logo
२०८१ मंसिर ८ शनिवार



कोरोना नियन्त्रणका लागि धक्का व्यवहार

विचार/दृष्टिकोण |




धर्मराज भट्टराई

चीनको वुहान सहरमा सन् २०१९ को डिसेम्बरमा पहिलो पटक पहिचान गरिएको कोरोना भाइरस अहिले सारा संसारभर एक प्रमुख स्वास्थ्य चुनौतीको रूपमा खडा भएको छ । कोरोना महामारी सङ्क्रमणको विभिन्न छाल फैलिएसँगै विश्वकै आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्र आक्रान्त छ । यससँग जुध्न विभिन्न वैज्ञानिक आविष्कार र प्रयोगहरू पनि सँगसँगै भइरहेका छन् । तर, प्रभावकारी औषधि र खोपहरूको विकासले पूर्णता भने प्राप्त गर्न सकेको छैन । अधिकांश उपकरण धक्काहरू परीक्षणकै क्रममा छन् । कोरोनाको निर्मूलीकरणका लागि वैज्ञानिक सफलताको आवश्यकता जरुरी छ तर उक्त सफलता अगावै यो भाइरसको प्रकोपले कति धेरै मानवीय क्षति हुने हो भन्ने भय सिर्जना भएको छ ।
यो भाइरसले महामारीको रूप लिनुमा मानवीय व्यवहार पनि जिम्मेवारी छ । यो एक प्रकारको सङ्क्रमण रोग हो तसर्थ हामीले मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्यौँ भने यो महामारीलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनलगायत अन्य जिम्मेवार निकायहरूले दिएका स्वास्थ्य मापदण्ड र सुझावहरूको आधारमा विभिन्न उपायहरू अवलम्बन गरिंदै पनि आएका छन् । सामाजिक दूरी कायम गर्ने, बारम्बार र उचित तवरले हात धुने, भाइरस निर्मूलीकरण गर्ने, मास्क लगाउने, अन्य व्यक्तिहरूसँगको सम्पर्क घटाउने, सरसफाइ र खान पानमा उचित ध्यान पु-याउने आदि जस्ता कार्यहरू सङ्क्रमणको फैलावट रोक्नका लागि प्रभावकारी भएको जनाइएको छ । यसको अर्थ हामीले विगतमा अँगाल्दै आएका बानी व्यवहारहरूमा ब्यापक परिवर्तनको खाँचो देखिन्छ । तर, यी सुझाव मानिसहरूले सहजै रूपमा स्वीकार गरेको देखिँदैन ।
मानिसहरूको भेला हुने स्थानहरूमा यसको जोखिम अधिक रहेको थाहा हुँदाहँुदै पनि विभिन्न प्रकारका गोष्ठी, भोज–भतेरजस्ता भीडभाड हुने गतिविधिहरूले निरन्तरता नै पाइरहेको देखिन्छ । घर बाहिर निस्कदा र पुन घरमा प्रवेश गर्दा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डलाई बेवास्ता गरेको देखिन्छ । सरकारले मानिसको व्यवहार परिवर्तन गर्न विभिन्न प्रकारका कडा नियम र नियमनहरू बनाउन सक्छ तर जबसम्म मानिस आन्तरिक रूपमै मन– मस्तिष्कबाट परिवर्तनका लागि तयार हुन सक्दैन तबसम्म परिवर्तन असम्भव छ । छिमेकी मुलुक भारतलगायत अन्य देशहरूले भोगेको विकराल स्थितिलाई मध्यनजर गर्दै आफ्नो व्यवहार परिवर्तन आफू, आफ्नो परिवार, समाज र सम्पूर्ण देशकै लागि भएको सोच्नुपर्ने देखिन्छ ।
कुनै पनि परिवर्तन त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला परिवर्तनको महŒव बुझेर त्यसको माग गरिन्छ । बाहिरी प्रभावले मात्र हुने परिवर्तन दीर्घकालीन हुन सक्दैन । मानिसको व्यवहार परिवर्तन गर्न प्रत्यक्ष उपकरणहरू जस्तै ः आदेश, निर्देशन, सजायजस्ता उपायहरू भन्दा अप्रत्यक्ष उपकरणहरू जस्तै ः अनुरोध, मार्गदर्शन, प्रोत्साहन आदिले महŒवपूर्ण भूमिका खेल्छ भन्ने विषयलाई आधार बनाएर अमेरिकी शिक्षाविद् तथा अर्थशास्त्री रिचार्ड एच थलर र क्यास आर सनस्टेनद्वारा सन् २००८ मा लेखिएको पुस्तक ‘नजः इम्प्रुभिङ डिसिजन्स् अबाउट हेल्थ, वेल्थ एण्ड ह्यापिनेस’ ले सन् २०१७ मा अर्थशास्त्रतर्फको नोवेल पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

के हो ‘नज’ ?
अङ्ग्रेजी शब्द ‘नज’ को शाब्दिक अर्थ ‘कुहिनोले हल्का धक्का’ दिनु भन्नेसँग सम्बन्धित छ । व्यक्तिको छनोट गर्ने स्वतन्त्रताको संरक्षण गर्दै वाञ्छनीय व्यवहारका लागि हल्का धकेल्दै अघि बढ्ने कार्यलाई धक्का व्यवहार अर्थात् ‘नजिङ’ भनेर बुझिन्छ । मानिसहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन निर्देशन, कार्यान्वयन, सजाय, जस्ता प्रत्यक्ष आदेश दिने परम्परागत विधिहरूको सट्टा व्यवहारलाई प्रभाव पार्न अप्रत्यक्ष प्रविधिहरूलाई प्रोत्साहन दिनुपर्छ भन्ने मान्यता ‘नज’ सिद्धान्तले राख्छ । प्रो. थलरद्वारा प्रतिपादित यो सिद्धान्त व्यवहार विज्ञानमा एक लचिलो र आधुनिक अवधारणा हो, जसले मानिसहरूले कसरी सोच्छन्, निर्णय लिन्छन् र व्यवहार गर्छन् भन्ने कुराहरूको पहिचान गर्न र परिवर्तन गर्न मद्दत गर्छ । यो सिद्धान्त व्यावहारिक अर्थशास्त्रभित्रको एउटा प्रमुख अवधारणा हो ।
‘नज’ ले कसरी काम गर्छ ?
यसले सर्वप्रथम मानवीय व्यवहारको पहिचान गर्छ र उनीहरूलाई प्रशस्त छनोटको अवसर प्रदान गरेर कसरी सजिलो र कम लागतमा अप्रतक्ष्य रूपमा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भनेर सुझाव दिन्छ । यस विधिमा मानिसहरूको मनोविज्ञानलाई गहिरो अध्ययन गरेर उचित विकल्पको छनोट गरिन्छ र नीति निर्माताबाट उक्त विकल्प व्यक्तिको व्यवहार परिवर्तनका लागि प्रयोग गर्छन् । कोरोनाको सुरुवाती समयमा यससँग जुध्न धेरै देशले व्यक्तिबीचको सम्पर्कको सम्भावनालाई कम गर्न शैक्षिक संस्थाहरू बन्द गरे, देशको सीमा नाकाहरू ठप्प पारे, यात्रीहरूलाई क्वारेन्टिनमा राखे, सहरी क्षेत्रहरूमा लकडाउनका उपायहरू समेत अवलम्बन गरे । तर, जापानलगायतका केही देश उनीहरूको वर्तमान कानुनबमोजिम तालाबन्दीजस्ता अनिवार्य हस्तक्षेप गर्न असमर्थ थिए । यसैकारण उनीहरूले गैर–अनिवार्य हस्तक्षेपहरू जस्तैः अनुरोध, मार्गदर्शन, प्रोत्साहनजस्ता उपायहरू अवलम्बन गरे जहाँ मानिसहरू स्वेच्छाले नै रोकथामका कार्यहरूमा भाग लिए ।
मानिसहरूलाई दिने जानकारी सजिलो, स्पष्ट र श्रव्य दृश्यको माध्यमबाट प्रदान गर्दा बढी प्रभावकारी हुने मान्यता ‘नज’ ले राख्छ । डेनमार्कमा मानिसहरूलाई राम्रोसँग हात धुने बानीको विकास गराउन आकर्षक पोस्टरहरूको सहायता लिइएको थियो । पार्कहरूमा सामाजिक दूरी कायम गर्न घाँसमा चिह्नहरू बनाए जहाँ मानिसहरू आफ्ना केही साथी वा परिवारको साथ पार्कमा जान सक्छन् तर अन्य समूहहरूसँग दूरी राख्न प्रोत्साहित गरियो । धेरै सुपरमार्केटहरूले ग्राहकबीचको दूरी कायम राख्न रेखा वा भुइँ सङ्केतहरू चित्रित गरेका थिए । मानिसहरूको आवतजावत कम गर्न नगरपालिकाहरूले धेरै सडकको ट्राफिकमा एकतर्फी ट्राफिक निर्दिष्ट गरेका थिए । स्वीडेनमा मानिसहरूलाई लिफ्टको प्रयोगमा निरुत्साहित गर्न पियानो सिंढीको अवधारणा विकास गरियो । यसले गर्दा अधिकांश मानिस लिफ्टको सट्टा सङ्गीत बज्ने पियानो सिंढीको प्रयोग गरे र अप्रत्यक्ष रूपमा हिँड्ने बानीले निरन्तरता पायो, अर्कोतर्फ कोरोना जोखिम पनि कम भयो ।
मानिसहरू प्रायः अन्य व्यक्तिहरूको व्यवहारबाट प्रभावित हुन्छन् । घरमा अभिभावकहरूले गर्ने व्यवहारले बालबालिकाहरू प्रभावित हुन्छन् । समाजमा रहेका प्रतिष्ठित व्यक्तिको व्यवहारले पूरै समाजलाई प्रभाव पार्छ । देशका शासकहरूको व्यवहारले आम जनतामा गहिरो असर पार्छ । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको मास्क नलगाउने निर्णयले सारा अमेरिकी जनतामा गहिरो असर परेको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूले अस्पतालमा धेरै जनासँग हात मिलाएको र यही कारणले कोरोना सङ्क्रमित भएको हुन सक्ने अभिव्यक्तिले मानिसहरू हात मिलाउन डराएको पाइएको थियो । स्पष्ट छ, व्यवहार परिवर्तन गर्न पहिले मुख्य नेतृत्वबाटै सुरुवात गर्नुपर्छ । मानवलाई बहुमतले गर्ने व्यवहारले प्रभाव पार्छ र बहुमत नै ठीक हो भन्ने लाग्छ । यदि बहुसङ्ख्यक मानिसहरूले मास्कको प्रयोग गर्छन् भने अरूलाई पनि प्रयोग गर्न प्रेरित गर्छ । हामी अरूलाई परिवर्तन गर्न चाहन्छौँ भने सर्वप्रथम आफूबाट सुरुबाट गर्नुपर्ने हुन्छ । जर्मनी, ब्राजिलमा कोरोनाले पारेको क्षतिको मुख्य कारण यही बहुमतले गर्ने व्यवहार नै थियो ।
नेपालमा ‘नज’ नेपालमा कोरोना नियन्त्रणका लागि चालिएका कदमहरूमा केही ‘नज’ सँग सम्बन्धित छन् । जस्तैः दूरसञ्चार कम्पनीहरूले कल डायल गर्दा दिने कोरोना सम्बन्धित सन्देश, रेडियो टेलिभिजनहरूमा दिएका छोटो र बहुमूल्य जानकारीहरू, प्रिन्ट मिडियाहरूमा आएका पोस्टर, डिपार्टमेन्ट स्टोरमा ग्राहकहरूको दूरी कायम गर्नका लागि कोरिएका घेराहरू आदिले अप्रत्यक्ष रूपमा मानवीय व्यवहारमा परिवर्तन गर्न सहयोग गरेको छ ।
गतवर्ष कोरोनासँग भएको युद्धबाट सिकेका अनुभवहरू हाल दोस्रो लहरमा तुरुन्तै व्यवहारमा लागू गर्नुपर्छ । यसका लागि सरकारले एउटा छुट्टै ‘नज युनिट’ खडा गर्न सक्नेछ । युनिटले मानिसहरूले कुनै पनि नीति नियमहरूलाई कसरी सोच्छन्, निर्णय लिन्छन् र व्यवहार गर्छन् भन्ने कुराहरूको पहिचान गरेर उचित ‘नजिङ’ उपकरणहरूको सिर्जना गरी प्रोत्साहन प्रदान गरेर व्यक्तिको खराब व्यवहारलाई दीर्घकालीन रूपमा नै परिवर्तन गर्न सकिन्छ । तर, यो नै पर्याप्त हुन्छ भन्न मिल्दैन । अन्य वैज्ञानिक उपकरणसँगै ‘नज’ अवधारणा सँगसँगै अगाडि बढाउन सके यो महामारीलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । 
(लेखक व्यावहारिक अर्थशास्त्र विषयका अध्यापक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?