हरिबहादुर थापा
सांसद रामकुमारी झाँक्रीले एक टेलिभिजन अन्तर्वार्तामा ‘मागेर समाज सेवा गर्नुहुँदैन’ भन्ने विचार राख्नुभएको थियो । यो विचारको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आए । अर्का सांसद महेश बस्नेतले संसदीय समितिको बैठकमा समाजमा झाँगिदै गएको सामाजिक अभियन्ता र समाजसेवा बारे बहस सुरु गर्दै भन्नुभएको थियो, ‘‘सामाजिक अभियन्ता र समाजसेवाका विषयमा राज्यले कानुन बनाएर नै नियन्त्रण र स्पष्ट गर्नुपर्छ ।’’ अभियन्ता संस्कृति र समाजसेवाले नेपाली समाजमा पारेको प्रभाव र संवेदनशीलताको विषयमा जान्न यी दुई प्रसङ्ग काफी छन् । समाजको पिँधमा रहेका र शक्ति एवं सामथ्र्यको पहुँच बाहिर रहेका पीडित समुदायलाई यस्ता गतिविधिले थोरै भए पनि राहत दिएको छ । मानवीय संवेदनासँग जोडिएका यस्ता विषयहरू भावनात्मक रूपमा कमलो मन भएका हामी नेपालीलाई चाँडै छुने गरेको यथार्थ हो । विशेष गरिकन विभिन्न कारणले विदेशिएका नेपालीले आफ्नो कमाइको केही अंश नेपाल र नेपालीका लागि खर्च गर्न पाउँदा सन्तोष महसुस गरेका हुन्छन् । दुःखमा परेकालाई आफूले सकेको सहयोग गर्ने हाम्रो आम चरित्र नै हो । यसैलाई हामी समाजसेवा पनि भन्दछाँै । हाम्रो धर्म, संस्कृति र परम्पराले दान गर्ने विषयलाई एक किसिमले अनिवार्य चरित्र जस्तै बनाएको पनि छ ।
सङ्गठित रूपमा नै समाजसेवाको अभ्यास सुरु भइसकेको धेरै भएको छ, नेपालमा । समाज कल्याण परिषद्मा दर्ता भएका हजारौँ संस्थाहरूले पनि समाजसेवा नै गर्ने उद्देश्य लिएका छन् । मुलुकभर दिनहँु हुने हजारौंँ कार्यक्रमको अतिथिका रूपमा मञ्चमा आसन गराइने अधिकांशको नामसँगै ‘समाजसेवी’ को विशेषण झुण्डिएकै हुन्छ । कसैलाई सम्बोधन गर्ने अरू कुनै पदावली पाइएन वा देखिने गरी कुनै पेसा अपनाएको पाइएन भने उसलाई समाजसेवी भनेर सम्बोधन गर्न पनि सजिलो मानिन्छ । यसो गर्दा कसैले किन भनेर प्रश्न पनि नगर्ने कुनै प्रमाणपत्र पनि देखाउन नपर्ने । कहीँ दर्ता हुन पनि नपर्ने गज्जवको विशेषण या उपाधि हँुदै गएको छ, समाजसेवी । औपचारिक वा अनौपचारिक रूपमा राजनीतिमा संलग्न भएका लाखांँै नेता कार्यकर्ताको त समाजसेवा आधिकारिक पेसा र उद्देश्य नै भइहाल्यो । समाजसेवाको दायरा र समाजसेवीको संख्या दिन दुगुना रात चार गुना हुँदै गएको देखिन्छ । चिया पसल, पान पसल, सिलाई तालिम केन्द्र, शिशु स्याहार केन्द्र खोल्न दर्ता गरिनुपर्छ । करको दायरामा आउनुपर्छ । सार्वजनिक उत्तरदायित्व बहन गर्नुपर्छ । यद्यपि, समाजसेवा नामको काम गर्दा न कहीँ दर्ता गर्नुपर्ने न कसैलाई कर तिर्नुपर्ने । न आम्दानी र खर्चको लेखा परीक्षण गर्नुपर्ने । न रकम उठाउन कसैलाई सोध्नुपर्ने । स्वघोषित वा आफ्ना निकट र स्वार्थप्रेरित समूहबाट आफूलाई समाजसेवी भनी चिनाउन रहर गर्नेको समूह बढ्दै गएको छ । यसले अन्ततः पीडित हुने भनेको समाज नै हो र पीडित समुदाय नै हो । यसले गर्दा समाजसेवा र समाजसेवीको असली परिभाषा र पहिचान नै धरापमा पर्न जाने पक्का हो ।
विपद्को कठिन समयमा पीडितलाई तत्काल सहयोग गरी उद्धार, राहत र पुनस्र्थापना गर्ने भनेको नजिकका स्वयंसेवी भावना भएका मानिसबाट नै हो । यो पूर्णतः मानवीय कार्य समेत हो । दुःख र सङ्कटमा परेका मानव समुदायलाई भूगोल, जातजाति, राजनीतिक आस्था र स्वार्थको दायराभन्दा माथि उठेर सहयोग गर्ने हामी नेपालीको मौलिक चरित्र समेत हो । सूचना र सञ्चारको यो युगमा आज एक स्थानमा भएको घटनाको पीडितका लागि मुलुक र मुलुक बाहिर जुनसुकै स्थानमा भए पनि विभिन्न तरिकाले स्वयंसेवी भावनाका मानिसले सहयोग गर्न चाहन्छन् । यसका लागि स्वयं उपस्थित हुन नसकेको अवस्थामा कुनै माध्यममार्फत सहयोग गर्नु स्वाभाविक हो । यस्ता कार्यले खास घटना विशेषबाट पीडित कुनै व्यक्ति र समुदायको सामाजिक र मानवीय उद्धार मात्र नभई आम नागरिकबीचको भातृत्व र आपसी सम्बन्ध मजबुद हुने प्रक्रियासमेत हो । यसको अलावा गाउँ, टोलमा सामान्य विकास निर्माणका कार्यमा समेत स्वयंसेवी भावनाले श्रमदान गर्ने हाम्रो सांस्कृतिक र सामाजिक परम्परासमेत हो । सानातिना पुल पुलेसा, गोरेटो, घोडेटो, पैनी, कुलो, मन्दिर, गुम्बा, विद्यालय, सामुदायिक भवनहरू निर्माण, संरक्षण र मर्मतका कार्यहरू समेत स्थानीय समाजसेवाको रूपमा स्वयंंसेवी भावनाले हुँदै आएका हुन् ।
पछिल्लो समयमा विदेशमा रहेका नेपालीले स्थानीय विकास, आपत्विपत्मा परेका समुदायलाई आर्थिक सहयोग गर्ने क्रमसमेत बढेको पाइन्छ । जुन आफैँमा सकारात्मक पनि छ । देउसी भैलोजस्ता विभिन सन्दर्भमा युवा क्लव, सामुदायिक समूह, आमा समूह, दिदीबहिनी समूहले आर्थिक सहयोग सङ्कलन गरि सांस्कृतिक, भौतिक, सामाजिक तथा आर्थिक उत्थानमा योगदान गर्दै आएकै छन् । यस्ता कार्यमा स्थानीयस्तरकै व्यक्तिहरूले स्वयंसेवी भावनाले योगदान दिँदै आएको पाइन्छ । कतिपय अवस्थामा समाजसेवाको यही पृष्ठभूमिबाट राजनीतिक उचाइ र पेसागत रूपमा समेत राम्रो प्रगति गरेका प्रशस्त उदाहरण छन् । यसरी समाजसेवा र स्वयंसेवी भावना हाम्रो मौलिक चरित्र अनि समाजलाई जीवन्त राख्ने एउटा अमूल्य निधि हो ।
मानिसको जीवनमा व्यस्तता बढेको छ । पहिलाको समयमा जस्तो मानिसको जन्मस्थान, कार्यस्थान र वासस्थान एकै स्थान नभई अधिकांशको फरक स्थानमा हुंँदै गएको छ । स्वयंसेवी भावना हाम्रो रगतमा छ र आम चरित्र हो, अपवादबाहेक । यो चरित्रलाई मानवीय उद्धार र सामाजिक उत्थानको पक्षमा उपयोग गर्न फरक पेसा र व्यवसाय गर्नुपर्छ अथवा समाजसेवालाई नै पूर्ण रूपमा अपनाउनु पर्छ भन्ने सोचाइ राखियो भने समाजसेवाको आत्मा त्यहीँबाट मर्न सुरु गर्छ । गैरसरकारी संस्थाहरू समेत व्यावसायिक हुँदै गएको एवं कानुनी रूपमा समेत करको दायरामा आइसकेको अवस्था छ । उता समाजसेवालाई नै मूलमन्त्र मान्दै राजनीतिमा होमिएका स्वयंसेवीहरू समेत पदमा जाने वित्तिकै आकर्षक तलब भत्ता र अनेक सुविधा लिने प्रचलन संस्थागत भएको छ ।
आफूले लिएको दानको दशांश दान लिनेले फेरि अरू कसैलाई दान दिनुपर्छ हाम्रो धर्मशास्त्रमा पनि उल्लेख भएकै छ । दान दिनु, अरूको सेवा गर्नु, मानव कल्याणमा केही न केही योगदान दिनु भन्ने हाम्रो परम्परा नै भएकोले मानव कल्याणको नाममा आह्वान हँुदा सानो प्रयत्नले पनि उल्लेख्य दान वा चन्दा सङ्कलन हुनु स्वाभाविक हो । यसमा मानवीय भावना र हाम्रो सामाजिक परम्पराका साथै अहिलेको अवस्थामा प्रतिस्पर्धा अनि सामाजिक प्रतिष्ठाको आडम्बरी चरित्रले पनि योगदान दिएको छ ।
ठूलो रकम चन्दा दिनुलाई सामाजिक उचाइको मानक मान्ने संस्कार पनि बढ्दैछ । जसले गर्दा समाजमा असल चरित्रका साथ निरन्तर समाजलाई योगदान दिने तर ठूलो रकम चन्दा दान गर्न नसक्नेहरू लज्जित हुनुपर्ने अवस्था छ । समाजसेवा, चन्दा र दानलाई अलग्गै कार्य वा पेसा बनाउने भन्दा पनि आफूले अपनाएको जुनसुकै पेसा वा व्यवसाय भए पनि त्यो पेसा व्यवसायमा समाजसेवाका लागि केही नियमित प्रयोजन राख्न सकिन्छ । अस्पतालले गरिब असहायका लागि निःशुल्क उपचार गर्ने, यातायात व्यवसायीले असहाय र गरिबका लागि सम्मानजनक र निःशुल्क यात्रा गराउनेजस्ता कार्य सामाजिक सेवाका रूपमा गर्न सक्छन् । हरेकले आफ्नो व्यवसायमा यस्ता खाले मानवीय हित र कल्याणका कार्यलाई पेसा र व्यवसाय भित्रकै एक अङ्गको रूपमा विकास गर्न सक्नुपर्छ । क्यामरा अगाडि महान् समाजसेवी कहलाउने र पेसा एवं व्यवसाय नै छाडेर समाजसेवालाई पूर्णकालीन बनाउँदै जाने हो भने हाम्रो परम्परा र संस्कृतिमा रहेको समाजसेवा विकृत, बदनाम र प्रभावहिन बन्दै जाने कुरामा दुईमत छैन । समाजसेवी कार्यमा प्राप्त हुने सहयोगमा पारदर्शिता परीक्षण, वितरणमा निष्पक्षता, शून्य चुहावट वा खर्चमा आधारित समाजसेवाको प्रर्वद्धन गरिनु जरुरी छ । समाजसेवालाई आम चरित्र बनाउनु, स्वयंसेवी र मानवीय भावनाको सही संरक्षण गर्नु, आफ्नो पेसा भित्रैबाट समाजसेवा जगेर्ना गर्नु र समाजसेवालाई अलग्गै पेसा हुने जोखिमबाट रक्षा गर्नु आजका प्रमुख चुनौती रहेका छन् ।