logo
२०८१ मंसिर १२ बुधवार



पशुपतिनाथ महिमा

विचार/दृष्टिकोण |




अच्युतप्रसाद पौडेल ‘चिन्तन’

तीमहाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरपरिसरमा शिवजीको दर्शनका क्रममा अपार भीड लाग्ने गर्छ । विश्वमै पञ्चमुखी शिवलिङ्गको ठूलो महŒव रहेको छ । अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिङ्गको पूर्वी मुख शिवको हो भने पश्चिम मुख नन्दीस्वरूपको हो । उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरूप मानिएको छ । माथितिरको मुख महादेवको हो । यस्तै पूर्वी मुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिणमुख अघोरका रूपमा लिइन्छ भने ऊध्र्वमुखलाई इशान भनिन्छ । प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाश भागसम्मका रूपमा चित्रण गरिएको छ । सम्पूर्ण जीव र जगत् जहाँबाट उदय हुन्छ र जहाँ
विलय हुन्छ, त्यो क्षेत्र शिवलिङ्ग हो ।
नेपाल नगरी काठमाडौँ पूर्व क्षेत्रमा रहेको बागमतीकिनारामा भष्माञ्चल पर्वत, भष्मतीर्थ, भष्मगङ्गा आदि नामले पुकारिने श्लेष्मान्तक क्षेत्र पश्चिम भागमा पशुपतिनाथको मन्दिर छ । यो द्वादश ज्योतिर्लिङ्गको शिरभाग हो । भारतका प्रसिद्ध क्षेत्र बद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिब्बतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने कुरा हिमवत्खण्ड, स्कन्दपुराणमा उल्लेख छ । यहाँ शिवरात्रि, जनैपूर्णिमा, तीज, एकादशी, सोमबार, शनिबारदेखि बालाचतुर्दशीजस्ता दिनमा भक्तको भीड लाग्छ । सबैभन्दा बढी भीड शिवरात्रिमा लाग्छ । भारतलगायत अन्यत्रबाट समेत यहाँ आउनेको घुइँचो नै हुन्छ ।
पशुपतिनाथको मन्दिर करिब दुई हजार वर्ष पुरानो मानिन्छ । यद्यपि, यो आधुनिक मन्दिरचाहिँ सन् १६९२ मा राजा भूपतिन्द्र मल्लले बनाउन लगाएका हुन् । वंशावलीका अनुसार यो मन्दिर बनाउने श्रेय सुपुष्प देवलाई जान्छ । सन् ३२५ मा राजा हरिदत्त बर्माले मन्दिर बनाउन उत्सुकता देखाएका हुन् भन्नेहरू पनि धेरै छन् । यो मन्दिर कलात्मक छ । छानो धातुले बनेको छ भने सुनको जलप लगाइएको छ । ढोकाहरू चाँदीका छन् । मन्दिर पश्चिम फर्केको छ । मूलढोका अगाडि शिवको वाहन नन्दी झन्डै १५ फिट लामो र आठ फिट अग्लो छ । मन्दिरको दक्षिण भागमा उन्मत्त भैरव छन् भने त्यसदेखि दक्षिण भागमा पूरै ६४ शिवलिङ्गहरू छन् ।
त्यसो त काठमाडौँ, ललितपुर, काभेंपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर आदि गरी १० जिल्लामा ६४ ज्योतिर्लिङ्गको आदिम थलो छ भने ६४ ज्योतिर्लिङ्गमध्ये आदिम लिङ्ग सिन्धुली क्षेत्रको कुशेश्वर शिवलिङ्ग हो भने अन्तिम ज्योतिर्लिङ्ग पशुपति मन्दिरपरिसर उत्तर क्षेत्र कैलाशमुनिको रुदगारेश्वर हो ।
पशुपतिनाथको मन्दिर दुईतले प्यागोडा शैलीको छ । झन्डै साढे तीन फिट अग्लो शिवलिङ्ग मन्दिरभित्र विराजमान छन् । मन्दिरको मर्मत तथा पूजा व्यवस्थापनको परम्पराको श्रेय आठौँ शताब्दीताका यहाँ आएका आद्यगुरु शङ्कराचार्यलाई जान्छ । यहाँ शङ्कराचार्य मठ पनि छ । पश्चिम क्षेत्रमा कैलाशबाट आराम गर्न आएका महादेवले गुहेश्वरी अर्थात् उमालाई साथै लिई यहाँ विराजमान गर्ने गरेको भनिन्छ । पूर्व–दक्षिणतर्फ ब्रह्मनाल क्षेत्र छ, जसलाई आर्यावर्त भनिन्छ । यहाँ जल स्नान गर्नेहरू भवरोगबाट मुक्ति पाउँछन् भन्ने विश्वास छ । ब्रह्मनालदेखि भष्मेश्वर क्षेत्रसम्मलाई भष्मतीर्थ भनिन्छ । भष्मतीर्थमा पाइला राख्ने कुनै पनि प्राणीले भवाटवीको मोहबाट छुट्टी पाउन सक्छन् ।
पशुपतिनाथ मन्दिरपरिसरमै आफू नित्य निरन्तर सेवा गर्ने अवसर पाउन लालायित शक्तिस्वरूपा उमाले शिवको प्रार्थना गरेपछि शिव आज्ञाअनुसार वत्सलाको रूप लिनुभएको र वत्सलाको दर्शन गरेपछि मात्र शिवको दर्शन गरेमा पुण्य मिल्ने कुरा हिमवत्खण्डमा विशद् वर्णन गरिएको छ । पार्वतीका रूपमा सतीको गुह्य पतन भएको क्षेत्र विश्वको सात करोड पावन पीठको आदिम स्थल गुह्येश्वरी क्षेत्र पशुपतिनाथ मन्दिरको झन्डै एक किमि उत्तर–पूर्वमा रहेको छ भने माघ स्नान गरेर पार्वतीले गौरीघाटमा रहेर किरातेश्वर भगवान्लाई पाएको क्षेत्र पनि यसै मन्दिर उत्तर–पूर्वी क्षेत्र हो । पशुपतिनाथको दर्शन गर्नुपूर्व गौरीघाटमा स्नान जल अर्चन गर्नुपर्ने, कैलाश क्षेत्रमा स्पर्श गर्नुपर्ने, प्रसिद्ध गौशाला क्षेत्रमा रहेकी जयवागेश्वरी आमाको स्तुति वन्दना गर्नुपर्ने कुरा नेपाल महात्म्यमा वर्णन गरिएको छ भने वत्सलादेवीका पुत्र चन्द्रविनायक चाबहिल क्षेत्र र त्यस क्षेत्रमा जात्रा चलाइने नक्साल भगवतीको चर्चा पनि स्कन्दपुराणले विशद् वर्णन गरेको छ । वत्सलादेवी र नक्साल भगवती दिदीबहिनी हुन भनिन्छ । दुवैलाई शिवका प्रेमिकाका रूपमा मानिएको छ ।
पशुपतिनाथको दर्शनपूर्व मन्दिर परिसर उत्तरतर्फ रहेको वासुकी नागको दर्शन गर्नुपर्ने हुन्छ । पशुपतिनाथ मन्दिरलाई पूरै परिक्रमाभन्दा पनि किरातेश्वर, गुह्येश्वरीको दर्शन, मृगेश्वरमा जल अर्पण, गणेश, क्षेत्रपाल, नवग्रह, उन्मत्त भैरव, वत्सला, आकाश भैरव, जय मङ्गला, राजेश्वरी, भुवनेश्वरी, भष्मेश्वर आदि क्षेत्रको दर्शन बढी महŒवपूर्ण रहेको छ । अष्टमातृकालगायत नारायणको दर्शन र सत्यनारायणको दर्शन झन् महŒवपूर्ण छ । शिवरात्रि, तीज, बालाचतुर्दशी आदिमा विशेष भीड लाग्ने समय दर्शनार्थीले नियमतः दर्शन गर्ने गरेको पाइँदैन । भीडभाडका कारण र लामको व्यवस्थापन कार्यले पनि होला पुराणमा चर्चा गरिएअनुसारको नियम पालन भएको देखिँदैन ।
मृगरूपी शिवले विचरण गरेको स्थल मृगस्थली हो ।
मायारूपी पासोमा बाँधिएका वृद्ध प्राणीलाई पशु भनिन्छ र मायाबाट मुक्त पार्नेको नाम पतिका रूपमा सबै जीवका मालिक शिवलाई पशुपति भनिएको हो । अज्ञानी मनुष्य नश्वर छन् । नश्वरले ईश्वर प्राप्त गर्ने प्रयास गर्नुपर्ने हुन्छ । जीव र जगत् दुवै परमेश्वर शिवका गहना हुन्, खेलौना पनि हुन् । तिनले हरदम परमेश्वरको चाहना गरेका हुन्छन् । अंशले अंशी प्राप्त गर्ने प्रयास स्वरुप जीवात्माहरू ब्रह्मादेखि स्थावर पर्यन्त सबै परमेश्वर शिवमा लय हुन चाहन्छन् । संसारको रचना सृष्टि हो, सृष्टिलाई चलाइराख्नु पालना हो र सृष्टिलाई नाश गर्नु संहार हो । जीवात्मावाट प्राणपखेरु निस्कनुलाई तिरोभाव भनिएको छ । यी चारै कार्यबाट उन्मुक्त हुनुचाहिँ “अनुग्रह” हो । अर्थात् यहाँ जम्माजम्मी पाँच कार्य भए संसार चलाउन ! सृष्टि, पालना, संहार, तिरोभाव र अनुग्रह– यी पाँचै कार्य गर्ने पञ्चमुखी महादेव नै हुन् । मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो ! शिवको अर्को नाम कल्याण हो । शिवको पाँच मुखले यही संकेत गर्छ, विश्व ब्रह्माण्डको कल्याण ।
(लेखक धर्म–संस्कृति अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?