logo
२०८१ मंसिर २१ शुक्रवार



सिकाउनुपर्ने धेरै बाँकी रहेछ

विचार/दृष्टिकोण |




हरि ज्ञवाली

कोरोना भाइरसका कारण गत वर्षको वार्षिक परीक्षासमेत ढुक्कसँग दिन नपाएका आफ्ना विद्यार्थीसँग नौ महिनापछि मात्र प्रत्यक्ष रूपमा साक्षात्कार भयो । गत चैतको दोस्रो हप्तादेखि सुरू हुनुपर्ने वार्षिक परीक्षा कोरोना भित्रिएको भन्दै सङ्घीय सरकारले चैत ५ गतेसम्म सक्नुपर्ने परिपत्र जारी ग¥यो । वार्षिक परीक्षाका लागि न विद्यार्थी मानसिक रूपमा तयार थिए न त विद्यालयको आन्तरिक तयारी नै । तर पनि हतार–हतार जसोतसो परीक्षा सम्पन्न गर्नु थियो, गरियो ।
लकडाउनकै बीचमा मोबाइलबाट प्रकाशित गरेको वार्षिक नतिजाले यसपटक विद्यार्थीमा कुनै उत्साह ल्याएन । त्यस्तो नतिजाले विद्यार्थीलाई न पर्याप्त खुसी दियो न त उत्साह र उमङ्ग नै । त्यस सुखद क्षणमा न स्याबासी दिने शिक्षक नै थिए न त हौसलाको ताली बजाइदिने साथीहरू नै । आफू सफल भएर अर्को कक्षामा पुगेको विद्यार्थीको मनको त्यो हर्ष र उमङ्ग फगत खल्लोपन र निरसतामा परिणत भयो ।
गत चैत ५ गतेदेखि आफ्नै घरभित्रै कैदीजस्ता भएका बालबालिका नौ महिनापछि विद्यालय आए । उनीहरू पहिलो दिन आफ्नो विद्यालय र साथीहरूसँग भेट हुँदा अत्यन्तै खुसी र हर्षित देखिन्थे । निर्जन वा एकलास वनमा भट्किएको बटुवाले बाटो फेलापार्दा तीव्र उत्साह र उमङ्ग भएझैँ अथवा निरपराध कैदी जेलबाट छुट्दा जुन हर्ष र आनन्द प्राप्त हुन्छ, ठीक त्यस्तै अनुभूति हुन्थ्योे बालबालिकाको उत्साह, खुसी र हर्ष देख्दा ।
लकडाउनले खेल्ने, चल्ने र विद्यालय जाने उमेरका कलिला बालबालिकालाई सबैभन्दा बढी मानसिक तनावमा पारिदिएको थियो । खाऊँखाऊँ, लाऊँलाऊँ उमेरका बालबालिकासँग त्यतिबेला न पुस्तक थियो, न त स्कुल नै । न साथी थिए, न त खेल सामग्री नै । न मनमा रमाइलो थियो, न त शरीरमा स्फुर्ति नै । न अध्ययनमा लगाव थियो न त भविष्यप्रतिको कुनै आकाङ्क्षा र योजना नै । थियो त केवल कोरोनाको त्रास र लकडाउनको कोकोहलमात्रै । बाहिर ननिस्क, हात धोइरहू, मास्क लगाऊ र सेनिटाइजर दल भन्ने एकोहोरो र पट्यारलाग्दो उर्दीबाहेक उत्प्रेरणामूलक खबर र हौसलापूर्ण कुरा उनीहरूले सुन्न पाएनन् ।
लामो समयसम्म घरमै कैदीजस्ता भएका बालबालिका नौ महिनापछि विद्यालय आउँदा अर्कैखालका भइसकेका रहेछन् । न त उनीहरूमा पहिलेजस्तो चञ्चलता थियो न त जिज्ञासुभाव नै । हर्षित देखिए पनि मनमा अन्योल र आशङ्का भरिएजस्तो । शरीरमा स्फुर्ति थिएन । कताकता बालसुलभ हराएजस्तो । चञ्चलता र अबोध जिज्ञासापन लोप भएजस्तो । आफ्ना सहपाठीहरूसँग बोल्दा र नजिक हुन पनि सशंकित भएजस्तो । अध्ययनप्रति रूचि र उत्साह नै नभएजस्तो । निरीह र टीठलाग्दाजस्ता भएका थिए उनीहरू ।
विद्यार्थीको मानसपटलमा अव्यक्त भाव, एकाङ्गीपन र हीनताग्रन्थी डम्म भरिएजस्तो लाग्थ्यो । उनीहरूको त्यो बाल अव्यक्त पीडाभाव वयस्क शिक्षकहरूले मुस्किलले मात्र बुझ्न सक्थे । न त उनीहरूमा शिक्षकलाई केही सोध्ने हिम्मत नै विकसित भइसकेको थियो । न त शिक्षकले उनीहरूलाई स्पर्श गरेर सुम्सुम्याउने र ढाडस दिने वातावरण नै । गुरू र शिष्यको स्नेहपूर्ण वात्सल्यलाई भौतिक दूरीको बाध्यताले बलात् सन्त्रस्त र स्पर्शहीन बनाइदिएको थियो ।
वर्तमान महामारीको अवस्था र आफ्नो स्वास्थ्य सावधानीका बारेमा लगभग सबैजसो विद्यार्थी घरबाटै सचेत भइसकेका रहेछन् । तर पहिरन, बोलीचाली र व्यवहारगत कुरामा भने विद्यार्थी पहिलेभन्दा एकाङ्गी, अटेरी र जिद्दी बन्दै गएको महसुस भयो ।
लामो समय घरभित्रै सीमित रहेका कतिपय विद्यार्थीले बोलाउँदा झर्कने, टोलाउने, रिसाउनेजस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । मुलुकका भविष्यका कर्णधारमा आएको यो मनोदशा र दुर्दशाको मनोवैज्ञानिक उपचार अब विद्यालयले नै गर्नुपर्ने आवश्यकता महसुस भयो ।
कतिपय विद्यार्थीको कपाल कटाइको ‘स्टाइल’, पहिरन र शारीरिक हाउभाउ देख्दा उनीहरू घरबाट उचित रूपमा मार्गनिर्देशित छैनन् कि भन्ने भान हुन्थ्यो । अभिभावक नै आफ्ना छोराछारीको जिद्दीअगाडि निरीह छन् कि अथवा आफ्नै बालबच्चालाई घरमा नियन्त्रण गर्न गाह्रो भएको हो कि भन्ने लाग्यो । यस्ता अस्वाभाविक कुराहरू पनि बिस्तारै सुधार्नुपर्ने जिम्मेवारी विद्यालयमै थपिएको आभास भयो ।
त्यसो त नियमित अध्ययन–अध्यापनका अतिरिक्त विद्यार्थीको आचरण, व्यवहार, बोलीचाली, सङ्गत, नियमित कार्यजस्ता सामान्य शिष्टाचारका कुराहरू पनि विद्यालयले नै सुधारिदिनुपर्ने अवस्था छ अहिले । अभिभावकहरूको अत्यधिक व्यस्तताका कारण पारिवारिक जिम्मेवारी पनि विद्यालयमाथि नै थपिएको छ, कतिपय परिस्थितिमा ।
बालबालिकाको पहिलो पाठशाला घर नै हो । तर, विद्यालयबाट सिकाइएका कुराहरू नै बढी औपचारिक र प्रभावकारी हुन्छन् । कोरोना कहर वा लकडाउन क्षणिक हो तर निरन्तर अध्ययन र पढाइको महŒव जीवनभरिलाई हो भन्ने कुरा कलिला बालबालिकालाई विद्यालयले सिकाउन पाएन । शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा जुनसुकै बाहिरी रोगसँग पनि लड्न सकिन्छ भन्ने ज्ञान दिन पनि बाँकी नै थियो ।
आजसम्म खास गरी बोर्डिङ स्कुलहरूले विद्यार्थीलाई पुस्तक रटानमै बढी केन्द्रित गरे । सबैले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार आदिका बारेमा सिकाउनुपर्ने थियो तर उनीहरूलाई गणित वा विज्ञानका सूत्रहरू वा अङ्ग्रेजीका शब्दहरू रटाउन थाल्यौँ । बालबालिकालाई हाम्रो संस्कार, संस्कृति, पारिवारिक मानसम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य–मान्यताका बारेमा जानकारी नै गराएनौँ । यस्ता कुरा बालमस्तिष्कमा हामीले राखिदिन भ्याएकै थिएनौँ ।
आफ्नो विद्यालयको तहगत नतिजा अरू विद्यालयको भन्दा कसरी उत्कृष्ट हुन्छ भन्ने अस्वस्थ प्रतिस्पर्धामै सीमित भए विद्यालय । सामाजिक दायित्व र व्यावहारिक कुरा सिकाउनेतिर खासै पहल भएन । प्राकृतिक प्रकोप र अचानक आइपर्ने विपत्तिबाट व्यावहारिक रूपमा कसरी बच्ने भन्ने शिक्षा कहिल्यै दिइएन । आइपर्ने तमाम सङ्कटका सामना कसरी गर्ने अभ्यास पनि गराइएन । सामाजिक सद्भाव र आपसी मेलमिलाप नै असल मानवीय गुण हुन् भन्ने बोध उनीहरूलाई भएन । मानवीय मूल्य–मान्यता के हुन् ? नैतिकता, आचरण, देशभक्ति र सामाजिक मेलमिलाप र दायित्व के हो ? त्यसबारे न त कहिल्यै पढाइ भयो न त परीक्षा र मूल्याङ्कन नै ।
आडम्बरी तडकभडकपूर्ण आधुनिकता र खोक्रो किताबीय रटानमै विद्यार्थी सीमित गरिए । संस्कारसहितको व्यावहारिक शिक्षालाई जोड गरिएन । ज्ञान, बुद्धि र विवेकको परीक्षा भएन बरू अरूले भन्दा बढी प्रतिशत वा जीपीए ल्याऊ, अरूलाई जित, आफू अगाडि बढ, अरूलाई पछाडि पार भन्ने नितान्त व्यक्तिगत प्रतिस्पर्धाका कुराहरू उनीहरूको कलिलो
मस्तिष्कमा भरिरह्यौँ ।
फलस्वरूप आजका विद्यार्थीमा न त परिस्थितिसँग सामना गर्ने क्षमता विकसित भएको छ न व्यावहारिकता र सामाजिक दायित्वबोध नै । न उनीहरू पूर्णतः राष्ट्रप्रेमी बन्न सके न त श्रमप्रतिको सम्मान र लगाव नै । न त उनीहरूमा पूर्ण सीपको विकास हुन सक्यो न त परिस्थितिको सामना गर्ने क्षमता र बानी नै । मुलुकको भविष्यका लागि यो चिन्ताको विषय हो ।
पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँथ्यौँ । समयक्रमले हामी आफैँलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल र ल्यापटप किनिदिनुपर्ने विवशतामा पु¥यायो । अब विद्यार्थीलाई सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा रमाउने बानी परिसकेको छ ।
कतिपयले आफ्नो उमेरअनुसार चाहिने–नचाहिने सामग्री पनि हेर्न थालिसकेका छन् । पब्जी र टिकटकजस्ता कुरामा धेरैको नियमितता बनिसकेको छ । एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भइसकेका छन् । अब उनीहरूलाई सो रङ्गीन रसातलबाट बाहिर निकाल्न पक्कै पनि केही समय अवश्य लाग्नेछ । अभिभावक र विद्यालयलाई यो ठूलै चुनौती हो ।
हामीले पैसालाई सुख र श्रमलाई दुःख भनेर बुझायौँ । फलस्वरूप नेपालका अधिकांश युवाको लक्ष्य विदेश हुन पुग्यो । आखिर हामीले हाम्रा सन्तानहरूलाई कस्तो शिक्षा दिइरहेका
छौँ ? हामी कस्तो संस्कृति विकसित गर्दै छौँ ? हाम्रा बालबालिका कति सुसंस्कृत, व्यावहारिक र देशभक्त बन्न सफल भए ? हाम्रो शैक्षिक प्रणालीले हाम्रा सन्ततिलाई के सिकाउनुपर्ने थियो र के सिकाइँदै छ ? अब गम्भीर चिन्तन गर्नुपर्ने भएको छ । विद्यार्थीलाई सिकाउनुपर्ने धेरै बाँकी रहेछन् । यो कुराले आफैँलाई पटक–पटक झस्काउँछ । ■
(लेखक स्मृति बोर्डिङ स्कुलरूपन्देहीका प्रिन्सिपल हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?