logo
२०८१ बैशाख १६ आईतवार



आमा अर्थात् धर्ती

विचार/दृष्टिकोण |




अच्युतप्रसाद पौडेल ‘चिन्तन’

आज वैशाख २८ गते, आमाको मुख हेर्ने पर्व, मातृ औँसी । माता भन्नु धर्ती, धरणी वा पृथ्वी हो जुन स्वर्गभन्दा प्यारो हुन्छ । त्रेता युगमा भगवान् श्रीरामले लङ्का विजय गरेपछि भाइ लक्ष्मणले स्वणर््ापुरी लङ्कामै बस्न अनुरोध गर्दा जवाफमा श्रीरामले भन्नुभएको थियो – अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ।। अर्थात् भाइ लक्ष्मण, सुनको लङ्का भए पनि मलाई मेरै जन्मभूमि प्यारो छ ।
विश्वभर पैmलिएको कोरोनाका कारण गतवर्ष पनि आमाको मुख हेर्ने पर्व निकै खल्लो भयो, यसपालि पनि खल्लो अनुभूति हँुदैछ । र, पनि आफ्नो घरभित्र आमालाई श्रद्धा प्रकट गर्ने काममा कमी नहोला, आमाको स्नेह सद्भाव प्रकट गर्ने काममा कमी हुन्न होेला । असल संस्कार, शिक्षा, संस्कृति र सभ्यताको परिचय दिँदा सर्वप्रथम देशप्रेमको भावना सिकाइन्छ । व्यक्ति नैतिक र चारित्रिक हुन स्वदेशप्रिय हुनैपर्छ । जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पवित्र मानिएको छ । पृथ्वी सबै प्राणी जगत्की आमा हुन् । प्राणाीका लागि आवश्यक जल, अन्न सबै धर्तीबाटै प्राप्त हुने गर्छ । सबै शक्तिभन्दा अक्षुण्ण शक्तिका रूपमा सर्वेस्वरी धर्तीलाई शास्त्रकारहरूले मानेका छन् । धार्मिक कृत्यमा सर्वप्रथम ‘त्वमेव माता’ भनेर प्रार्थना, पुकार गरिन्छ । जन्म दिएर, स्तनपान गराएर, पहिलो शिक्षा दिएर आमाले सन्ततिलाई पहिलो आश्रय दिएकी हुन्छिन्, त्यस्तै धरणी, धर्ती, पृथ्वी माताले सबै प्राणीप्रति दया र उदार स्वभाव व्यवहारतः प्रदर्शित गरेकी हुन्छिन् । पृथ्वीको अर्को नाम सबैलाई धारण गर्ने हुँदा धरा पनि भन्ने गरिन्छ । धर्तीको संस्मरण, जन्मदिने आमाप्रति देखाउने सदावहार सद्भावको अर्को नाम हो मातृआँैंसी ः आमाको मुख हेर्ने दिन वैशाख कृष्ण औँसी ।
पखेटा बलिया नभइसकेका चराचुरुङ्गीहरूले माउको ओत पाएझैँ, नवजात बाच्छा बाच्छीहरूले दूध अमृतपान गरेर शरीर हुर्काएझैँ, सम्पूर्ण जीवात्माहरूलाई बल एवं निर्बल दुवै अवस्थामा मातृ स्नेह आवश्यक पर्छ । सन्तान कुपुत्र वा कुसन्तान हुन सक्लान् तर कुमाता कदापि नहुने कुरा त धर्तीमा जोसुकैले कुल्चँदा, फोहोर गर्दा, प्रदूषित बनाउँदा, भत्काइ टुटाइ गर्दा पनि धर्तीले कुनै प्रतिक्रिया नदिएबाट नै स्पष्ट हुन्छ ।
पूर्वीय दर्शनले आमालाई वात्सल्य प्रेमकी प्रतिमूर्ति मानेको छ । सम्पूर्ण धर्ती आमाको प्रतीक भएकाले बसुधाभित्र रहेका सबै प्राणीहरूलाई एकैपरिवार, कुटुम्बको रूपमा स्वीकार गरेको छ । ‘बसुधैव कुटुम्बकम्’ पूर्वीय चिन्तन हो भने सारा धर्ती वातावरणीय दृष्टिले सफा, सुग्घर हुनुपर्छ भन्ने विश्वभरिका सबैको मान्यता रहेको छ । सर्वेश्वर श्रीकृष्णका दुई पत्नी भूदेवी र श्रीदेवी हुन् । श्रीदेवीलाई सौभाग्यसहितकी चल सम्पत्ति मानिन्छ भने स्थीर लक्ष्मी भनेकी भूदेवी अचल सम्पत्ति नै हुन् । देवीका प्रतिमूर्तिहरू सीता, लक्ष्मी, गङ्गा आदि सबै धर्तीबाटै उदय भएका हुन् ।
मातृवत्सला नवधाभक्तिको उदय गराउने माता देवहुती, कृष्णकी माता देवकी एवं यशोदा र सम्पूर्ण देवताहरू पैदा गर्ने अदिति एवं राक्षस स्वाभावका प्राणी आसुरी शक्ति पैदा गर्ने दिती पनि धर्तीकै प्रतिमूर्ति हुन् । देवस्वरूप राम, आदि चारभाइ पैदा गर्ने कौशल्यादेखि प्रह्लादको जन्म दिने कयाधुसम्म सबै धर्तीकै प्रतिमूर्ति हुन् । शिवकी प्रिया शिवा, विष्णु प्रिया लक्ष्मीदेखि सृष्टिकर्ता ब्रह्माप्रिया सरस्वतीसम्म माताका प्रतिमूर्तिहरू हुन् यस अर्थमा चेतनशील प्राणी विशेषदेखि जड पदार्थ पञ्चतìवको संरक्षिकाका रूपमा पनि पृथ्वी वा धर्ती मातालाई नै लिइन्छ ।
पूर्वीय दर्शनको प्रारम्भिक शास्त्र ऋग्वेदले अन्न उब्जाएर प्राणीरक्षा गर्ने, वस्त्रादिको कच्चापदार्थ उब्जाएर प्राणीहरूको पृष्ठपोषण गर्ने शरीर ढाक्ने, कार्यमा संरक्षण गर्ने धर्तीलाई पहिलो पूजा गर्नुपर्ने मान्यता राखेको छ । अग्निमा आहुती दिँदा सर्वप्रथम भू.स्वाहा भनिन्छ । मानिसहरूले अन्न ग्रहण गर्दा सर्वप्रथम भूदेवीलाई अर्पण गरेर मात्र गर्छन् । आधुनिक विज्ञानले धर्तीलाई प्रयोगशालाको रूपमा लिएको छ । धर्तीमा उत्खनन भएका सारा पदार्थहरूको प्रयोग गरी विज्ञान जगत्ले चमत्कारपूर्ण प्रदर्शन गरेको छ । अथर्व वेदले भूमिलाई आमा र अन्य सबै जीवात्माहरूलाई सन्ततिका रूपमा हेरेको छ । रामायणजस्तो रसिलो काव्यले मातृ भावलाई जीवन्त बनाएको छ । रचनाकार वाल्मीकिदेखि सन्त तुलसीदाससम्मले मातृभावको खुलेर चर्चा गरेका छन् । रघु कुलका राघव आदर्श पुरुष श्रीरामले जन्म लिएको कौशल्याको गर्भलाई सम्पूर्ण ब्रह्माण्डको पूर्व दिशा बनाएका छन् । ज्ञान, कर्म र उपासनाकी प्रतिमूर्ति कौशल्या, कैकेयी एवं सुमित्राका गर्भबाट चार वेदस्वरूप चार भाइको जन्म भएको र यसलाई सम्पूर्ण धर्तीमा चार दिशा भनी मानिएको छ ।
महाभारतमा माता कुन्तीलाई मातृ स्नेहको खरो उदाहरणको रूपमा स्पष्ट पारिएको छ । पूर्वीय वाङ्गमयमा मातृचर्चा सबैजसो स्थानमा भएकै पाइन्छ । जन्मदिने आमाको आशिर्वादले मानिसहरू जस्तोसुकै विषम परिस्थितिबाट सहजै पार पाउन सक्ने हुन्छन् । शास्त्रले आमालाई तीर्थको रूपमा स्वीकारेको छ । आमाप्रतिको उदारभाव भनेको तीर्थसेवा हो भनिएको छ । जीवित आमालाई हर तरहले खुसी, सुखी पार्ने सन्ततिको वाक्सिद्धि हुने कुरा शास्त्रहरूले वर्णन गरेका छन् । आमाको संरक्षण गर्ने व्यक्तिले टाढा टाढाको तीर्थ सेवा गरिराख्नु पर्दैन भनिएको छ । आमालाई सदैव वन्दना, प्रार्थना त गर्नु पर्छ नै, वृद्ध आमा बाबुको सेवा गर्ने श्रवणकुमार चरित्र पनि मननीय छ ।
आमाको मुख हेर्ने औँसीले प्रतीकात्मक रूपमा मातृस्नेह नै दर्शाउछ । टाढा रहेका सन्ततिहरूले वर्षमा एकपटक भए पनि आमालाई मनपर्ने खाना, बस्त्र, उपहार, दक्षिणा दिएर आशिर्वाद लेऊन् भन्ने यस पर्वको मान्यता हो । जीवित आमा नहुनेहरूले यस दिन जलदान, पिण्डदान, सिदादान, गर्ने गर्छन् । मृत आमाहरूको सम्झनामा स्नेहभाव प्रकट गर्न अनेकतीर्थ, धामक्षेत्रमा पनि जाने चलन छ ।
काठमाडौँ उपत्यकाको थानकोट नजिक मातातीर्थ कुण्डमा यसदिन विशेष मेला लाग्ने गर्दथ्यो । कपाल मुण्डन गर्ने, श्राद्धादि कार्य गर्ने चलन त्यहाँ रहेको छ । मृत आमाहरूलाई यस दिन यसै कुण्डमा दर्शन मिल्छ भन्ने धारणा पनि छ । साना ठूला दुई पोखरी रहेको त्यो कुण्डमा पहिले ठूलो चौर थियो । गोठालाहरूले त्यहाँ गाईबस्तु चराउने गर्थे । त्यहाँ गोठालाको खानेकुरा (खाजा) हराउन थालेछ । पछि के भएको होला भन्दाभन्दै ठूला मानिस, अभिभावकहरूले पनि साविकदेखि नै यहाँ गोठालाहरूको खाजा हराउने गरेको कुरामा विश्वास गरेछन् । गाउँंलेहरू मिलेर त्यस क्षेत्रमा खनेर कुण्ड बनाएछन् । यसरी मातातीर्थ कुण्ड नामले प्रसिद्धि पाएछ त्यो स्थानले । ठूलो पोखरीमा स्नान गर्ने सानो चाहिँमा मृतआमाहरूको मुख हेर्ने चलन चलेछ । यो अद्यापि छंदैछ ।
एकपटक त्यहाँ एउटा गोठालोले भात लगेर त्यस कुण्डमा हालिदिएछ, आमाको सम्झनामा हालेको भात मृत आमा प्रकट भएर खाएको दृश्यसमेत देखिन पुग्दा झन् विश्वास बढेछ । एक पटक द्वापर युगमा श्रीकृष्ण आमालाई खोज्दै यहाँ आइपुगेका, श्रीकृष्णले आफ्नी आमा देवकीले त्यहाँ स्नान गरिरहेको दृश्य देखिएको र त्यो दृश्य देखिएको दिन वैशाख कृष्ण औँसी परेकोले त्यसै बेलादेखि मातृ औँसीको रूपमा यहाँ आफ्नी आमाको नाममा श्रद्धाभाव प्रकट गर्नेहरूको घुइँचो चल्न लागेका कथाहरू भेटिन्छन् ।
(लेखक धर्म संस्कृतिका अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?