logo
२०८१ बैशाख ८ शनिवार



सहकारीमा सेवा निरन्तरताका चुनौती

विचार/दृष्टिकोण |




 

बेनीबहादुर कार्की

संसारभर असर गरेको कोरोना कोभिड–१९ को महामारीको असरबाट सहकारी क्षेत्र पनि प्रभावित हुनु स्वाभाविक हो । यो महामारीमा पनि आफ्ना सेयर सदस्यलाई जसरी हुन्छ, निरन्तर सेवा दिन सबै सहकारीकर्मी, सहकारी संस्थाहरू र सहकारीका नियमनकारी निकाय नेफ्स्कुनसमेत लागिपरेका छन् । यो अवस्थामा जोखिमका विकल्पहरूको खोजी गरेर सेयर सदस्यहरूलाई निरन्तर सेवा दिने उपायहरूको खोजीका लागि नेफ्स्कुनसमेतले भर्चुअल माध्यमबाट मुलुकभरिका सहकारीकर्मीहरूसँग दर्जनौँ जुम कार्यक्रमार्फत अन्तक्र्रिया गरेर विचार आदान–प्रदान गरिरहेका छन् । यही भएकाले लकडाउनको समयमा बैङ्कहरू बन्द भएका दिनहरूमा पनि सहकारीहरूले निरन्तर सेवा दिन सकेका हुन् । यी कार्यक्रमहरूबाट सेयर सदस्य, सहकारी संस्था र कर्मचारीहरूलाई कसरी सुरक्षित गरेर सेवालाई निरन्तरता दिने भन्ने उपायको खोजी भएको छ । अहिलेको सङ्कटमा यो ठूलो र महŒवपूर्ण काम हो ।
अहिले सहकारीहरूमा तरलता बढेको छ । महामारीको सुरुमा तरलताको अभाव होला भनेर गरेको अनुमान गलत साबित भएको छ । यसरी सहकारीकर्मीहरूलाई यो महामारीमा पनि आफ्ना सेयर सदस्यहरूलाई बैङ्कहरू बन्द भएका दिनहरूमा पनि निरन्तर सेवा दिने सवालमा नयाँ खोज, तरिका र काम सिकाएको छ । सहकारीहरूले पहिलोपटक बैङ्कहरूको तुलनामा सेयर सदस्यको मात्र नभई, समग्रमा आमजनताकै विश्वास आर्जन गर्ने अवसर मिलेको छ ।
सेवा दिनु सहकारीकर्मीका लागि ठूलो चुनौती भएको छ । सर्वप्रथमतः हामी सबैले भौतिक दूरी कायम गर्दै स्वास्थ्यको नियम कडासँग पालना गर्न, गराउन आवश्यक छ । कर्मचारीहरू पूर्ण रूपले प्रविधिमैत्री हुन जरुरी छ । सहकारीको नेतृत्व गरेका सञ्चालक समिति सकारात्मक भएर सहकारी संस्थामार्फत कर्मचारीलाई हौसला दिएर प्रविधिका साधनसमेत उपलब्ध गराइदिनुपर्छ जसले गर्दा कर्मचारीहरूले आलोपालो प्रणालीबाट घरैबाटसमेत सेवा दिन सकून् । यसो गरेपछि सबै कर्मचारी एकैपटक संस्थामा आउनु पनि पर्दैन र सदस्यहरूले आवश्यक सेवा पनि निरन्तर पाइनै रहनेछन् । सहकारी संस्थामा निरन्तर काम हुने भएकाले संस्था पनि बच्नेछ । केही गरी एक समूह कर्मचारीलाई कोरोना पोजेटिभ भइहालेमा पनि अर्को समूहले सेवालाई निरन्तरता गर्न सक्छन् । यसो गर्दा सधँैभरि सदस्यले सेवा पाउने हुन्छ । सहकारीको नेतृत्वले सहकारी संस्थाबाट निरन्तर सेवा दिनका लागि अन्य जोखिमहरूको विश्लेषण गरेर हरेकको विकल्प तयार गरिराख्नुपर्छ ।
कोभिड–१९ को महामारीले ठूला सहकारीहरूलाई साधारणसभाको आयोजना गर्न समस्या परेको छ । केही सहकारीलाई प्रतिनिधिमूलक साधारणसभा गर्न अनुमति लिन समस्या परेको छ । अनुमति पाएपछि पनि स्वास्थ्यको मापदण्डको पालना गराएर साधारणसभाको आयोजना गर्न कठिन परेको छ । गत वर्षसम्म सजिलै एउटा वा केही समूहमा गरेको साधारणसभा यसपटक कैयौँ गुणा धेरैपटक गर्नपर्ने भएको छ । यसरी समय र खर्च दुवै धेरै लाग्ने भएको छ । व्याजसमेतको कारोबारमा कमी भएका कारण मारमा परेका सहकारी संस्थाहरूलाई साधारणसभामा धेरै खर्च लाग्दा झन् मारमा परेका छन् । यसको असर सेयर सदस्यलाई दिने लाभांशमा पर्ने भएकाले सहकारीको नेतृत्व र व्यवस्थापनलाई ठूलो समस्या परेको छ ।
अहिलेको जोखिम नौलो र लामो छ । यसको असर यो वर्षभन्दा आगामी वर्षमा झन् चर्को पर्नेवाला छ । अहिले कोरोना सुरु हुनासाथ त बचतको समस्या, तरलताको समस्या छ । एकातिर बैङ्क बन्द हुन्छ, तरलताको अभावले सहकारीमा कारोबार गर्न समस्या पर्छ । अर्कोतर्फ मालपोत कार्यालय बन्द हुन्छ रोक्का र दृष्टिबन्धक पास गर्न नपाएर लगानी नै नभएर तरलता बढी भएर पैसा थुप्रिएर बसेको हुन्छ । यसो भएकाले सहकारीमा कारोबार पनि कम हुन्छ र नाफा गर्न पनि मुस्किल पर्छ । यतिमात्र नभएर सबैभन्दा चर्को समस्या त बैङ्कले पहिले कारोबारको आधारमा दिँदै आएको व्याज घटाएर आधा प्रतिशतसम्म झारेका छन् । बैङ्कसँगको प्रतिस्पर्धा र सहकारी विभागको निर्देशनअनुसार सहकारीहरूले पनि अहिले आधाजति व्याज घटाउन बाध्य भएका छन् । अहिले प्रोबेसनमा गएका सहकारीहरूले १६ बाट घटाएर १३ देखि ११ प्रतिशत व्याजमा ऋण लगानी गरिरहेका छन् । यो भनेको हालै विभागले तोकेको व्याज दर १४.७५ प्रतिशतभन्दा पनि कम हो । झन् अब त धेरै सहकारीहरूले एक अङ्कमा ऋण दिन थालिसकेका छन् । यो नै सहकारी क्षेत्रमा हाल भएको सुधार र अभूतपूर्व परिवर्तन हो ।
यसो भएकाले अब आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा सहकारीले नाफा गर्ने र सेयर सदस्यहरूलाई लाभांश दिन धेरै कठिन पर्ने देखिन्छ । यस्तो अवस्थामा सस्था सञ्चालन खर्च, मौजुदा कर्मचारी राख्न र कर्मचारीलाई दिँदै आएको तलबसमेतका सुविधा दिएर सेयर सदस्यहरूलाई १८ प्रतिशत लाभांशसमेत दिन कठिन छ । सहकारीले दिँदै आएको सहकारी प्रशिक्षण शिविर र साधारणसभा सम्पन्न गर्न पनि समस्या भएकाले अहिलेको अवस्थामा सहकारीले चौतर्फी चुनौती सामना गर्नुपर्ने देखिन्छ । त्यसैले अब यी समस्याबाट भागेर होइन, चुनौतीलाई स्वास्थ्यको नियमको पालना गरी समस्याको सामना गर्दै अब झन् ९ प्रतिशत व्याजमा ऋण दिएर बैङ्कहरूको प्रतिस्पर्धामा सहकारीहरूले काम गर्न जरुरी भएको छ ।
(लेखक सहकारीकर्र्मी हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?