logo
२०८१ बैशाख १७ सोमवार



गैँडा संरक्षण

विचार/दृष्टिकोण |




डा. माधव अधिकारी

नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले विश्वको जम्मा ०.१ प्रतिशत भूभाग मात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महìव बढ्दै गइरहेको छ । तसर्थ हामी र हाम्रा सन्ततीले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु प्रमुख दायित्व हो ।
पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरू विभिन्न कारणले गर्दा लोप भइरहेका छन् । वासस्थानको क्षति, अन्तर्राष्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी शिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको बढ्दो महìव, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बन्धित राज्य र जनता नै हुन् । अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि हुनसक्ने अधिक सङ्कलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण अपरिहार्य छ । यहाँ एकसिङे गैँडाको बारेमा चर्चा छ ।
एकसिङे गैँडा नेपालकै पहिचान हो । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको ठूलो आवास क्षेत्र हो । पछिल्लो गणनाअनुसार यो निकुञ्जमा ६०५ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटमा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी जम्मा ६४५ छन् । तर दुःखलाग्दो पक्ष, चालू आर्थिक वर्षको सात महिनामा चितवन निकुञ्जमा २५ वटा एकसिङे गैँडा मरे÷मारिएको समाचार आएको छ । तीमध्ये चार वटा चोरी शिकारीले मारेको पुष्टि भएको छ । प्राकृतिक, कालगति, जुधेरलगायतका विभिन्न कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने सङ्ख्या विगतका वर्षमा बढिरहेको पाइन्छ । कोभिड १९ सङ्क्रमणका कारण गत वर्ष चैतमा सरकारले ‘लकडाउन’ गरेपछि त झन् एकाएक तस्कर समूह सक्रीय भएको प्रकाशमा आएको छ । त्यसकारण गैँडा मर्न र मारिनबाट जोगाउन सरकारले उचित पहल लिन अपरिहार्य छ ।
मुलुकको पहिचानदेखि पर्यटनसम्म जोडिएको वन्यजन्तुसित सम्बन्धित सम्पूर्ण पाटाहरूलाई सरकारले गम्भीरतापूर्वक लिनु आजको आवश्यकता हो । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक र कालगतिले गैँडा मरे पनि २०७३ चैत २५ पछि एक हजार दुई सय ४९ दिन चोरी शिकारी भएको थिएन । पछिल्ला १२ वर्षको तथ्याङ्क हेर्दा शिकार नियन्त्रणमा आए पनि अन्य कारणले गैँडा मर्ने क्रम भने उकालो लागिरह्यो । यस अवधिमा कुनै आर्थिक वर्षमा त ४३ वटासम्म गैँडा मरेको देखिन्छ । शिकारबाहेकका कारणले पनि उल्लेख्य गैँडा मरेका कारण चोरी शिकार मात्र गैँडा संरक्षणका लागि चुनौती होइन भन्ने पुष्टि भएको छ । हालैको अध्ययनअनुसार चितवनमा चोरी शिकारबाहेक आहार, बासस्थान, जलवायु परिवर्तन र रोगव्याधि गैँडा जोगाउने मुख्य चुनौती भएको छ ।
गैँडालाई पर्याप्त मात्रामा घाँसे मैदान र पानीका घोल र तालतलैया आवश्यक पर्छन् । एक अध्ययनले चितवन निकुञ्जमा घाँसे चौरको मात्रा घटेको देखाएको छ । घाँसे मैदान र पानीका घोलहरू माइकेनिया म्याकारान्थाजस्ता मिचाहा प्रजातिले ढाकिरहेका छन् । मनसुनी बाढीका कारण पनि विगतमा गैँडा रमाउने घाँसे मैदानहरू बगरमा परिणत भइरहेका छन् । निकुञ्ज भएर बग्ने नदी र सिमसारहरू बाढी–पहिरोपछि बगेको भेल–गेग्रानले पुरिँदै गएका छन् । सेपिलो र दलदल हुनुपर्ने बासस्थान सुक्खा हुँदै गएको छ । अध्ययनअनुसार निकुञ्जमा बर्सेनि दुई प्रतिशतका दरले गैँडाको आहार– घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् । चितवन निकुञ्जमा सन् १९७० को दशकमा कुल क्षेत्रफलको २० प्रतिशत रहेको घाँसे मैदान केही समय पहिलेको अध्ययनले ९.६१ प्रतिशत (कोर एरियामा) र मध्यवर्ती क्षेत्रमा २.०६ प्रतिशतमा खुम्चिएको देखाएको छ । संरक्षण क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगको कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको पाइन्छ । संरक्षित क्षेत्रभित्र बसोवास गर्ने तथा संरक्षित क्षेत्रको वरिपरि बसोवास गर्ने सामुदायहरूको वन्यजन्तुबाट क्षति हँुदै आएको छ । गैँडा लगायतका वन्यजन्तुबाट मानिसको मृत्यु र घाइते बनाउने जस्ता क्षति हुने गरेका छन् । मानव वन्यजन्तु द्वन्द्व एउटा ट्डकारो समस्याको रूपमा देखापरेको छ । विगतमा आश्रयस्थल बनाएको स्थान उपभोग्य नभएपछि धेरै गैँडा अहिले पश्चिम क्षेत्रतिर सरेको पाइन्छ ।
सौराहाभन्दा पूर्वक्षेत्रमा गैँडाको सङ्ख्या पातलो भएको छ । यसरी गैँडा एकै स्थानतिर बसाइ सर्दाको असर सबैतिर पर्न जान्छ । गैँडा बसाइँ सरेको कारणले अर्बौं लगानी भएको पर्यटन क्षेत्र धर्मराउने सम्भावना हुन्छ भने प्रजाति (गैँडा, बाघ, हात्तीलगायत) संरक्षणमै सरकारले प्राप्त गरेको उपलब्धिमाथि खतरा उत्पन्न हुन्छ । विगतदेखि नै गैँडाको मूल बासस्थानमा अहिले देखा परेको समस्या सुल्झाउनेतिर अब ढिलाइ गर्नु हुँदैन । सुकेका पानीका घोल ब्युँताउने, नयाँ पोखरी बनाउने, बिग्रँदो घाँसे मैदानको व्यवस्थापन र रोगव्याधिबारे अनुसन्धान गर्ने कार्यलाई सम्बन्धित निकायहरूले प्राथमिकतामा राख्नु अति आवश्यक छ ।
जलवायु परिवर्तनका कारण मिचाहा प्रजातिका वनस्पति अझै बढ्ने र आहारमा थप सङ्कट उत्पन्न हुने सम्भावना छ । जलवायुजन्य विपद् बढ्दै जाँदा उत्पन्न हुने बाढीका कारण गैँडालगायतका प्रजातिको सङ्ख्यामै फेरबदल ल्याउन सक्ने देखिएकाले चुरे र मध्यपहाडको विकास निर्माणलाई वातावरणमैत्री बनाउन पनि अति आवश्यक छ ।
निकुञ्जभित्रको नदी तटीय क्षेत्र केही मात्रामा सुरक्षित भए पनि मध्यवर्ती क्षेत्र र माथिल्लो तटीय क्षेत्रमा जोखिम छ । मध्यवर्ती क्षेत्र पनि गैँडाको आश्रयस्थल हो । राम्रो बासस्थान र आहारको खोजीमा निकुञ्जभित्रका गैँडा माथि भनेजस्तै मानवबस्तीमा आउँदा कतिपय अवस्थामा प्रतिशोधका कारण पनि मारिएका छन् । त्यस्तो द्वन्द्व बढ्न सक्ने भएकाले सरकारले स्थानीय बासिन्दाको मनोबल जित्न र संरक्षणमा उनीहरूको साथ लिन जीविकोपार्जनका कार्यक्रमहरूमा जोड दिनु आवश्यक छ ।
समय किटानसाथ गर्ने भनिएका काम बेलैमा पूरा नगर्ने हो भने पटक–पटक बनाइएका ठूला वन्यजन्तु व्यवस्थापनसम्बन्धी कार्ययोजना अर्थहीन साबित हुनेछन् । त्यसको परिणाम पनि उत्साहजनक आउने छैन । त्यसैले एकोहोरो हिसाबले गैँडाको सङ्ख्या बढाउनु मात्रलाई उपलब्धि नठानी त्यससँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका स्थानीय बासिन्दा, पर्यटन क्षेत्र, मानव–गैँडा द्वन्द्व न्यूनीकरण लगायतका विषयलाई पनि उच्च प्राथमिकतामा राखेर अघि बढ्नु आवश्यक हुन्छ । त्यसो हुन सक्यो भने मात्रै वन्यवन्तु–मानव सहअस्तित्व दीर्घजीवी बन्न सक्छ ।
अतः विश्वकै प्राकृतिक सम्पदाको धनी राष्ट्र भनी उपाधि पाएको नेपालमा प्राकृतिक सम्पदाको संरक्षण गरी बिहानीको सुनौलो सगरमाथा, शितल फेवातालमा परावर्तित माछापुच्छ«ेको छायाँ, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफे चरी, मुनाल, कालिज, जस्ता चराचुरुङ्गी, चारकोसे झाडीले प्रसिद्धि कमाएका हाम्रा जङ्गल अनि त्यसमा छुनुमुनु गर्ने हरिण र मृग, सावकहरू, गैँडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू संरक्षण गर्नु आजको
आवश्यकता हो ।
(लेखक वन्यजन्तु संरक्षणसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?