logo
२०८१ मंसिर १० सोमवार



अनलाइन शिक्षणमा अभिभावकको दायित्व

विचार/दृष्टिकोण |




डा. धनपति कोइराला

विश्व कोभिड–१९ को सङ्क्रमणले आक्रान्त छ । आर्थिक–सामाजिक क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बनेको छ । यो महामारीले सबै क्षेत्रका गतिविधि प्रभावित भएकै छन् तर शैक्षिक क्षेत्र सबभन्दा बढी प्रभावित छ । विद्यालयमा शिक्षक, विद्यार्थी भेट हुने स्थिति छैन, परीक्षा रोकिएको छ, जसोतसो वैकल्पिक माध्यम भन्दै अनलाइन कक्षा र परीक्षा चलिरहेका भए पनि यो प्रभावकारी बन्न नसकेको अनुभव गरिँदै छ ।

अनलाइन कक्षाबाट विद्यार्थीले कति सिकिरहेका छन् भन्ने कुरा यकिन गरी भन्नसक्ने स्थिति छैन तर अभिभावकलाई भने अर्काे चिन्ता पनि थपिएको छ । आफ्ना छोराछोरी मोबाइल र इन्टरनेटको कुलतमा फस्ने हुन् कि भन्ने चिन्ताले अभिभावकलाई पिरोलिरहेको छ । गाउँदेखि सहरसम्मका अभिभावकको चिन्ता एउटै छ– बच्चाको पढाइ सखापै भयो, बच्चा बिग्रनसम्म बिग्रिए, मोबाइलमा गाडिएका गाडियै गर्छन्, पब्जी खेल्छन्, एकछिन मोबाइल खोसिदियो भने रिसाउँछन्, झोक्किन्छन् ।
यो पीडा आमअभिभावकको हो । संस्थागत विद्यालयले सानो कक्षादेखि माथिल्लो तहसम्म नै सकेसम्म अनलाइन कक्षामा विद्यार्थीलाई जोड्ने प्रयत्न गरिरहेका छन् । सहरका सामुदायिक विद्यालयले पनि सक्दो प्रयत्न गरिरहेकै छन् । कतिपय ग्रामीण क्षेत्रका विद्यालय पनि सकेसम्म यसमा जुटिरहेकै देखिन्छन् । उनीहरू केही दिन अनलाइन र त्यसैअनुरूप आलोपालो बाँधेर विद्यार्थीका घर–घरमा जाने र प्रश्नपत्र उपलब्ध गराउने, गृहकार्य दिने र अर्को हप्ता गएर त्यसको परीक्षण गरिदिई पुनः अनलाइनमा सिकाएका विषयसँग सम्बद्ध प्रश्न दिने र अर्को निर्धारित मितिमा पुगी शैक्षिक कार्य सम्पादन गरिरहेका छन् ।

कोभिड–१९कै कारण अहिले मोबाइल अनिवार्यजस्तै बनेको छ । घरमा बाबुआमाले प्रयोग गर्ने मोबाइलले मात्र नपुगेर थप किन्नुपर्ने, पुरानाले राम्रो काम नगर्दा र एप इन्स्टल नहुँदा काम चल्ने खालको मोबाइल किन्नु परेको छ । यसले गर्दा अभिभावकलाई शैक्षिक शुल्क बुझाएर मात्र पुग्ने अवस्था अब छैन । थप मोबाइल र सँगसँगै डाटा वा इन्टरनेट लिनुपर्ने बाध्यता छ । यही बाध्यताबीच मोबाइल र इन्टरनेटको व्यापार बढेको छ । वैकल्पिक शिक्षाका नाउँमा भइरहेका यी गतिविधि कतिपय अवस्थामा उत्पादक भइरहे पनि प्रत्युत्पादक पनि भइरहेको छ तर यसबारे अध्ययन अनुसन्धान गर्नुपर्ने बेला आइसकेको छ ।

मेसेन्जर, एम एस टिम, गुगल जुम, गुगल मिटजस्ता थुप्रै एपको सहायताले सिक्ने र सिकाउने काम भइरहे पनि सबै विद्यार्थी र शिक्षकको पहुँचमा अझै पुगिसकेको छैन । पहुँचमा रहेकामध्ये कतिले त्यसको सदुपयोग गरिरहेका छन् र कतिले त्यसलाई मनोरञ्जन र खेल सामग्रीका रूपमा मात्र लिइरहेका छन् भन्ने तथ्यको खोजी भएको छैन । बालबालिकाले मोबाइल, कम्प्युटर र इन्टरनेटको यो सहज उपलब्धतालाई पढाइका लागि मात्रै प्रयोग गरिरहेका छन् कि अरू काममा पनि प्रयोग गर्छन् ? उनीहरू पढाइ, सिकाइका अतिरिक्त के कस्ता सामग्री खोज्ने, हेर्ने गरिरहेका छन् ? उनीहरूको प्रायः समय के हेर्न र गर्नमा बितिरहेको छ ? यी विषय निकै गम्भीर छन् ।
पढाइ, सिर्जनशीलता र आफ्नो क्षमता विकासका लागि इन्टरनेट अति आवश्यक साधन हो । यसको सदुपयोगले ज्ञान, सीप आर्जन सहज हुन्छ । यसर्थ प्रविधि वास्तवमा वरदान हो । वरदान जहाँ हुन्छ, त्यहीँ श्राप पनि हुन्छ र अधोगति पनि हुन्छ । सिक्काका दुई पाटाजस्तै छ प्रविधि । उज्यालोसँगै अँध्यारो आउँछ । यसैले सही किसिमले उपयोग गरिए त्यही वरदान र दुरुपयोग गरिए त्यही विनाशको कारक बन्ने निश्चित छ । अवोध र निर्दोष बाल मानसपटललाई नकारात्मकतातिर जान प्रेरित गर्ने कि सकारात्मक मार्गतिर जान प्रेरित गर्ने त्यो जिम्मा अहिले अभिभावकका काँधमा आएको छ ।

अहिले बालबालिका विद्यालयको पहुँचमा छैनन्, उनीहरू शिक्षकको प्रत्यक्ष आँखा अगाडि पनि छैनन् । उनीहरूले प्र्रत्यक्ष रूपमा शिक्षकको निर्देशन, माया, स्नेह र वात्सल्य पाइरहेका छैनन् । यो अवस्थामा अभिभावकको दायित्व बढेको छ । अभिभावकले अभिभावकत्वका साथै गुरु–गुरुमाको गुरुत्व पनि वहन गरिरहनुपरिरहेको छ । अभिभावक थोरै चुके पनि ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति बन्न सक्छ । ज्ञान गुण र शिक्षा दीक्षाद्वारा दया, माया र करुणाले विभूषित व्यक्तित्व बनाउने अभिलाषाले ऋणधन गरेर उपलब्ध गराएको मोबाइल र इन्टरनेट नै दुर्गतिको कारक बन्न जाने हो कि भन्ने कुरामा अभिभावक अहिले चनाखो बन्नैपर्छ । नत्र भोलि कन्पारोमा हात लगाएर रुँदै बस्नुको विकल्प रहने छैन । आफ्ना बालबालिकालाई साधन सुविधा दिनुपर्छ, सँगसँगै उनीहरूका गतिविधिको पनि अनुगमन गर्नुपर्छ अभिभावकले । ज्यादा उदारता र बेवास्ताले भोलि विनाश निम्त्याउन बेर लाग्दैन । राम्रो गरिरहेका भए तिनलाई अझ राम्रो गर्दै जान प्रेरित गर्ने तर ढुक्क नहुने, बीचबीचमा अनुगमन र परीक्षण गरिरहनुपर्छ । नकारात्मक मार्गतिर उन्मुख भएको भए पनि बेलैमा रचनात्मक सल्लाह, सहयोग, उत्प्रेरणा र व्यवहारले सिर्जनशील मार्गमा ल्याउन सकिने हुनाले पनि बालबच्चाका गतिविधिमाथि हस्तक्षेपपूर्णभन्दा पनि प्रेम र निर्देशनात्मक व्यवहारलाई मिसाएर सहज परामर्श प्रदान गर्नु वाञ्छनीय हुन्छ ।

अनलाइन शिक्षा दिने र लिने कार्य सहज छैन । न अनलाइन प्रविधिबाट दिइने किसिमको पाठ्यक्रम छ, न त्यस्ता शैक्षिक पाठ्यवस्तु उत्पादन नै गरिएको छ । अनलाइनलाई नै ध्यानमा राखेर शैक्षिक सामग्री उत्पादन र परीक्षा प्रणाली विकास भइसकेको छैन । शिक्षक प्रविधि प्रयोग र प्रस्तुतिमा निपूर्ण भइसकेका छैनन्, विद्यार्थी पनि यो सिकाइ विधिबाट अधिकतम लाभान्वित बनिरहेका पनि छैनन् । प्रभावकारी ढङ्गमा शिक्षण गर्ने सामग्री उत्पादन गर्ने र भएकालाई पनि प्रस्तुत गर्ने कौशल नभएकाले नै यी समस्या आएका हुन् । यति समस्या हुँदाहुँदै पनि यो अनलाइन पठनपाठनलाई छोड्न सक्ने स्थिति छैन । कम्तीमा कोरोना महामारी रहेसम्म शैक्षिक गतिविधि यस्तै अनलाइन प्रविधिबाटै चल्ने निश्चित जस्तै छ ।

अहिले जे जति अनलाइन शिक्षण भइरहेछ, त्यो भनेको कतिपयलाई भैँसीका अगाडि बिन बजाउने र कसैका निम्ति नहुनु मामाभन्दा कानो मामा निको भनेझैँ मात्र हो । तथापि केही नगरी हात बाँधेर बसिरहने स्थिति नरहेकाले मात्र यसो गरिएको हो तर केही गरिरहेको नाउँमा प्रविधि, सामाजिक सञ्जाल, गुगल एप, विभिन्न गेम र गुगलमा रहेका सामग्रीबारे आवश्यक जानकारी गराएर मात्र मोबाइल र त्यसमा आवश्यक इन्टरनेट जोडिदिनु हितकर हुनसक्छ ।

आपूm एकातिर मस्त रहने, अर्कोतिर आमा र अर्कोतिर छोराछोरी र अर्कोतिर भाइबहिनी मस्त रहने हो भने घर उजाडिन बेर लाग्दैन । यस तथ्यलाई मनन् गरी हरेक अभिभावकले सचेत र सावधान रहँदै छोराछोरीलाई सही मार्गमा हिँड्न प्रोत्साहन गर्नुपर्छ । शिक्षकको प्रत्यक्ष निगरानीमा विद्यार्थी रहने अवस्था नभएकाले शिक्षकको अभाव पनि अभिभावकले नै पूरा गर्नुपर्छ । यसबेला अभिभावकले आफ्ना बालबालिकाको सिकाइको अवस्थाबारे सचेत नहुने हो भने बालबालिकाको भविष्य अन्धकार हुनसक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?