प्रेमबहादुर थापा
चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, हुक्का वा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सुर्तीजन्य पदार्थ करिब चार सय अति हानिकारक रासायनिक तŒव हुन्छन् । जसमा करिब ६० प्रकारका प्राणघातक क्यान्सर गराउने तŒव पनि हुने विभिन्न अनुसन्धानले देखाएका छन् । खासगरी सुर्तीमा खोटो र कार्बनमनोअक्साइडजस्ता घातक रसायन पाइन्छन् । साथै धूमपानमा लत बसाउने निकोटिनसमेत पाइन्छ । धूमपानले गम्भीर स्वास्थ्य समस्याका रूपमा मुख, घाँटी, स्तन र फोक्सोको क्यान्सर गराउँछ । रक्तनली खुम्चिँदै जाने, रक्तचाप बढाउने र हृदयाघात निम्त्याउँछ । खोकी लाग्ने, मुटु, कलेजोसम्बन्धी रोग लाग्ने, पेट र आन्द्रामा अल्सर हुनेजस्ता रोगसमेत निम्त्याउँछ । त्यसैगरी, मस्तिष्कको क्षमता घट्दै जाने, छाला चाउरी पर्ने, सास गन्हाउने, खानामा पूरा स्वाद नपाउने लक्षण पनि देखापर्छन् । धूमपानले गर्भवती र बालबालिकामाथि अझ बढी असर गर्छ । जसले गर्दा बच्चा कम तौलको जन्मने, खेर जाने र शारीरिक तथा मानसिक विकासमा अवरोध पुग्छ । अतः सुर्ती सेवन वा धूमपान मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । यति हुँदाहुँदै पनि विश्वमा सबैभन्दा बढी सुर्तीजन्य पदार्थ सेवन हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर एक अर्ब तीन करोड मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । यीमध्ये ८० प्रतिशत कम र मध्यम आय भएका मुलुकका पर्छन् । जहाँ सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोग र मृत्युको बोझ धेरै हुने गरेको छ । विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट ठूलो हानि–नोक्सानीको अवस्था आएपछि डब्लुएचओका सदस्य राष्ट्रहरूले १९८७ मे ३१ देखि ‘विश्व धूमपानरहित दिवस’ मनाउने निर्णय गरेका हुन् ।
डब्लुएचओका अनुसार सुर्तीजन्य पदार्थ सेवनले मानव शरीरमा विभिन्न २५ किसिमका रोग लाग्छन् । विश्वमा धूमपानले प्रत्येक सात सेकेन्डमा एकजनाको ज्यान लिन्छ । साथै सुर्तीजन्य पदार्थ प्रयोगबाट हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गर्छ । यीमध्ये करिब १२ लाख मानिस आफूले धूमपान नगर्ने र अरूले सेवन गरेको असरबाट मृत्यु हुने गर्छ । चुरोट पिउनेमध्ये ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण भएको छ । विश्वका झन्डै आधा बालबालिका अरूले धूमपान गरेको धूँवाले प्रदूषित बनाएको हावाबाट सास फेर्छन् । विश्वमा हरेक १० जना वयस्कमा एकजनाको मृत्यु सुर्तीजन्य पदार्थका कारणले भएको छ । नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष १५ हजार मानिसको मृत्यु हुने गरेको छ । यहाँ ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिला धूमपान गर्छन् । विश्वमा सुर्ती सेवन यति ठूलो स्वास्थ्य समस्या एवम् चुनौती भइरहँदा पनि यसको प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ । यही अवस्था विद्यमान रहे सन् २०३० सम्म प्रतिवर्ष एक करोड मानिसको मृत्यु हुनेछ । जसमा ६० लाख विकासोन्मुख राष्ट्रका हुने डब्लुएचओले बताएको छ । अतः सुर्तीजन्य पदार्थको सेवनले विश्वमा ठूलो जनस्वास्थ्य सङ्कट सिर्जना गरेको छ ।
धूमपान नगर्नेभन्दा गर्ने व्यक्तिमा श्वासप्रश्वासको समस्या बढी हुन्छ । कोरोना भाइरसले पनि श्वासप्रश्वासमा आक्रमण गर्छ भने धूमपानले सोही श्वासप्रश्वास प्रणालीलाई कमजोर बनाउँछ । अतः कोरोना सङ्क्रमणको नाता प्रत्यक्ष अप्रत्यक्ष रूपमा धूमपानसँग जोडिएको छ । यही डरले पनि हाल कोभिड–१९ का कारण सुर्तीजन्य पदार्थ सेवन गर्ने झन्डै ६० प्रतिशत मानिस यस्तो बानी छोड्न चाहेको डब्लुएचओले बताएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई बानी छोड्न मद्दत गर्ने उद्देश्यले हाल २३ देशले मात्र एकीकृत ढङ्गले जनचेतनामूलक सेवा प्रदान गरेका छन् । यस्तो कार्यक्रमलाई अन्य मुलुकले पनि अनुकरण गरेर कोभिड–१९ को जोखिमलाई कम गर्नुपर्ने देखिन्छ ।
अहिलेको परिवेशलाई ध्यान दिँदै डब्लुएचओले ‘विश्व धूमपानरहित दिवस’का अवसरमा ‘धूमपान ः छोड्नका लागि प्रतिबद्ध’ भन्ने नारा बनाएर विश्वव्यापी अभियान सुरु गरेको छ । यस अभियानको लक्ष्य विभिन्न पहलकदमी तथा डिजिटल माध्यमबाट कम्तीमा एक करोड मानिसलाई सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी छोड्न मद्दत गर्ने रहेको छ । यसले मुख्य चार रणनीतिक योजना तर्जुमा गरेर सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गरी स्वस्थ समाज निर्माण गर्न मद्दत गर्नेछ । पहिलो, सुर्तीजन्य पदार्थको उन्मूलनका लागि बनाइएका नीतिलाई समर्थन गर्ने । दोस्रो, सुर्तीजन्य पदार्थको सेवनबाट छुट्कारा दिनका लागि उपलब्ध सेवाको पहुँचमा सुधार गर्ने । तेस्रो, सुर्तीजन्य पदार्थ उद्योगको रणनीतिबारे जनचेतना जगाउने । चौथो, चुरोट छोड्न चाहने मानिसलाई सहयोग गर्ने । यस अभियानले आमसर्वसाधारणलाई सुर्तीजन्य पदार्थ प्रयोग गर्न निरुत्साहित गर्नेछ । सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको रणनीतिक योजना निर्माण एवम् सुर्तीजन्य पदार्थ प्रकोपविरुद्ध लड्न जागरण अभियान सञ्चालन गर्नेछ । फलस्वरूप विश्वभरका मानिसले आफ्नो स्वास्थ्य र भावी पुस्ताको स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नेबारे पनि सचेत बन्नेछन् ।
धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्नेबारेमा मानिसलाई डर पैदा गरी सचेत बनाउन विभिन्न सन्देश प्रसारण भइरहेका छन् । सार्वजनिक स्थल, सवारीसाधन, कार्यालय र अस्पतालमा धूमपान गर्न सख्त मनाही लेखेर टाँसिएको हुन्छ । नेपालमा सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई एक सय रुपियाँ जरिवाना र सार्वजनिकस्थलबाट बहिष्कार गर्नेसम्मको कारबाही गर्ने कानुनी प्रावधान छ । यसरी विभिन्न ठाउँमा निषेध र कारबाहीको व्यवस्था भए पनि धूमपान न्यूनीकरण हुन सकेको छैन । यद्यपि, मानिस धूमपान किन गर्छन् त ? कारण छन्, धेरै बूढापाकामा चिन्ता निवारणका लागि धूमपान गर्ने मानसिकता पाइन्छ । अल्लारेमा यो खाएपछि साहस आउँछ भन्ने झुटो सन्देश प्रवाह भएको छ । खाँदा आनन्द आउने, साथीसङ्गत, तनाव, चिन्ता र निराशा हटाउन, अहम्को भावनाजस्ता सोचका कारण धूमपानले युवा जमातलाई नराम्ररी प्रभावमा पारेको पाइन्छ । धूमपान छाड्नका लागि अनेक उपाय अपनाए पनि सहजै छोड्न गाह्रो हुने
गरेको पाइन्छ ।
योजनाबद्ध व्यवहारको सिद्धान्तअनुसार कुनै पनि कार्य गर्नका लागि व्यक्तिको मानसिक सोच तथा विचार परिवर्तन हुनुपर्छ । स्वास्थ्यसम्बन्धी व्यवहार व्यक्तिको अर्थपूर्ण स्वेच्छिक नियन्त्रणमा हुन्छ । अर्थात् व्यक्तिको व्यवहारलाई उसको विश्वास, सामाजिक मूल्य–मान्यता, ज्ञान, धारणा र अभिवृत्तिले प्रभाव पारेको हुन्छ । जुन प्रभावबाट व्यक्तिको व्यावहारिक सोचाइ बन्छ । यो व्यक्तिको व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने तŒव हो । किनकि व्यक्तिको व्यवहारलाई उसको मानसिक सोच तथा विचारले नियन्त्रण गरेको हुन्छ । यस सिद्धान्तअनुसार मानिसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने वा नगर्ने भन्नेतर्फ अन्योलको स्थिति हुँदा यदि उनीहरूमा सुर्ती सेवन घातक हो भन्ने सोच तथा विचारको विकास भएमा सेवन गर्दैनन् । यस्तो विश्वास नभई, ठूलो समस्या आइलाग्दा चिन्ता निवारण गर्छ । फलानोले कति धेरै खाँदै आएको छ र पनि केही भएको छैन । जिन्दगीमा बाँचुन्जेल मोज गर्ने हो । यो खाँदा ठूलो मान्छे भइन्छ । खाँदा आनन्द पनि आउँछ आदि सोच–विचारको विकास हुन पुगेमा सुर्ती सेवनको अभ्यास गर्छ र यसलाई क्रमशः बानी पार्छ । अतः सुर्ती सेवनको लतलाई छुटाउन सम्बन्धित व्यक्तिको ज्ञान, धारणा र व्यवहारमा सकारात्मक परिवर्तन गर्ने ढङ्गले स्वास्थ्य शिक्षा प्रदान गरिनुपर्छ ।
(लेखक स्थानीय तहमा कार्यरत हुनुहुन्छ ।)