logo
२०८१ मंसिर ८ शनिवार



बाइडेनको जितले जगाएको आशा

विचार/दृष्टिकोण |




 

रामप्रसाद आचार्य

कडा प्रतिस्पर्धाबीच जोए बाइडेनले अमेरिकाको राष्ट्रपति पदको चुनाव जित्नुभएको छ । सत्तारूढ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उहाँले हराउनुभयो । उहाँको जितसँगै विश्व आशावादी बनेको छ । विधि, प्रक्रिया, पद्धति र सहमतिमा विश्वको राजनीतिले नयाँ गति लिने अपेक्षाबीच बाइडेनले ४६औँ राष्ट्रपतिका रूपमा आउँदो जनवरी २० मा पदभार सम्हाल्नुहुनेछ । लामो राजनीतिक र कूटनीतिक अनुभवका धनी उहाँले विश्वमा शान्ति र मेलमिलापका लागि सहकार्य गर्नुहुने अपेक्षा छ । विश्वमा व्याप्त एकखालको अन्योल, आतङ्क र सन्त्रास उहाँको आगमन सँगसँगै मत्थर हुनेछ ।
अर्को महŒवपूर्ण उपलब्धि भनेको यसपटकको चुनावमा उहाँसँगै उपराष्ट्रपतिमा पहिलो अश्वेत महिला कमला ह्यारिस निर्वाचित हुनुभयो । उहाँ भारतीयमूलकी अमेरिकी महिला हुनुहुन्छ । उहाँको जितले रङ्गभेदी सोचलाई पुनः पराजित गरेको छ ।
अघिल्लो मङ्गलबार (नोभेम्बर ३) मा अमेरिकामा ४६औँ राष्ट्रपतिका लागि चुनाव भयो । चुनावमा सत्तारूढ रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्प र प्रमुख प्रतिपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेनबीच मुख्य प्रतिस्पर्धा भयो । दुवै उम्मेदवारले चुनाव जित्ने दाबी गर्नुभयो । सत्ता र शक्तिको आडमा ट्रम्पले चुनाव आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गर्नुभयो । चुनाव हार्ने भएपछि उहाँ विपक्षीमाथि आक्रामक बन्नुभयो । विपक्षीले चुनावमा धाँधली गरेको आरोपदेखि मतगणना रोक्न अदालतमा रिटसमेत हाल्नुभयो । तर, अन्त्यमा पद्धति र प्रक्रियाले काम ग¥यो । चुनाव जित्ने आशामा बाइडेनले धैर्य देखाउनुभयो । अन्ततः उहाँले विजय हासिल गर्नुभयो । ट्रम्पले भने चुनाव हारे पनि हार स्वीकार गर्नुभएको छैन । यसले उहाँलाई नै अप्ठेरोमा पारेको छ । बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार बन्नुभयो ।
बाइडेनमा लामो राजनीतिक र कूटनीतिक अनुुभव छ । उहाँ ट्रम्पजस्तो व्यापारिक पृष्ठभूमिबाट आउनुभएको होइन । बाइडेन सन् १९८८ मै राष्ट्रपतीय चुनावका बलियो दाबेदार बन्नुभएको थियो तर केही प्राविधिक कारणले उहाँ त्यतिबेला चुनावमा उठ्नुभएन ।
बाइडेन सन् २००८ देखि २०१६ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति बन्नुभयो । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलाबेयरबाट निरन्तर सिनेटरमा जित्नुभयो । उहाँमा विदेश नीतिसम्बन्धी दशकौँ लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषयमा पनि समाधान निकाल्न सक्ने खुबी उहाँमा छ ।
यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहनुभएका बाइडेनले आधा शताब्दी लामो आफ्नो राजनीतिक जीवनमा विश्वका सबै अग्रणी नेतासँग अनुभव साट्नुभएको छ । उहाँ जहिले पनि शान्ति र मेलमिलापको पक्षमा उभिँदै आउनुभएको छ । उहाँले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गर्नुभएको थियो । इराकविरुद्धको अमेरिकी कारबाहीपछि अमेरिकाको इराक संलग्नताको उहाँले आलोचना गर्नुभयो । अलि सतर्क रहन रुचाउने बाइडेनले तत्कालीन राष्ट्रपति ओबामालाई अलकायदाका नेता ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्नसमेत सुझाउनुभएको थियो । उक्त कारबाहीमा लादेन मारिएका थिए ।
प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्नुहुन्छ । उहाँ मतदातालाई आकर्षित गर्न सक्ने स्वभाव भएका नेतासमेत मानिनुहुन्छ । मतदातासँगको भेटघाटमा बाइडेन निकै सहज रूपमा प्रस्तुत हुनुहुन्छ । खासगरी कामदार तथा मजदुर वर्गलाई भाषणमार्फत लठ्ठ पार्न सक्नुहुन्छ । बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उहाँकी पत्नी नेलिया र छोरी नाओमीले कार दुर्घटनामा ज्यान गयो । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् ।
यसपटक कोरोना महामारीबीच भएको राष्ट्रपतीय निर्वाचनको परिणाम आउन केही ढिलाइ भयो । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशको सूचीमा पहिलो नम्बरमा रहेको अमेरिकामा यसको नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पले विशेष अभियान चलाउनुभएन । उहाँले नागरिक सुरक्षाभन्दा अर्थ व्यवस्था बचाउने कुरालाई जोड दिनुभयो । यसले गर्दा उहाँप्रति मध्यमवर्गीय धेरै अमेरिकी रुष्ट बने । चुनावी अभियानमा बाइडेनले यसका लागि नेसनल कन्ट्याक्ट टे«सिङ कार्यक्रम गठन योजना सुनाउनुभयो । उहाँले हरेक राज्यमा कम्तीमा १० परीक्षण केन्द्र पनि स्थापना गर्ने, सबै नागरिकको निःशुल्क कोरोना उपचार गर्ने र मास्कको प्रयोगबारे राष्ट्रव्यापी नीति
बनाउनेमा जोड दिनुभयो ।
पेरिस जलवायु सम्झौताबाट हट्ने ट्रम्पको घोषणा उहाँका लागि महँगो साबित भयो । बाइडेनले चुनाव जितेलगत्तै पेरिस सम्झौतामा सहभागी हुने बताउनुभएको छ । उहाँले सन् २०५० सम्म अमेरिकाले कार्बन उत्सर्जनलाई शून्यको स्तरसम्म लैजाओस् भन्ने चाहनुहुन्छ । त्यस्तै सार्वजनिक स्थानमा तेल र ग्यास निकाल्न नयाँ लिकमा रोक लगाइयोस् भन्ने उहाँको प्रस्ताव छ । उहाँले हरित् ऊर्जाको क्षेत्रमा २० खर्ब डलर लगानीको प्रस्ताव पनि गर्नुभएको छ । बाइडेनले उच्च आय भएका वर्गका लागि कर उठाउन चाहनुहुन्छ । त्यस्तो करलाई सार्वजनिक सेवाहरूमा लगानी गर्न सकियोस् । उहाँका अनुसार वार्षिक चार लाख डलरभन्दा बढी कमाउने व्यक्तिलाई मात्रै आयकर बढ्नेछ । राष्ट्रियस्तरमा न्यूनतम मजदुरीको मूल्य बढाएर १५ डलर प्रतिघण्टा बनाउने बाइडेनको चाहना छ । अहिले यो प्रतिघण्टा ७ दशमलव २५ डलर छ ।
ट्रम्पले तत्कालीन राष्ट्रपति ओबामाको कार्यकालमा पारित भएको अफोर्डेबल केयर ऐन समाप्त गर्न चाहनुभयो । बाइडेनको लक्ष्य ओबामाको बीमा ऐनलाई बचाउनुमात्रै होइन, यसको विस्तार पनि गर्नु हो । उहाँले मेडिकेयरका लागि आयुको सीमालाई ६५ बाट घटाएर ६० मा झार्न चाहनुभएको छ । मेडिकेयरअन्तर्गत ज्येष्ठ नागरिकलाई चिकित्सा सुविधा मिल्छ । सबै अमेरिकाहरूलाई मेडिकेयरअन्तर्गत जनस्वास्थ्यको बीमामा पञ्जीकृत हुने विकल्प दिनुपर्छ भन्ने बाइडेनको जोड छ ।
चीनसितको व्यापार युद्ध अन्ततः ट्रम्पका लागि आत्मघाती साबित भयो । बाइडेन सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्न चाहनुहुन्छ । चीनमाथि एकतर्फी शुल्क नलगाउने बरु अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर चीनलाई जवाफदेही बनाउने उहाँको योजना छ । उहाँ चीनसितको व्यापार युद्ध अन्त्य गर्ने पक्षमा हुनुहुन्छ ।
ट्रम्पको अर्को कमजोरी संरक्षणवाद र नश्लवाद हो । असमानता र विभेद बढाउने, यसमा रमाउन चाहने उहाँले यसको असरबारे पूर्वानुमान गर्नुभएन । जसले गर्दा धेरै मतदाता उहाँसँग बिच्किए । बाइडेनले नश्लवादलाई एक प्रणालीगत समस्याका रूपमा हेर्नुभएको छ । न्याय व्यवस्थामा नश्लवादी असमानता हटाउन उहाँले नीतिहरू निर्धारण गर्नुभएको छ । बन्दुक हिंसा रोक्न ट्रम्प असफल हुनुभयो । उहाँले नागरिकले बन्दुक राख्न पाउने व्यवस्थामाथि प्रतिबन्ध लगाउन चाहनुभएन । जुन कुरा ओबामाले अभियान नै चलाउनुभएको थियो । बाइडेनले असल्ट राइफलमाथि प्रतिबन्ध लगाउन चाहनुभएको छ । समान रूपले बन्दुक किन्ने सबैको पृष्ठभूमिमाथि छानबिन गर्ने, प्रतिमहिनामा प्रतिव्यक्तिले बन्दुक किन्न पाउने सङ्ख्यालाई सीमित गर्ने र मनपरी बन्दुक निर्माण गर्ने तथा बिक्री गर्नेविरुद्ध मुद्दा चलाउन सहज बनाउनेगरी अगाडि बढ्ने उहाँको प्रस्ताव छ । बन्दुकबाट हुने हिंसालाई रोक्नका लागि अनुसन्धान गर्ने बाइडेनको इच्छा छ र यसका लागि उहाँ लगानी गर्न तयार हुनुहुन्छ ।
बाइडेनले ओबामाकालीन चुनावी मुद्दाहरू राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषय उठाउनुभयो । बहुसङ्ख्यक अमेरिकीको हितमा अघि सारिएका यी मुद्दाहरूमा मतदाताको सकारात्मक अभिमत जाहेर भयो । उता, ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने नारा अगाडि सार्नुभयो । उहाँले आप्रवासी र मुसलमानबाट अमेरिका असुरक्षित भएकाले दुवैको आगमन रोक्न मेक्सिकोसँगको सीमाक्षेत्रमा बनाउन लागिएको पर्खाललाई पूर्णता दिने बताउनुभयो । कठोर र आक्रामक अभिव्यक्ति दिने उहाँको यसपटक धेरै
आलोचना भयो ।
अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचना सुरु भएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेरिकामा बसोवास गर्दै आएको हुनुपर्नेछ । एक व्यक्ति लगातार दुईपटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ । ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्ट्रोरल मत ल्याउनुपर्छ । दुवै उम्मेदवारको मत बराबर भयो भने राष्ट्रपति छान्ने अधिकार संसद्लाई जान्छ । अमेरिकी संसद्ले सन् १७९६, १८००, १८२५, र १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको थियो । कङ्ग्रेस भनिने अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति बाइडेनको कुशल र परिपक्व नेतृत्वले अमेरिकाका साथसाथै विश्व शान्ति र समृद्धमा योगदान पुग्ने अपेक्षा सर्वत्र गरिएको छ ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?