प्रेमबहादुर थापा
माानव समाजले विभिन्न कालखण्डमा प्लेग, विफर, हैजा, क्षयरोग, पोलियो आदि महामारी सामना गर्दै आएको छ । कालो मृत्युका रूपमा परिचित प्लेग चौँधौ शताब्दीमा मध्य एसियाबाट युरोप, उत्तरअमेरिका तथा अफ्रिकामा फैलिएर करिब पाँच करोड मानिसको ज्यान लिएको थियो । सन् १९१८ मा स्पेनिस फ्लु (इन्फ्लुएन्जा भाइरस) बाट विश्वका आधा जनसङख्या सङ्क्रमित भएर करिब दुई करोड मानिसले मृत्युवरण गर्नुपरेको थियो । विभिन्न कालखण्डमा भाइरस र ब्याक्टेरियाको सङ्क्रमण हुँदै जाँदा विश्व स्वास्थ्य सङ्गठनलगायत सम्बद्ध विद्वान्हरूले दुई दशकअघिदेखि नै नयाँ प्रजातिको भाइरस देखिने बताउँदै आएका थिए । सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरमा कोरोना भाइरस देखाप¥यो । यो भाइरस यसअगाडिका भन्दा नयाँ प्रकारको भएकोले सन् २०२० फेब्रुअरी ११ मा नोबेल कारोना भाइरस (कोभिड–१९)
नामाकरण गरियो ।
अहिले समग्र विश्व कोभिड–१९ महामारीबाट आक्रान्त छ । करोडौँ व्यक्ति कोरोनाबाट सङ्क्रमित भए भने लाखौँले ज्यान गुमाए । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनको वुहान क्षेत्रबाट आएका एक विद्यार्थीमा कोरोना भेटियो । नेपाल सरकारले कोरोनाको जोखिम कम गर्न चैत ११ गतेदेखि देशभर लकडाउन ग¥यो । २०७७ जेठ ३ गते नेपालमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएको थियो भने पुस मसान्तसम्म १९ सय ३२ जनाको मृत्यु भयो । यो तथ्याङ्कअनुसार नेपालमा कोरोना सङ्क्रमित र मृत्युको दर तीव्र देखिन्छ । सरकारले लकडाउन, निषेधाज्ञा र सावधानीका उपाय अपनाउन निर्देशित गरेको त छ तर कोरोना महामारी रोकथाम तथा नियन्त्रण हुनुको सट्टा तीव्र हुँदै गयो । यसको मूल कारण खोजीका लागि बुटवल उप–महानगरपालिका भित्रका विभिन्न स्थान र कार्यालयलाई आधार मानेर सर्वसाधारणको चाप र प्रत्यक्ष सम्पर्क हुने मुख्य पाँच क्षेत्रलाई लक्षित गरी एक अध्ययन गरिएको थियो ।
नतिजाअनुसार अध्ययन क्षेत्रका ४८ प्रतिशत पैदलयात्रीले मास्क नलगाई हिँड्ने गरेका पाइयो भने १६ प्रतिशतले मास्क लगाए पनि सही प्रयोग गरेनन् र जम्मा ३६ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरेका छन् । यीमध्ये ६४ प्रतिशतले सामाजिक दुरी कायम गरेनन् । २४ प्रतिशतले हल्का सामाजिक दूरी कायम गरे भने जम्मा १२ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरेका पाइयो । अध्ययन क्षेत्रका २६ प्रतिशत बस चालक, सह–चालक र यात्रुले मास्क नलगाई यात्रा गरे । १४ प्रतिशतले मास्कको सही प्रयोग नगरेका र जम्मा ६० प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरेका छन् । यीमध्ये ९० प्रतिशतले सामाजिक दूरी कायम गरेनन् । छ प्रतिशतले हल्का कायम गरेका र जम्मा चार प्रतिशतले मात्र सामाजिक दूरी कायम गरेका पाइयो ।
बुटवलको एक प्रतिष्ठित विद्यालयका १८ प्रतिशत विद्यार्थी र शिक्षकले विद्यालयमा मास्क नलगाएको पाइयो, १२ प्रतिशतले मास्कको सही प्रयोग नगरेका र जम्मा ७० प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरेका छन् । यीमध्ये ७६ प्रतिशतले सामाजिक दूरी कायम गरेनन् । १८ प्रतिशतले हल्का सामाजिक दूरी कायम गरे भने जम्मा छ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरे । त्यसैगरी ४४ प्रतिशत सेवाग्राही र सेवा प्रदायकले सार्वजनिक कार्यालयभित्र मास्क लगाएनन् आठ प्रतिशतले मास्कको सही प्रयोग गरेनन् र जम्मा ४८ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरे । यीमध्ये ७८ प्रतिशतले सामाजिक दूरी कायम गरेनन् । १८ प्रतिशतले हल्का कायम गरे भने जम्मा चार प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरेका छन् ।
एक अस्पतालका २० प्रतिशत चिकित्सक, नर्स, बिरामी र कुरुवाले मास्क प्रयोग गरेनन् । ३८ प्रतिशतले मास्कको उचित प्रयोग गरेनन् र जम्मा ४२ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरे । यीमध्ये ५४ प्रतिशतले सामाजिक दूरी कायम गरेनन् । ३४ प्रतिशतले हल्का सामाजिक दूरी कायम गरे भने १२ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरेका छन् । उपरोक्त पाँच विभिन्न क्षेत्रमा गरिएको अध्ययनलाई औसतमा निकालेर मास्कको प्रयोग र सामाजिक दूरी कायमको स्थितिलाई वृत्तचित्रमा निम्नानुसार प्रस्तुत गरिएको छ ः
अध्ययन क्षेत्रका ३१ दशमलव २ प्रतिशत मानिसले मास्क लगाउँदैनन् । ७ दशमलव २ प्रतिशतले घाँटीमा लगाउने, २ दशमलव ४ प्रतिशतले चिउँडोमा लगाउने, ० दशमलव ८ प्रतिशतले नाकमा लगाउने, ७ दशमलव २ प्रतिशतले मुखमा लगाउने र जम्मा ५१ दशमलव २ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गर्छन् । यीमध्ये ७२ दशमलव ४ प्रतिशतले सामाजिक दूरी कायम गर्दैनन् । २४ प्रतिशतले हल्का तरिकाले सामाजिक दूरी कायम गर्छन् भने जम्मा १२ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गर्छन् ।
त्यसैगरी अध्ययन क्षेत्रका आठ प्रतिशतले पानीले मात्र हात धुने, ५८ प्रतिशतले साबुनपानीले धुने र जम्मा १८ प्रतिशतले मात्र साबुनपानीले राम्रोसँग हात धुने गरेका छन् । यीमध्ये सेनिटाइजरले हल्का तरिकाले धुने ६४ प्रतिशत देखिए, २० प्रतिशतले सेनिटाइजरले राम्रोसँग हात धुने र १६ प्रतिशतलाई स्यानिटाइजरको बारेमा थाहा नै छैन । अतः करिब ५० प्रतिशत जनसङ्ख्याले मास्क नलगाउनु र दुई तिहाईभन्दा बढी जनसङ्ख्याले सामाजिक दूरी कायम नगर्नु नै कोभिड–१९ भाइरस तीव्र सङ्क्रमण हुनुको मूल कारण हो । एक चौथाईभन्दा कम जनसङ्ख्याले मात्र साबुनपानी र स्यानिटाइजरको माध्यमबाट हात धुने गर्नुले यो भाइरस सङ्क्रमण तीव्र पार्नमा मलजल पुगेको हो । कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन, निषेधाज्ञा र सावधानीका उपायहरू अवलम्बन गर्न निर्देशित त ग¥यो । तर आम नागरिकमा पर्याप्त ज्ञान, सीप तथा अभिवृत्ति नहुँदा कोभिड –१९ सुरक्षा मापदण्डको पालना प्रभावकारी हुन सकेन । तसर्थ सरकारले कोभिड –१९ भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सर्वप्रथम स्वास्थ्य सचेतना सञ्चार गर्न स्वास्थ्य संस्था वा सम्बद्ध निकायहरूलाई थप जिम्मेवारीबोधका साथ आवश्यक स्रोत साधनको परिचालन गर्ने र खोपमार्फत् सङ्क्रमणदरलाई शून्यमा झारिनुपर्छ । यसले रोकथाम तथा नियन्त्रणको कार्य मितव्ययी र प्रभावकारी हुन जान्छ ।
(लेखक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकामा प्राविधिक सहायक हुनुहुन्छ ।