logo
२०८१ मंसिर ११ मंगलवार



नेतृत्व सुधार्न आफू सुध्र्रौँ

विचार/दृष्टिकोण |




डा. धनपति कोइराला
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता पनि फर्किए निराश भएर । तिनले देखे– नेपाली नेताका सोच, चिन्तन र पारा । बेतुकको बोली र बेलगाम जिब्रो । एकले अर्कालाई निषेध गर्ने स्वार्थोन्मादपूर्ण प्रतिशोधात्मक कार्यशैली । एकले अर्कालाई विभाजनको कारक फलानो नै हो भन्दै दोषारोपण गर्ने र आफूचाहिँ पानीमाथिको ओभानो बन्ने प्रवृत्ति ।
त्यतिमात्र नभई चरम गुटबन्दी, सत्ता र शक्तिको स्वार्थान्धताका कारण परस्पर स्यालझैँ किचलो गरेर छँदाखाँदाको बहुमतलाई सदुपयोग गरी देश र जनताको सेवा गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटनको परिवेश निर्माण गर्ने र विघटन गरिदिने दुवैको पानीमाथिको ओभानो बन्ने अभिव्यक्ति सुने तिनले पनि ।
हुन त संयमित भई नेकपाका पदाशक्त नेताहरूले सत्ता र पार्टीको नेतृत्व सहमतिअनुसार हाँकेर पार्टीको एकता महाधिवेशन गराउने अभियानमा सक्रिय भइदिएको भए समस्या त्यहीँबाट समाधान हुँदै जान्थ्यो । पार्टी एकता बलियो हुन्थ्यो र आगामी निर्वाचनमा पनि नेकपाले नै बहुमत प्राप्त गर्ने स्थिति बन्थ्यो ।
तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको घरै पुगेर उहाँका भाषामा आरोपपत्र फिर्ता लिन र सौहार्दपूर्ण रूपमा सरकार चलाउने वातावरण निर्माण गर्न आग्रह गरे पनि फिर्ता नलिने, पार्टी अध्यक्षबाट हटाउने, अविश्वास प्रस्ताव ल्याउनेदेखि राष्ट्रपतिलाई समेत महाभियोग लगाउनेसम्मका योजना बुनिएको थाहा पाएपछि आवेशमा आउनुभएका प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्षलाई दिनुभन्दा ताजा जनादेश लिने चाहनाले संसद् विघटनका लागि सिफारिस गर्न बाध्य भएको दाबी गरिएको छ । वस्तुतः अकस्मात् संसद् विघटन गरिएको खबर त्यसै पनि जनप्रिय थिएन र छैन । त्यसमा पनि, यही पाँच वर्ष नेतृत्व गर्न पाएको नेकपाले बाँकी कार्यकाल सरकार र पार्टीको बागडोर सम्हाल्ने उत्कट लिप्सा लिएकाहरू उत्तेजित हुनु स्वाभाविकै हो ।
अरूले दिएको चोट र विष एक अध्यक्षले पचाएर अर्का अध्यक्षलाई पूरै एक कार्यकाल सरकार चलाउन दिने अनि अर्को कार्यकालमा आफू प्रधानमन्त्री बन्ने कार्य गरेको भए यो स्थिति सायदै आउने थिएन । यो कार्यकालपछि आफू प्रधानमन्त्री पनि नबन्ने र आगामी महाधिवेशनमा अध्यक्ष पदमा नलड्ने भनिसक्नुभएका ओलीलाई पूरा कार्यकाल काम गर्न दिएर सघाउनुको सट्टा अध्यक्ष र प्रधानमन्त्री दुवै पद तत्कालै खोजेर योजनाबद्ध तयारी लाग्नु पनि आफैँमा दुःखद छ ।
मिल्ने ठाउँ कहीँ कतै अझै बाँकी छ भनेर मिलाउन प्रयत्न गरिरहनुभएको छ, वामदेव गौतमले अहिले पनि । सायद उहाँको प्रयत्नमा थप बल दिन चाहेका थिए– चिनियाँ कम्युनिस्ट नेताहरूले । तर, नेपाली नेताहरूको बालहठका कारण सम्भव भएजस्तो देखिएन र फर्किए निराश भएर । नेता वामदेवले आफ्नो छुट्टै मिलन धार रहेको र यसमा आफू अझै कतैपट्टि नलागी जुटिरहेको बताउनुभएको छ । उहाँको त्यो प्रयत्न प्रतिफलित हुने सम्भावना नेप्से परिसूचकझैँ घट्दो मानचित्रमा छ । कता जाँदा लाभ बढी प्राप्त गरिने हो’को पर्खाइमा मात्र प्रतीक्षारत रहेको आरोप खेपिरहनुभएको छ उहाँले । हुन त उहाँको विभाजनको पीडा मैले जति भोग्ने र अनुभूति गर्ने को होला र ? कथनमा दम नभएको होइन । उहाँका विगतका व्यवहार र प्रवृत्तिलाई हेरेर अनेकौँ आँकलन गरिए पनि उहाँ अहिले साँच्चै नै मनबाटै एकता बचाउन लागिरहेको हुनुहुन्छ कि भन्ने अनुभूति हुन्छ । यद्यपि, त्यो फुटिसकेको स्थितिमा सम्भव देखिन्न । अलिकति आधार भनेको तल्लो तहका कार्यकर्ता र जनता अझै विभाजित भइनसकेको अवस्थाले शिशिर ऋतुमा नदीभित्र जिउ डुबाएर सुदूरक्षितिजमा कतै बलिरहेको आगो देखेर त्यसैको सहारामा रात कटाउन सकेँ भन्ने वीरबलको खिचडीका मगन्ते पात्रको कथनजस्तै लाग्छ ।
प्रदेश सरकारको नेतृत्व चयनदेखि नै मानसिक रूपमा चिरिइसकेको थियो पार्टी । लाखौँ कार्यकर्ता र जनताको सदीच्छा र निरन्तर दबाब र खबरदारीका बाबजुद पनि चार÷पाँचजनाको स्वार्थ बाझिनासाथ आखिर पार्टी टाउकाबाट चिरिँदै झण्डै पाउसम्म गयो । चिरिनेक्रमलाई रोकेर अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको विरासतलाई जोगाउन र विकास विस्तार गर्न सकिन्छ कि भन्ने ठानेर आइपुगेको देखियो सीपीसी । त्यो टोलीले भेट्यो नेकपाका शीर्षनेतृत्व र नेपाली काँग्रेसका सभापति देउवालाई पनि ।
तर, उहाँहरूको ध्यान केन्द्रित भएको देखियो चिरिएको नेकपालाई रसायन गरी पुनः जोडेर एउटै बनाउने केन्द्रित । किनभने नेकपा र सीपीसीबीच अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको अन्तरपार्टीगत सदस्यता रहेकाले नेपालमा कम्युनिस्टहरू कमजोर होइन अझ सबल हुन्, सही किसिमले देशको बाग्डोर सम्हालून्, देशलाई उन्नतिको मार्गमा हिँडून् र समाजवादको गन्तव्यसम्म पुगून् भन्ने हरेक अन्तर्राष्ट्रिय कम्युनिस्टको सदीच्छा स्वाभाविक हुन्छ । यहाँको कम्युनिस्ट सरकार र यसले गरेका कामको सकारात्मक तरड्ढ विश्व समुदायसम्म पुगोस् । यसले विश्व समुदायमा कम्युनिज्म अझ उन्नत र सशक्त बनोस् भन्ने अभिलाषा थियो, उहाँहरूको र यही अभिलाषाले खिचेर ल्याएको थियो यहाँसम्म ।
तर, दुःखद पक्ष नेपालका कम्युनिस्टहरू सानोतिनो कुरामा समेत सदैव झगडा गर्छन् । पहिले यस्तो झगडा आंशिक रूपमा नीति, सिद्धान्त, दर्शनमा केन्द्रित हुने गथ्र्यो । तर, दुर्भाग्य २०४६ सालपछि सत्ता, शक्ति र पैसा– यी तीनखम्बे नीतिमा केन्द्रित हुन पुग्यो । अहिलेको यो किचलो पनि यही तीनखम्बे नीतिकै उत्कर्ष अथवा भनौँ राणाकालीन शक्तिसङ्घर्षको झल्को मेट्नेगरी भयो ।
हरेक वस्तुको आकृति जस्तो हुन्छ, त्यसको छाँया पनि ठीक त्यही नै नभए पनि त्यस्तै–त्यस्तै नै हुन्छ भनेझैँ जस्तो नेताको कार्यशैली, प्रवृत्ति र सोच हुन्छ तल्ला तहका नेतादेखि कार्यकर्तासम्म त्यसको प्रभाव पर्ने गर्छ । नेता, शक्ति, पद र पैसालाई उच्च महŒव दिने देशमा झन् नेताको सोच कार्यशैली र व्यवहारको प्रभाव तल्लो तहका नेता र कार्यकर्तामा प्रत्यक्ष रूपमा पर्न गएको छ । सँगसँगै त्यसको प्रभाव जनतासम्म नै पर्न थालेको छ ।
हाम्रो समाज मनोविज्ञान नेतालाई भगवान् सम्झन्छ र बुद्ध, राम, कृष्ण आदिजस्तै ठानेर सेवा गर्छ । एउटा दृष्टान्त एकपटक तिघ्रासम्मै गम्बुट लगाएका नेतालाई घुँडासम्म पानी भएको खोला तार्न कार्यकर्ताले बोके । आफैँ खोला तर्न नदिएर बोक्ने र बोकाउने, जुत्ता चप्पल पनि बोकिदिने र बोक्न दिने, खाएको थाल धोइदिने र धुन दिने प्रवृत्ति कुन कम्युनिज्ममा मेल खान्थ्यो र खान्छ ?
दुर्भाग्य उहाँहरूलाई भगवान् ठान्ने सोचकै कारण शीर्षनेता बाँडिनासाथ बाँडिइहाल्ने हुन थाल्यो । आवश्यक थियो ? उहाँहरू बाँडिए पनि आफूहरू स्थिर, अविचलित र एक ढिक्का भएर रहने, कतै पनि नलागी उहाँहरूलाई मिल्न बाध्य पार्ने, सही विचार र दर्शन रोज्न बाध्य पार्ने, नीति र कार्यक्रमलाई अक्षरशः पालन गर्न बाध्य तुल्याउने, आफूहरू विभाजित नभई गलत गरे गलत र सही गरे प्रशंसा गर्ने, बूढा अगुवा सक्षम नेतृत्व नभए आफूभित्रैबाट खोज्नेजस्ता कार्य गर्नुपर्ने थियो । तर, मातहतका नेता र कार्यकर्ता नै अन्धभक्तझैँ अथवा भनौँ माउका पछि–पछि लाग्ने अज्ञानी बाछोझैँ उनीहरूका पछि एकोहोरिएर लाग्ने गरिरहेछन् । मातहतका नेता, कार्यकर्ता र जनताले भगवान् ठान्ने गल्तीकै कारण नेता स्वेच्छाचारी छन् ।
अब नेता होइन, हामी कार्यकर्ता र जनता नै सुध्रनुपर्छ पहिले र गल्ती गर्ने हरेकलाई घृणा, तिरस्कार र बहिष्कार गर्नुपर्छ सबैले । उद्दण्ड, अराजक, सत्ता शक्ति र पैसालाई उच्च महŒव दिने नेतालाई हरेकले बहिष्कार गर्न सक्यौँ भनेमात्र सुध्रनेछ नेतृत्व । त्यसपछि नेतृत्व कुनै विदेशीको गोटी बन्ने छैन र फुटभन्दा पनि फुट्ने छैन कदापि । सत्ता र शक्तिका लागि लड्ने हुने छैन कदापि । न त भ्रष्टाचार र दुराचारमै लिप्त हुनुहुनेछ ।
यसर्थ, नेतालाई गाली गर्नुभन्दा आफैँलाई पहिले सुधारौँ । नेतृत्वप्रति धारेहात लगाएर सत्तोसराप गरेर समय खर्चनुभन्दा हामी आफैँ सच्चिनुमै अधिक भलाइ छ ।
(लेखक विश्लेषक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?