logo
२०८१ जेष्ठ ५ शनिवार



फिलिपविनाको बकिङ्घम दरबार

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य
यतिबेला बेलायतको बकिङ्घम दरबार शोकमा छ । शाही परिवारसहित सारा बेलायतीले शोक मनाइरहेका छन् । महारानी एलिजावेथ द्वितीयाका पति राजकुमार फिलिप भौतिक रूपमा हुनुहुन्न । उहाँको गएको शुक्रबार (अप्रिल ९) मा निधन भयो । उहाँ ९९ वर्षको हुनुहुन्थ्यो । बेलायतीले कुशल अभिभावक र मिल्ने साथी गुमाएका छन् ।
बकिङ्घम दरबारले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै राजकुमार फिलिपको निधन भएको जानकारी गराएको थियो । महारानी एलिजावेथले उहाँको निधन भएको घोषणा गर्नुभयो । राजकुमार फिलिपलाई ड्युक अफ एडिनबराको उपाधि दिइएको थियो । पछिल्लो समय मुटु र सङ्क्रमणको समस्या देखिएपछि उहाँ एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएको थियो ।
बेलायतको राजसंस्थाका एक महŒवपूर्ण सदस्य हुनुहुन्थ्यो– राजकुमार फिलिप । बेलायतको इतिहासमा राष्ट्राध्यक्षको जीवनसाथीका रूपमा लामो अवधि सँगै रहनुभएका उहाँ सबैका अभिभावक र असल साथी हुनुहुन्थ्यो ।
एलिजावेथ र फिलिपबीच सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि सन् १९५२ मा एलिजावेथ बेलायतको राष्ट्राध्यक्ष अर्थात् महारानी बन्नुभयो । ७४ वर्षसम्म महारानी एलिजावेथसँग जीवन बिताउनुका साथै उहाँलाई हरेक महŒवपूर्ण काममा सहयोग गर्नुभएका उहाँ विभिन्न परोपकारी संस्थाका लागि सन् १९५२ देखि २०१७ सम्म २२ हजारभन्दा बढी कार्यक्रममा सहभागी हुनुभयो । उहाँले वृद्धावस्थाका कारण सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिनुभयो । महारानी एलिजावेथ र राजकुमार फिलिपका तीन छोरा, एक छोरी, आठ नातिनातिना र १० पनातिपनातिनी हुनुहुन्छ ।
फिलिप दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट नौसैनिक अधिकृतका रूपमा युद्धमा सहभागी हुनुभएको थियो । सरल स्वभावका उहाँले आफ्नो काम आफैँ गर्नुहुन्थ्यो । उहाँले सबैलाई आत्मनिर्भर बन्न सिकाउनुहुन्थ्यो ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अनगिन्ती युवाको जीवनलाई प्रोत्साहित गरेको भन्दै राजकुमार फिलिपको स्मरण गर्नुभएको छ ।
शाही जीवनी लेखक इन्ग्रिड सेवार्डले राजकुमार फिलिपलाई उद्धृत गर्दै उहाँको बाल्यकालबारे भन्नुभएको छ, “महारानीबाट दयाभावको गुण आयो भने राजकुमार फिलिपबाट जिम्मेवारी र अनुशासन ।”
राजकुमार फिलिपको जन्म ग्रीस राजा जर्ज प्रथमका कान्छा छोराका रूपमा १९२१ जुन १० भएको थियो । त्यतिबेला उहाँ ग्रीसको राजगद्दीको रोलक्रममा छैटौँ स्थानमा हुनुहुन्थ्यो । फिलिप जन्मेको दोस्रो वर्ष ग्रीसमा सत्ता विद्रोह भयो । त्यहाँको एक क्रान्तिकारी अदालतले शाही परिवारलाई देशनिकाला ग¥यो । शाही परिवार जीवनरक्षाका लागि इटली गयो । एउटा ब्रिटिस युद्ध पानीजहाजले शाही परिवारलाई सुरक्षित रूपमा इटली पु¥याउँदा शिशु फिलिपलाई एउटा फलफूल राख्ने टोकरीमा राखिएको थियो ।
फिलिपले इटलीको गर्डनस्टन स्कुलमा प्रारम्भिक शिक्षा लिनुभयो । त्यही स्कुलले उहाँको जीवनलाई एउटा आकार दिँदै आत्मनिर्भर हुन सिकायो । आठ वर्षको हुँदा उहाँकी आमालाई स्नायुसम्बन्धी गम्भीर रोग लाग्यो । सोही रोगले पछि उहाँको निधन भयो । पिताले अर्की महिला लिएर फ्रान्सको रिभिरा फर्किएपछि उहाँ एक्लो हुनुभयो । त्यसपछि उहाँ बेलायत जानुभयो । उहाँलाई आमाका आफन्तले बेलायतमा हुर्काउन सघाए ।
एक यहुदी शिक्षाविद् कर्ट हानले स्थापना गरेको स्कटल्यान्डको बोर्डिङ स्कुलमा उहाँले थप पढाइ सुरु गर्नुभयो । उक्त स्कुलले फिलिपलाई थप आत्मनिर्भर हुन सिकायो ।
दुर्भाग्यको कुरा सन् १९३७ मा फिलिपका चारमध्ये एकजना दिदी सेसिली, उहाँका पति, सासू, दुई छोराको हवाई दुर्घटनामा निधन भयो । शोकाकुल १६ वर्षका फिलिप दिदीको शव बाकस पछाडि जर्मनीको ड्रम्स्टाटमा हिटलरको सम्मानमा नाराबाजीसाथ गरिने सलामीबीच हिँड्नुभएको थियो ।
त्यस समयबारे फिलिपले पछि भन्नुभएको थियो, “त्यो त्यसरी नै भयो । मेरो परिवार टुट्यो । मेरी आमा बिरामी हुनुभयो । मेरा दिदीहरूको बिहे भयो । मेरा पिता फ्रान्सको दक्षिणमा जानुभयो । म त्यससँग अभ्यस्त हुनु थियो । हुँदोरहेछ ।”
फिलिपले स्कुलको पढाइ सक्दा बेलायत जर्मनीसँग युद्धको सङ्घारमा थियो । उहाँ ब्रिटिस नौसेनामा भर्ती हुनुभयो । भर्ती हुँदा फिलिप आफ्नो कक्षाको उत्कृष्ट हुनुभयो । सन् १९३९ मा राजा जर्ज छैटौँ औपचारिक भ्रमणमा आउँदा फिलिपको जिम्मेवारी १३ वर्षीया राजकुुमारी एलिजावेथलगायत राजपरिवारका सदस्यलाई मनोरञ्जन गराउने थियो । त्यही बेलाको पहिलो महŒवपूर्ण भेटले एलिजावेथ र फिलिपबीच मित्रता बढ्यो । त्यही भेटले ग्रीसको राजपरिवारमा जन्मिएका फिलिप दोस्रो विश्वयुद्धपश्चात् बेलायतको राजपरिवारका केन्द्रीय व्यक्ति बन्न पुग्नुभयो ।
फिलिपले दोस्रो विश्वयुद्धमा उत्कृष्ट सेवा गर्नुभयो । हिन्दमहासागरमा पहिलो पटक सैन्य कारबाही देखेका २१ वर्षका उहाँ सन् १९४२ मा शाही नौसेनाका एकजना सुरुवाती कान्छा लेफ्टिनेन्ट हुनुहुन्थ्यो । किशोरी राजकुमारी एलिजावेथ र नौसेनाका अधिकृत फिलिपबीच प्रेम पत्राचार जारी रह्यो । उहाँहरूबीच गाढा प्रेम रहेको कुरा थाहा पाएपछि राजा जर्जले फिलिपलाई आफ्नी छोरीसँग विवाह गर्ने अनुमति दिनुभयो ।
विवाहको दिन सन् १९४७ नोभेम्बर २० मा फिलिपलाई ड्युक अफ एडिनबरा बनाइयो, जुन नामले बाँकी जीवनभर उहाँलाई चिनायो । त्यसबेला फिलिप २६ वर्ष र एलिजावेथ २१ वर्षकी हुनुहुन्थ्यो । सन् १९५२ मा एलिजावेथ र फिलिप कमनवेल्थ राष्ट्रहरूको एउटा भ्रमणका क्रममा केन्यामा रहेका बेला राजा जर्ज छैटौँको ५६ वर्षमा निधन भयो । जेठो सन्तानका रूपमा एलिजावेथ द्वितीया राष्ट्राध्यक्ष अर्थात् महारानी बन्नुभयो । फिलिपले आधारभूत भूमिकाका रूपमा एलिजावेथलाई सघाउनुभयो ।
फिलिपले आफ्नो शाही परिवार ग्रीसबाट बाध्यतावश भाग्न परेको बिर्सनुभएन । उहाँले राजसंस्था बचाइराख्न महŒवपूर्ण सुधार गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । फिलिपले बेलायती राजसंस्थालाई लोकप्रिय, जनप्रिय बनाउन विभिन्न सुधारका कार्यक्रम गर्नुभयो । दरबारभित्र व्यापक सुधार गर्नुभयो । शाही सदस्यलाई आत्मनिर्भर बन्न सिकाउनुभयो ।
राजदरबारमा उहाँले आन्तरिक टेलिफोन राख्नुभयो, जसले गर्दा कामदारलाई उहाँका पत्र महारानीसम्म पु¥याउन कुद्‍न पर्दैनथ्यो । उहाँले आफ्नो सुटकेस आफैँ बोक्नुहुन्थ्यो । कोठामा विद्युतीय फ्राइङ प्यानका सहायताले आफैँ बिहानको खाजा बनाउनुहुन्थ्यो । आफ्नो गाडी आफैँ हाँक्नुहुन्थ्यो । सन् २०१७ मा शाही जिम्मेवारीबाट बिदा लिँदा उहाँ संरक्षक, अध्यक्ष वा सदस्य रहेका संस्था ७८० भन्दा धेरै थिए । महारानीसँग कमनवेल्थ राष्ट्रहरू र अन्य देशका भ्रमणमा उहाँले १४३ देश औपचारिक रूपमा भ्रमण गर्नुभयो । सन् १९६० को दशकको मध्यतिर उहाँ बेलायतको शीर्ष चार पोलो खेलाडीमध्ये एक हुनुहुन्थ्यो । उहाँ प्रतिबद्ध वातावरण अभियन्ता, जसले सन् १९६१ मा विश्व वन्यजन्तु कोष (युके)को अध्यक्ष हुनुभयो ।
ब्रिटिस जीवनमा आफूले पु¥याएको योगदानलाई समग्रतामा भन्न आग्रह गरिँदा राजकुमार फिलिपले खुलस्त भावमा भन्नुभएको थियो, “मैले सबैभन्दा राम्रो भनेको आफूलाई जे लागेको छ त्योमात्र गरेँ । कसैलाई त्यो ठीक लाग्छ । कसैलाई लाग्दैन । तपाईंले के गर्न सक्नुहुन्छ ? म आफ्नो काम गर्ने तरिका बदल्न सक्दिनँ । यो मेरो शैली हो ।”
आफ्नो विवाहको स्वर्ण महोत्सवमा फिलिपलाई व्याख्या गर्नेगरी एलिजावेथले भन्नुभएको थियो, “उहाँ त्यस्ता व्यक्ति हुनुहुन्छ, जसले प्रशंसालाई सहजै लिनुहुँदैन । तर, सामान्य रूपमै भन्नुपर्छ उहाँ यत्तिका वर्ष मेरो शक्ति र साथका रूपमा रहनुभयो । म र उहाँको पूरै परिवार र यो र कैयौँ देशले उहाँले कहिल्यै दाबी गर्नेभन्दा वा हामीले कहिल्यै थाहा पाउनेभन्दा बढी नै ऋणी छौँ ।”
महारानीका पतिका रूपमा उहाँलाई कुनै पनि संवैधानिक हैसियत प्राप्त थिएन । तर, राजसंस्थाको नजिक उहाँभन्दा धेरै अरू कोही थिएन र उहाँ जति महŒवपूर्ण महारानीका लागि अरू कोही थिएन ।
उहाँको विशेष रुचि युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा थियो । आफ्नो पदको प्रयोग गरी ब्रिटिस जीवनमा योगदान दिन फिलिप सफल हुनुभयो । राजसंस्थालाई बदलिँदो सामाजिक भावना बुझ्न उहाँले सहयोग गर्नुभयो । फिलिपको सबैभन्दा ठूलो उपलब्धिचाहिँ लामो शासनकालमा महारानीलाई निरन्तर दिएको सुदृढ समर्थन र सहयोग नै हो ।
महारानी एलिजावेथ द्वितीय ६९ वर्षदेखि सिंहासनमा हुनुहुन्छ । उहाँ बेलायत र अन्य १५ देशका राष्ट्राध्यक्ष साथै कमनवेल्थको प्रमुख पनि हुनुहुन्छ । कमनवेल्थ ५४ वटा स्वतन्त्र देशको स्वयम्सेवी संस्था हो । ती सबैजसो देश कुनैबेला ब्रिटिस शासनअन्तर्गत थिए । यति शक्तिशाली राष्ट्राध्यक्षको पति बनेर राजकुमार फिलिपले जीवनमा अतुलनीय र प्रशंसनीय काम गर्नुभयो । राजसंस्थालाई व्यावहारिक बनाउने, युवापुस्तालाई कर्मशील र आत्मनिर्भर बनाउने उहाँका यी कार्य सधैँ स्मरणीय रहनेछन् । 
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?