logo
२०८१ मंसिर १२ बुधवार



धानको भकारी र तमु ल्होसार

विचार/दृष्टिकोण |




अच्युतप्रसाद पौडेल ‘चिन्तन’

मीन अर्थात् माछालाई पनि जाडो हुने ५० दिन, मीन पचासको मध्यसमय–घाँस, चरन एवं हरियालीमा कमी र मुख्य धानबाली भित्र्याइ वर्षभरि सुख, सन्तोष र धनधान्यकी प्रतीक लक्ष्मीको विशेष पूजा गरिने दिन मार्ग शुक्ल पक्ष पूर्णिमा, हाम्रो धार्मिक र सांस्कृतिक अनुपम पर्व हो । पुस १५ गते घिऊ र खट्टे खाने दिनमै परेकोे छ यसपालि ! नेपालीहरूले धानको भकारी भरे, विगत वर्षभन्दा ७० हजार मेट्रिक टनभन्दा बढी भित्र्याएर ! यसैपालि कोरोनाले कृषि कर्ममा अलिकति भए पनि भरथेग गरेछ, तथापि देशमा अर्बौंको चामल त आयात नै हुन्छ । कृषि कर्ममा सहयोग गर्ने गार्ईबस्तु राखिने ठाउँ गोठमा विशेष पूजा गरिने दिन भनौँ गोठ पूजा, गैडु पूजाका रूपमा पनि चिनिने गरेको छ यो दिन ।
अर्को विशेष दिन, धेरै पहिलेदेखि हामीले मान्दैै आएको पर्व दत्तात्रय जयन्ती यसै दिन पर्छ । पछिल्ला दिनहरूदेखि अझ उत्साहित रूपमा मानिँदै आएको उधौली पर्व र तमु ल्होछार पनि यसै दिन परेको छ । आम नेवारी समुदायमा प्रश्रय पाएको योमरी पुन्हीको नामले परिचित यो पर्व पूर्वीय संस्कृतिको अनौठो र ऐतिहासिक सांस्कृतिक चाड हो ।
हाम्रोे देशैभरि मठ मन्दिरहरू छन््, त्यसमध्ये काभ्रेको बनेपास्थित धनेश्वर महादेवस्थानमा रातभरि मेला लाग्ने गर्छ, तर कोभिड–१९ को समस्यालाई त सबैले ख्याल गर्नैपर्ने हुन्छ । यस दिनको विशेष पर्वमा पहिले वास्तुकलाको अनुपम अभिव्यक्ति भक्तपुरस्थित दत्तात्रय मन्दिरमा पनि विशेष भीड लाग्ने गथ्र्याे । ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त नाम हो भगवान् दत्तात्रेय । अत्रि पत्नी अनुसूयाको तपोबल र सतीत्वको बलले त्रिदेवले दत्तात्रयको रूप लिनु परेको हो । यिनको शिक्षा अवधूत गीताले आज विश्व बजार पाएको छ भने गुरु दत्तात्रयद्वारा व्यास पुत्र शुकदेव परम्हंस बनेका थिए, जसले कलीको आरम्भमै राजा परिच्छितलाई भागवत श्रवण गराएर मुक्ति दिलाएका थिए । दत्तात्रयकै देनले वीर सहश्रार्जुन राजा चक्रवर्ती बने, भरतखण्ड भारतवर्षमा !
कृषि, गोरक्षा, पशुहरूको सम्मान गोठपूजा, घरघरमा गैडुपूजाले संस्कार पाएको यस पूर्णिमामा नेपालीहरूका अधिकांश गाउँघरमा गोठपूजा गर्ने गरिन्छ । नेपालीहरूको मनमा छ सारा जीवजन्तु ईश्वरका सन्तान हुन्, मनु महाराजका अंश र वंश हुन्, कागदेखि सर्पसम्मलाई सम्मान गर्छन् र त धान रोपाइँ गर्ने दिन खेतको आलीमै कपासको प्युरी समेत राखेर नागको पूजा गर्ने गर्छन्, सहकालका देवता भन्दै मत्स्येन्द्रनाथको पूजा गर्छन् । काठमाडौँको नाग पोखरी, सुन्धाराका नागदेवता, टौदहको नागदह, पशुपतिको बासुकी नाग, शिवगलाको नागमणि धेरैलाई याद भएको विषय हो ।
किसानहरूले धान भित्र्याएपछि धानको भकारीमा कुवेरको प्रतीक बिमिरो राखी धान्यलक्ष्मीको पूजा गर्ने गर्थे पहिले । हिजोआज खेतको खलाबाटै मोलतोल गरी बजारमा पठाइने गर्नाले धान भनौँ लक्ष्मीको सह भएको छैन र दुई किलो चामल बजारबाट झोलामा पोको पारी त्यो पनि स्कुटीमा राखेर कोठामा ल्याउने गरिन्छ । नाङ्लो, डालो, खेतबारी, भकारी, नाम्लो, डोको, ढिकी, जाँतो, घट्ट, चोया, निगालो, बाँस, बाबियो, गोठ, गहँुत, गोबर आदि शब्द अब शब्दकोषमा खोज्न भ्याउँदैनन्. हिजो आजका हाम्रा साना नानीहरू । उहिलेको कुरा खुइले भन्ने भइसके, अब त अनलनाइनमा खाना खाने त्यो पनि कोठैमा ‘डाइनिङ’ मा । कुवेर, सुभद्रा र गणेशको पूजा गरी धान्य पर्वत दान गर्ने समेत चलन भएको यो दिनलाई कसले सम्झने ! यसै दिन सामूहिकरूपमा मान्छेको उचाइ बराबर मौलो राखी वरिपरिबाट धानको पहाड बनाउनाले धनको वर्षा हुने मान्यता
रहेको कसले बुझ्ने ?
नेवारी समुदायमा योमरी पुन्हीको नामले प्रचलित यो चाडमा आफन्तहरू बोलाउने, आ–आफ्ना धनसारमा धानको थुप्रोमा चामलको पिठोको लक्ष्मी, कुमार, गणेश बनाई पूजा गरी योमरी चढाउने गरिन्छ । योमरी बनाउँदा शङ्ख आकारले बनाइन्छ । भित्रपट्टि सख्खर, मास, तिल, मुगी, केराउ पिँधेर चामलको पिठोमा हालिन्छ । यो एक किसिमको विशेष स्वादिष्ट रोटी हो । घरघरमा केटाकेटीहरूलाई योमरी माग्न पठाउने गरिन्छ । योमरी दिनेलाई आशीर्वाद दिइन्छ– ‘चुच्चो भएको योमरी देऊ’, ‘खुबमिठो मानी खान्छाँै’, ‘शक्ति सम्पन्न भई सधँै तिमी तरुनी भइरहनु’ भन्ने आशिर्वाद दिन्छन् । ‘दिएनौँ भने बूढीजस्तो होउली’ भन्ने पनि गर्छन् । वर्षैपिच्छे बालबालिकाहरूको जन्मोत्सवका दिन योमरीको माला पनि आमाहरूले लगाइदिने चलन छ नेवारी समुदायमा ! योमरीलाई देवदेवी सम्झी चार दिनसम्म धानको भकारीमा राख्नेसमेत चलन छ । तिहारको भैलोजस्तै गीत गाउने चलन पनि छ । योमरी ग्रहण गर्दा शरीर शक्तिशाली हुने र ऐश्वर्यशाली हुने विश्वास छ । जाडो मौसममा योमरीभित्र रहेको मासु, तिल, सख्खर, चाक्कु, मुगी, केराउजस्ता पदार्थ स्वभावैले गर्मी जगाउने हुन्छन् – शरीरमा तापक्रम वृद्धि गराउँछन् । चिसो मौसममा यी पदार्थले तापक्रम सन्तुलित बनाउन मद्दत गर्छन् ।
अर्को कुरा, जौ आकारको शङ्खजस्तो देखिने दुईतिर लाम्चो भएको योमरीले पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवको समेत सङ्केत गर्छन् । हाम्रो शरीर पृथ्वीको ऊर्जा सन्तुलनबाटै सञ्चालन हुने हो । शरीरको माथिल्लो भाग उत्तरी ध्रुव हो भने पाउ भाग दक्षिणी धु्रव हो । मृत्यु शøयाबाहेक उत्तर सिरान नगर्नु भनी वास्तुशास्त्रले उद्बोधन गरेको छ । ऊर्जा असन्तुलनबाट बचाउन यसो भनिएको हो । योमरीको आकार दुईतिर चुच्चो हुन्छ । एकातिर अलि बढी चुच्चो ! दुई ध्रुवका बीच रहेको गोलाकारलाई पृथ्वीको रूपमा हेरिन्छ । यसभित्र रहेको तिल र चाकु देवी शक्तिको प्रतीक मानिन्छ । मासुचाहिँ गणेशको र मासलाई कुमारको प्रतीक मानिन्छ । माछा मासु नखानेहरूले योमरीमा तिल, मास, केराउ, चाकु आदि राख्ने गर्छन् ।
यो पर्व हाम्रो कृषि पेसासँग सीधा सम्पर्क राख्छ । धानको भकारी भर्ने बेला अहिले नै हो । बढी जाडो हुने र घाँसपात घट्दै जाने हुनाले कृषिकार्यमा सहयोगी गाई, गोरुको विशेष संरक्षण, पूजा र माया आवश्यक नै हुन्छ । वस्तुभाउको रक्षाको लागि गैडुपूजा, धनेश्वरमा नयाँ चामल अर्पणजस्ता चाडपर्वले नयाँ बाली भित्रिएको प्राण रक्षाको मुख्यबाली धानको विशेष सम्मान प्रकट पनि भएको देखिन्छ । विश्वमै अनौठो लाग्ने वैज्ञानिक तर्कसहितका यस्ता चाडपर्वहरूलाई संरक्षण गर्न सके आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गरेको ठहरिनेछ । विश्वसामु हाम्रा अनगिन्ती यस्ता चाडपर्वका संस्कृति अरूका लागि पनि अनुकरणीय हुन सक्छन् ।
धेरै पहिले हाम्रो काठमाडौँ उपत्यकामा खनजोत गर्नुहुँदैन, गरेमा अनिष्ट हुन्छ भन्ने विश्वास अनुरूप केही उब्जनी गरिँदैनथ्यो । एक जना आँटिलो लठेब्रो, परिवार कोही नभएको व्यक्तिले जे पर्ला भनी खनजोत गर्न थालेछ । बाली राम्ररी उब्जाएछ । उसलाई केही भएनछ । शूर वीर उसको मृत्युपछि उसको नामै बलभद्र राखी उसको मूर्तिमा योमरी चढाउने गरिएकाले योमरीको चलन चलेको किम्बदन्तीहरू पनि भेटिन्छन् ।
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?