logo
२०८१ मंसिर १२ बुधवार



बालाचतुर्दशी, रौनकमा कमी

विचार/दृष्टिकोण |




अच्युतप्रसाद पौडेल ‘चिन्तन’

दिवङ्गत पितृ उद्धार हेतु पाशुपत् क्षेत्रमा गरिने धेरै कार्यमध्ये सतबीज रोपण अर्थात् सतबीज छर्ने काम पनि एक प्रमुख हो । यसपालिको यो पर्व मङ्सिर २८ गते परेको छ । त्यसो त सतबीज छर्नु एक दिनअगावै मार्ग २७ गते राति पितृ उद्धार हेतु दीप प्रज्वलन गर्ने, महादीप बाल्ने गर्नुपर्ने हो । मङ्सिर २७ देखि नै पशुपति क्षेत्रमा पाइला राख्ने ठाउँ नहुनु पर्ने हो । चारै दिशाका भक्तहरूको ओइरो नै लाग्ने गर्दथ्यो त्यहाँ विगतमा । पशुपति क्षेत्र विकास कोषले यसपालि कोरोनाको कारण देखाउँदै बत्ती बाल्ने अघिल्लो दिनको कार्यक्रम गर्न नदिने भनेको छ । भौतिक दूरीलाई समेत ख्याल गर्दै बालाचतुर्दशीका दिन भने सतबीज छर्ने प्रयोजनका लागि उसले अलि हलुका व्यवहार देखाउने छाँट छ ।
त्यसो त पशुपति आउन नसक्नेले सिन्धुलीको कुशेश्वरदेखि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, ललितपुर, भक्तपुर पर्वत, कास्की र स्याङ्जाबीचको पञ्चासेलगायत देशका विभिन्न जिल्लामा रहेका ६४ शिव ज्योतिर्लिङ्ग वा अन्य शिवालयमा बत्ती बाल्ने, जाग्राम बस्ने अनि सतबीज छर्ने गर्दथे पहिले । अघिल्लो वर्षसम्म भएको यही हो । तर यो वर्षको परिवेश फरक छ । कोरोना भाइरस सङ्क्रमणका कारण लापरबाही गर्नु पनि भएन । यद्यपि सबैतिरको अवस्थामा सामान्यजस्तो, राजनीतिक सम्बोधन र भीडभाड पनि सामान्यजस्तो देखिएको छ तर सतबीज त्यो पनि नितान्त धार्मिक पर्वको मुखैमा पशुपति मन्दिर नखोलिएर दुई दिनपछि पुस १ गते मात्र खोलिने समाचार बाहिर आएको छ । पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय धर्म संस्कृति प्राचीन मानिन्छ । संसारको उदयदेखि नै आरम्भ भएको हिन्दु संस्कृति र सभ्यताले दिवङ्गत पितृहरूको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बालाचतुर्दशी पनि एक हो । सतबीज र बालाचतुर्दशीबारे शास्त्रीय मत यस्तो छ ।
काठमाडौँको प्रसिद्ध पाशुपत् क्षेत्रस्थित श्लेष्मान्तक वनलाई अघि बालावन भनिन्थ्यो । बालावनमा शैव धर्मावलम्बी अघोरी बाबाहरू धेरै बस्दथे । भनिन्छ, त्रेता युगमा पुलस्त्य ब्राह्मण कुलका रावण, कुम्भकर्ण, शुर्पणखा पनि यहीँ जन्मिएका थिए । बागमती तट गोकर्णमा कडा तप गरेका थिए उनीहरूले ! विश्वक्रा प्रसिद्ध पशुपतिनाथको ज्योतिर्लिङ्ग उदय भएपछि शैवमार्गी यस क्षेत्रमा धेरै भए । तीमध्ये एक नायक थिए बालानन्द । त्यतिबेला मसानघाटमा भोज भतेर खाने चलन रहेछ । एक दिन खानेकुरा खाँदाखाँंदै घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिटिएर उनै बालानन्दको खानामा परेछ । थाहा नपाई उनले त्यो खाना खाएपछि उनको तेज र फूर्ति धेरै बढ्दै आएछ । अब त उनले घाटमा जलाउन ल्याएका सबैजसो लासलाई तान्दै वनमा लग्दै खाँदै गर्न थालेछन् । यसो हुँदा हिन्दु धर्म परम्पराअनुसार काजकिरिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नु परेछ । अन्ततः त्यतिबेलाका राजा भुवनकेशरसम्म जाहेरी भएछ । आसुरी प्रवृत्ति बढ्दै गएपछि त्यो बालानन्दको नाम बालासुर हुन पुगेछ । त्यहाँको वनलाई पनि बालावन भनिन थालेछ । सर्वसाधारणको उजुरीपछि राजाले बालासुरलाई वध गर्न आदेश दिएछन् ।
निकै बलशाली बालासुरलाई वध गर्नसक्ने कोही थिएन । तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृषसिंह भन्ने एक व्यक्ति फेला परेछन् । राजाको आज्ञाले बालासुरको वध गर्न उनैलाई भनिएछ तर वृषसिंह आफैँमा त्यस्तो सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन् । घुम्न आएका शिव दम्पतीले बालावनमा वृषसिंहलाई वरदान माग्न भनेपछि उनै आसुरी शक्ति बालासुरलाई मार्नसक्ने वरदान मागे । शिवजीले हुन्छ तर उसलाई मारेपछि उसको शिर भने शिवजीलाई नै दिनुपर्ने सर्त राखेछन् । वृषसिंह शक्ति सम्पन्न त भए तर मनमनै खिन्न पनि ! साथीको हत्या आफैँमा ठूलो अपराध हो भनेर ! तैपनि बालासुरलाई नमारी नहुने भो भनेर उनले विभिन्न योजना बनाए । चिउरा, मदिरा, मासुका परिकार, साथीलाई मनपर्ने ठानी भरियाका साथमा ठूलै भीड लिएर वृषसिंह घाटतिर जाँदै थिए । बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठान्यो र लासलाई खोस्नतिर लाग्यो । साथी वृषसिंहलाई पनि देख्यो । आपसी संवाद हुँदै जाँदा वृषसिंहले भने, “लामो समयपछि तपाईंलाई भेट्न आएको, खालि हात कसरी आउँ भनेर केही खानेकुरा उपहार ल्याएको छु । बालासुर खानामा लोभी थियो अघाउन्जेल उपहार खाना खायो । केही बेरपछि मदिराले मात्तिएर ढलपल गर्न पनि लाग्यो । यही मौका छोपी वृषसिंहका भरियाले उसलाई डोरीले बाँधेर गहिरो इनारमा खसाले । त्यहीँ ढुङ्गामुढा गरेर मारिदिए । वृषसिंह उसको टाउको लिएर राजाकहाँ. पुगे र भने, यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ, राजाले हुन्छ भने ।
वृषसिंह टाउको लिएर पशुपति गए । शिवजी खुसी भएर वरदान माग भन्नुभयो । वृषसिंहले आफ्नो कामप्रति पछुतो मान्दै मित्र हत्याको अपराध नलागोस् भनी वरदान पनि मागे । शिवजीले भन्नुभयो, “त्यसो भए एउटा काम गर, यसको टाउको चाँंदीको बनाउ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटको रूपमा राख ।” बालासुरलाई मारेको दिन मार्ग कृष्ण चतुर्दशी रहेछ । त्यसैदिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाइदिने नयाँ चलन चलेछ । बालासुरलाई मारेको दिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाउनाले र यसै दिन श्लेष्मान्तक क्षेत्रमा भ्रमण गर्नाले सम्पूर्ण दिवंगत पितृको उद्धार हुन्छ भन्ने पनि वरदान मिल्यो । बालावन जसलाई श्लेष्मान्तक वन भनिन्छ, त्यहाँ बालाकै नामबाट रहेको तिथि बालाचतुर्दशीमा जसले सतबीज छर्छन्, तिनका पितृहरूको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो । सात पुस्तासम्मका पितृहरूको गति मुक्तिका लागि आजसम्म पनि पशुपतिलाई चाँदीको मुकुट लगाइदिने चलन छ । मार्गकृष्ण चतुर्दशीमा त्यहाँ ठूलो मेला लाग्छ । पशुपतिको विशेष दर्शन गर्ने पनि चलन छ ।
सके सयथरी अन्नको बीउ नसके सातथरी धान, गहुँ, मकै, जौ, मुगी, भटमास, बोडी आदि एकै ठाउँमा मिलाएर सतबीज छर्ने चलन छ । सतबीजलाई सद्मी भन्ने पनि गरिन्छ । अघिल्लो दिनदेखि नै महादीप बाली जाग्राम बस्ने पशुपति क्षेत्र परिसरमा धूमधामको जात्रा गर्ने, भजन कीर्तन गर्ने चलन छ । भोलिपल्ट चतुर्दशीका दिन बिहान बत्ती सेलाएर सतबीज छर्दा पशुपति, गुह्येश्वरी, वासुकी, मृगस्थली भ्रमण मात्र गर्दा पनि मानव जन्ममा जन्म मरणको चक्र दूर हुन्छ भनी स्कन्दपुराण हिमवत् खण्ड मृगस्थली माहात्म्य एवं हेमाद्री संहिताहरूमा उल्लेख छ । सद्मी छर्ने प्रमुख स्थानमा विश्वरूप, किराँतेश्वर, चौसठीक्षेत्र आदि मुख्य छन् । मृगस्थली नजिकै बहिरा गणेश छन् तिनको छुट्टै महŒव रहेको छ । सद्मी छर्न जानेले उनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ । यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्त मृतकका लागि सद्मी छर्न आएका छन् भनी ती बहिरा गणेशले आफन्तका मृतकलाई भनिदिन्छन् भन्ने विश्वास गरिन्छ । सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने गर्दछन् ।
सतबीजको एक दाना एक रति सुन बराबरको पुण्य हुने हुनाले सद्मीका बीजहरूको अनगिन्ती पुण्य हुने कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । शिवजीले अघि मृग रूप लिएर यसै मृगस्थलीमा भ्रमण गरेकाले यहाँँको नाम मृगस्थली रहेको र बालाचतुर्दशीकै दिन शिवले एकसिङ्गे मृग रूप लिएकाले यस दिन मृगस्थलीमा पुग्ने र सतबीज छर्नेहरू जो कोही पनि दीर्घजीवी र पुण्यात्मा हुने गर्दछन् ।
पशुपति क्षेत्रमा हिजोआज हरेक बिहान बेलुका भ्रमण गर्नेहरू आफ्नो आयु बढाउन चाहन्छन् । शारीरिक अभ्यासदेखि योग, प्राणायाम र दिल बहलाउन चाहनेहरू भेटिन्छन् । वन बुट्यानको ताजा हावा, सफा वातावरणको कारण पनि वृद्ध, रोगीसमेत त्यहाँ आवतजावत गर्ने गर्छन् ।

(लेखक धर्म संस्कृतिका अध्येता हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?