हरि ज्ञवाली
कक्षा १२ को वार्षिक परीक्षा कुनै विकल्प नदिई अचानक स्थगित गरियो । जेठ २६ गतेदेखि हुनुपर्ने परीक्षा दुई महिना ढिला भइसकेको अवस्थामा पुनः स्थगित भएपछि लाखौँ विद्यार्थीको भविष्य थप अन्योलग्रस्त बनेको छ । स्थगित परीक्षा अब कहिले हुन्छ भन्ने अन्योलले झन्डै चार लाख विद्यार्थीसँगै तिनका अभिभावकसमेत मानसिक तनावमा परेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी विकल्पसहित आवश्यक निर्णय गर्ने बताए पनि हालसम्म कुनै विकल्प नआउँदा विद्यार्थी मानसिक तनाव र अन्योलमै छन् । उनीहरूको मानसिकतामा एउटै कक्षामा २० महिनासम्म पढ्नुपर्ने हो कि भन्ने हीनताबोध र मानसिक विचलन बढ्न थालेको छ । यो गम्भीर चिन्ताको विषय हो ।
परीक्षामा वैकल्पिक उपायको खोजी गरी आगामी कक्षा सञ्चालनको आधार तय हुन नसक्दा समस्या चुलिँदै गएका छन् । त्यसको असर विश्वविद्यालयको स्नातक तहको भर्नामा देखिएको छ भने एमबीबीएसलगायत चिकित्सा शिक्षा र अन्य प्राविधिक शिक्षाको एउटा शैक्षिक सत्र नै गुम्ने जोखिम बढ्दो छ । यसले मुलुकको शैक्षिक प्रणालीमा समेत नकारात्मक असर पर्ने सम्भावना देखिँदै छ ।
कोरोना सङ्क्रमणको त्रास रहिरहँदा अधिकतम स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने कि त्यसैको बहानामा पटकपटक स्थगित गरिरहने ? परीक्षा सञ्चालनका अन्य विकल्पबारे पनि सोच्ने कि कोरोना कहिले घट्ला भनेर पर्खिरहने ? अनेकौँ स्वाभाविक प्रश्न उठ्न थालेका छन् । यी प्रश्नले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने उपयुक्त निर्णय शीघ्र गर्न सरकारलाई दबाब सिर्जना गरेका छन् ।
कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी तालिका सार्वजनिक भएको थियो । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित भएको थियो । परीक्षा त स्थगित भए नै तर स्थगित परीक्षा अब कहिले, के, कसरी हुन्छ वा हुँदैन भन्ने अन्योलले विद्यार्थी र अभिभावकलाई थप चिन्तित बनाएको छ ।
गत वर्ष पनि कोरोना महामारीकै कारण वैशाख÷जेठमा हुनुपर्ने कक्षा १२ को परीक्षा मङ्सिरमा लिइएको थियो । ढिलो गरी सङ्क्षिप्त परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गरियो । यसपटक भने हालसम्म परीक्षाको विकल्पका रूपमा कुनै ठोस योजना आउन सकेको छैन । पटक–पटक परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक तनाव बढ्दो छ भने आफ्ना छोराछोरीको पढाइले गति लिन नसक्दा अभिभावक पनि त्यत्तिकै चिन्तित छन् । अन्योलग्रस्त अवस्थाले कलिला मस्तिष्कका विद्यार्थीको मानसिकतामा नकारात्मक असर पारेको छ । यो विषम परिस्थितिका कारण उनीहरूमाथि अन्याय भएको छ । उता कक्षा १२ को परीक्षा दोस्रोपटक स्थगित भए पनि त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका स्नातक र स्नातकोत्तर तहका परीक्षा भने सिफ्टअनुसार सञ्चालन भइरहेका छन् । विभिन्न विद्यालयमा कक्षा ११ मा पढ्ने चार हजार आठ सय विद्यार्थीले पनि परीक्षा दिइरहेका छन् । क्याम्पसमा एउटै केन्द्रमा पाँच सयभन्दा बढी विद्यार्थी राखेर पनि परीक्षा भइरहेको बताइन्छ । स्वास्थ्य मन्त्रालयले सबै परीक्षा रोक्न आग्रह गरे पनि त्रिभुवन विश्वविद्यालयका निर्धारित परीक्षा भने रोकिएका छैनन् ।
विकल्प नै नदिएर अचानक परीक्षा स्थगित गर्दा स्वाभाविक रूपमा अन्योल बढेको छ । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्ने ? यस्तो अवस्थामा विद्यार्थीलाई थप अलमलमा पर्न नदिन परीक्षा बोर्ड र सरकार संवेदनशील बन्नैपर्छ । अब विकल्प दिन ढिला गर्नु हुँदैन । सरकारले विश्वासिलो आधार दिलाउनु जरुरी छ ।
हाल कोरोनाविरुद्धको खोप लगाउने कार्य धमाधम भइरहेको छ । लकडाउन पनि खुकुलो भएको छ । बजार खुलेका छन् । होटल, पसल यथावत् रूपमा चल्न थालेका छन् । रेस्टुरेन्टहरूमा त्यत्तिकै चहलपहल छ । बजारमा भीडभाड बढेको छ । उद्योग कलकारखाना पनि सञ्चालन भएकै छन् । सार्वजनिक यातायात सञ्चालन भएका छन् । अत्यन्तै भीडभाड र अस्तव्यस्त रहने सरकारी कार्यालय पनि खुलै छन् । सारा क्षेत्र खुलिरहेको अवस्थामा विद्यालयलाई कोरोना जोखिमको एक मात्र केन्द्र मानेर परीक्षा स्थगित गर्नैपर्ने तर्क र औचित्य पुष्टि हुने आधार चाहिँ कतै देखिँदैन ।
विकल्प र उपायहरू
कोरोना महामारीका बीच नियमित कक्षा र परीक्षा सञ्चालनका थुप्रै विकल्प हुन सक्छन् । ती विकल्पबारे खासै चिन्तन मनन भएको पाइँदैन । यसर्थ कोरोना सङ्क्रमणको यो बेलामा नियमित कक्षा र परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा निम्न विकल्प सुझाउन सकिन्छ :
गत वर्षकै मोडेल : कोरोना सङ्क्रमणको भयका कारण गत वर्ष र यस वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरियो । गत वर्ष कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो । अवस्था उस्तै भएका कारण परीक्षा स्थगित गरिरहनुभन्दा यो वर्ष पनि गत वर्षकै मोडेललाई अनुसरण गर्नु एउटा राम्रो विकल्प हुनसक्छ ।
भौतिक रूपमै परीषा : कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने व्यवस्था हो । यसर्थ सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक रूपमै पनि परीक्षा गर्न सकिन्छ । दुई सयभन्दा बढी विद्यार्थी रहेका केन्द्रमा अर्को विद्यालयमा उपकेन्द्र कायम गरेर परीक्षा सम्पन्न गर्न असम्भव देखिँदैन ।
अनलाइन–अफलाइन : यतिखेर खासगरी सहरी क्षेत्रमा अधिकांश निजी विद्यालयले भर्चुअल माध्यम वा अनलाइनमार्फत नै कक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश परीक्षा पनि अनलाइनमार्फत लिइरहेका छन् । नेपालका सबै ठाउँमा एकै प्रकारको कोरोना जोखिम पनि छैन । सहरी क्षेत्रमा अनलाइन परीक्षा प्रभावकारी बन्न सक्छ तर ग्रामीण भेगमा कम विद्यार्थी रहेको ठाउँमा भौतिक उपस्थितिमै परीक्षा गर्न सकिन्छ । यसर्थ अनलाइनबाट सम्भव हुने विद्यार्थीलाई अनलाइन र सम्भव नहुने ग्रामीण र कम भीडभाड हुने स्थानमा अफलाइन परीक्षा लिन सकिन्छ । अनलाइन गर्दा चार लाखको सङ्ख्यामा रहेको तथ्याङ्क घट्ने र बाँकी विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर परीक्षा दिन गाह्रो हुने देखिँदैन । नयाँ सिर्जनशीलताको खोजी ः परीक्षाका लागि छापिएका प्रश्नपत्र नै विद्यार्थीलाई घर लैजान दिएरसमेत मूल्याङ्कन गर्न सकिने अवसर अझै पनि छ । त्यस्तो हकमा उनीहरूले चाहेको हिसाबले विषयवस्तु खोज्ने काम गरेमा ज्ञान पक्षलाई भन्दा सीप र नयाँ सिर्जनशीलता खोज्ने पक्षलाई उच्च अङ्कभार दिएर मूल्याङ्कन गर्न सकिन्छ । सिर्जनशीलता मापनको यो नयाँ प्रयोग बन्न सक्छ ।
चिट चोर्न नमिल्ने प्रश्नपत्र : नेपाल टेलिकमको पछिल्लो आँकडाअनुसार अहिले नेपालमा झन्डै ९२ प्रतिशत जनसङ्ख्यासँग ब्रोडब्यान्ड इन्टरनेटको पहुँच भएको बताइन्छ । यसैगरी ६५५ पालिकासम्म नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको भनिएको छ । महामारीका कारण पठनपाठन लामै समय अवरुद्ध अवस्थामा अनलाइन परीक्षा एउटा विकल्प बन्न सक्छ तर परीक्षा लिने तरिका र शैलीमा भने परिवर्तन आवश्यक छ । परीक्षालाई विश्वसनीय बनाउन चिट चोर्नै नमिल्ने प्रकारका प्रश्नपत्र बनाएर अनलाइनबाटै विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ । चरणबद्ध परीषा : स्थगित परीक्षालाई चरणबद्ध रूपमा गर्न सकिन्छ । कोरोनाको प्रभावअनुसार मुलुकका विभिन्न भागमा चरणबद्ध रूपमा परीक्षा लिन सकिए पनि नतिजा भने एकै पटक निकाल्न सकिन्छ । यो कुनै ठूलो समस्याको विषय होइन ।
विद्यार्थीलाई कोरोना खोप :यतिखेर मुलुकमा कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । प्राथमिकताका आधारमा विभिन्न उमेर समूहका चरणमा विद्यार्थीको उमेर समूह नपर्ने भए तापनि उनीहरूलाई विशेष प्राथमिकता दिएर प्रवेशपत्रका आधारमा खोप दिई परीक्षा सञ्चालन गर्न सकिन्छ । यसका अतिरिक्त परीक्षा कार्यक्रम तय गर्दा एउटा कक्षामा बढीमा १५ जना मात्रै विद्यार्थी राख्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने, परीक्षाअघि अनिवार्य पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थ डेक्स राख्नेलगायत उच्च सुरक्षाका सावधानी अपनाएर परीक्षा सञ्चालन गर्न सकिने हुँदा जतिसक्दो छिटो परीक्षा सञ्चालन गर्नु अत्यावश्यक छ । परीक्षा गर्दा स्वभावतः एउटा बेञ्चमा दुई जना मात्र राखिने हुँदा भौतिक दूरी स्वतः कायम भइहाल्छ । कोरोनाको महामारी कहिलेसम्म रहने हो, यकिन भन्न सकिन्न । जोखिमको बहानामा मुलुकको शैक्षिक सत्र र शिक्षा प्रणाली बिग्रन दिनु हुँदैन ।