डा. धनपति कोइराला
विज्ञानका उपलब्धि सकारात्मक कर्ममा उपयोग गरिए वरदान र नकारात्मक कर्ममा प्रयोग गरिए अभिशाप बन्ने तथ्य छँदै छ । फ्रायडले भनेझैँ मान्छेमा सकारात्मक र नकारात्मक दुवै प्रवृत्ति हुन्छन् । तर, उसमा कुन शक्ति हाबी भइरहेछमा भर गर्छ । सकारात्मक रूपमा उपयोग गरिए उत्तम हो । तर, नकारात्मक रूपमा गर्नेहरूकै प्रायः बाहुल्य रहेको छ । त्यसो त व्यवहारवादी, अनुभववादी र मनोवादी सबैखाले विद्वान्हरू मान्छे जन्मजात रूपमा नकारात्मक नहुने धारणा राख्छन् । जब धर्तीमा जन्मन्छ, परिवार र समाज उसमा प्रवृत्ति घुसाउँछ । हाम्रो वर्तमान समाज मुखले सकारात्मक भने पनि व्यवहारतः प्रायः नकारात्मक नै छ । विद्युतीय र छापाहरू पनि यसै नकारात्मकतालाई बेचिरहेछन् ।
अधिकांश ठूला छापाका आरम्भिक पृष्ठहरू नै नकारात्मकताले भरिएका हुन्छन् र मुख्य भनिने र सुनाइने खबर पनि त्यस्तै हुन्छन् । यसबाट बाल्यकालबाटै यस्तैमा अभ्यस्त हुँदै गएको बालक अरूको उन्नतिमा भन्दा अवनतिमै मनोरञ्जन लिइरहेको हुन्छ । अरूलाई जिस्काउने, हेप्ने, पिट्ने र चिमोट्ने इत्यादि । अझ नेपाली राजनीतिक परिवेशले मान्छेलाई नकारात्मक बन्नै प्रेरित गरिरहेको छ, आगोमा घिउ थपेझैँ । हाम्रो पितृप्रधान समाज नारीलाई दोस्रो दर्जामा राख्छ र खेलौनाका रूपमा हेर्छ । फलतः बलात्कारदेखि घरेलु हिंसाका घटना भइरहन्छ प्रायः । आर्थिक पक्षलाई महŒव दिनेदेखि सामाजिक कुरीति र कुसंस्कारलाई महŒव दिने कार्यले पनि नकारात्मकताकै मलजल गर्न प्रेरित गरिरहेको हुन्छ त्यसमा ।
यसप्रकार हरेक कोणबाट सकारात्मकभन्दा नकारात्मक मनोविज्ञान विकसित सामाजिक भइरहेको हाम्रो स्थितिमा हाम्रो वैयक्तिक स्वभाव र प्रवृत्ति पनि त्यतैतिर लाग्न सजिलो ठान्छ । वर्षभरि पढ्नुभन्दा चोरेर पास गर्न खोज्छ । लामो बाटोभन्दा भीर र कान्ला भए पनि त्यतैबाट जोखिम मोलेरै भए पनि हिँड्न खोज्छ । नीति, नियम र आदर्शको बाटो अलिक गाह्रो, अप्ठ्यारो र समय पनि लाग्ने भएकाले अनैतिक र गैरकानुनी मार्ग अख्तियार गर्न थालिरहेको हुन्छ । यस्तो मनोविज्ञान हाबी भइरहेको समाजमा सामाजिक सञ्चार सञ्जालको उपयोग वरदान कम अभिशाप बनिरहेको लाग्छ ।
कुनै समय रेडियोका आविष्कार अद्भुत लाग्थ्यो । पछि टेलिफोन, टेलिभिजन पनि त्यस्तै अद्भुत मानियो । पछि इन्टरनेट विकसित भएपछि झन् यसले सञ्चारजगत्मा नयाँ फड्को हानिसकेको ठानियो । त्यसमा गुगल, अमेजन आदि विकसित भएपछि विश्व नयाँ–नयाँ चरणमा प्रवेश गर्दै गयो । सामाजिक सञ्जालका रूपमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि विकसित भएपछि विश्व झन् नजिकियो । अझ त्यसमा पनि फेसबुकको उपयोग गर्ने मानिस ह्वात्तै बढे । मानिसले खरमा लागेको डढेलोझैँ धमाधम फेसबुक खोलेर मित्रताका निम्ति आग्रह (फ्रेन्ड रिक्वेस्ट) पठाउन र आएका आग्रहलाई स्वीकार गर्ने कार्य द्रुत गतिमा गरे ।
यसपछि सारा काम छोडेर मानिस त्यसैमा झुम्मिए । बाल र युवकयुवतीले पढाइलाई तिलाञ्जली नै दिए र त्यसैमा रम्न थाले । राम्रा नराम्रा जे भए पनि फोटो पोस्ट गर्ने, लाइक र कमेन्ट गर्ने र हेर्नेको होड नै चल्यो । फेसबुकमा लाइक गरिदिए खुसी हुने झन् प्रशंसायुक्त कमेन्ट गरिदिए भलो साथी मानिन थाल्यो । सँगैको छिमेकी साथी र सँगै पढ्ने साथीभन्दा टाढाको चाहिँ परम मित्र मानिन थाल्यो । छिमेकी वा अघिको आत्मीय मित्र नै भए पनि लाइक नगरेमा उसलाई शत्रुवत् ठानिन थाल्यो । हिजो हाम्रा पालामा थिएन । यिनीहरूको पालामा आएको छ हेर्न र मित्रता बढाउन दिऔँ न त भन्ने प्रविधिमैत्री अभिभावक पनि आत्तिन थाले ।
घरको काम लथालिङ्ग छाडेर गृहिणीहरू पनि यसैमा रत्तिए । सिरियल हेर्न भनेपछि मरिहत्ते गर्नेहरू पनि यसैमा झुम्न थाले । खाना जल्न, बिग्रन र डढ्न थालेपछि घर–घरमा गृहकलह र पुरुषहरू पनि पद्मासन कसेरै फेसबुक चलाउन थाले । सरकारले नै कार्यालयभित्र फेसबुक चलाउन पनि रोक लगाउनुप¥यो । अझै यहाँसम्म कि क्यान्डिक्रसजस्ता खेलले बच्चालाई मात्र नभई, युवा र बूढा पुस्तालाई समेत नराम्ररी गाँज्यो ।
ट्वीटर, भाइबर, म्यासेन्जरजस्ता कार्यक्रममार्फत आफूलाई आवश्यकताभन्दा धेरै नङ्ग्याउने काम पनि भयो । ७० को दशकमा सेल्फी खिच्ने प्रविधि भित्रिएपछि यसले पनि पूरै मुलुकलाई तरङ्गित बनायो । यही सेल्फीका तस्बिर सार्वजनिक भइदिँदा धेरै युवती अनादृत बने । भाइरल बनिने लोभमा टिकटक बनाउने होडले कम्ती विकृति थपेको देखिन्न अहिले । यी सम्पूर्ण प्रविधिले समाजमा राम्रा र नराम्रा दुवैखाले छाप छाडेको छ । राम्राभन्दा नराम्रा कुरालाई ज्यादा प्रश्रय दिने प्रवृत्तिले यी प्रविधि नै आलोच्य बनेका छन् ।
कसैको मृत्यु सम्प्रेषण गरिएको तस्बिरसहितको जानकारी र श्रद्धाञ्जलीमा समेत लाइक गर्नुलाई के भन्ने ? कोही दुर्घटनामा परेर राखिएको तस्बिरमा समेत लाइक गर्नुलाई पक्कै राम्रो भनिहाल्न नमिल्ला । आफ्ना मातापिताका श्राद्धमा पिण्डतर्पण गर्दै गरेका तस्बिर पोस्ट गर्नु कत्तिको सान्दर्भिक होला ? परमार्थका निम्ति गरिएको पूजा–अर्चना र भक्तिदर्शनको तस्बिरसमेत पोस्ट गर्नु उचित होला कि नहोला ? स्नान गर्दै गरेका, खानलाई मुख आँ गर्दै गरेका, बाउआमाले परस्पर माया गर्दाका दृश्यहरू छोराछोरीलाई देखाउन कत्तिको मिल्ने हो र छोराछोरीले पनि बाआमा दाजुभाइलाई प्रस्तुत गर्न नमिल्ने दृश्यविम्ब प्रस्तुत गर्नु कत्तिको राम्रो मानिएला ?
देशका सर्वोच्च पदमा आसीन व्यक्तित्व र संस्थाका कमीकमजोरी भए त्यसलाई शिष्ट भाषा र शैलीमा औँल्याउनु लोकतान्त्रिक मूल्यभित्र पर्छ । तर, चरित्रमाथि अश्लील र निकृष्ट व्यङ्ग्य चित्र प्रस्तुत गर्दा मुलुक र जनताको छवि कस्तो रहला ? हो, नेतृत्वका विसङ्गत चरित्रमाथि अङ्कुश लगाउनैपर्छ र त्यस्तो अङ्कुश लगाउने औजार पनि बनेका छन् ।
त्यस्तो औजार भनेकै तिनलाई निर्वाचनमा मत नदिनु, उनका पार्टीलाई पनि मत नदिनु, मर्यादित भाषा र शैलीमा सार्वजनिक बहसमा कुरा उठाउनु, पत्रपत्रिका लेख–आलेख र पाठकपत्रमा प्रश्न गर्नु, सामाजिक बहिष्कार गर्नु, कानुनी प्रक्रिया अवलम्बन गर्नु आदि हुन सक्छन् । त्यसो गर्नुको साटो सामाजिक सञ्जालमा अभद्रता प्रस्तुत गर्नुलाई किमार्थ उपयुक्त मान्न सकिन्न ।
लाइक त आफ्नो ठाउँमा छँदै छ । अझ जिम्मेवार व्यक्ति र परिवारको ज्येष्ठ सदस्यले तल झरेर गरेको कमेन्टले पार्ने प्रभावले समाजलाई कतातिर लैजाला ? जस्तो कि एकजना व्यक्तिले आफ्नी भाइबुहारीले निकै प्रगाढतापूर्ण अँगालोमा बेरिएको तस्बिर पोस्ट गरेका थिए । त्यसको कमेन्ट गर्दै दाजु÷जेठाजुले ‘मलाई पनि यस्तै माया गर्न सिकाओ न हउ’ भनेर लेखे । दाजु वा जेठाजुका निम्ति यस्तो कमेन्ट र त्यस्तो फोटो सार्वजनिक रूपमै पोस्ट गर्नु कत्तिको शोभा दिने विषय हो ?
अतिवादिता यो मुलुकको पुरानो क्यान्सर रोग हो । फेसबुककै सहारा लिएर बालबालिका अपहरण गर्ने, मानव बेचविखन गर्ने, नग्नता प्रस्तुत गरी ‘ब्ल्याकमेलिङ’ गर्ने, यौनजन्य विकृति फैलाउने जस्ता अपराध प्रवद्र्धन भइरहेका छन् । कुरोको चुरै नबुझी कुनै व्यक्ति, समुदाय र संस्थामाथि नै हलाहल विषवमन गर्ने साधन बन्नुलाई किमार्थ यसको सौन्दर्य मान्न सकिन्न ।
यसलाई फोटोमात्र प्रस्तुत गर्ने माध्यम बनाउनुभन्दा केही रचनात्मक कार्य गरिएका भए ती कार्यसहितको फोटो राख्नुचाहिँ ठीक हो । नयाँ स्थानको परिदृश्य र कतै टाढाको भ्रमण गर्दै गर्दाको सूचना र राम्रा कार्यक्रम पनि सन्देश र सूचनाप्रदायक नै हुन्छन् । यस्ता सन्देशले सकारात्मक कार्य गर्न प्रेरित गर्छ ।
हो, फेसबुक, ट्वीटरले पुरानो मित्रलाई पुनर्ताजगी गराउँछन् । हराएकालाई फेलापार्न मद्दत गर्छन् । विचार विमर्श गर्न र सकारात्मक सल्लाह पनि दिन्छ । राम्रा र रचनात्मक कार्य गर्न प्रेरित गर्छ । विज्ञानप्रदत्त उपहारलाई रचनात्मक कार्यमा भन्दा ध्वंसात्मक कार्यमा उपयोग गर्दा समाज झन् अराजक र विकृत बन्न पुगेको अनुभूति हुन थालेको छ । यसर्थ, यी साधनका प्रयोक्ताले औचित्य हुनेखालका सामग्रीमात्र पोस्ट गरेर समाजलाई सुन्दर लयमा हिँडाउन सबैले रचनात्मक योगदान दिऊँ ।
(लेखक विश्लेषक हुनुहुन्छ ।)