राजकुमार सिवाकोटी
डायन न्याभिचको कथन छ – लोकतन्त्र एक जीवन पद्धति र सबैले मिलेर काम गर्ने प्रक्रिया हो । यो प्रगतिशील हुन्छ, स्थिर हुँदैन । लोकतन्त्रलाई सार्थक बनाउन सबै नागरिकको सहकार्य, सम्झौता र सहिष्णुता आवश्यक पर्छ । यही सत्यमा आधारित भएर हामीले १२ बुँदे समजदारीद्वारा नयाँ युगको सुरु ग-यौँ । राजतन्त्रको रक्तपातविहीन बहिर्गमन सम्भव बनायौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वतन्त्रता प्राप्त ग-यौँ ।
लोकतन्त्रमा नागरिकले स्वतन्त्रताको उपयोग गर्छन् । हामीले चाहेको स्वतन्त्रताको अन्तरवस्तु स्वशासनका मूलभूत मूल्य र मान्यताहरू लोकमतमा आधारित र विधिसम्मत हुनुपर्छ भन्ने हो । जसले साझा जिम्मेवारी बहन गराउँछ र भविष्यको रेखा कोर्छ । दुर्भाग्य, हामीले स्वतन्त्रताको चरम आडमा कर्तव्यहरूलाई पूर्ण रूपमा तिलाञ्जलि दिएका छौँ ।
हाम्रो स्वतन्त्रताको प्रतिनिधित्व गर्ने राजनेताहरूमा अहं बढेको छ । जबाफदेहिता शून्य भएको छ । कानुनहीनता बढेको छ । लोकतान्त्रिक स्वतन्त्रताको अर्थ उत्तरदायित्व हो । उत्तरदायित्वबाट पृथक रहनु होइन । तर, आज हामी हाम्रो उत्तरदायित्वबाट भागिरहेका छौँ । नागरिक निरीह बनेर राजनीतिक दलको तमासा हेरिरहेका छन् । दलहरूले सकुनीको चौसर दाउमा लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई राखेका छन् । राजनीतिक दलका बारेमा राजनीतिशास्त्रका विद्वान् फाइनरको भनाइ यस्तो छ– ‘‘सबै शासन पछाडिको शक्ति नै दलहरू हुन् । राज्यको जुनसुकै स्वरूप होस्, दलहरूले नै राज्यको संयन्त्र चलाउन ऊर्जा दिएर हैकम चलाउँछन् ।’’ यसैले आधुनिक शासन प्रणालीमा दलहरूको भूमिका अत्यावश्यक हुन्छ । तर, दलहरूले आफ्नो अभीष्ट पूरा गर्ने पेवा बारी लोकतन्त्र होइन । यो त सम्पूर्ण नागरिकले आफ्नो भाग्य कोर्ने खेत हो ।
लोकतन्त्रको भाग्य फस्टाउन सकेमात्र त्यसबाट नागरिकले लाभ प्राप्त गर्छन् । यसका लागि स्वतन्त्रता नै हासिल हुनुपर्छ । यसैको प्रयोग गरी नागरिकले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अभिरुचि प्रदर्शित गर्छन् । सार्वजनिक बहसमा भाग लिन्छन् । आफ्ना प्रतिनिधिहरूको उत्तरदायित्वको जाँच गर्छन् । तर, राजनीतिक दललाई मतदान गर्ने नागरिकले खोइ उनीहरूको जबाफदेहिता जाँच गरेको ? प्रमुख राजनीतिक दलहरूलाई संविधान कार्यान्वयनप्रतिको जबाफदेहिता बहन गराउन हामी चुकिरहेका छौँ । सर्वदलीय सहमति र जबाफदेहिताको विकास लोकतान्त्रिक कार्यको सारतìव हो । यसले दललाई संवैधानिक एवं कानुनी मर्यादाभित्र रही काम गर्न अभिप्रेरित गर्छ । तर, नेपालमा यसको ठीक उल्टो हुँदै आएको छ । परस्परमा निषेधको राजनीति र सत्ता अभीष्टले नेपाली जनतालाई दुःखी बनाएको छ । भविष्यका लक्ष्यहरू अघि बढाउन र यसप्रति विश्वास जगाउन दलहरू असफल भएका छन् । लोकतन्त्रको भविष्यप्रति नागरिक, नेता र दल सबै गैरउत्तरदायी बन्दै आएका छन् । यसले सोमालिया तथा इथियोपियाको जस्तो नेपालको भविष्यलाई इङ्गित गर्छ । यसतर्फ सचेत हुने र जबाफदेही हुने समय अहिले नै हो ।
जबाफदेहिताको अवधारणाले चुस्त र जिम्मेवार बनाउँछ । दायित्व र कर्तव्य पालनमा प्रतिबद्ध बनाउँछ । अधिकारको प्रत्याभूतिका लागि राज्यका विधायिका, न्यायपालिका र कार्यकारी संयन्त्र कर्तव्य पालक हुन् भने दाबी कर्ता नागरिक हुन् । तर, नागरिकको दाबीले त्यतिखेर पूर्णता पाउँछ जब कर्तव्य पालक जबाफदेही हुन्छन् । जबाफदेहिताले गर्दा नै लोकतान्त्रिक र तानाशाही शासन प्रणालीबीच भिन्नता रहेको हुन्छ । लोकतन्त्रमा कर्तव्यबाट विमुख नहुनु र शुद्ध आचरण जबाफदेहिताको कसी हो ।
जिम्मेवारी बहन गर्ने परिपाटी लोकतन्त्रमा मात्र सम्भव छ । कानुन, नीति, निकाय, प्रशासनिक प्रक्रिया र संयन्त्रजस्ता कुरा जबाफदेहिताका आधारभूत सर्त हुन् । जसले विधिका आधारमा आफ्ना क्रियाकलाप सम्पन्न गर्छन् र यसले लोकतन्त्रलाई सहज बनाउँछ । तर, यो अपेक्षा तानाशाहीतन्त्रमा त गर्न सकिँदैन । लोकतान्त्रिक परिपाटीले नै जबाफदेहिताका मापदण्डलाई नागरिक तहमा रूपान्तरण गर्छ । तर, हामी जबाफदेहिताको प्रत्याभूतिका लागि यहीँ चुकिरहेका छौँ । लोकतान्त्रिक सफलताका लागि राज्यसँग राजनीतिक इच्छाशक्ति, कार्यान्वयन सुनिश्चित गर्ने साधन र जबाफदेहिता हुन आवश्यक छ । र, यो लक्ष्य प्राप्त गर्न राज्यले आफ्नो कानुनी, प्रशासनिक तथा संस्थागत संयन्त्रहरूलाई उपयुक्त किसिमले तयार गर्नुपर्छ । जसले राज्यका निकाय र सरकारलाई बढी जबाफदेही बनाउँछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र साध्य होइन यो साधन मात्र हो । यो अपरिवर्तनीय र पूर्णताको सत्य रूप होइन । यो एउटा यन्त्र–रचना हो । विचार, विवेक, सहमति र जबाफदेही रूपमा प्रस्तुत हुँदा मात्र लक्ष्यमा पुग्न सम्भव हुन्छ । लोकतन्त्रमा स्वतन्त्रता र आत्मअभिवृत्तिका आदर्शहरू सम्मिलित हुन्छन् । मानवीय स्वभावलाई पनि यसले प्रतिनिधित्व गर्छ । सबै नागरिक सदाचारी र चरित्रवान रहुन् भन्ने माग गर्छ । लोकतन्त्रमा नागरिकले मुख्य अभिकर्ताबाट न्याय र जबाफदेहिताको अपेक्षा गरेको हुन्छ । तिरस्कार र गैर जबाफदेहीपन होइन । वेदान्ती राइनहोल्ड नाइबरको धारणाअनुसार “न्यायका लागि मानिसमा विद्यमान क्षमता र जबाफदेहिताले लोकतन्त्रलाई सम्भव तुल्याउँछ तर गैरजबाफदेहिता तथा क्षमताविहीनताप्रति मानिसको झुकाव भएमा लोकतन्त्र विलय हुन जान्छ ।” हाम्रो यथार्थ पनि यही हो । हामी सबै नेपाली जबाफदेहिताको प्रत्याभूतिका लागि चुकिरहेका छौँ । राजनीति र यसका विविध मुद्दाहरूको अर्थोपानमा हामी नालायक भइसकेका छौँ किनभने नागरिक सर्वोच्चता कसैको बर्खास्ती र जबाफदेहिताबाट पछि हट्नु होइन । तर, दुर्भाग्य आज हामी पालैपालो यही नाटक मञ्चन गरिरहेका छौँ । मुख्य अभिकर्ताहरूले गौरवका साथ दुर्योधनको अभिमानी र हठी भूमिकालाई पुनरावृत्ति गरिरहेका छन् ।
मुख्य अभिकर्ता जबाफदेही भएनन् भने लोकतन्त्रले नागरिक र मुलुकको समृद्धि प्राप्त गर्न सक्दैन । लोकतन्त्र स्वशासन हुन सक्दैन । जातीय अन्तरविरोध अन्त्य हँुदैन न त आर्थिक समृद्धि र न्यायको प्रत्याभूति नै हुन्छ । यो हाम्रो विगत ७० वर्षलाई समीक्षा गर्दा प्राप्त हुने नतिजा हो किनभने गल्तीहरू पहिल्याउन र मत भिन्नता समाधान गर्न हामी चुकिरहेका छौँ । २५ सय वर्षयताको अभ्यासमा लोकतन्त्र स्वयंले कुनै कुराको प्रत्याभूति गर्दैन भन्ने साबित भइसकेको छ । बरु लोकतन्त्रले सफलताको अवसरका साथै विफलताको जोखिम प्रस्तुत गर्छ । त्यसैले लोकतन्त्रमा जबाफदेहिताको विकल्प छैन ।
लोकतन्त्रमा जबाफदेहिता भनेको मिलेर कर्म गरेमा नागरिकले आफ्नो व्यक्तिगत स्वतन्त्रता, आर्थिक अवसर र सामाजिक न्यायको आकाङ्क्षा परिपूर्ति हुने किसिमबाट स्वतः शासित हुन सक्छन् । लोकतन्त्रको चुनौती भनेको लोकतान्त्रिक कार्यको सफलता अरूमा होइन, नागरिकहरूकै काँधमा निर्भर रहन्छ र नागरिकको नागरिकद्वारा सञ्चालित सरकारको अर्थ लोकतान्त्रिक राज्यका नागरिकहरू त्यसका लाभ र बोझ दुवैका हिस्सेदार हुन्छन् भन्ने सत्य हो ।
स्वशासनको कार्य गरेर आफ्नो योग्यताअनुसार एक पुस्ताले अर्को पुस्ताका लागि लोकतान्त्रिक विरासत सुम्पन्छ । अघिल्लो पुस्ताको कठिन परिश्रमबाट व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र कानुनी राज्य प्राप्त भएको हुन्छ । यसलाई सार्थक बनाउन विद्यमान पुस्ता र भविष्यको उत्तराधिकारी दुवै जबाफदेही हुनुपर्छ । नत्र हासिल गरिएको उपलब्धि विलय हुने खतरा रहिरहन्छ ।
प्रत्येक समाज र नयाँ पुस्ताले विगतका सिद्धान्तहरू अनुसरण गर्दै तिनलाई नयाँ युग र परिवर्तित समाजअनुरूप व्यवहारमा ल्याएर कार्य सम्पादन गर्छन् । बीउ जस्तो रोपिन्छ, त्यस्तै फल पाक्छ, हावापानी र मौसमलाई दोष दिनु बुद्धिमानी होइन । यही कुरा लोकतान्त्रिक राज्यका नागरिकका लागि सत्य हो । अन्ततः हामीले रुचाएको समाजको भाग्य निर्धारणको अभिभारा हाम्रै काँधमा छ । त्यसैले हामीले आफ्नो योग्यता र जबाफदेहिता अनुरूपको लोकतान्त्रिक भविष्य पाउँछौँ । यो आत्मअनुभूतिलाई स्वीकार्न नसकेसम्म हाम्रा लागि नयाँ नेपालतर्फको यात्रा कठिनपूर्ण हुनेछ ।
लोकतन्त्र सैद्धान्तिक र व्यावहारिक समस्याबाट पृथक् छैैन । यसलाई हल गर्ने उपाय भनेको राज्यमा बढी लोकतान्त्रीकरण र नागरिक जबाफदेहिता हुर्नुपर्छ । योे विचार नौ दशकअघि भविष्य द्रष्टा प्रभावशाली दार्शनिकले राखेका थिए । विश्वमा लोकतन्त्रको यात्रामा व्यापक परिवर्तन आइरहेछ । द्वितीय विश्वयुद्धताका प्रसिद्ध राजनीतिज्ञ चर्चिलले लोकतन्त्रका विषयमा यसरी छोटोे विचार प्रस्तुत गरेका थिए – ‘‘लोकतन्त्र उत्कृष्ट छ भनेर कसैले बठ्याइँ गर्दैन । पटकपटक अनुभव गरेको व्यवस्थाको हिसाब नगर्ने हो भने लोकतन्त्र सबभन्दा खराब व्यवस्था हो ।’’
(लेखक मानव अधिकार तथा प्रजातान्त्रिक मञ्चका अध्यक्ष हुनुहुन्छ ।)