logo
२०८१ असोज २० आईतवार



‘कुलमानहरू’को खोजी

विचार/दृष्टिकोण |




 

हरिबहादुर थापा

आफ्नो चारवर्षे कार्यकाल उच्च सफलताका साथ पूरा गरेर नेपाल विद्युत्् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निवर्तमान भइसक्नुभएको छ । तथापि, कुलमानका बारेमा चर्चा र बहस बिस्तारै सेलाउँदै गएको छ । सम्भवतः एउटा सार्वजनिक संस्थानको प्रमुखका बारेमा आमजनस्तरबाटै यो हदको सकारात्मक चर्चा भएको यो पहिलोपटक नै होला । अहिले प्राधिकरणमा कार्यकारी निर्देशकको पदपूर्ति भइसकेको छैन र कहिले कुन विधिबाट कसको नियुक्ति हुँदै छ भन्ने विषयमा निक्र्यौल भइसकेको छैन । विगतमा खासै चर्चा नहुने यो पदमा अब को आउँदै छ अनि विद्युत् कटौतीको अवस्था के होला भन्ने विषयले आमनेपालीको कौतूहल यथावत् छ । एउटा ठूलो तप्काचाहिँ कुलमानबाहेक अरू कसैले पनि सहज विद्युत्् आपूर्ति गर्न सक्छन् ? भन्ने विश्वास गर्नै चाहँदैनन् । स्वयम् कुलमानले चाहिँ जाँंदाजाँदै विद्युत्् प्राधिकरणभित्र अनि मुलुकको समग्र विद्युत्् व्यवस्थापनको मामिलामा गर्न बाँकी अरू धेरै काम र चुनौती पनि छन् भन्नुभएको छ । विद्युत््सम्बन्धी जानकार अर्काथरि मानिसचाहिँ लोडसेडिङ हटाउनेबाहेक अरू कार्यमा कुलमानले खासै उपलब्धि हासिल गर्न सकेका छैनन्
भन्दै छन् ।
सन् १९९० को दशकपछि जतिसुकै क्रान्ति र उपलब्धि भनेर लेखे पनि आमनेपाली जनताले सिधै राहत महसुस गरेको अनि अधिकाधिक क्षेत्र र मानिसलाई सकारात्मक प्रभाव पारेका केवल दुईवटा घटनाहरूलाई लिन सकिन्छ– सन् २००६ पछिको शान्ति पुनःस्थापना र लोडसेडिङमुक्त नेपाल । अरू उपलब्धिहरू खोज्ने हो भने धेरै टाढा पुग्नुपर्छ र फेला नपर्न पनि सक्छ, यो हदसम्मको सकारात्मक प्रभाव । मानिसले भन्न थालिसकेका छन्– लोडसेडिङ अब इतिहास भइसक्यो ।
नेपालको सशस्त्र द्वन्द्व समाप्तिपछि जन्मेको पुस्ता एसईईको तयारीमा जुटिसकेको छ । यी दुई युगान्तकारी राहतसहितको परिवर्तनमा जो–जसको भूमिका र हात थियो, सगर्व उनीहरूको उच्च मूल्याङ्कन नेपाली इतिहासले गरिरहनेछ । कुलमानको हकमा उनले कहीँ कतै पनि म एक्लैले वा मेरोमात्र कारणले यो सफलता हात लागेको भन्नुभएको छैन । उहाँले बिदाइको बेलामा समेत प्रधानमन्त्री, विभागीयमन्त्री र सचिव अनि सहकर्मी कर्मचारीलगायत सरोकारवालाहरूको सहयोग, समर्थन र पूरैको साथका कारण यो सम्भव भएको भन्नुभयो । तथापि, आममानिस र मिडियामा कार्यकारी निर्देशकको चर्चा हुनु स्वाभाविक थियो र भयो पनि । जसरी लोडसेडिङको बेलामा प्राधिकरणको भारप्रेषण विभागका प्रमुखको नाम सर्वत्र स्मरणीय बनेको थियो, यसलाई अन्यथा मान्नुपर्ने जरुरी पनि भएन ।
नेपाल राज्यभित्र जुनसुकै निकायमा कार्यकारी वा सहयोगी भएर जसले जे गरे पनि त्यसको जस अपजस जाने त राजनीतिक तहमा नै हो, प्रमुख कार्यकारी सरकारमा नै हो । नेपालमा लोडसेडिङ हुनाको अपजस पनि राजनीतिक नेतृत्वले लिएकै हो र लोडसेडिङमुक्त हुँदाको जस पनि सरकार, यसको नेतृत्व र सम्बन्धित मन्त्रीहरूले पाउनुपर्छ, पाएकै छन् । यसैको मूल्याङ्कन गरेर जनताले आवधिक निर्वाचनमा राजनीतिक नेतृत्वलाई दण्ड वा पुरस्कार के दिने हो ? त्यो जनताले नै दिन सक्ने लोकतान्त्रिक व्यवस्थाको अभ्यास हामीले अवलम्बन गरेका छौँ । कर्मचारीको तहले त राजनीतिक नेतृत्वले लगाए, अह्राएको काम इमानदारी, दक्षता र कुशलतापूर्वक गर्नेमात्र हो । कुलमानले पनि राजनीतिक नेतृत्वले दिएको जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्नुभयो । यसमा उहाँका व्यक्तिगत विशिष्ट गुण र चरित्रको ठूलो भूमिका रहेको होला पनि ।
कुनै पनि सङ्गठित संस्थाको नेतृत्वले मुख्यगरी दुईवटा आयाममा काम गरेको हुन्छ । पहिलो हो, संस्थाको नियमित कार्यहरू र वर्तमानका समस्या समाधान । दोस्रो, सङ्गठनभित्रको क्षमता विकास र भविष्यका चुनौतीको सामना गर्न सक्ने सामथ्र्यको विकास । कुलमानले पहिलो जिम्मेवारी अत्यन्त कुशलताका साथ पूरा गर्नुभयो । यसको प्रतिफल आमजनता र मुलुकले अनुभव गरिसकेको छ र प्रशस्त चर्चा पनि भएको छ । दोस्रो जिम्मेवारीको हकमा चाहिँ अरूले चर्चा नगरे पनि उहाँ स्वयम्ले उल्लेख गरिसक्नुभएको छ कि अझै चुनौती बाँकी छन् । ती चुनौती कस्ता छन् भनेर व्यापक रूपमा बहस भएको छैन । सङ्गठनभित्रको क्षमता विकासको एउटा महŒवपूर्ण काम भनेको नेतृत्व विकास नै हो । चार वर्षको अवधिमा प्राधिकरणभित्र नेतृत्व विकासको हकमा खास कुनै पहल र उपलब्धि भयो कि भएन ? यो खुल्न सकेको छैन । कुनै पनि क्षेत्रको नेतृत्व विकास रातारात भइहाल्ने वा कतैबाट प्राप्तिमा आउने होइन । यो त एउटा स्वाभाविक, नियमित र दीर्घकालीन प्रक्रिया हो ।
प्राधिकरण आफैँमा एक अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । सधैँ कुलमानले नै चलाउनुपर्छ, नत्र चल्दैन भन्ने मान्यता स्थापित गर्नु पनि आफैँमा घातक र अव्यावहारिक कुरा हो । संसारमा हरेकको विकल्प हुन्छ भन्ने मान्यताका आधारमा पनि कुलमानपछिको विकल्प के भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर तयार गर्न सकेको भए अहिलेको अन्योल हुने थिएन । यहाँनेर उठाउन खोजिएको मुद्दा के हो भने हामी व्यक्तिको क्षमताभन्दा पनि पद्धति, प्रणाली र संस्थागत क्षमतामा कहाँनेर छौँ हामी ?
खास व्यक्तिविशेषको अचानक आगमन र चामत्कारिक नेतृत्वको मात्रै अपेक्षा गरिरहनेभन्दा संस्थागत संस्कृति, पद्धति र विधिको स्थापना गरी नियमित र अनुमानयोग्य दक्ष नेतृत्व विकास गर्ने आमसंस्कार, सोच र शैलीको प्रवद्र्धन गरिनु जरुरी छ । विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकाको कार्यकारी राष्ट्रपति त दुई कार्यकालको हुन सक्छन् भने आफूलाई सफल प्रमाणित गरिसकेका र आमजनविश्वास प्राप्तको व्यक्तिगत रुचि छ र सरकारलाई उपयुक्त लागेमा फेरि अर्को चार वर्ष जिम्मा दिँदा पनि कुनै फरक पर्ने होइन र अहिलेको तत्काल समस्या पनि समाधान हुन्छ । तर, त्यसपछि चाहिँ को र कसरी आउँछ भन्ने भन्ने चिन्तन हुनु जरुरी छ । जतिसुकै क्षमतावान भए पनि बदलिँदो समय र परिस्थितिसँगै हरेकका आफ्नै सीमितता र बाध्यता आउँछन् ।
सधैँ एकजना व्यक्तिको भरमा कुनै पनि संस्थाको भविष्य सुनिश्चित हुन सक्दैन । यसैले एउटा सफल नेतृत्वले संस्थामा केवल दिइएको जिम्मेवारीमात्र पूरा गर्दैन, सँगै आफूजस्तै योग्य नेतृत्वको भावी पुस्तासमेत तयार गरेको हुन्छ । प्राधिकरणभित्र कुलमानसँगै रहेर उहाँकै हाराहारी वा निकटमा कुनै क्षमतावान नेतृत्वको अङ्कुरण भएको छ कि नाइँ ? हामीले संस्थाहरूमा पद्धति, प्रणाली र नेतृत्व विकास गर्न सकेनौँ भने सधैँ नै कुलमानजस्तै अर्को व्यक्ति पर्खने अनि व्यक्तिविशेषलाई नै देवत्वकरण गरेर रमाउने चक्करबाट बाहिर जान सक्दैनौँ । संस्थामा नै भिजेको, संस्थाबाट नै सिकेको अनि संस्थाबाटै विकास भएको नेतृत्वबाट जुन सफलताको अपेक्षा गर्न सकिन्छ, बाहिरबाट आउनेमा त्यो सम्भावना कमै हुन्छ । संस्थाभित्रै नेतृत्व विकास गर्ने परिपाटीको विकास गर्न सकिएन भने उक्त संस्था सधैँ परनिर्भर भइरहने र बिस्तारै बेवारिस हुने
जोखिमसमेत रहन्छ ।
संस्थाभित्रै जन्मेको, हुर्केको र विकास भएको नेतृत्वलाई सो संस्थासँगको भावनात्मक सम्बन्धले गर्दा यसको गरिमा, प्रगति, स्थायित्व र साखको जति चिन्ता हुन्छ, त्यो हदसम्म अरूमा नहुन सक्छ । अपनत्व महसुस गर्ने नेतृत्व पाउनु संस्थाका लागि सबैभन्दा ठूलो ‘एसेट’ (पुँजी) हो । संस्था आफैँमा प्राण नभएको तर जीवित संरचना हो । यसको ‘फिजिक्स’मात्र थाहा पाएर यदि ‘बायोलोजी’ थाहा भएन भने संस्थाको जीवनमाथि सङ्कट आउने पक्का हो । बाहिरबाट त फिजिक्समात्र देखिने हो– बायोलोजी देखिँदैन । प्राधिकरणभन्दा बाहिरको नेतृत्व जतिसुकै सक्षम भए पनि बायोलोजीको अध्ययनविना संस्थालाई जीवन्त राख्न कठिन हुन्छ नै । बायोलोजी बुझ्न नै वर्ष दिन लागे पनि नेतृत्वको ध्यान मुख्य विषयमा केन्द्रित हुनै पाउँदैन ।
प्राधिकरणभित्रै नेतृत्वको पहिचान हुनु जरुरी छ । यदि तत्काल त्यस्तो सम्भावना देखापर्दैन भने नेतृत्व विकास, संस्थागत क्षमता सुदृढीकरणलाई प्राथमिकतामा राखेर प्राधिकरण अगाडि जानुपर्छ र आगामी दिनमा प्राधिकरण आफ्नो नेतृत्व निर्माण गर्न सफल हुनुपर्छ । खुला प्रतिस्पर्धा वा सरकारको विश्वास जित्न पनि यस्तो नेतृत्व सफल हुनुपर्छ । कुलमानजस्ता क्षमतावान व्यवस्थापक हरेक सार्वजनिक निकाय र संस्थानमा विकास हुनु जरुरी छ । हरेक सार्वजनिक निकायहरू हरेक प्रकारले आफँैमा बलिया र स्वावलम्बी हुनु जरुरी छ । आफ्नै नेतृत्व उत्पादन गर्न नसक्ने निकायहरूले अरू कुरा उत्पादन गर्छन् र सफल हुन्छन् भन्नु ठूलो भ्रम हो । एकजना व्यक्ति कुलमानको मुद्दामा नअल्झेर धेरैजना कुलमानहरूको विकास, पहिचान, अवसर प्रदान र आमसंरक्षणमा समग्र ऊर्जा खर्च होस् । सरकारले चाहेमा प्राधिकरणको कार्यकारी नेतृत्वमात्र किन ? कुलमानलाई त्योभन्दा पनि महŒवपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ । किनकि उहाँको क्षमता र कार्यकौशलको पहिलो उपभोक्ता नै सरकार हो, राजनीतिक नेतृत्व हो । उहाँको योग्यता, क्षमता, अनुभव, इच्छाशक्ति, उमेर र ऊर्जालाई राज्यले कहीँ न कहीँ अवश्य सदुपयोग गर्नेछ । राज्यको प्रयत्न मुलुकको ध्यान सयौँ ‘कुलमान’हरूको खोजीमा केन्द्रित होस्, जसले आर्थिक, भौतिक र सामाजिक ‘घाटा’मा धस्सिएका संयन्त्रहरूलाई चार वर्षमै नाफामा लैजान सकोस् ।
(लेखक भारतीय प्रौऔद्योगिक संस्थान (आईआईटी) रुड्की भारतबाट एमटेकका लागि ‘नेपालको जलविद्युत्् विकास र नीतिसम्बन्धी’ शोध गर्दै हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?