logo
२०८१ मंसिर ८ शनिवार



सहरी कृषिको लोकप्रियता

विचार/दृष्टिकोण |




धर्मराज भट्टराई

सामान्यतया कृषि भन्नेबित्तिकै ग्रामीण क्षेत्रका खेतबारीमा गरिने खेती किसानीसँंग सम्बन्धित क्रियाकलाप हुन् भन्ने बुझिन्छ तर बदलिँदो समयको आवश्यकता, नवीन प्रविधिको विकासका साथसाथै परिवर्तित सामाजिक सोच र संरचनाले कृषि क्षेत्रको दायरा फराकिलो बन्दै गएको छ । खेती किसानीका लागि ठूला खेतका कान्ला र फराकिला बारीका पाटा चाहिन्छ भन्ने सोचलाई चुनौती दिँदै साँघुरा करेसाबारी, घरका कौसी र अन्य खाली ठाउँमा पनि कृषि उत्पादन गर्न सकिने सम्भावना रहन्छ भन्ने सन्देश सहरी कृषिले दिएको छ । यसको प्रचलन परापूर्वकालदेखि नै भए पनि विशेषतः कोभिड–१९ को महामारीपश्चात् ‘कौसी खेती’का नामले नेपालमा सहरी कृषिको लोकप्रियता द्रुत गतिमा अघि बढेको देखिन्छ ।

सहरी कृषि भन्नाले खेती गर्ने जमिनको अभाव रहेको घना बस्ती भएका सहरी वा सहर उन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता परिपूर्तिका साथसाथै व्यावसायिक प्रयोजनका लागि गरिने तरकारी, फलफूल तथा मसलाबालीको खेतीलाई बुझिन्छ । नेपालका सहरी क्षेत्रमा यो खेती विशेषगरी घर वरिपरि रहेका करेसाबारी, घरको छत, बरन्डा, घरको कौसी, कौसी वा बरन्डाको रेलिङ, घर–कम्पाउन्डको पर्खाल आदि संरचनामा माटोका गमला, बिस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, पुराना बोरा र प्लास्टिकका थैला प्रयोग गरी खेती गर्दै आएको देखिन्छ । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि परम्परागत कृषि प्रणाली परिवर्तन हुँदै छ । सहरी क्षेत्र र यस वरपरको खेती प्रणाली अझ परिष्कृत र केन्द्रित हुँदै गइरहेको छ ।

संसारभर सहरीकरण बढ्दो क्रममा छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार विश्वका आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्छन् । सबैभन्दा छिटो सहरीकरण हँुदै गरेका विश्वका प्रमुख १० देशको सूचीमा नेपाल पनि पर्छ । विश्व बैङ्कको विकास सूचक सङ्कलनअनुसार सन् २०१८ मा नेपालको सहरी जनसङ्ख्या वार्षिक करिब ३.५ प्रतिशतले वृद्धि भइरहेको र कुल जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख छ । यसमा पनि अधिकांश जनसङ्ख्या काठमाडौँ उपत्यकामा केन्द्रित रहेको उल्लेख गरिएको छ । बढ्दो सहरीकरणका बीचमा हामीले हाम्रो कृषियोग्य जमिन गुमाउँदै छौँ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा खेतीयोग्य जमिन ३० हजार ३३४ हेक्टरले घटेको छ । अर्कोतर्फ प्रत्येक मिनेटमा खाद्यान्न जनसङ्ख्याको आवश्यकता बढ्दै गएको छ । यसर्थ सहरी खाद्य असुरक्षा समस्यालाई सम्बोधन गर्नसमेत सहरी कृषिप्रति चासो राख्न जरुरी हँुदै गएको छ ।

सहरी कृषिले यहाँका बासिन्दाको खाद्यान्नको माग मात्र पूरा गर्दैन, यसले विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष लाभको पनि सिर्जना गरेको हुन्छ । खाद्यान्नको कुशल आपूर्तिबाहेक, सहरी कृषि वा हरित सहरले विभिन्न प्रकारका वनस्पति प्रजातिको संरक्षणका साथै जैविक विविधतालाई बढावा दिन्छ, जसले पारिस्थितिक लाभ निम्त्याउँछ । हरियाली सहरहरूले वर्षाको पानीलाई सञ्चित गर्न सक्छ । जसले सतहको पानी व्यवस्थापनमा महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छ र विनाशकारी बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका घटनाको जोखिमलाई कम गर्न सक्छ । हरित सहरहरूले कार्बन उत्सर्जन र अन्य हरित गृह ग्यास घटाउँछन्, जसले ग्लोबल वार्मिङको सम्भावनालाई कम गर्छ । हरित सहरले मानसिक र शारीरिक स्वास्थ्य, ध्वनि प्रदूषण, तनाव कम गर्न र सामाजिक एकीकरण वृद्धिमा योगदान पु¥याउँछ । खाद्य सुरक्षासँगै सहरी कृषिले फोहोर व्यवस्थापन, जनशक्तिको उपयोग, स्वास्थ्य सरसफाइ र सहरी समुदायको आर्थिक वृद्धिमा सहयोग पु¥याउन सक्ने कृषिविज्ञले दाबी गरेका छन् ।

अमेरिकन सोसाइटी अफ ल्यान्डस्केप आर्किटेक्ट्सका अनुसार सहरी कृषिको इतिहास लगभग ३५०० इसा पूर्वमा भएको उल्लेख गरेको छ । मेसोपोटामियाका किसानले सहरमा साना साना प्लट स्थापना गरी कृषि उत्पादन गर्ने गरेको पुराताìिवक प्रमाण भएको जनाएको छ । यस्तै पश्चिमा देशले पहिलो र दोस्रो विश्वयुद्धपछि यसमा बेहोरेको क्षति र खाद्य सङ्कटबाट पार लगाउन सहरी कृषिको महìवपूर्ण भूमिका रहने भन्दै यससँंग सम्बन्धित योजनाहरू अघि बढाएको पाइन्छ । सन् १९३० को विश्व आर्थिक मन्दीसँंग जुध्नसमेत विभिन्न देशले यस्तो प्रकारको कृषि गतिविधिलाई अङ्गीकार गरेको देखिन्छ ।

त्यसैगरी ७० को दशकमा विभिन्न देशका सहरमा सामुदायिक बगैँचा बनाउने प्रचलनले सहरी कृषिलाई नयाँ स्वरूप दिएको थियो । सन् १९०० को दशकमा अमेरिकी सहरले सहरी फार्म र बगैँचालाई खाद्य असुरक्षा समाधान गर्ने माध्यमका रूपमा परिभाषित गरेर यसलाई सहरी वातावरणीय सन्तुलन, स्थानीय खाद्य प्रवद्र्धन, सामुदायिक स्वास्थ्य अभियानसंँग जोडेपछि सहरी कृषिको लोकप्रियता संसारभर बढेको देखिन्छ । अहिलेको वर्तमान अवस्थामा लामो समयसम्मको कोभिड–१९ को महामारी र यसले निम्त्याएको बन्दाबन्दीले धेरै सहरवासीलाई दुर्लभ जमिन हुँदाहुँदै पनि सहरी कृषि अभ्यास गर्न उत्प्रेरित गरेको छ ।

विश्वका प्रमुख सहरमा प्राथमिकताका साथ कृषि उत्पादन र कृषिजन्य क्रियाकलाप हुने गरेका छन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर जहाँ ५५० भन्दा बढी सामुदायिक बगैँचा, ७४५ भन्दा बढी विद्यालय बगैँचा, ७०० भन्दा बढी सार्वजनिक आवास विकाससँग सम्बन्धित बगैँचामा फलफूल, तरकारी र अन्य कृषिजन्य उत्पादन गरिन्छ । यस्तै अर्को चर्चित सहर एटलान्टाले सहरी कृषि क्रान्तिको नेतृत्वसमेत गरेको छ । क्यानडाको भिक्टोरिया बीसी सहरलाई ‘बगैँचाको सहर’ भनेर पनि चिन्ने गरिन्छ; जहाँ अधिकांश घरपरिवार प्रत्यक्ष रूपमा कृषि पेसामा संलग्न छन् ।

बेलायतको लन्डन सहर घरको छत र सुरुङमा गरिने खेतीले विश्वसामु सहरी कृषि र सामुदायिक बगैँचाका लागि एक हटस्पट भएको छ । फ्रान्सको पेरिसमा जैव विविधता, वातावरण सन्तुलन र खाद्य सुरक्षाका लागि प्रयोग भएको सहरी कृषि प्राकृतिकीकरण, स्रोतको दिगो प्रयोग र सामाजिक एकीकरणका समस्यालाई सम्बोधन कोसेढुङ्गा साबित भएको छ । संयुक्त अरब इमिरेट्सको दुबई सहरले प्रयोगमा ल्याएको सस्टेनेबल सिटी, शून्य ऊर्जा विकास, ग्रिनहाउस प्रोजेक्ट आदि कृषिसँंग सम्बधित आयोजना हुन् । अहिले सिङ्गापुरमा सहरी कृषि केन्द्र सरकार र स्थानीय संस्थाहरूको मुख्य चर्चाको विषय बनेको छ ।

नेपालको सन्दर्भमा सहरी कृषि र यसको प्रवद्र्धनका लागि भनेर छुट्टै योजना बनेको देखिँदैन तर पनि कृषिसम्बन्धी अन्य योजना र अनुदानसम्बन्धी कार्यक्रमअन्तर्गत रहेर स्थानीय तहबाट आवश्यक सहयोग, परामर्श र अनुदान वितरण गरेको पाइन्छ । कृषि विभाग÷राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रअन्तर्गत ससर्त वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहरी क्षेत्रमा हाइड्रोपोनिक्स र एक्वापोनिक्स प्रविधिको प्रवद्र्धन गर्ने लक्षित समूह कृषक, कृषक समूह, कृषि सहकारी, कम्पनी, फर्मलाई कृषि कार्यक्रमको उद्देश्य, प्रमुख क्रियाकलाप, न्यूनतम सर्त÷मापदण्ड, क्षमता अभिवृद्धि आदिका आधारमा कृषि पूर्वाधारको हकमा सार्वजनिक निकायबाट निर्माण हुने पूर्वाधारका हकमा सय प्रतिशत, उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण हुने पूर्वाधारको हकमा ८५ प्रतिशत र निजी एवं व्यावसायिक प्रयोजनका हकमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन सक्ने उल्लेख छ ।

संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठनका अनुसार सहरी कृषि फर्मले सहरका लगभग ७०० मिलियन बासिन्दालाई खाद्यान्न आपूर्ति गरिसकेका छन्, जुन विश्वको सहरी जनसङ्ख्याको एकचौथाइ प्रतिनिधित्व गर्छ । सन् २०५० सम्म विश्वको लगभग ८० प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्ने प्रक्षेपण गरिएको छ । डरलाग्दो जनसङ्ख्या वृद्धिसँग समन्वय गरी खाद्य सुरक्षा कायम गर्न चुनौती बन्न सक्छ । सहरी कृषि यो अवस्थाको सामना गर्न अनुकूल विकल्पका रूपमा देखा परेको छ ।

नेपालका सहरी क्षेत्रमा सञ्चालित कृषिजन्य गतिविधिको आधिकारिक तथ्याङ्क सङ्कलन भएको पाइँदैन । धेरैजसो गतिविधि असङ्गठित रूपमा अघि बढेको देखिन्छ । एक अध्ययनअनुसार काठमाडौँ उपत्यकाको करिब २३ प्रतिशत ताजा तरकारीको आपूर्तिमा सहरी कृषिको योगदान रहेको छ । यो कृषिले खाद्य पदार्थको उत्पादन, प्रशोधन, संरक्षण, बजारीकरण र उपभोगसम्मका गतिविधि समेट्ने भएकाले यसको विकास र विस्तारले सहरी जनसङ्ख्याका लागि थप जीविकोपार्जनका अवसर सिर्जना गर्नेमा दुईमत रहँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?