logo
२०८१ जेष्ठ ५ शनिवार



क्युबामा कनेलको नेतृत्व

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

क्युबाको कम्युनिस्ट क्रान्तिदेखि लगातार क्यास्ट्रो परिवारमा रहेको राजनीतिक विरासत राहुल क्यास्ट्रोको पदत्यागसँगै सकिएको छ । क्युबा कम्युनिस्ट पार्टीका महासचिव राहुलले पार्टीको सम्पन्न आठौँ महाधिवेशनमा राजीनामा दिनुभएपछि त्यहाँ सरकार र पार्टीमा क्यास्ट्रो परिवारको नेतृत्व अन्त्य भएको हो । क्रान्तिमा होमिएको क्यास्ट्रो परिवारले छ दशकभन्दा लामो समय क्युबामा नेतृत्व प्रदान गरेको थियो ।
महाधिवेशनले पार्टीको नयाँ महासचिवमा राष्ट्रपति मिगेल डिआस कनेललाई निर्वाचित गरेको छ । अब उहाँ सर्वाधिक शक्तिशाली नेता बन्नुभएको छ ।
राहुलले आफ्ना बिरामी दाइ कम्युनिस्ट नेता फिडेलबाट सन् २००८ मा सत्ताको जिम्मेवारी पाउनुभएको थियो । उहाँले सन् २०१८ सम्म सरकारको नेतृत्व गरी अर्का नेता कनेललाई सत्ता हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रपति कनेल बने पनि पार्टीको महासचिवमा भने राहुल नै हुनुहुन्थ्यो ।
कनेल सन् २०१३ मा क्युबाको उपराष्ट्रपति नियुक्त हुनुभएको थियो । त्यसपछि उहाँ राष्ट्रपति राहुलको अत्यन्तै निकट सहयोगी बन्नुभयो । कनेलसँग लामो राजनीतिक अनुभव छ । फिडेल क्यास्ट्रो पहिलोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिनुभन्दा केही समयअघि सन् १९६० को अप्रिलमा जन्मनुभएका कनेलले २० वर्षको उमेरमा योङ कम्युनिस्ट लिगको सदस्यका रूपमा राजनीति सुरु गर्नुभयो । त्यसपछि कम्युनिस्ट पार्टीको विभिन्न तहमा बसेर राजनीति गर्नुभयो । उहाँ इलेक्टिकल इन्जिनियर हुनुहुन्छ । राहुल क्यास्ट्रोले कनेलको सिद्धान्तप्रतिको निष्ठाको खुलेर प्रशंसा गर्नुभएको छ । । क्युबाका लागि जीवनभर सङ्घर्ष गरेका क्रान्तिकारी कम्युनिस्ट नेता फिडेलको निधनसँगै क्युबामा एउटा क्रान्तिकारी युगको अन्त्य भयो भने राहुलको राजीनामापछि अहिले पारिवारिक शासन युगको । फिडेलको निधन सन् २०१६ को नोभेम्बर २६ मा ९० वर्षको उमेरमा भयो । विश्वमै लामो समयसम्म सत्ता चलाउनेमध्येका एक नेता क्यास्ट्रो करिब आधा शताब्दी क्युबाको नेतृत्व (प्रधानमन्त्री र राष्ट्रपति) गर्नुभयो । सशस्त्र विद्रोहमार्फत मुलुकका तत्कालीन तानाशाही शासक बाटिस्टालाई सत्ताच्युत गर्दै कम्युनिस्ट सत्ता स्थापना गर्नुभएका उहाँ विश्व कम्युनिस्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बन्नुभयो ।
फिडेल सन् १९२६ मा दक्षिण–पूर्वी ओरियन्ट प्रान्तको एउटा समृद्ध र सम्पन्न कुलीन जमिनदार परिवारमा जन्मनुभएको थियो । बहुसङ्ख्यक जनताको विपन्नता देखेर आफ्नो वैभवशाली जीवनशैली त्यागी सशस्त्र विद्रोहमा होमिनुभएका उहाँले बाटिस्टालाई सत्ताच्युत गरी कम्युनिस्ट शासन स्थापना गरी मुलुककै स्वरूप परिवर्तन गर्नुभयो । आफ्ना हितैषी बाटिस्टालाई सत्ताच्युत गरेको विरोधमा अमेरिकाले क्युबामाथि कडा आर्थिक नाकाबन्दी लगाउँदै कूटनीतिक सम्बन्ध विच्छेद ग-यो । फिडेललाई हटाउन खोज्दाखोज्दै नै आफ्नै शासनकालमा नै अमेरिकामा १० वटा राष्ट्रपति फेरिएको उहाँले देख्नुभयो । बुढ्यौली तथा क्यान्सरले स्वास्थ्य कमजोर भएपछि सन् २००८ मा भाइ राहुललाई पद हस्तान्तरण गर्नुभयो ।
स्कुलेजीवनमा सामान्य विद्यार्थी फिडेल क्याम्पसमा कानुनको अध्ययन सकेर कानुन व्यवसायी बने पनि प्रगति नभएपछि उहाँ कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुभयो । देशमा बाटिस्टाविरुद्ध आन्दोलन सुरु भयो । बाटिस्टाको तानाशाही सत्ताले बहुसङ्ख्यक क्युबालीलाई हरिकङ्गाल बनायो । उहाँले ८२ जना युवा साथी मिलेर सरकारविरुद्ध विद्रोह सुरु गर्नुभयो । सन् १९५३ मा एउटा सैनिक ब्यारेकमाथि आक्रमण गरी विद्रोह सुरु गरियो । तर, सो प्रयास बिफल भएपछि उहाँ पक्राउ पर्नुभयो । उहाँलाई १५ वर्ष जेल सजाय सुनाइयो तर १९ महिनापछि आममाफीअन्तर्गत रिहा हुनुभयो । त्यसपछि चे ग्वेभारासँग मिलेर उहाँकै नेतृत्वमा सन् १९५६ देखि छापामार युद्ध सुरु भयो । सन् १९५९ जनवरी २ मा उहाँको छापामार विद्रोही सेनाले राजधानी हवाना कब्जा गरेपछि बाटिस्टा सरकारको अन्त्य भयो । बाटिस्टा अमेरिका भागेपछि क्यास्ट्रोले आफ्नो नेतृत्वमा कम्युनिस्ट सरकार स्थापना गर्नुभयो । उहाँ प्रधानमन्त्री बन्नुभयो ।
क्युबामा कम्युनिस्ट सत्ता स्थापना भएकोमा रुस्ट बनेको अमेरिकाले बाटिस्टा समर्थकको सहयोगमा प्रतिक्रान्तिका लागि प्रयास ग¥यो तर सफल भएन । सोहीक्रममा थुप्रै मानिस मारिए र कैयौँ जेल परे । थुप्रै मानिसले याताना पाए र विदेश पलायनसमेत भए । कम्युनिस्ट शासनविरुद्धमा अमेरिकाले कूटनीतिक सम्बन्ध विच्छेद गरी क्युबामाथि कडा आर्थिक नाकाबन्दी लगायो । अमेरिकासित सम्बन्ध बिग्रिएपछि क्यास्ट्रो सरकारलाई तत्कालीन सोभियत सङ्घले भरपूर सहयोग र समर्थन ग-यो । रूसले आणविक युद्धक विमानसमेत क्युबामा पठायो । त्यसको अमेरिकी सरकारले कडा विरोध ग-यो । अमेरिका र सोभियत सङ्घबीच शीतयुद्ध चल्यो र आणविक युद्ध हुनु खतरा बढ्यो । लामो कूटनीतिक प्रयासपछि अन्त्यमा सोभियत सङ्घले आणविक युद्धक विमान फिर्ता गरेपछि सम्भावित युद्धको खतरा ट-यो ।
सन् १९७६ मा क्युबाको संसद्ले क्यास्ट्रोलाई राष्ट्रपति निर्वाचित ग-यो । त्यसपछि उहाँ सन् २००८ सम्म राष्ट्रपति बनी क्युबाको मुहार फेर्नुभयो । रूससँग निकट सम्बन्ध राख्नुभएका क्यास्ट्रोले असंलग्न आन्दोलनमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
रूसमा कम्युनिस्ट शासन पतन भएपछि त्यसको असर क्युबामा पनि पर्छ भन्ने धेरैलाई लागेको थियो । तर, क्युबामा कम्युनिस्ट शासन ढलेन झन् बलियो बन्यो । यसको मुख्य कारण भनेको नेता फिडेलको मुलुकमा गर्नुभएको प्रगतिशील सामाजिक आर्थिक सुधार हो । उहाँले आमजनताका लागि स्वास्थ्य र शिक्षा निःशुल्क गरिदिनुभयो । त्यहाँको स्वास्थ्य कार्यक्रम अहिले पनि विश्वकै लागि नमुना बनेको छ । त्यहाँ अत्यन्तै ठूलो समस्याका रूपमा रहेको बाल मृत्युदर र मातृ मृत्युदर नाटकीय ढङ्गले घट्यो । मुलुक गरिबीमुक्त भयो ।
क्युबा लामो समयसम्म स्पेन र छोटो समय अमेरिकाको अधीनमा रही सन् १९०२ मा स्वतन्त्र भएको एक लाख १० हजार ८६० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको क्यारेबियन टापु मुलुक हो । सन् १९३३ मा फुल्गेन्सियो बाटिस्टाले सैन्य ‘कू’ गरी सत्ता हातमा लिएपछि त्यहाँ दुर्दिन सुरु भयो । बाटिस्टाको २६ वर्षसम्म चलाएको तानाशाही शासनको सन् १९५९ मा अन्त्य भएपछि क्युबा नयाँ युगमा प्रवेश ग-यो । मुख्य भाषा स्पेनिस, मुख्य धर्म इसाई रहेको यो मुलुकका बासिन्दाको अहिले प्रतिव्यक्ति आय १२ हजार १९५ डलर, औसत आयु पुरुषको ७७ वर्ष र महिलाको ८१ वर्ष पुगेको छ । अमेरिकाको आधा शताब्दीभन्दा लामो कडा आर्थिक नाकाबन्दीबीच पनि क्युबाले विभिन्न उतारचढाव पार गर्दै आफ्नै ढङ्गको अर्थतन्त्र विकास गरेको छ । क्युबाले निकल, चिनी, सुर्ती, माछा, औषधि, कफी आदि निर्यात गर्छ ।
राहुल सत्तामा आएपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको भ्रमण गरी कूटनीतिक सम्बन्ध स्थापना गर्नुका साथै क्युबाविरुद्धको नाकाबन्दी हटाउनुभयो । क्युबा र अमेरिकाबीच सम्बन्ध सुधारक्रममा रहेका बेला ओबामापछि राष्ट्रपति बन्नुभएका डोनाल्ड ट्रम्पले भने क्युबासितको सम्बन्धलाई महŒव दिनुभएन । उहाँले क्युबाली नेतृत्वको कटु आलोचना गर्नुभयो । अहिलेका अमेरिकी राष्ट्रपति जोए बाइडेन क्युबाप्रति नरम हुनुहुन्छ । उहाँ क्युबासित सम्बन्ध सुधार गर्ने पक्षमा हुनुहुन्छ ।
पछिल्ला दिनमा क्युबामा कनेलले राष्ट्रपतिका रूपमा देश चलाउनुभएको छ भने राहुलले महासचिवका पार्टी चलाउनुभयो । दुवैजना मिलेर मुलुक र पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुभयो । सम्पन्न पार्टी महाधिवेशनसँगै राहुलले पदत्याग गरेपछि महासचिवको जिम्मेवारी पनि कनेलले पाउनुभएको छ । अब कनेल सर्वाधिक शक्तिशाली नेता बन्नुभयो । क्यास्ट्रो परिवार बाहिरको व्यक्ति उहाँको नेतृत्वले क्यास्ट्रो परिवारमा लागेको परिवारतन्त्रको आरोप अन्त्य भएको छ । फिडेल र राहुलसहित क्यास्ट्रो परिवार नै क्युबाको क्रान्तिमा होमिएको थियो । दुवैजनाले जनताको विश्वास जितेरै मुलुक र पार्टीको नेतृत्व गर्नुभयो । अन्त्यमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी राहुलले मुलुकलाई नयाँ सन्देश दिनुभएको छ ।
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?