको रुसले फेरि आफ्नो शक्ति देखाउन थालेको छ । यो उसको पतनको कारण बन्दैछ ।

रुस संसारको सबैभन्दा ठूलो राष्ट्र हो । एक करोड १७ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुकको जनसङ्ख्या भने मात्र १४ करोड ३० लाख रहेको छ । यहाँका मुख्य भाषा रुसी हो भने धर्म इसाई र मुस्लिम हो । पुरुषको औसत आयु ६३ र महिलाको ७७ वर्ष रहेको यो मुलुक ७४ वर्षसम्मको समाजवादी व्यवस्था ढलेपछि चरम आर्थिक सङ्कटमा फस्यो ।सन् १९५२ को अक्टोबर ७ मा लेनिनग्रादमा पुटिनको जन्म भएको हो । कानुनको अध्ययनपछि रुसको सुरक्षा मामिला हेर्ने निकाय केजीबीमा संलग्न भई त्यसको प्रमुखसमेत बन्नुभएका उहाँ सन् १९९७ मा तत्कालीन राष्ट्रपति बोरिस यल्त्सिको सरकारमा सहभागी हुुनुभयो । सन् १९९९ मा यल्त्सिनले राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति बन्नुभएका पुटिन सन् २००० को राष्ट्रपतीय निर्वाचनमा सहजै जित हासिल गर्नुभयो । त्यसपछि उहाँको राजनीतिक प्रभाव बढ्दै गयो ।

सुरुमा पुटिनले रुसलाई युरोपेली सङ्घ र नेटोको प्रभावबाट अलग गर्न पाउनुभएको सफलता नै उहाँको लोकप्रियताको कारक बन्यो । उहाँले रुसको छुट्टै पहिचान स्थापित गर्दै सोभियत सङ्घ विघटनपछि तहसनहस अवस्थामा पुगेको रुसलाई पुनर्जीवन दिने काम गर्नुभयो । पुटिनको बाह्य आलोचनाकाबीच पनि रुसीहरू माझ लोकप्रियता बढेको थियो । तर अहिले युक्रेनमाथिको आक्रमणले रुसीमाझमा पनि उहाँको चर्को विरोध भएको छ । पुटिनले विश्व शान्ति र स्थायित्वका लागि रचनात्मक काम गर्नुपर्नेमा युक्रेनमाथिको अमानवीय कारबाहीले उहाँ अप्ठेरोमा पर्दै हुनुहुन्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?