अच्युतप्रसाद पौडेल ‘चिन्तन’
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् ।
आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तुतेजः ।।
चान्द्रमान अनुसार श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीहरूका लागि यो वर्षभरिको महान् पर्व हो । मानव शरीरमा शुद्ध र स्वाध्याय गरिनै रहनुपर्ने हँुदा यस दिनलाई शरीर शुद्धि र विशेष स्वाध्याय गर्ने दिनका रूपमा पनि मानिन्छ । विशेष स्नान गरी यज्ञोपवीत अर्थात् जनै वा ब्रह्मसूत्र धारण गर्ने दिनको रूपमा यसैसँग सम्बन्धित उपाकर्म गर्ने दिनको रूपमा पनि मानिन्छ ।
यजुर्वेदीहरूका लागि वेदको अध्ययन आरम्भ गर्ने दिन, श्रवण नक्षत्रयुक्त भएकाले यसलाई श्रावणी भन्ने गरिएको हो । हामी यसै दिनलाई संस्कृत दिवसको रूपमा पनि मनाउँछौँ । सामवेदीहरू भाद्रशुक्ल पूर्णिमामा र अथर्ववेदीहरूले श्रावण या भाद्र पूर्णिमाका दिन उपाक्रम गर्ने गर्छन् । तागाधारीहरूले यो दिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिहरूको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित जनै धारण गरी पुरानो जनैलाई झिक्ने गर्छन् ।
वर्गपिच्छे जनै बनाउने वस्तु र विधि फरक भए पनि सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्ने गर्छन् । जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरिसकेको हुनुपर्छ । चूडाकर्म, उपनयन, व्रतबन्ध आदि कर्म भइसकेका लागि यस दिन जनैलाई नवीकरण गर्ने दिन सम्झी नयाँ मन्त्रिएको जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरी फुकालिन्छ । प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’ को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा अत्यन्त पवित्र प्रजापति रूपका जनैले मेरो शरीर बनाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचको रूपमा रहन भगवदीय प्रार्थनासमेत गरी जनै लगाउने गरिन्छ । विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कीर्ति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्यसमेत प्राप्त हुन्छ । जनैको बनोटदेखि नै यसमा विशेष ख्याल गरिएको हुन्छ । ‘शतं सम्बत्सरं जीवेत्’ भन्ने वैदिक चिन्तन मानिसको पूर्ण आयु सय वर्षको र ९६ सूत, नौ गुणा र तीन डोराले त्यसमा प्रयोग भएका ग्रन्थीहरूले मानिसको जीवन पूर्णायुको सङ्केत गर्छ । व्रतबन्धादि संस्कार गर्दा केही जीवन समय व्यतित भइसकेको भए पनि झण्डै बाँकी ९६ वर्ष, ९६ सुतली बाँकी जीवनको पूर्णता र प्रत्येक वर्षको उपाक्रमले यसको नवीकरण र शुद्धीकरणको सङ्केत गर्छ । शरीरमा भएका नौ द्वारबाटै अन्त्यमा प्राण विसर्जन भई देहलीला समाप्त हुने हुँदा मुख्य नौ द्वारयुक्त शरीरको भरणपोषणको अनि रक्षाको सङ्केत नौ गुण जनैले दिन्छ । अर्काे कुरा, जनैमा भएका तीन डोराले जन्मदै तीन ऋण बोकेर आउने र ती तीन ऋण देव ऋण, पितृ ऋण, ऋषि ऋण जीवनमा गरिने पुण्यकर्मले तिर्दै जाने सङ्केत पनि यसबाट प्राप्त हुन्छ ।
सदैव देव उपासनाबाट देव ऋण, तपद्वारा ऋषि ऋण र असल संस्कारबाट असल सन्तान उत्पादन र संस्कारले तदनुकूल व्यवहार गर्नु पितृ ऋण चुक्ता गर्ने उपायहरू हुन् । जनैमा भएका पाँच ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने पाँच मुख्य कर्मको सङ्केत गर्छ । सदैव स्वाध्यायमा रहने, होमादि कार्यबाट देवतालगायत सम्पूर्ण जीवात्मालाई आहुतिमार्फत खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथि सत्कार गर्ने, सदैव जल तर्पण आदिले पितृयज्ञ गर्ने, सदैव प्राणीलाई जल, अन्न दिएर भूतयज्ञ गर्ने यी पाँच प्रमुख यज्ञ मानिसले दिनदिनै गर्नुपर्ने हुन्छ । सक्नेले यी कार्य सधैँ गर्छन्, नसक्नेले जनै पूर्णिमाका दिन यज्ञोपवीत संस्कार गर्दा तिनबाट हुन नसकेका दोषमुक्तिका लागि सम्पूर्ण ब्रह्माण्डमा रहेका स्थावरदेखि जीवात्मासम्म श्रद्धाभाव व्यक्त गर्दै महासङ्कल्पका साथ उपाक्रम कर्म गर्छन् ।
ब्रह्माण्डभित्रका सम्पूर्ण लोकालोक अतल, वितल, सुतल, भूतल, रसातल, तलातल, पातालदेखि धर्तीमा रहेका सम्पूर्ण नदी, जलाशय, सागर, महासागर र अन्तरिक्षका भूत, पिशाच, प्रेत गणदेखि आकाशसम्मका ब्रह्मलोक, विष्णुलोक, शिवलोकसम्म र सृष्टिदेखि आजपर्यन्त रहेका, आफू सम्बन्धित तमाम वायुमण्डल र समस्त भूगोल, खगोल, आकाशीय पिण्डहरूलाई समेत स्मरण गरी तृप्त पार्ने प्रयास गरिन्छ । आफूबाट आशा गरिएका समस्त जीव, जीवात्मालाई वर्षभरि नै तुष्टि, पुष्टि गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रायश्चित गर्दै जलादि तर्पण दान गरी नयाँ जनै लगाउने क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने कामना गरिन्छ । पूजाका लागि यसदिन छुट्टै आपँैmले वा ब्राह्मणद्वारा महासङ्कल्प गराई जानेर वा अन्जानमा यसअघि भएका सम्पूर्ण कर्मदोष, प्रदूषण, कुकर्मलाई सकेसम्म स्मरण गरी सम्पूर्ण दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान रहेको छ । पितृका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताका लागि जनै सव्यबाट तर्पण गरिन्छ । वर्षभरि भएका कुकर्म, झुठो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार, कुप्रवृत्ति र तिनका प्रभावबाट मुक्त राखी नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दैछु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।
ब्रह्माण्डमा अनेकौँ द्विप छन् । शरीरका नाडी नसाझैँ साँढे तीन करोड तीर्थ छन् । अनेकौँ धाम छन् । सम्पूर्ण ब्रह्माण्ड नै आफ्नो शरीर सम्झी ब्रह्माण्डीय तत्तत् स्थानमा स्थूल रूपमा पुग्न, हेर्न, देख्न, स्तुति बन्दना गर्न नसकेको, अयोध्या, मथुरा, गङ्गा, यमुना, बद्रीधाम, गोसाइँकुण्ड, देवघाटजस्ता पावनक्षेत्रमा पुग्न, स्नान गर्न, दान गर्न, ध्यान गर्न नसकेको प्रायश्चितस्वरूप आफ्नै वरिपरि पूजास्थलमा आह्वाहन गरी विशेष वेद, उपनिषद, गायत्री, अनेक शास्त्रीय विधिले चिन्तन गरी रक्षाबन्धनको मन्त्र पढेर आचार्य, गुरु, पुरोहितका हातबाट रक्षाबन्धनको डोरोसमेत बाँध्ने परम्परा यसै दिनका लागि छुट्याइएको छ । बालरक्षाका लागि विभिन्न रङको डोरो लगाउने प्रचलन छ भने पहेँलो, रातो, सुन्तला रङले सजाएको धागोको डोरो हातमा बाँध्नाले वर्षभरि नै सुरक्षित हुने पूर्वीय चिन्तन आफैँमा महìवपूर्ण मानिन्छ ।
जनै पूर्णिमाको दिन दिदीबहिनीका हातबाट रङ्गीन राखी बाँध्ने, उपहार आदान–प्रदान गर्ने चलन पनि देखिन्छ । खासगरी जनै पूर्णिमाको दिन गुरु पुरोहितबाट मन्त्रसहित जनै लिने, जनै दान गर्ने, हातमा डोरो बाँध्ने चलन सबैतिर देखिन्छ । यज्ञोपवीत धारण नगर्ने महिला र अन्य वर्गकाले रक्षाबन्धनको डोरो विशेष रूपमा बाँध्ने चलन छ र वर्षको एक पटक आउने लक्ष्मीपूजा गाई तिहारका दिन हातको त्यो डोरोलाई गाईको पुच्छरमा बाँध्ने चलन छ । यसो गर्दा नारकीय नदीबाट सजिलै पार पाउने विश्वास गरिन्छ ।
रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अघि दानवबाट पीडित देवगणले अभिमानी असुरको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु वृहस्पतिसामु हारगुहार मागेपछि गुरु वृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु वृहस्पतिले विशेष मन्त्रजप गरेको प्रभावले दानवहरू पराजित भई देवगण सुरक्षित रहेको संस्मरण स्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो ।
येनबद्धो बलीराजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बध्नामि रक्षेमा चल मा चल ।।
यस्तो सुरक्षा कवच्को तयारी श्रावणशुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेकाले पनि यस पूर्णिमालाई लागि रक्षाकवचको रूपमा लिन थालिएको हो ।