logo
२०८१ मंसिर ९ आईतवार



फोहोर व्यवस्थापनका चुनौती

विचार/दृष्टिकोण |




डा. माधव अधिकारी

फोहोर व्यवस्थापन लामो समयदेखि राष्ट्रिय समस्या बनिरहेको छ । डम्पिङ साइटको उचित प्रबन्ध नहुँदा यो समस्या बेलाबेलामा बल्झिरहने गरेको छ । राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा सकस हुँदै आएको छ । मुलुकका छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० वटा गाउँपालिकाका सहरमा फोहोरमैला व्यवस्थापन समस्या बन्दै आएको छ ।

विभिन्न कारणले बेलाबखत फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बन्दै आइरहेका छन् । यसले जनस्वास्थ्यमा ठूलो प्रभाव पारेको छ । फोहोरकै कारण जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्ति झाडापखाला, विषम ज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था उत्पन्न भएको छ । त्यसबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्छन् ।

फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौँ उपत्यकाको हाल दैनिक निष्कासन हुने करिब एक हजार २०० मेट्रिक टन फोहोर व्यवस्थापन प्रमुख समस्या भएको छ । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा व्यवस्थापन हुन थालेको करिब १६ वर्ष पुगिसक्यो । दुई–तीन वर्षका लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि
प्रयोगमा आएको हो ।

काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण कार्य सम्पन्न हँुदै छ । दुई वर्षका लागि भनेर बनाइएको डम्पिङ साइटमा करिब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीयवासी आक्रान्त हुनु स्वाभाविक नै हो । फोहोर कुहिएर बगेको अर्धठोसका कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईबस्तु एवं कृषिउपज, जलथल, वातावरणमा नै नकरात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकाले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो ।

बञ्चरेडाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्टयाएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको थियो तर त्यसमा पनि ढिलाइ भइरहेको छ । सिसडोल ल्यान्डफिल्ड साइट पूर्ण रूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती खडा भएको छ । केही किलोमिटर सडक फोहोर पुरी बनाएकाले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले जनस्वास्थ्यमा समेत असर परेको सर्वविदितै छ ।

दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल्ड साइट माथि भनेजस्तै पूर्ण रूपमा भरिई समस्याग्रस्त हुने गरेको छ । सिसडोल क्षेत्रमा ल्यान्डफिल्ड साइट बनाउनुअघि स्थानीयको सडक मर्मतलगायतका मागलाई सम्बोधन गर्ने सहमति भएको थियो । सहमतिअनुरूप फोहोर विसर्जन स्थलको पहुँच मार्ग मुड्खु–तीनपिप्ले सडक खण्ड मर्मत तथा स्तर उन्नतिका लागि कार्य अगाडि बढाउनुपर्ने थियो । सहमतिअनुरूप आजसम्म सो कार्य पूर्ण रूपमा अगाडि बढ्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

परिणामस्वरूप काठमाडौँवासीले एक सातादेखि फोहोरमैलाको समस्या बेहोर्नुप-यो । कुनै पनि विषयमा तत्कालका लागि समस्या टार्न सहमति हुन्छ, त्यसको सम्बोधन हुँदैन । जब स्थानीयले अवरोध गर्न थाल्छन्, त्यसपछि सम्बन्धित पक्षको आँखा खुल्छ । त्यसबेलासम्म अर्बौं क्षति भइसकेको हुन्छ । सोको बेलैमा आवश्यक समाधान गर्नु आजको आवश्यकता हो । यसै सिलसिलामा बञ्चरेडाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित एक हजार ७०० रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक सेमिएरोविक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकले बताएका छन् ।

फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याएमा यो ल्यान्डफिल्ड साइटमा सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । आशा गरौँ, बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट माहामारीजन्य सङ्क्रमित फोहोरको पनि आवश्यक व्यवस्थापन हुनेछ । स्थानीय बासिन्दालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कतिसम्म टिक्ने हो, अहिले नै किटान गर्न गाह्रो छ ।

फोहोरमैलाको व्यवस्थापनमा बाधक
स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमी हुने, फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो आफ्नो जिम्मेवारी नसम्झिने र कानुनको उचित कार्यान्वयन हुन नसक्नु बाधक हुँदै आएको छ । फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु पनि समस्याका रूपमा रहँदै आएको छ ।

फोहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, आवश्यक भौतिक पूर्वाधार जस्तै– पुनः प्रयोगशाला, ल्यान्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता पनि समस्या बनेको छ । फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, निहित स्वार्थ, महामारीको प्रभाव, फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव र फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु ठूलो समस्या हो । यी माथिका कारणबाट काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोर व्यवस्थापन राष्ट्रिय चुनौती बनेको छ ।

फोहोरको समस्या समाधान गर्न सर्वप्रथम स्थानीय बासिन्दाको आवश्यक माग सम्बोधन गर्नुपर्छ । नगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्छ । फोहोर व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउने, प्रत्येक नगरपालिकाले आफ्नो सङ्गठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखा स्थापना गरी फोहोर व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्न सक्नुपर्छ । कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोर व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गर्ने, फोहोर व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोर व्यवस्थापनमा नगरपालिकाले समन्वय गरी छाता अवधारणाको विकास गर्ने, नगरवासीलाई फोहोर व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।

फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, नगर क्षेत्रको फोहोर व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थालाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोर व्यवस्थापन सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ ।

फोहोरको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्न सके त्यसबाट ठूलो धनराशि बचत हुनेछ । फोहोर न्यूनीकरण गर्ने घरेलु उपाय अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्न अल्पकालीन तथा दीर्घकालीन फोहोर व्यवस्थापन गर्नुपर्छ । उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गरी कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल्ड साइटको व्यवस्था गर्ने, पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोर व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था गर्न जरुरी छ ।

निकायगत जिम्मेवारीमा दोहोरोपना र कतै कर्तव्य र दायित्व स्पष्ट नहुँदा फोहोर व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय र सङ्घसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुन परिमार्जन गरिनुपर्ने, माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोर स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्न आवश्यक छ । प्राङ्गारिक मलको कारखाना खोल्न पनि आवश्यक पहल गर्नुपर्छ । आशा छ, स्थानीय समुदायको आवश्यक माग सम्बोधन गरी समयमै काठमाडौँको फोहोरमैला व्यवस्थापन हुनेछ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?