डा. माधव अधिकारी
प्रकृतिले पानीलाई यस्तो अद्भुत गुण दिएको छ । मानव तथा जीवित प्राणीका लागि खानाको करिब तीन भाग बढी पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ । जसको करिब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण १४० लाख क्युविक मिटर पानीमा जम्मा ४० लाख क्युविकमिटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ ।
नेपालको कुल क्षेत्रफलको २.६ प्रतिशत पानीले ओगटेको छ । यहाँ सानाठूला गरी आठ हजार एक सयभन्दा बढी नदीनाला छन् । जुन बाह्रैमासे बहने नदीनाला ७० प्रतिशत र सात महिना निरन्तर बग्ने नदी २० प्रतिशत र १० प्रतिशत चार महिना बग्ने नदी छन् । नेपालमा २५ देखि पाँच सय कि.मिसम्मका लामा नदी छन् । मानव जीवनका लागि पानी अपरिहार्य छ । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पु-याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसको विपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको कुनै पनि विषयमा गहन रूपमा आफ्नो सोच विचार पु-याउन नसकी विकासात्मक कार्यमा बाधा व्यवधान उत्पन्न हुन पुग्छ ।
प्रश्न उठ्छ गुणस्तरीय जीवनका लागि कुन तहले कसरी प्रभाव पारिरहेको हुन्छ ? यसलाई गहिरिएर बुझ्ने हो भने गुणस्तरीय जीवनका लागि सम्बन्धित ठाउँमा उपलब्ध भइरहेको स्वस्थ वातावरणयुक्त खानेपानी व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । मानव तथा जीवित प्राणीलाई अपरिहार्य वस्तु पानी हो । जसको अभावमा जीवन कल्पनासमेत गर्न सम्भव छैन । तसर्थ यस्तो अपरिहार्य वस्तुको उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जीउन सम्भव छ । नेपालमा पानीको समस्या हुनको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुख्य मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र, मुहान क्षेत्र र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षारोपण नहुनु, वर्षाको पानी सङ्कलन प्रविधिलाई अभियानको रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु र जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु हो ।
‘नेपाल जलस्रोतमा धनी छ’ भनेर हामी कहिल्यै थाक्दैनौँ । हुन पनि मुलुकका हिमाली र पहाडी क्षेत्र भएर साना ठूला करिब आठ हजार एक सय नदीनाला बग्ने गर्दछन् तर यही भेगका कति नागरिकका लागि पिउने पानीकै पनि अति सङ्कट छ । पानी अभावमै बसाइँ सरेर नै हिँड्नुपर्नेसम्मको दयनीय अवस्था छ । मुलुकका कतिपय वस्तीमा जलसङ्कट हुनुको एउटा कारण सरकारले जलसम्पदाको उचित व्यवस्थापन गर्न नसक्नु हो । त्यसमाथि, विश्वव्यापी तापमान वृद्धि र पछिल्लो समय सञ्चालित अनियोजित र अनियन्त्रित विकासे गतिविधिका कारण भएकै मूल पनि सुक्दै छन्, जुन निकै चिन्ताको विषय हो । तसर्थ, नागरिकका लागि खानेपानी व्यवस्थापनमा सरकारको ध्यान जानुपर्छ र विकासे गतिविधि पनि पानीको मूल नसुक्ने अर्थात् प्रकृतिलाई दख्खल नपुग्ने गरी मात्रै सञ्चालन गरिनुपर्छ ।
मानिस बसाइँ सरी हिँड्नु स्वाभाविक भए पनि खानेपानीकै प्यास मेटाउनकै कारण थातथलो छाड्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ । एक गाग्री पानीका लागि पूरै बिहान माया मार्नुपर्ने र बस्तुभाउलाई अड्कलेर पानी खुवाउनुपर्ने दुरवस्थाबाट सरकारले नागरिकलाई कहिले मुक्त गर्ने हो ? हिमाल–पहाडका मानिस तराईतिर बसाइँ सर्ने गरेका छन तर भोलि तराईमा पनि पानीको सङ्कट अझ गहिरियो भने के गर्ने ? अहिले नै पनि तराईका कति भूभागमा चैतदेखि जेठसम्मै पनि पानी अभाव हुन्छ । मनसुन ढिलो भएमा यो समस्या असार मध्यसम्म लम्बिन्छ । त्यहाँ भूमिगत पानीको सतह निकै घट्दो छ ।
राष्ट्रिय तथ्याङ्क विभागको जलवायु परिवर्तन प्रभाव सर्वेक्षण, २०७३ अनुसार मुलुकका सबैजसोले खडेरी बढेको महसुस गरेका छन् । आफ्नै जीवनकालमा पानीको मुहान सुकेको देख्ने नेपाली निकै छन् । उक्त अध्ययनमा सहभागी हिमाली क्षेत्रका तीन चौथाइले पानीका केही मुहान पूर्णरूपमा सुकेको बताएका छन् । ७४ प्रतिशतका अनुसार पानीको मुहान बदलिएको बताएका छन् । ८४ प्रतिशतले पानीको सतह घटेको अनुभव गरेका छन् । यसो हुनुमा हाम्रा मानवीय गतिविधि जिम्मेवार छन् । पहाडमा वातावरणीय प्रभाव मूल्याङ्कनविनै भइरहेको डोजरे विकासको कारणले पनि कैयौँ मूल सुकेका छन् ।
तराईमा पानीका लागि ठूलो महìव भएको चुरेमा चकचकी चर्काे छ । जथाभावी ढल, क्रसर उद्योग, चुनढुङ्गा उत्खनन र जङ्गल विनाश उत्तिकै छ । चुरेबाट तराई झर्ने पानी कङ्क्रिटका संरचना र कालोपत्रे सडक तथा ढलका कारण पानी सिञ्चित हुन सक्दैन, सोझै बगेर जान्छ । नदीजन्य पदार्थको दोहनले पनि वरिपरिको जमिनमा पुनर्चरण हुन पाउँदैन । नाङ्गा डाँडाले त त्यसै पनि कम पानी सोस्छ । यी सबैको मार पानीको स्रोतमा परेको छ । कति स्थानमा जथाभावी सडक खन्दा गएका पहिरोले पनि पानीका स्रोत बगाएका छन् । २०७२ को भूकम्पले पानीको प्राकृतिक मार्ग क्षतविक्षत बनाएकाले पनि प्रभावित जिल्लामा कति मुहान सुकेका छन् । जलवायु परिवर्तनका कारण आरी भोप्ट्याए जसरी परेको आकासेपानी जमिनले पर्याप्त सोस्न नपाएर मुहान सुक्नमा बल पु-याएको छ ।
मानवजीवनको मुख्य आधार पानीका स्रोत बर्सेनि घटिरहेको विषयलाई हामीले देखे नदेखेझैँ गरिरह्यौँ भने महासङ्कट अवश्यम्भावी छ । बाजा बजाएरै आइरहेको यो दशाप्रति समुदाय र सरकार दुवै गम्भीर हुनुपर्छ । पानीका मूल नसुकाउनका लागि विकास निर्माणका गतिविधि गर्दा जस्तो कुनै बाटो बनाउँदा या पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ । पानी संरक्षणका लागि स्थानीय सरकारले ठाउँठाउँमा साना–ठूला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना नै अघि सार्नुपर्छ । योजना मात्रै भन्दा पनि अभियान नै चलाउनुपर्छ । जसरी हुन्छ, जल आपूर्ति प्रणालीलाई अक्षुण्ण राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र सो ठाउँका मानिसलाई पिउन तथा सिँचाइका लागि पानीको आपूर्ति हुन्छ र उनीहरूको आर्थिक स्थिति बलियो हुन्छ ।
सरकारले भोलिको पुस्ता सोचेर पानीको स्रोत जोगाउने योजना बनाउनु ढिलो भइसकेको छ । यो पुस्ताको सुखी जीवन सुनिश्चित गर्न विकासे गतिविधि गर्दा अर्काे पुस्ताको भविष्य दाउमा लगाउनु हँुदैन । हामीले पर्यावरण र पारिस्थितिक प्रणालीको जति संरक्षण गर्छौं, त्यति नै यसबाट लाभान्वित हुन्छौँ । यसको उदाहरण काठमाडौँको शिवपुरी जलधार छँदैछ । चालीसको दशकको आधाबाट संरक्षण थालेपछि यसको जलधार छ गुणसम्म बढेको छ । आजैदेखि सचेत भएर यस्ता कार्यक्रम मुलुकभर सञ्चालन गरिएनन् भने जलवायु सङ्कटका कारण भोलिका दिनमा ठूलो सङ्ख्यामा नागरिकले काकाकुल जिन्दगी जिउनुपर्ने अवस्था आउने निश्चित छ ।