logo
२०८१ जेष्ठ ५ शनिवार



ट्रम्पको लज्जाजनक बहिर्गमन

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य


विश्वकै महाशक्ति राष्ट्र अमेरिकामा बाइडेन युग सुरु भएको छ । निर्वाचित राष्ट्रपति जोए बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले हिजो बुधबार (जनबरी २०)मा कोरोनाका कारण सङ्क्षिप्त समारोहबीच पद तथा गोपनीयताको शपथ लिई कार्यारम्भ गर्नुभएको छ । गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला विजयी हुनुभएको थियो । ७८ वर्षीय बाइडेन र ५६ वर्षीया कमलाको आगमनसँगै विश्वमा नयाँ आशाको सञ्चार भएको छ ।
निर्वाचनमा पराजित रिपब्लिकन पार्टीका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको लज्जाजनक बहिर्गमन भएको छ । उहाँले निर्वाचित राष्ट्रपति बाइडेनलाई बधाइ पनि दिनुभएन र हार पनि स्वीकार गर्नुभएन । दुईपटक महाभियोग लगाइनुभएका ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्नुभयो । परिणाम अस्वीकार गर्दै कानुनी बाटोसमेत रोजे पनि उहाँको कदम सफल भएन । एकपछि अर्को असफलता हात लागेपछि ट्रम्पले संसद्माथि आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साउनुभयो । जनबरी ६ मा संसद्ले निर्वाचित राष्ट्रपतिको प्रमाणीकरण सदर गरिरहँदा ट्रम्पका समर्थक संसद् भवन क्यापिटल हिलमा प्रवेश गरी विध्वंश मच्चाए । त्यहाँ भएको हिंसात्मक घटनामा पाँचजनाको ज्यान गयो । १५ दिनका लागि वासिङ्टन डीसीमा सङ्कटकाल लागू गरियो । बहालवाला राष्ट्रपतिले संसद्माथि गरेको यो आक्रमण अमेरिकाको इतिहासमै अभूतपूर्व घटना हो । यसले विश्वको सर्वोत्कृष्ट ठानिएको अमेरिकी लोकतन्त्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
यो घटनाले ट्रम्पमाथि अर्को कलङ्कको टीका लाग्यो । लोकतन्त्रको बदनाम गरेको भन्दै तल्लो सदनमा उहाँविरुद्ध दोस्रोपटक महाभियोग प्रस्ताव पारित भयो । आफ्नै पार्टीका नेताहरूले समेत राजीनामा दिन आग्रह गरे तर पनि उहाँले मान्नुभएन । अन्ततः असफल राष्ट्रपतिका रूपमा ह्वाइट हाउसबाट बाहिरिनुभयो ।
ह्वाइट हाउसबाट बाहिरिए पनि ट्रम्पले उन्मुक्ति पाउने अवस्था छैन । उहाँमाथि विभिन्न कारबाही प्रक्रिया अगाडि बढाइएको छ । संसद् भवनमा आक्रमण गरेका उहाँका समर्थकलाई पक्राउ गरिएको छ । विश्वमै अमेरिकाको बेइज्जत गरिएको भन्दै ट्रम्प र उहाँका समर्थकमाथि गरिने कारबाहीले जनताले बनाएको संविधान र जनताको व्यवस्थाभन्दा माथि कोही छैन भन्ने सन्देश दिनेछ ।
मूलतः ट्रम्पको चारवर्षे शासनकाल सुखद रहेन । व्यापारिक पृष्ठभूमिबाट आउनुभएका उहाँले राजनीतिक संस्कार देखाउन जान्नुभएन । स्थापित विश्वका मूल्य र मान्यतालाई कुल्चँदै उहाँले आफ्नो स्वार्थका लागि मात्र काम गर्नुभयो, राज्यशक्तिको चरम दुरुपयोग गर्नुभयो । उहाँका कारण विश्वसँग राम्रो सम्बन्ध स्थापना भएन । रिपब्लिकन पार्टीलाई पनि ठूलो क्षति भयो । राजनीतिक संस्कार नभएको सन्की व्यक्ति सर्वोच्च पदमा पुग्दा समग्र राष्ट्रलाई कस्तो क्षति पुग्दोरहेछ भन्ने उदाहरण बन्नुभयो ट्रम्प । सत्ता र शक्तिको दुरुपयोगले अन्ततः शासकलाई पतन गराउँछ ।
ट्रम्पले ध्वस्त पारेको अमेरिकी छविलाई पुनर्जीवन दिँदै विश्वमा शान्ति र सुव्यवस्था कायम गर्न विशेष भूमिका निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी अब बाइडेनको काँधमा आएको छ । उहाँले विभाजित अमेरिकीलाई एक बनाउँदै अमेरिकी संविधान र व्यवस्थाभन्दा माथि कोही छैन भन्ने विश्वास दिलाउन पनि संविधान र व्यवस्थाविरुद्ध काम गर्ने शासकलाई दण्डित गर्नु आवश्यक छ ।
ट्रम्पले जाँदाजाँदै पनि आन्दोलनको धम्की दिनुभयो । उहाँको व्यवहार धेरैलाई मन परेन । सामाजिक सञ्जालबाट बहिष्कृत हुनुप¥यो । ट्रम्पले आफ्ना उद्दण्ड समर्थकलाई पनि संरक्षण दिन सक्नुभएन । राजनीतिक सत्ता उहाँका लागि अन्त्यमा आत्मघाती साबित भयो । अमेरिकाको इतिहासमा अलोकप्रिय राष्ट्रपतिका रूपमा महाभियोग बोकेर बाहिरिनुभएका ट्रम्पका कारण रिपब्लिकन पार्टीलाई पनि ठूलो धक्का लागेको छ । उहाँले बिगारेको पार्टीलाई पुनर्जीवन दिन पनि रिपब्लिकन नेताहरूले कडा मिहिनेत गर्नुपर्ने भएको छ ।
अर्कोतर्फ अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित बाइडेनको जीवन आफैँमा प्रेरणादायी छ । उहाँमा राजनीतिक संस्कार, सभ्यता, नैतिकता र इमानदारी सबै रहेको ठानिएको छ । उहाँलाई राजपाठको राम्रो ज्ञान छ । सन् २००९ देखि २०१७ सम्म तत्कालीन राष्ट्रपति बाराक ओबामाको उपराष्ट्रपति हुनुहुन्थ्यो उहाँ । दशकौँको अनुभव प्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित उहाँ सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्नुहुन्छ । बाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । सबैसँग मिल्ने स्वभावका उहाँले पक्कै पनि अमेरिकालाई नयाँ जीवन दिनुहुनेछ ।
उहाँको वासिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो । त्यतिबेला उहाँ अमेरिकी सिनेटका सदस्य बन्नुभयो । उहाँ सन् १९८७ मै राष्ट्रपति बन्ने चर्चामा आउनुभएको थियो । तर, प्राविधिक कारणले उहाँ राष्ट्रपतिको उम्मेदवार बन्नुभएन । बाइडनेले अमेरिकी सिनेटका चुनाव सातपटक जित्नुभएको छ ।
अमेरिकाका हरेक महŒवपूर्ण घटनाक्रममा बाइडेन या त संलग्न हुनुहुन्छ या त त्यसबारे केही टिप्पणी गर्नुभएको छ । विश्व राजनीति र रणनीति दुवै राम्रोसँग बुझ्नुभएका बाइडेनलाई पारिवारिक पिरलोले भने सताइरह्यो । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको कार दुर्घटनामा उहाँकी पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते हुनुभएको थियो । बाइडेनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो र साथै सैनिक अधिकारीकन रूपमा इराकमा खटिनुभएको थियो । सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्युमरका कारण बो बाइडेनको पनि निधन भयो । यसले उहाँलाई थप पीडा थप्यो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडेनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ । बाइडेनसँग विश्वमञ्चको कूटनीतिक अनुभव बलियो पक्ष छ । उहाँ विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष हुनुहुन्थ्यो । आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई उहाँले भेट्नुभएको छ । सन् १९९१ मा उहाँले पहिलो खाडी युद्धको विपक्षमा मतदान गर्नुभएको थियो । अमेरिकाको इराकमा संलग्नताको उहाँले आलोचना गर्नुभयो । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाउनुभएको थियो । सो कारबाहीमा बिन लादेन मारिएका थिए ।
बाइडेन अहिंसावादी नेता हुनुहुन्छ । हिंसा समस्याको समाधान होइन भन्ने मान्यता राख्नुहुने उहाँले शान्ति र मेलमिलापबाटै सबैको कल्याण चाहनुहुन्छ । उहाँको यो अभियानलाई साथ दिन सक्षम र बौद्धिक महिला नेतृ कमला उपराष्ट्रपति निर्वाचित हुनुभएको छ ।
कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनुहुन्छ । इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उहाँले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई पनि चुनौती दिनुभएको थियो । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उहाँको नाम चर्चामा रह्यो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसक्नुभएकी उहाँले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारका लागि निरन्तर आह्वान गर्नुभयो । कमला क्यालिफोर्नियाको ओक्लान्डमा जन्मनुभएको हो । उहाँकी आमा भारतीय पिता जमैकन हुनुहुन्छ । उहाँले हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभयो ।
परिपक्व राष्ट्रपति बाइडेनको साथमा क्षमतावान उपराष्ट्रपति कमलाका कारण अमेरिकाको शासन व्यवस्थाले अब सही गति लिनेमा शङ्का छैन । अमेरिकी राष्ट्रपतिलाई विश्वकै नेता मानिएको छ । अमेरिकाले लिने नीति र कार्यक्रमले विश्व राजनीति नै प्रभावित हुन्छ । विश्वमा शान्ति, मेलमिलाप, सहकार्य र एकता आवश्यक छ । युद्ध सधैँका लागि अन्त्य गर्नुपर्छ । आणविक हतियारको होडबाजीले विश्व शान्ति र सुरक्षा खतरामा परेकाले त्यसलाई अन्त्य गर्न अमेरिकी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।
ट्रम्पको चारवर्षे असफल शासनकालले सिर्जना गरेका समस्या हटाउँदै विश्वमा शान्ति र मेलमिलापका लागि मिलेर काम गर्ने वातावारण बनाउने जिम्मेवारी बाइडेनको काँधमा आएको छ । ट्रम्पले सुरु गर्नुभएको चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने, उत्तर कोरिया र इरानसँग वार्ता गरी आणविक समस्या समाधान गर्ने, रूस र युुरोपेली सङ्घसँँग विश्वासको वातावरण बनाउनुपर्ने, क्युबा, भेनेजुएलासँगको तिक्तता हटाउनुपर्ने, विश्वको बिग्रँदो वातावरणीय समस्या समाधान गर्न पेरिस सम्झौतामा फर्कनुपर्नेजस्ता विषयमा बाइडेनले विशेष ध्यान दिनुपर्ने भएको छ ।
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?