logo
२०८१ मंसिर ११ मंगलवार



असावधानी नै सङ्क्रमणका कारण

विचार/दृष्टिकोण |




प्रेमबहादुर थापा

सारा विश्वका लागि कोरोना (कोभिड–१९) भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने ठूलो चुनौती बनिरहेको छ । यद्यपि, चीनले ठूलो मूल्य चुकाएर भाइरस सर्ने माध्यम र सावधानीका उपायबारे विश्वलाई पाठ सिकायो । तरै पनि चीनबाट कोरोना सल्किंँदै गर्दा विकसित मुलुक जुन मजाक र असावधानीमा प्रस्तुत भए, शीघ्र परिणतिस्वरूप इटली र अमेरिकालगायतका शक्तिशाली मुलुकले ठूलो क्षति बेहोर्नुप¥यो । केही नाइके मुलुकले बेलैमा कोरोनाको खोप बनाएर रचनात्मक क्षमता देखाउनुपर्नेमा मिसाइल परीक्षण गरी पर्यावरण खल्बल्याउने ध्वंसात्मक गतिविधिमा लागे ।
कोरोनाको दोस्रो लहरमा फ्रान्स, ब्राजिल र भारतमा नयाँ भेरियन्ट (स्वरूप)ले उग्र रूप लिँदै जाँदा नेपालका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाउने समय थियो । तर सुस्त गतिको तयारी र व्यवस्थापनले पहिलो चरणमै ठूलो क्षति बेहोरेको नेपालमा फेरि नयाँ भेरियन्टले वितन्डा मच्चाउँंदै गएको छ । यसको मूल कारण खोजीका लागि गत वैशाख २१ गतेसम्म सर्वसाधारणको भीडभाड र प्रत्यक्ष सम्पर्क हुने मुख्य चार क्षेत्रलाई लक्षित गरी पश्चिम नवलपरासीको परासीमा अवस्थित विभिन्न सार्वजनिक स्थान, कार्यालय, सार्वजनिक सवारी र अस्पताललाई अध्ययन क्षेत्रका रूपमा छनोट गरियो । जहाँ अध्ययन क्षेत्रका आठ प्रतिशत पैदलयात्रीले मास्क नलगाई हि“डडुल गरे । मास्क लगाउनेमध्ये २२ प्रतिशतले त्यसको सही प्रयोग गरेनन् र जम्मा ७० प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरे । अध्ययनमा समेटिएकामध्ये ७८ प्रतिशतले सामाजिक दूरी कायम गरेनन् । १८ प्रतिशतले हल्का सामाजिक दूरी कायम गरे भने जम्मा चार प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरे ।
अध्ययन क्षेत्रका १० प्रतिशत बस चालक, सहचालक र यात्रुले मास्क नलगाई यात्रा गरे । २६ प्रतिशतले मास्कको सही प्रयोग नगरेका र जम्मा ६४ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरे । यीमध्ये ६० प्रतिशतले सामाजिक दूरी कायम नगरेका, २६ प्रतिशतले हल्का र जम्मा १४ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरे ।
त्यसैगरी, सार्वजनिक कार्यालय परिसरभित्र मास्क नलगाउने सेवाग्राही र सेवाप्रदायक चार प्रतिशत, मास्कको सही प्रयोग नगर्ने ४२ प्रतिशत र मास्कको उपयुक्त प्रयोग गर्ने जम्मा ५४ प्रतिशत रहेका छन् । यीमध्ये ४६ प्रतिशतले सामाजिक दूरी कायम गरेनन्, ४० प्रतिशतले हल्का कायम गरे भने जम्मा १४ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरेका छन् ।
एक अस्पतालमा बिरामी, कुरुवा, चिकित्सक र नर्समध्ये २ प्रतिशतले मास्क प्रयोग गरेनन् । १२ प्रतिशतले मास्कको सही प्रयोग गरेनन् भने जम्मा ८६ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गरे । यीमध्ये ३२ प्रतिशतले सामाजिक दूरी कायम गरेनन् । ४८ प्रतिशतले हल्का र २० प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गरेका छन् । अतः सङ्क्रमणको हिसाबले निकै जोखिम मानिएको क्षेत्रमा समेत पर्याप्त सावधानी नअपनाउनुले सङ्क्रमण दर तीव्र भएको सङ्केत गर्छ ।
उपर्युक्त चार विभिन्न क्षेत्रमा गरिएको अध्ययनलाई औसतमा मास्कको प्रयोग र सामाजिक दूरी कायमको स्थितिलाई वृत्तचित्रमा निम्नानुसार प्रस्तुत गरिएको छ :
प्रस्तुत तथ्याङ्कअनुसार अध्ययन क्षेत्रका ६ प्रतिशत मानिसले मास्क लगाउँदैनन् । चार प्रतिशतले घाँटीमा लगाउँछन् । चार दशमलव पाँच प्रतिशतले चिउँडोमा लगाउँछन् । दुई प्रतिशतले नाकमा र १० प्रतिशतले मुखमा लगाउँछन् र जम्मा ६८ दशमलव ५ प्रतिशतले मात्र मास्कको उपयुक्त प्रयोग गर्छन् । यीमध्ये ५४ प्रतिशतले सामाजिक दूरी कायम गर्दैनन् । ३३ प्रतिशतले हल्का सामाजिक दूरी कायम गर्छन् भने जम्मा १३ प्रतिशतले मात्र पर्याप्त सामाजिक दूरी कायम गर्छन् । यस तथ्याङ्कलाई नियाल्दा झन्डै एकतिहाइ जनसङ्ख्याले अझै पनि मास्कको उपयुक्त प्रयोग गर्दैनन् । बाँकी दुईतिहाइमध्ये केहीले निकै पुराना, पुनःप्रयोग गर्न नमिल्ने जीर्णखालका मास्क लगाएको पाइयो । यी तथ्याङ्कले के पुष्टि गर्छन् भने कोरोना (कोभिड–१९) भाइरसको नयाँ भेरियन्टले वितण्डा रूप लिनुमा सबैले सावधानीपूर्वक मास्कको सुरक्षित प्रयोग र सामाजिक दूरी कायम नगर्नु हो । अतः मास्कको सुरक्षित प्रयोग गर्दा नाक र मुख राम्रोसँग छोपिनेगरी लगाउने, मुखमा लगाइराखेको मास्क फोहोर हातले नछुने, घरबाहिर गएर आएपछि पहिले साबुनपानीले हात धुने अनि मास्क खोलेर त्यसको निर्मलीकरणतर्फ लाग्नुपर्छ । साथै आपसमा कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गरिनुपर्छ ।
विभिन्न काम गर्दा, कुनै चीज छुँदा वा समाउँदा भाइरस हातमा टाँसिन पुग्छन् । त्यसैले बेला–बेलामा हातलाई साबुनपानीले राम्रोसँग धुने वा स्यानिटाइजर दलेर सङ्क्रमणरहित बनाउनुपर्छ । कतिपय व्यक्तिमा यसबारे व्याावहारिक ज्ञानको कमी हुँदा साबुनपानी र स्यानिटाइजरको सही प्रयोग गर्न जान्दैनन् । हात धुने माध्यम र तरिकासम्बन्धमा गत पुसमा लेखक स्वयम्ले गरेको एक अध्ययनमा कोरोना भाइरसबाट बच्न जम्मा १८ प्रतिशतले मात्र साबुनपानीले राम्रोसँग हात धुने गरेको पाइयो । एक चौथाइले मात्र स्यानिटाइजरले राम्रोसँग हात धुने र स्यानिटाइजरका बारेमा थाहा नहुने १६ प्रतिशत थिए ।
निषेधाज्ञा लागू हुनुपूर्व राजधानीलगायतका मुख्य सहर छोड्दा गाडीमा भीडभाडको प्रत्यक्ष संसर्गसहितको गाउँ प्रवेशले पनि सङ्क्रमण बढेको हो । निषेधाज्ञामा छोटो समयका लागि तोकिएको किनमेलमा हुुने भीडभाडले सङ्क्रमण दर बढ्दै गएको छ । अहिले मुलुकका धेरै ठाउँमा सार्वजनिक सवारी कम चले पनि विवाह र पूजाआजामा हुने भीडको संसर्गले कोरोनाको युके भेरियन्ट (?) ले उग्र रूप लिएको हो ।

अध्ययनको निष्कर्ष
प्रस्तुत अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने कोभिड–१९ तीव्र सङ्क्रमणको मुख्य कारण सबैले मास्कको उपयुक्त प्रयोग र सामाजिक दूरी कायम नगर्नु हो । यसका पछाडि उनीहरूमा व्यावहारिक ज्ञान तथा अभिवृत्तिको कमी हुनु हो । धेरै सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा सेवा प्रदान गरिने सार्वजनिक कार्यालय साथै अस्पतालमा समेत बिरामी, कुरुवा, चिकित्सक र नर्सको प्रत्यक्ष संसर्गमा मास्कको उपयुक्त प्रयोग र सामाजिक दूरी कायम नगर्दा सङ्क्रमण तीव्र भएको हो । छोटो समयका लागि खोलिने किनमेलमा हुने भीडभाड, सार्वजनिक सवारीमा कोचिएर हिँड्ने बाध्यता आदि सङ्क्रमण बढ्नुका कारक तŒवहरू हुन् । बेला–बेलामा साबुनपानीले राम्रोसँग हात नधुने र स्यानिटाइजरको उचित प्रयोग नगर्दा सङ्क्रमण दर तीव्र पार्नमा बल पुगेको छ । महामारी र सुरक्षा मापदण्डबारेमा आमसमुदायलाई सशक्तीकरण गर्न नसक्दा मर्म बुझेर सावधानी अपनाउन सकेका छैनन् । खोप कार्यक्रमलाई पूर्णता दिन सकिएन । वैदेशिक नाकामा कडाइ, आन्तरिक आवतजावतलाई व्यवस्थित गर्न नसक्नु आदि यावत कमजोरीका कारण नयाँ भेरियन्टले वितण्डा मच्चाएको
पुष्टि हुन्छ ।
अतः असल नियत राख्ने हो भने नियतिलाई पर सार्न र टार्न सकिन्छ भनेझैँ चीनले कुशल व्यवस्थापन गरेर राम्रो सन्देश दिएको छ । सिङ्गापुर कोरोनाबाट विश्वकै सुरक्षित मुलुक बन्यो । त्यसैले अभियानका रूपमा सबैले मास्कको उपयुक्त प्रयोग गरौँ । सामाजिक दूरी कायम गरौँ । स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड पालना गरौँ । सरकारले निषेधाज्ञालाई थप सशक्त बनाएर सुशासनमार्फत स्रोत साधनको शीघ्र र कुशल परिचालन गर्ने हो भने नयाँ भेरियन्टको वितण्डालाई छिट्टै रोकथाम तथा नियन्त्रणमा गर्न सकिन्छ ।
(लेखक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सरावल गाउँपालिकामा प्राविधिक सहायक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?