logo
२०८१ जेष्ठ ५ शनिवार



अमेरिकासित नजिकिँदै क्युबा

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

दुई छिमेकी भएर पनि पुनः पानी बाराबारको अवस्थामा पुगेका अमेरिका र क्युबाबीच सम्बन्ध सुधारको सङ्केत देखिएको छ । अमेरिकामा डेमोक्रेटिक पार्टीका नेता जोए बाइडेन राष्ट्रपतिमा निर्वाचित भएसँगै क्युबा आशावादी बनेको हो । क्युबाका राष्ट्रपति मिगेल डायज कनेलले अमेरिकी निर्वाचित राष्ट्रपति बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको भन्दै वार्ता प्रस्ताव अगाडि सार्नुभएको छ ।
उहाँले क्युबाको संसद् अधिवेशनको समापन समारोहलाई सम्बोधन गर्नेक्रममा अमेरिकी नयाँ नेतृत्वसँग वार्ता प्रस्ताव गर्नुभएको हो । उहाँको वार्ता प्रस्तावप्रति अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन सकारात्मक देखिनुभएको छ । उहाँले आफ्नो चुनाव प्रचारका क्रममा अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताउनुभएको थियो । राष्ट्रपति बाइडेनले अब सत्ता सम्हालेलगत्तै नयाँ क्युबा नीति सार्वजनिक गरी दुई मुलुकबीच पुनः सम्बन्ध सुधार गर्नुहुने अपेक्षा छ ।
दुई छिमेकी भएर पनि राजनीतिक प्रतिशोधका कारण आधा शताब्दीभन्दा बढी समय पानी बाराबार गरेका अमेरिका र क्युबाबीच ओबामा कालमा सम्बन्ध सुधार सुरु भयो । दुई कार्यकाल सत्ता चलाउनुभएका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक प्रयास गरी ५४ वर्षपछि दुवै मुलुकमा राजदूतावास स्थापना गर्नुभयो । अमेरिकाले क्युबामाथि लगाएको आर्थिक नाकाबन्दी क्रमशः हटाई सम्बन्ध सामान्यीकरण भयो । यसलाई महŒवपूर्ण उपलब्धि भन्दै विभिन्न मुलुकले स्वागत गरे । दुवै देशबीच सरकारी र नागरिकस्तरमा सम्बन्ध सामान्य बन्दै गयो । डेमोक्रेटिक पार्टीका तर्फबाट दुई कार्यकाल राष्ट्रपति बन्नुभएका ओबामाको उदारवादी नीतिले गर्दा क्युबासित सम्बन्ध सुधार भएको हो ।
अमेरिका पुँजीवादी मुलुक हो भने क्युबा समाजवादी मुलुक हो । दुवै मुलुकको आ–आफ्नै राजनीतिक व्यवस्थालाई सम्मान गर्दै सम्बन्ध सुधार गर्न दुवै देशको नेतृत्व सहमत भएसँगै ओबामाकालको अन्त्यतिर अमेरिका र क्युबाबीचको सम्बन्ध सामान्य अवस्थामा पुग्यो । यो सबैका लागि खुसीका समाचार थियो । तर, जब ओबामाकालपछि अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड टम्प विजयी हुनुभयो तब फेरि अमेरिका र क्युबाबीच सङ्कट देखाप¥यो । ओबामाको उदारवादी र सुधारवादी नीति ट्रम्पलाई मन परेन । व्यापारिक पृष्ठभूमिबाट एक्कासि राजनीतिमा आई अमेरिकाको सर्वोच्च नेतृत्वमा पुग्नुभएका ट्रम्पले एकपछि अर्को गर्दै ओबामाकालका अधिकांश नीति र कार्यक्रम खारेज गर्नुभयो । ओबामाले क्युबासित सम्बन्ध सुधार गरेको उहाँलाई मन परेन । त्यसो त रिपब्लिकन पार्टी आफैँमा अनुदारवादी पार्टी हो । समाजवादी पार्टी र देश मन पराउँदैनन् रिपब्लिकनहरूले । अझ राजनीतिक संस्कार नभएका ट्रम्पले त क्युबालाई मन पराउने कुरै भएन । उहाँले क्युबासितको सम्बन्ध उल्टाइदिनुभयो । एक कार्यकालमात्र राष्ट्रपति बन्नुभएका उहाँको शासनशैली अन्त्यमा उहाँकै लागि अभिशाप बन्यो र गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उहाँ बाइडेनसँग पराजित हुनुभयो ।
ओबामा शासनकालमा आठ वर्ष उपराष्ट्रपति बन्नुभएका परिपक्व नेता बाइडेनले ओबामाकालीन राम्रा कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही भएर पनि उहाँसँग क्युबालगायत सारा विश्व आशावादी बनेको छ । ओबामाकालमा एकातिर अमेरिकासित सम्बन्ध सुधार र अर्कोतिर निजी सम्पत्तिको अधिकारले क्युबाली जनतामा खुसी छायो । आधा शताब्दीपछि क्युबालीले निजी घर–सम्पत्तिको अधिकार पाए । क्युबाली कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनले शासकीय स्वरूप र जनअधिकारका विषयमा केही महŒवपूर्ण प्रस्ताव पारित ग¥यो ।
निजी घर तथा निजी सम्पत्ति आफ्नो इच्छाअनुसार भोगचलन, खरिद–बिक्री गर्न पाउने यो नयाँ प्रस्ताव कम्युनिस्ट पार्टीमा आएको नयाँ सोच र परिवर्तनको उपज थियो । निजी घर तथा निजी सम्पत्तिको इच्छाअनुसार भोगचलन र खरिद–बिक्री गर्न नपाएर निराशाको जीवन बिताइरहेको र नयाँ परिवर्तनको आशा मारिसकेको पुरानो पुस्ता साथै निजी घर र निजी सम्पत्तिको भोगचलन र खरिद–बिक्री नै नदेखेको नयाँ पुस्ताका लागि यो नयाँ प्रस्ताव नितान्त नौलो थियो । आधा शताब्दीदेखि कम्युनिस्ट शासन चलाउँदै आएको क्यास्ट्रो परिवारका लागि भने यो परिवर्तनको प्रस्ताव ठूलो राजनीतिक धक्का थियो । क्यास्ट्रो परिवारमा रहेको एकलौटी राजनीतिक विरासत क्रमशः हस्तान्तरणको बाटो खुल्यो । यथास्थितिमा क्यास्ट्रो परिवारले चाहेर पनि यो राजनीतिक विरासत जोगाउन सम्भव थिएन ।
कम्युनिस्ट पार्टीको आदर्श भनेको न पारिवारिकतन्त्र हो न त निरङ्कुशतन्त्र नै । मुलुकका बहुसङ्ख्यक शोषित, पीडित, गरिब र निमुखा जनताको भलाइको सामूहिक शासन नै सच्चा कम्युनिस्ट शासन हो, जहाँ जनताले सामूहिक हितका लागि पूर्ण गणतान्त्रिक अभ्यास गर्न पाउँछन् । तर विडम्वना, बहुसङ्ख्यक जनताको भलाइको नाउँमा कम्युनिस्ट पार्टीको नेता बनी हतियारको बलमा पारिवारिकतन्त्र र एकलौटीतन्त्रको अभ्यास गर्दा विश्व कम्युनिस्ट आन्दोलनले विभिन्न मुलुकमा ठूलो धोका र धक्का खानुप¥यो । विगतको यो पृष्ठभूमिलाई आत्मसात् गर्दै ढिलै भए पनि क्युबाली कम्युनिस्ट पार्टीले महाधिवेशनमार्फत मुलुकको राजनीतिमा सुधार गर्ने ऐतिहासिक कदम चाल्यो । यो कदमले क्युबामा कम्युनिस्ट पार्टीको नाममा चल्दै आएको परिवारतन्त्र समाप्त भई घर–सम्पत्तिको नैसर्गिक
अधिकार स्थापित भयो ।
डेढ दशकमा भएको यो महाधिवशेन दुई प्रस्तावका कारण सधैँ ऐतिहासिक बन्यो । पहिलो प्रस्ताव हो– निजी घर–सम्पत्ति खरिद–बिक्री तथा भोगचलन । दोस्रो प्रस्ताव हो– दुई कार्यकालभन्दा बढी पार्टी र सरकारी उच्च पदमा बस्न नपाइने व्यवस्था । यी दुई ऐतिहासिक प्रस्तावको कार्यान्यनसँगै क्युबामाथिको अन्तर्राष्ट्रिय आलोचना र पश्चिमी दबाबमा कमी आएको छ ।
४९ वर्षसम्म एकलौटी सत्ता सम्हाल्नुभएका क्युबाली नेता फिडेल क्यास्ट्रो शारीरिक रूपले अशक्त भएपछि मात्र भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तर गर्नुभयो । फिडेलले पार्टीको महाधिवेशनसँगसँगै राजनीतिबाट सन्न्यास लिनुभयो । क्यास्ट्रो परिवारमा फिडेल र राहुलजस्तो शक्तिशाली अर्को सदस्यको उदय हुन सकेन । मुलुकको आधाभन्दा बढी अर्थतन्त्रको हिस्सा नै क्यास्ट्रो परिवारमा थियो । क्यास्ट्रो परिवार र आफन्तजन धनी बन्ने र अरू जनता गरिब बन्ने राजनीतिक रोगका कारण असन्तुष्टि र अन्तर्राष्ट्रिय दबाब थपियो । राजनीतिक सुधारविना आधा शताब्दी लामोे नाकाबन्दी नहटाउने अमेरिकी अडान र राजनीतिक सुधार आवश्यक नठान्ने तत्कालीन राष्ट्रपति फिडेलको जिद्दी नै क्युबाली जनताको अवस्था दयनीय बन्नुको प्रमुख कारण बन्यो । आर्थिक र राजनीतिक क्षेत्रमा व्यापक उदारीकरणविना क्युबाको भविष्य सुरक्षित हुने सम्भावना थिएन । अन्ततः सत्तारूढ दलले बुद्धिमत्तापूर्ण निर्णय गरी क्यास्ट्रो परिवारबाट सत्ता हस्तान्तरणका साथै राजनीतिक र आर्थिक उदारीकरणको मार्गप्रशस्त ग¥यो । फलस्वरूप राहुलपछि क्यास्ट्रो परिवारबाट सत्ता हस्तान्तरण भई क्युबा नयाँ युगमा प्रवेश ग¥यो । नयाँ राष्ट्रपति कनेलले मुलुकका समस्या समाधान गर्न हरसम्भव प्रयासमा लाग्नुभएको छ । अमेरिकासित सम्बन्ध सुधार गर्ने उहाँको पछिल्लो प्रस्ताव आफैँमा स्वागतयोग्य छ ।
स्पेन, बेलायत र अमेरिकी उपनिवेश हुँदै स्वतन्त्र भएको क्युबामा अमेरिकी समर्थक तानशाह फल्गेन्सियो बाटिस्टाको सत्तामाथि नौ हजार गुरिल्लाद्वारा धावा बोली सन् १९५९ मा फिडेल क्यास्ट्रोले सत्ता हातमा लिएपछि कठोर कम्युनिस्ट शासन सुरु भएको थियो । कम्युनिस्ट शासनको विरोधमा अमेरिकाले क्युबासितको सबै कूटनीतिक सम्बन्धमात्र विच्छेद गरेन, कठोर आर्थिक नाकाबन्दी लगायो । फलस्वरूप क्युबाले ठूलो आर्थिक सङ्कटको सामना गर्नुप¥यो ।
पछिल्लो यो आधा शताब्दीसम्मको एकलौटी राजनीतिक अभ्यासले के स्पष्ट गरेको छ भने पुरानो ढर्राले अब क्युबाको राजनीतिक भविष्य सम्भव नै छैन । तत्कालीन सोभियत सङ्घको बलियो आर्थिक सहयोग र सामरिक सहयोगसाथै आड र भरोसा पाएको क्युबाली नेतृत्वलाई सोभियत सङ्घको पतनपछि सहज ढङ्गले सत्ता चलाउन गाह्रो भयो । बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार क्युबाका प्रमुख चुनौती बने । यस्तै चुनौतीका पृष्ठभूमिमा तानाशाही सत्ताविरुद्ध भूमध्य क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकको जनआन्दोलनले तानाशाही सत्ता ढलेका कारणले पनि क्युबाली नेतृत्वलाई राजनीतिक र आर्थिक सुधार गर्न बाध्य बनायोे । अब क्युबालाई उदारवादको बाटोमा हिँड्नुको विकल्प देखिएन ।
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?