logo
२०८१ मंसिर ८ शनिवार



बाइडेन सफलताको सूत्र

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य
अमेरिकी राष्ट्रपति जोए बाइडेनलाई सत्ता सम्हालेको छ महिनाभित्रै आन्तरिक र बाह्य सम्बन्ध सुधारमा ठूलो सफलता मिलेको छ । इमानदार र प्रतिबद्ध राजनीतिक व्यक्ति सत्तामा पुग्दा र अराजनीतिक व्यक्ति सत्तामा पुग्दा कति फरक पर्छ भन्ने कुरा अमेरिकी नेतृत्व परिवर्तनको यही छ महिनाको घटनाक्रमले स्पष्ट पारेको छ । कुशल राजनीतिज्ञ बाइडेनले सत्ता सम्हालेको छ महिनामै अमेरिका लयमा फर्केको छ भने विश्व व्यवस्था पुनः मजबुत भएको छ । अराजनीतिक व्यक्ति डोनाल्ड ट्रम्पले चार वर्ष शासन गर्दा अमेरिका अराजक अवस्थामा पुग्यो भने विश्व व्यवस्था नै खल्बलियो । ट्रम्पले बिगारेको अमेरिका र विश्व व्यवस्थालाई बाइडेनले छ महिनाभित्रैमा कुशल शिल्प प्रयोग गरी सही ठाउँमा ल्याएर विश्वलाई नै नयाँ सन्देश दिन सफल हुनुभयो ।
छ दशकभन्दा लामो समय राजनीति गर्दै विश्व कूटनीति बुझ्नुभएका बाइडेनसँग र व्यापारिक पृष्ठभूमिबाट सत्तामा आउनुभएका ट्रम्पको तुलना गर्न मिलेन । ट्रम्प शासनकालको असफलताले अमेरिका गम्भीर सङ्कटमा प¥यो, अमेरिका र विश्व सम्बन्ध खल्बलियो । उहाँले शासन गर्न जान्नुभएन, केही ठूला व्यापारीका लागि मात्र काम गर्नुभयो, जसले गर्दा अमेरिकी जनजीवन नै अस्तव्यस्त बन्यो । अमेरिकाको विश्वसितको सम्बन्ध बिग्रियो । लहडका भरमा ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन, पेरिस सम्झौता र इरानसितको आणविक सम्झौताबाट अलग गर्नुभयो । चीनसँग व्यापार युद्ध गर्नुभयो, रूससित सम्बन्ध बिगार्नुभयो, जुन अमेरिकाको हितमा थिएन । यी सबै कारणले अमेरिकालाई घाटैघाटा भयो । शासन गर्ने क्षमता नभएकै कारण दुईपटक महाभियोगको सामना गर्दै एउटै कार्यकालपछि चुनावमा पराजित ट्रम्पको गलत नीति र कार्यक्रम अन्ततः अमेरिकाका लागि अभिशाप सिद्ध भयो । भारी मतले चुनाव जितेका बाइडेनले छोटो अवधिमै आफ्नो कुशल राजनीतिक क्षमता प्रदर्शन गरी अमेरिकाको शिर ठाडो पार्ने काम गर्नुभएको छ । उहाँकै कुशल व्यवस्थापनले कोरोना महामारीको दुष्चक्रबाट अमेरिका छिट्टै मुक्तिको चरणमा पुग्दै छ ।
कोरोना महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित बन्यो । सन् २०२० को डिसेम्बर मध्यबाट त्यहाँ खोप कार्यक्रम सुरु भयो । खोप कार्यक्रम सुरु हुनुभन्दा एक महिनाअघि नै तत्कालीन राष्ट्रपति ट्रम्पले पनि २०२० को अन्त्यसम्ममा दुई करोड डोज खोप दिने लक्ष्य सार्वजनिक गर्नुभएको थियो । तर, अमेरिकीहरू छिट्टै खोप लगाउन पाइन्छ भन्नेमा ढुक्क थिएनन् । किनभने विश्वकै शक्तिशाली राष्ट्र भएर पनि अमेरिकाले ट्रम्पको नेतृत्वमा कोरोनाविरुद्धको लडाइँ हारेको थियो । त्यस्तै ट्रम्पले वाचा गरेअनुसारको दुई करोड डोज कोरोना खोप पनि सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा वितरण भएन । खोप आपूर्तिको व्यवस्थापन गर्न नसक्दा ट्रम्पको लक्ष्य पूरा भएन । अमेरिकामा कोरोना खोपले अनुमति पाए पनि त्यहाँका राज्यमा राम्रोसँग खोप आपूर्ति हुन सकेन । त्यतिमात्र होइन, ट्रम्पले कोरोना खोप वितरणका लागि सङ्घीय निर्देशिका पनि दिन सक्नुभएन । त्यस अवधिमा ट्रम्पले खोप कार्यक्रमलाई तीव्र रूपमा सञ्चालन गर्न उचित कोषसमेत छुट्ट्याउनुभएन ।
बाइडेनको आगमनसँगै अमेरिकामा कोरोना खोप कार्यक्रमले तीव्र गति लियो । आवर वल्र्डइन डेटाको तथ्याङ्कअनुसार अहिलेसम्म अमेरिकामा ३१ करोड ८० लाख डोजभन्दा धेरै खोप मानिसलाई दिइसकिएको छ । अमेरिकाले अहिले आठ करोड डोज कोरोना खोप अन्य मुलुकमासमेत पठाएको छ भने अर्को वर्षसम्ममा ५० करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ । खोपमा पाएको अमेरिकी सफलताको श्रेय राष्ट्रपति बाइडेन र उहाँको प्रशासनलाई जान्छ । सन् २०२० को नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचन जितेका बाइडेनले कार्यभार सम्हाल्नुअघि नै महामारी नियन्त्रणका लागि आवश्यक तयारी सुरु गर्नुभएको थियो । उहाँले त्यसका लागि आवश्यक योजना बनाउन आफ्नो टोलीलाई निर्देशन दिनुभएको थियो ।
जब ट्रम्पको कुर्सीमा बाइडेन पुग्नुभयो, तब कोरोनाविरुद्ध लड्ने अमेरिकी सरकारको चरित्र र कार्यशैली दुवै फेरियो । कोरोना सङ्क्रमणलाई राज्यले गम्भीर रूपमा लिन थाल्यो, नियन्त्रणलाई प्राथमिकतामा राख्यो र व्यवस्थापनलाई चुस्त बनायो । जनवरी २० मा पदभार ग्रहण गरेका उहाँले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने ट्रम्पको निर्णय उल्टाउनुभयो र आफ्नो सय दिनमा मानिसलाई १० करोड डोज कोरोना खोप दिने घोषणा गर्नुभयो । उहाँले निर्वाचन प्रचारक्रममा वाचा गरेअनुसार नै सङ्क्रमण नियन्त्रण गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो । त्यसका लागि बाइडेनले आवश्यक कोष जुटाउँदै स्वास्थ्य सामग्री खरिद, कोरोना परीक्षणमा विस्तारलगायतका निर्णय गर्नुभयो । उहाँले आफूले पदभार ग्रहण गरेको पहिलो दिन नै ट्रम्पको पालामा रोकिएका कोरोना महामारी नियन्त्रणका महŒवपूर्ण कदम चाल्नु भयो । बाइडेनको आफ्नो पहिलो कार्यकारी आदेश नै कोरोना नियन्त्रणका लागि महŒवपूर्ण थियो । उक्त आदेशमा उहाँले स्वास्थ्य सामग्रीको आपूर्तिमा समस्या आउन नदिन सबै कानुनी निकायको प्रयोग गर्न निर्देशन दिनुभयो । यसले पीपीई, परीक्षण कीट र खोप उत्पादक कम्पनीलाई आफ्नो उत्पादन बढाउन बाटो खुल्यो ।
बाइडेनले कोरोना परीक्षण बढाउन एक बोर्ड स्थापना गरेर कोरोना खोप वितरणको असमानता कम गर्न कोभिड–१९ हेल्थ इक्विटी टास्क फोर्स बनाउनुभयो । जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिएका बाइडेनले सार्वजनिक यातायात, हवाईजहाज, रेलमा मास्क अनिवार्य गर्न लगाउनुभयो । अमेरिका प्रवेश गर्दा कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम अनिवार्य भयो ।
बाइडेनले १९ खर्ब डलरको कोरोना राहत प्याकेज ल्याउनुभयो, जसमध्ये चार खर्ब डलर कोरोना खोप र परीक्षणका लागि थियो । फोब्र्स पत्रिकाका अनुसार बाइडेनले आफूहरूसँग धेरै समय नभएकाले जतिसक्दो छिटो कोरोना नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो सय दिनको कार्यकालमा यसअघिका तीन राष्ट्रपतिले भन्दा धेरै कार्यकारी आदेश जारी गर्नुभयो जसमा कोरोना नियन्त्रणसँग सम्बन्धित धेरै आदेश थिए ।
त्यस्तै, बाइडेनले कोरोना खोप खरिद प्रक्रियालाई पनि अगाडि बढाउनुभयो । त्यसक्रममा उहाँले केही कम्पनीसँग सम्झौता गर्नुभयो । १०० दिनमा १० करोड डोज कोरोना खोप लगाउने बाइडेनको घोषणा सुरुमा निकै महŒवाकाङ्क्षी लागेको थियो । तर, उहाँले यसरी काम गर्नु भयो । त्यो लक्ष्य तोकिएभन्दा आधा समयमै पूरा भयो । त्यसपछि उहाँले सोही समयमा २० करोड डोज खोप दिने लक्ष्य लिनुभयो । त्यो लक्ष्य पनि तोकिएको समयभन्दा एक साताअघि नै पूरा भयो ।
बाइडेन प्रशासनले जुलाईभित्रै १६ करोड मानिसलाई कोरोनाको दुवै डोज खोप लगाउने लक्ष्य लिएको छ । यो लक्ष्यमा पनि सफलताको नजिक पुगेको छ । अहिले अमेरिकामा १४ करोड ९० लाखभन्दा धेरैले कोरोना खोपको दुवै डोज लगाइसकेका छन् भने दुई करोड ८० लाख मानिसले पहिलो डोजमात्र लगाएका छन् । यो वर्षभित्र सबै अमेरिकीलाई खोप लगाउनेगरी काम भइरहेको छ ।
अर्कोतर्फ भद्र कूटनीति प्रयोग गर्दै बाइडेनले प्रतिद्वन्द्वी रूस र चीनलाई नियन्त्रण र सन्तुलनको अवस्थामा पु¥याउनुभएको छ । उहाँले पहिलो विदेश भ्रमण (जुन १०–१७) मा युरोपको भ्रमण गर्नुभयो । यो भ्रमण कूटनीतिक र राजनीतिक हिसाबले सफल भयो । उहाँले सहयोगी मुलुकसँग युरोपमा जी सात शिखर सम्मेलन, नेटो शिखर बैठक र अमेरिका रूस शिखर वार्ता गरी स्वदेश फर्कनुभयो । सो भ्रमणबाट उहाँले अमेरिका नै विश्वको नेतृत्वकर्ता भएको पुनःपुष्टि गर्नुभयो । उहाँले रूस र चीनलाई विश्व व्यवस्थालाई असर पार्ने कुनै पनि गतिविधि नगर्न नेटोमार्फत सचेत गराउनुभयो । उहाँले विश्व व्यवस्थालाई सहज बनाउन पश्चिमी विश्व एकजुट भएको सन्देश पनि दिनुभयो । जी सात शिखर सम्मेलनमा बाइडेनले चीनको बीआरआईजस्तै बीथ्रीडब्ल्यू परियोजना घोषणा गर्नुभयो ।
नेटो शिखर बैठकपछि बाइडेनले रूसका राष्ट्रपतिसँग जेनेभामा शिखर वार्ता गर्नुभयो । केही मतभेदबीच उहाँहरूको वार्ता सकारात्मक भयो । सन् २०१८ पछिको यो पहिलो दुई राष्ट्राध्यक्षबीचको वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडेन अनुभवी राजनेता भएको उल्लेख गर्दै दुवैले समान धारणा राखेको बताउनुभयो । दुवै नेताले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न र एक–अर्काका देशमा राजदूत पठाउन सहमति जनाउनुभयो । अमेरिकामा सन् २०२० को राष्ट्रपतीय चुनावमा रूसले हस्तक्षेप गरेको आरोप लागेपछि दुवै देशले छलफलका लागि भन्दै आ–आफ्ना राजदूत फिर्ता गरेका थिए ।
अतः देशलाई नेतृत्व गर्ने एउटा असल नेता पाउँदा उसको कार्यशैली, प्राथमिकता र व्यवस्थापन कौशल सबै फेरिने रहेछ । राम्रो नेतृत्व र उचित व्यवस्थापन प्रणाली विकास गर्न सके जटिल महामारीलगायत जटिल विवाद पनि नियन्त्रण र समाधान गर्न सकिन्छ भन्ने उदाहरण बाइडेन बन्नुभएको छ । 
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?