logo
२०८१ मंसिर ८ शनिवार



तहसनहस हुँदै यमन

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

पश्चिम एसियाली मुलुक यमन राजनीतिक र भौतिक रूपमा ध्वस्त भएको छ । त्यहाँको प्रमुख शक्ति हुथी विद्रोहीद्वारा केन्द्रीय सत्ता कब्जा, विदेशीले बनाइदिएको कामचलाउ सरकार र विदेशी सैन्य गठबन्धनको निरन्तर आक्रमणका कारण यो मुलुक इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको छ । चरम भोकमरीले बालबालिका मरिरहेका छन् । कुपोषण, हैजा, कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । केन्द्रीय सत्ता विद्रोहीको हातमा छ । राजधानी साना उसकै नियन्त्रणमा छ । सानाबाट भागेर सीमाक्षेत्र एडेनमा पुगेको पराजित सरकार विदेशीको कठपुतली बनेको छ । उसको हैसियत केही पनि छैन । एक किसिमको शरणार्थीजस्तै छ, यो सरकार । आफैँ टिक्न नसकेको यस्तो सरकारबाट जनताले के आस गर्ने ?
साउदी नेतृत्वको गठबन्धन सेनाको सहयोगमा एडेनमा शरणार्थी बनेको यो सरकारमाथि पनि हुथी विद्रोहीले बेलाबखत क्षेप्यास्त्र आक्रमण गरी भय र त्रास सिर्जना गर्ने, क्षति पु¥याउँदै आएको छ । हुथी विद्रोहीलाई इरानको सहयोग छ । एडेन सरकारलाई साउदी गठबन्धनले सघाइरहेको छ । हुथी विद्रोहीले एडेनलाई आक्रमणको निशाना बनाउँछ भने साउदी गठबन्धनले सानालाई । यो हिंसात्मक द्वन्द्व तत्काल अन्त्य हुने सम्भावना देखिएको छैन । जसले गर्दा यमनी जनताको भविष्य अन्योलग्रस्त बनेको छ । इतिहासमै सबैभन्दा बढी पीडाबोध गरेका यमनीहरूका अगाडि तत्काल मुलुकको समस्या समाधानको भरपर्दो विकल्प देखिएको छैन । जसले गर्दा यमनको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।
गत बुधबार दक्षिणी एडेन सहरस्थित विमानस्थलमा हुथी विद्रोहीले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरे । संयोगवश प्रधानमन्त्री र मन्त्रीहरूको ज्यान जोगिए पनि अन्य २२ जना मारिए । घटनामा ५० जनाभन्दा बढी घाइते भए । युद्धका कारण विभाजित यमनमा हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै दुईवटा शक्तिशाली क्षेप्यास्त्र प्रहार
गरिएको थियो ।
प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्य बल्लबल्ल बाँच्न सफल हुनुभयो । श्रम मन्त्रालयका उपसचिव मारिए भने दुई उपमन्त्री घाइते भए । प्रधानमन्त्री मिन अब्दुल मलिक सइदसहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमणलगत्तै सुरक्षित स्थलमा लगिएको थियो । हुथी विद्रोहीले कायरतापूर्ण आतङ्कवादी कार्य गरेको भन्दै सूचनामन्त्रीले त्यसको भत्र्सना गर्नुभयो । यसअघि सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथी विद्रोहीले गरेको आक्रमणमा ३६ जना मारिएका थिए ।
विमानस्थलमा गरिएको आक्रमणविरुद्ध हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा साउदी गठबन्धन सेनाले हवाई आक्रमण गरी प्रतिक्रिया जनायो । सरकारको नियन्त्रणमा रहेको एडेन सहरमा भएको आक्रमणको केही घण्टामा सानामा हवाई आक्रमण गरिएको थियो । सानाको आकाशमा लडाकु विमानको आवाज सुनिएको थियो र त्यसपछि विस्फोटहरू भएका थिए । हवाई आक्रमणले त्यहाँ भय र त्रास बढाएको छ । सन् २०१५ देखि यमन पछिल्लो द्वन्द्वको चपेटामा परेको छ ।
साउदी अरब नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीलाई परास्त गर्न र राष्ट्रपति अब्दुल्लाह मन्सुर हादीको शासन पुनःस्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमन चरम द्वन्द्वमा फस्यो ।
द्वन्द्वका कारण एक लाख १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने लाखौँ मानिस भोकमरीको सिकार भएका छन् । कोभिड १९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।
यमनमा हिंसाका कारण बढ्दै गएको सङ्कटप्रति अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरिरहेको आरोप लगाउँदै सहायताकर्मीहरूले त्यहाँ व्यापक भोकमरीको अवस्था आएको चेतावनी दिएका छन् । यमनमा रहेका संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले त्यहाँ मानवीय सङ्कट देखापर्दा विश्वले आँखा चिम्लिएको आरोप लगाएका छन् । राष्ट्रसङ्घका यमनस्थित सहायता संयोजक जेमी मक्गोडरिकले भोकमरीका कारण बालबालिकाले ज्यान गुमाउन थालिसकेको बताउनुभयो । उहाँले यमनमा पछिल्लो द्वन्द्वमा देशका थुप्रै भौतिक संरचनाहरू ध्वस्त भएको र देशको आधाभन्दा बढी जनसङ्ख्याले बाँच्नका लागि आधारभूत सामग्री गुमाएको जानकारी दिनुभयो । यस्तो अवस्थामा रहेको यमनलाई सहायता नगरेकोमा विश्वले पछुताउनुपर्ने चेतावनी पनि उहाँको छ । यो सङ्कट यस्तो हो जुन हामीले पहिचान गरेनौँ र यसले हामीलाई नै सताउन आइपुगेको छ । किनभने हाम्रो असमनताको परिणामको मूल्य हामीले नै चुकाउनुपर्नेछ, उहाँले भन्नुभयो ।
अक्सफामले पनि द्वन्द्वले यमन चरम भोकमरीमा फसिरहेको बताएको छ । उसले यमनमा खाद्यसामग्रीको आयातलाई सीमित बनाउने प्रतिबन्धहरू हटाउन हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनलाई आह्वान गरेको छ । साउदी अरेबियाको समर्थन पाएको यमन सरकारविरुद्ध पूर्वराष्ट्रपति अली अब्दुल्लाह सलेहसँग निकट रहेका फौज र हुथी लडाकुहरू लडिरहेका छन् ।
त्यहाँ पछिल्लो द्वन्द्वका कारण एक करोड ८० लाख मानिस मानवीय सहायताको पर्खाइमा छन् ।
साउदी अरेयिबा नेतृत्वको सैन्य गठबन्धनले मानवीय सहायता सामग्रीको आपूर्तिमा लगाइएको नाकाबन्दी नहटाएकाले दशकौँयता नदेखिएको सबैभन्दा ठूलो भोकमरी यमनले भोग्नुपर्ने अवस्था आएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले नाकाबन्दी अन्त्य गर्न माग गरेको छ । तर, साउदी सरकारले त्यसलाई बेवास्ता गरेको छ ।
हुथी विद्रोही कमजोर छैन । मुुुलुकको अधिकांश भू–भाग नियन्त्रण गर्दै केन्द्रीय सत्ता रहेको राजधानी सानामाथि कब्जा जमाएपछि यसको मनोबल निकै उच्च छ । भागेर एडेन पुगेको केन्द्रीय सत्ता नाममात्रको छ, विदेशी सहयोगविना एक दिन पनि टिक्न सक्ने अवस्थामा छैन । केन्द्रीय सत्ता कब्जा गरेपछि थप शक्तिशाली बनेको हुथी विद्रोहीले बेलाबखत साउदी अरेबियाको राजधानी रियादलाई समेत निशाना बनाई क्षेप्यास्त्र प्रहार गरेपछि साउदी सरकारमाथि चुनौती थपिएको छ ।
रियादमाथि आक्रमण भएपछि साउदी नेतृत्वको गठबन्धनले यमनको सबै स्थल, हवाई र सामुद्रिक सीमानाका बन्द गरेको थियो । उक्त कदम आफ्नो प्रतिद्वन्द्वी इरानलाई हुथी विद्रोहीहरूलाई हातहतियार आपूर्ति गर्न दिनबाट रोक्नका लागि चालिएको साउदी अरेबियाले दाबी छ । सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनविरुद्ध लडिरहेका हुथी विद्रोहीहरूलाई हतियार उपलब्ध गराएको भन्ने आरोपको इरानले भने अस्वीकार गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय रेडक्रसले सहायता सामग्रीहरूमा निर्भर रहेका दसौँ लाख यमनीलाई साउदी नाकाबन्दीले थप जोखिममा पर्ने चेतावनी दिँदै आएका छन् । गत वर्ष यमनमा फैलिएको हैजाको महामारी नियन्त्रण गर्नका लागि आवश्यक रहेको क्लोरिन औषधि चक्कीहरूको ढुवानी रोकिँदा नौ लाख मानिस हैजाबाट प्रभावित भए । राष्ट्रसङ्घले ७० लाख यमनी नागरिक भोकमरीको जोखिममा रहेको बताएको छ ।
यमन बाँच्नका लागि आवश्यक पर्ने सबै थोकका लागि आयातमा निर्भर छ । तर न त खानेकुरा, न इन्धन, न औषधि नै त्यहाँ सहज आपूर्ति हुन सकेको छ । यमन यस्तो दयनीय अवस्थामा पुग्नु भनेको राजनीतिक असफलता हो ।
सक्षम राजनीतिक नेतृत्व, नेता र राजनीतिक दलको अभावले अस्तव्यस्त बनेको गणतान्त्रिक यो मुलुकलाई निकास दिन अब राष्ट्रिय सहमतिको विकल्प छैन । विद्रोही हुथी समूहसँग नमिलेसम्म त्यहाँ राजनीतिक निकास सम्भव नै देखिएन । सन् १९९० मा उत्तर र दक्षिण दुवै यमन मिलेर जसरी यमन गणतन्त्र बन्यो अब त्यसैगरी एडेन सरकार र हुथी विद्रोही सरकार, प्रमुख राजनीतिक दलहरूले वृहद् शान्तिवार्ता गरी राष्ट्रिय सहमतिसहित मुलुकलाई निकास दिनुपर्छ । आफ्नो मुलुकको समस्या आफैँ समाधान गर्न सकिएन भने मुलुक सधैँ विदेशीको क्रिडास्थल बन्नेछ ।
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?