logo
२०८१ मंसिर ८ शनिवार



युद्धमा होमिए रुस र युक्रेन

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

महाशक्ति राष्ट्र रुस र सानो राष्ट्र युक्रेनबीच युद्ध सुरु भएको छ । रुसले युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिई त्यहाँ शान्ति स्थापनाको नाममा आफ्ना पठाएसँगै युद्ध सुरु भएको हो । युद्ध सुरु भए पनि रक्तपात भने भएको छैन । रुसी सेनाको पूर्वी युक्रेन प्रवेशसँगै परिस्थिति जटिल मोडमा पुगेको छ ।

अमेरिकालगायत पश्चिमा देशले गत महिनादेखि नै सीमा क्षेत्रमा सैन्य बल तैनाथ गरेसँगै रुसले कुनै पनि बेला युक्रेनमाथि सैनिक कारबाही गर्न सक्ने भन्दै रुसी तयारीको विरोध गर्दै आएका थिए तर रुसले भने युक्रनमाथि आक्रमणको योजना नभएको बताएको थियो जनु गलत साबित भयो । रुसले युक्रेनको विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्दै सेना पठाउनु अन्तर्राष्ट्रिय कानुन विपरीतको कदम हो । विद्रोही क्षेत्रबाट आक्रमण सुरु गरेको रुसी सैन्यबल कहाँसम्म पुग्ने हो यकिन भएको छैन । राजधानी किभ र केन्द्रीय सरकारको सुरक्षा अर्को चिन्ताको विषय बनेको छ ।

पछिल्लो समय रुस र युक्रेनबीच संवाद गराई विवाद मिलाउन गरिएको अन्तर्राष्ट्रिय प्रयास सफल हुन सकेन । फ्रान्सले शान्ति वार्ताका लागि प्रयास गरेको थियो तर रुस आफ्नो अभियानबाट पछि हटेन । रुसले युक्रेनको पूर्वी भागमा रहेका ती दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दियो । रुसको यो एकतर्फी मान्यताले युक्रेनसँगको विवाद युद्धमा परिणत भयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई सोमबार राति (फेबु्रअरी २१) स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गर्नुभयो । मङ्गलबारदेखि ती दुवै राज्यमा शान्ति स्थापना गर्ने भन्दै रुसी सेना प्रवेश गरे । त्यहाँ रुसी सेना प्रवेश नै युद्धको सुरुवात हो ।युक्रेनका दुई राज्य स्वतन्त्र भएको घोषणासँगै राष्ट्रपति पुटिनले एउटा आदेशमा हस्ताक्षर गर्नुभयो । सो आदेशमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

त्यस अवसरमा पुटिनले दोनेत्स्क र लुहान्स्कलाई प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई ‘विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन’ भएको आरोप लगाउनुभयो । उहाँले युक्रेनको अस्तित्व मेटाइदिने चेतावनी दिनुभयो । युक्रेनको अन्य भागमा आतङ्क र सन्नाटा छाइरहँदा रुसले स्वतन्त्र राज्यको मान्यता दिएका दुई क्षेत्रमा विद्रोहीहरूले खुसीयाली मनाउँदै रुसी कदमको स्वागत गरेका छन् । ती दुवै क्षेत्र रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् । उनीहरू युक्रेनको सेनासँग सन् २०१४ देखि लडिरहेका छन् । हालसम्म त्यहाँ १४ हजार मानिस मारिएका छन् ।

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ताको प्रयास समाप्त भएको भन्दै पश्चिमा देशले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जोए बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी हस्तक्षेपको निन्दा गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ, युरोपली सङ्घ (ईयू) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पनि रुसको घोषणा अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै सो घोषणा फिर्ता गर्न रुसी नेतृत्वलाई आग्रह गरेका छन् ।

युक्रेनले आफ्नो सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप भन्दै रुसी कदमको विरोध गरेको छ । युक्रेनका राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी हस्तक्षेप अस्वीकार्य भएको बताउनुभयो । उहाँले रुससँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने सङ्केत गर्नुभयो ।

उता अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको विद्रोही क्षेत्रको नेतृत्व र रुसी अधिकारीविरुद्ध थप प्रतिबन्ध लगाउने आदेश जारी गर्नुभएकोे छ । उहाँले सैनिक हस्तक्षेप बन्द गर्न रुसलाई थप चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भन्दै निर्णय फिर्ता गर्न आह्वान गर्नुभएको छ ।

यसअघि सन् २०१४ मा युक्रेनको क्रिमिया प्रायद्वीपलाई रुसले बलपूर्वक आफूमा विलय गराएको थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको हो । युक्रेनविरुद्ध लड्दै आएका ती क्षेत्रलाई पुटिनले युक्रेनसँग शत्रुता बढेसँगै नयाँ स्वतन्त्र राज्य भएको घोषणा गर्नुभयो । अर्काको भूमिलाई यसरी स्वतन्त्र राज्य घोषणा गर्नु न्याय सङ्गत होला ? गम्भीर प्रश्न खडा भएको छ ।

युक्रेनले नेटोको सदस्यता लिने तयारी गरेको छ । जुन कुरा रुसलाई स्वीकार्य छैन । रुसले सो कदमबाट आफ्नो सुरक्षा खतरामा पर्ने भन्दै विरोध गर्दै आएको छ । केही महिनायता सैन्य अभ्यास भन्दै रुसले युक्रेनसँगको सीमा क्षेत्र एक लाख ९० हजार सैनिक तैनाथ गरी घेराबन्दी गरेको छ । पश्चिमा देशले सहयोग नगर्ने हो भने ७२ घण्टामा रुसले किभमाथि कब्जा गर्न सक्ने भन्दै अमेरिकाले ध्यानाकर्षण गराएको छ ।

युक्रेनमा विकसित भएको पछिल्लो घटनाक्रमलाई लिएर मङ्गलबार बसेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आकस्मिक बैठकले रुसी कदमको भत्र्सना गर्दै द्वन्द्व नबढाउन जोड दिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसले सुरु गरेको सैनिक कारबाहीले पूरै युरोप युद्धमा तानिनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । अमेरिकी गुप्तचर निकायले रुस र युक्रेनबीच युद्ध भए ५० हजार सर्वसाधारणसमेत मारिन सक्ने चेतावनी यसअघि नै दिएको छ । अमेरिकाले यसै मेसोमा युरोपको सुरक्षाका लागि आफ्नो सेना पठाएको छ ।
अहिले अमेरिका युक्रेनको सुरक्षाप्रति चिन्तित छ । त्यसैले उसलाई हतियार र आर्थिक सहयोग गरेको छ ।

रुसले पश्चिमा देशसँग युक्रेन​ कहिले पनि नेटोको सदस्य नहोस् भन्ने माग राखेको छ । पूर्वी युरोपमा नेटोले उसका गतिविधि नगरोस् भन्ने चाहना रुसको छ । पूर्वी युरोपमा नेटो विस्तार रुसलाई सह्य छैन । उसले यस कदमलाई रोक्न हदैसम्मको प्रयास गर्ने बताउँदै आएको छ । युक्रेन​को सीमा पश्चिममा युरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । युक्रेन पूर्वसोभियत सङ्घका सदस्य हो । त्यहाँको जनसङ्ख्याको केही भाग रुसी मूलका हुनाले युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ ।

युक्रेन​ले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई पदबाट हटायो, यसबाट रुस पनि युक्रेनसँग रिसाएको थियो । यसलगत्तै रुसले दक्षिणी युक्रेनको क्रिमिया प्रायद्वीप आफ्नो कब्जामा लियो । त्यतिबेलादेखि रुस समर्थक विद्रोही र युक्रेनको सेनाबीच सङ्घर्ष भएको हो । नेटो सदस्य देशहरूले युक्रेनमा लगातार हतियारको आपूर्ति गरिरहेको आरोप रुसले लगाएको छ । अमेरिकाले दुवै देशलाई एक अर्काविरुद्ध भड्काइरहेको आरोप पनि रुसको छ । राष्ट्रपति पुटिनले नेटो र पश्चिमा देशका कारण नचाहेर पनि युद्धमा होमिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेपछि जनवरी २४ देखि अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना कूटनीतिज्ञका परिवारलाई जतिसक्दो छिटो युक्रेन छोड्न आदेश दियो । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भएकाले आक्रमणपछि आफ्ना नागरिकलाई उद्धार गर्न कठिन हुने भन्दै अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञका परिवारलाई सार्वजनिक वा निजी सवारी प्रयोग गरेर युक्रेनबाट बाहिरिन दबाब दियो । जनवरी २३ मा बेलायतले किभमा अहिलेको सरकारलाई हटाएर रुस समर्थित व्यक्तिलाई सत्ता सुम्पिने रुसी राष्ट्रपति पुटिनको योजना रहेको बताएको थियो ।

पुटिनको चाहना के छ भने बेलारुसजस्तै युक्रेन पनि सधैँ आफ्नै पक्षधर देश बनोस् । सन् १९९१ सम्म युक्रेन त्यस्तै देश थियो । सन् १९९१ को अगस्टमा युक्रेन सोभियत सङ्घबाट स्वतन्त्र भयो तर पछिल्लो समय युक्रेन युरोप र अमेरिकाको नजिक भएको छ जुन कुरा रुसलाई मन परेको छैन । सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रुसविरोधी भावना बढ्यो । रुसविरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति बन्नुभयो ।

सन् २०१९ मा हास्य कलाकारसमेत रहेका भ्लादिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमा देशसँग झनै नजिकियो । पछिल्लो समय युक्रेनले ईयूको सदस्यता लिने तयारी गरिरहेको छ । सन् २०२४ सम्म ईयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ । अहिले युक्रेनमा आफ्नोे पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन । युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्नेछ ।

रुस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ । युक्रेनी नेतृत्व विरोधी भए रुसको सुरक्षा खतरामा पर्ने रुसी अधिकारीको चिन्ता छ । रुसको यो चिन्ता सम्बोधन नभएसम्म युक्रेनसँगको विवाद अन्त्य हुने देखिँदैन । विवाद लम्बिए युक्रेनको अस्तित्व नै सङ्कटमा पर्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?