प्रेमलकुमार खनाल
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपालमा माक्र्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व हुनको साथै नेपालको जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यक्रम अगाडि सार्ने सिद्धान्तकार एवम् गणतन्त्र र समाजवादको सपना देख्ने युगपुरुष हुनुहुन्थ्यो । पुष्पलालको राजनीतिक जीवनको थालनी उहाँका दाजु गङ्गालालको हत्यापछि सुरु भएको पाइन्छ । अत्याचारी राणा शासकले उहाँका दाजु गङ्गालालको विक्रम संवत् १९९७ मा हत्या गरेपछि १६ वर्षका युवा पुष्पलालको मस्तिष्कमा राणा शासकविरुद्ध घृणा सिर्जना भयो । राणा शासनविरुद्ध प्रतिरोधात्मक कदम चाल्नुभएपछि उहाँ जेल पर्नुभयो । जेलबाट छुटेपछि काठमाडौँबाट पाल्पा, भैरहवातिर पुगेर पुष्पलालले राणा शाहीविरुद्ध प्रचार–प्रसार गर्ने काम गर्नुभयो । अत्याचारी राणा शासनविरुद्ध विद्यार्थी र मजदुर आन्दोलन बढ्दै गएको थियोे । देशभित्र खुला राजनीतिक गतिविधि गर्ने स्थिति नहँुदा भारत प्रवासमा रहेर राणाविरुद्ध विभिन्न गतिविधि सुरुवात भए । यहीक्रममा २००२ तिर नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो । पुष्पलाल त्यस पार्टीको कार्यालय सचिव भएर काम गरे पनि नेपाली राष्ट्रिय काँग्रेसभित्रको आन्तरिक कलह तीव्र रूपमा अगाडि बढेको र शोषित, पीडितका पक्षमा उक्त पार्टीले नेतृत्व गर्न नसक्ने ठहर गरी पुष्पलालले उक्त पार्टी छोडेर विसं २००५ मा माक्र्स, एङ्गेल्सद्वारा जारी गरिएको कम्युनिस्ट पार्टीको घोषणापत्रको अनुवाद गरी प्रकाशन गर्नुभयोे । नेपालीमा पहिलोपटक अनुवादित उक्त घोषणापत्रको भूूमिका लेख्नेक्रममा पुस्तकमा नेपाली समाजको वर्गस्थिति, राजनीतिक स्थिति, पुँजीवादी पार्टीको सम्झौतापरस्त र आत्मसमर्पण गर्ने चरित्रको विवेचना गर्दै श्रमजीवी वर्गले आफ्नो मुक्तिका लागि नेपालमा क्रान्ति गरेर समाजवाद स्थापना गर्ने नयाँ बाटोबाट अगाडि बढ्नुपर्ने उल्लेख छ ।
नेपाली भाषामा प्रकाशित यो घोषणापत्र नै नेपालमा पहिलो माक्र्सवादी साहित्यको दस्तावेज थियोे । घोषणापत्र प्रकाशन गरेपछि २००६ साल वैशाख ९ गते तदनानुसार सन् १९४९ अप्रिल २२ तारिखको दिन लेनिनको जन्मदिनको अवसर पारेर पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको हो । पार्टी स्थापना गर्दा संस्थापक महासचिव पुष्पलाल र सदस्यहरूमा नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ रहेका थिए । पार्टी स्थापना भएको दुुई दिनपछि २४ अप्रिलमा नेपाली जनताका नाममा अपिल प्रकाशित गरियो । अपिलमा पार्टी स्थापनाको उद्देश्यबारे “सामन्ती शासनको अन्त्य गर्ने, जनताको पूर्ण अधिकार, नागरिक स्वतन्त्रता, किसान तथा मजदुरको हकहित अधिकारको प्रत्याभूति गर्ने सरकार गठन गर्ने र सामन्तवाद र साम्राज्यवादविरोधी नवप्रजातन्त्र ल्याउन कम्युनिस्ट पार्टी स्थापना गरिएको उल्लेख गरिएको छ । यस्तै पार्टी स्थापनाको चार महिनापछि २००६ भदौ ३० (१५ सेप्टेम्बर १९४९) मा पार्टीको केन्द्रीय सङ्गठन कमिटीको घोषणासँगै पार्टीको प्रथम घोषणापत्र जारी गरियो । घोषणापत्रमा नेपाली क्रान्तिको भावी दिशा १२ बुँदामा उल्लेख गरिएको थियो । जसमा सामन्तवाद एवम् साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति, किसान र मजुदरको नेतृत्वमा निर्वाचित सरकार, संविधानसभाबाट संविधान निर्माण, क्रान्तिकारी भूमिसुधार, श्रमिक एवम् किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्रको निर्माण र सर्वसुलभ शिक्षाजस्ता आधारभूत विषय उल्लेख गरिएको थियो । विसं २००८ असोज ११–१६ गतेसम्म सम्पन्न प्रथम सम्मेलनमा महासचिव पुष्पलालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मुलुकमा नयाँ जनवादी क्रान्ति गरेर अर्धसामन्ती र अर्धऔपनिवेश स्थितिको अन्त्य गर्ने उल्लेख गरेर नेपाली क्रान्तिको कार्यदिशा उल्लेख गरिएको थियो ।
२०१७ मा राजा महेन्द्रले निर्वाचित सरकार, जननिर्वाचित संसद् र बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध गरेपछि केशरजङ्ग रायमाझीले दरबारपरस्त नीति लिए । पार्टीभित्र दक्षिणपन्थी दरबारपरस्त प्रवृत्तिको नेतृत्व हाबी भएपछि तेस्रो महाधिवेशनले केशरजङ्गलाई पार्टीबाट निकालेर पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टी पुनर्गठन गरी नेतृत्व प्रदान ग-यो । तीसको दशकदेखि कम्युनिस्ट आन्दोलनमा नयाँ ढङ्गबाट गठन, पुनर्गठनको अभियान अगाडि बढ्यो । नेपालको कम्युनिस्ट आन्दोलनले सामन्तवादविरोधी राजनीतिक आन्दोलन सञ्चालन गर्दै अगाडि बढ्नेक्रममा पुष्पलालकै विचारका आधारमा निरङ्कुश पञ्चायतविरुद्ध २०४६ सालमा नेपाली काँग्रेस र वाममोर्चाले जनआन्दोलन गरे । ५६ दिनको आन्दोलनक्रममा पञ्चायतको अन्त्य भई बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । २०५९ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि पुष्पलालकै कार्यनीतिका आधारमा संयुक्त जनआन्दोलन भयो । यो जनआन्दोलल ११ वैशाख २०६३ मा गणतन्त्र स्थापना गर्न सफल भयो ।
पुष्पलालले पार्टी स्थापनाका बेला अगाडि सार्नुभएको संविधानसभाको एजेन्डा २०६५ सालमा पूरा भयो । झन्डै सात वर्ष लगाएर दोस्रो संविधानसभाबाट संविधान घोषणा भयो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका शक्तिको सहमतिमा जनता सार्वभौमसत्तासम्पन्न रहने र समाजवादको आधार निर्माण गर्ने संविधान निर्माण भएको छ । यसरी २०६२/०६३ मा भएको युगान्तकारी परिवर्तनबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना र यसको संवैधानिक सुनिश्चितताले, मुलुकमा शान्तिपूर्ण तवरले नै राजनीतिक क्रान्ति सम्पन्न भएको छ । क्रान्तिका उपलब्धि संस्थागत गर्न वाम एवम् लोकतान्त्रिक शक्तिको सहकार्यमा समाजवादउन्मुख संविधान निर्माण भएको छ । यसबाट पुष्पलालले अगाडि सार्नुभएको जनवादी राजनीतिक क्रान्तिको लक्ष्य पूरा भएको छ । नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्न समाजवादी क्रान्ति गर्दै मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनुपर्ने दायित्व संविधान निर्माणका मुख्य दलको अभिभारा हो ।
पुष्पलालको अगुवाइमा स्थापना भएको कम्युनिस्ट पार्टी ७२ वर्षमा आइपुग्दा नेपाली समाजमा विकास भएको चेतनाको जगमा द्वन्द्वात्मक भौतिकवादी एवम् माक्र्सवादी विचारले बहुसङ्ख्यक नेपालीलाई प्रभावित गरेको छ । सुरुमा पाँचजनाबाट स्थापना भएको कम्युनिस्ट पार्टीमा आज लाखौँ लाख मानिस आबद्ध भएका छन् ।
पुष्पलालको अगुवाइमा स्थापना भएको कम्युनिस्ट पार्टीमा पहिलो महाधिवेशनदेखि दक्षिणपन्थी रुझानहरू नेतृत्वमा देखापरे । दोस्रो महाधिवेशनमा राजापरस्त रायमाझीले नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी एवम् आत्मसमर्पणवादी चिन्तन एवम् प्रवृत्ति बढ्दै गए । ३० को दशकदेखि अगाडि बढेको पार्टी पुनर्गठनको प्रक्रियाले यस्ता प्रवृत्तिलाई परास्त गर्दै अगाडि बढ्यो । २०६२÷०६३ को आन्दोलनमा गणतन्त्रको कार्यदिशाविरुद्ध दक्षिणपन्थी, यथास्थितिवादी सोच–चिन्तन र विचार प्रकट भयो । अहिले फेरि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादले टाउको उठाउँदै छ । नेपालको कम्युनिस्ट आन्दोलनले चुनौतीको सामना गर्दै नयाँ कार्यदिशासाथ अगाडि बढ्नुपर्ने भएको छ । नेपाली अर्थराजनीतिमा हाबी हँुदै गएको दलाल पुुँजीवादलाई नियन्त्रण र अन्त्य गरी राष्ट्रिय पुुँजी निर्माण गरी उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकीकरणको थालनीसँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनुपर्ने दायित्व वामपन्थीसामु आएको छ । राष्ट्र र जनताको यही अभिभारा पूरा गर्न २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भई दुईतिहाइ जनमतसाथ सरकार गठन भएको हो । पहिलोपटक प्रतिनिधि विघटनविरुद्ध फागुन २३ मा अदालतबाट भएको फैसलापछि दुई पार्टी विधिवत् हिसाबले एकता पूर्वअवस्थामा पुगेका छन् । फागुन २८ गते गरिएको निर्णयले नेकपा एमालेलाई एकताबद्व रूपमा अगाडि बढाउन समस्या भएको छ । जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधानको रक्षा र कार्यान्वयन गरी विकास र समृद्धि हासिल गर्दै आर्थिक सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्नुपर्नेछ । यस्तो बेला पुष्पलालले अगाडि सार्नुभएको वाम एवम् लोकतान्त्रिक शक्तिबीचको सहकार्यको कार्यनीतिको सान्दर्भिकता झन् बढेर गएको छ । एकातिर राजावादी पुनरुत्थानवादी शक्तिहरू खुलमखुला सडकमा ओर्लिएर राजा आऊ, देश बचाऊ भन्दै गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरुद्ध नाराबाजी गरिरहेका छन् भने अर्कोतिर असंवैधानिक तवरले संसद् विघटन गरेर अध्यादेशका भरमा शासन सञ्चालन गर्नेखालको जुन गतिविधि भयो, यसविरुद्ध राजनीति एवम् न्यायिक सङ्घर्षको परिणामस्वरूप सम्मानित अदालतबाट प्रतिनिधिसभाको दोस्रोपटक पनि पुनःस्थापना भएको छ । लोकतान्त्रिक–वाम शक्तिको पाँचदलीय गठबन्धनको सरकार गठन भएको छ ।
लोकतन्त्रको रक्षा र राष्ट्रियतामा देखापरेका चुनौती सामना गर्न एकठाउँमा खडा भएर कसिलो ढङ्गले सहकार्य गर्दै अगाडि बढ्न आवश्यक छ । अब पाँच दलको गठबन्धनले चाहे संयुक्त सरकारको नेतृत्व गर्दा होस्, चाहे प्रतिगमन र सर्वसत्तावादविरुद्ध आन्दोलन गर्दा होस् संविधानले देखाएको बाटोबाट अगाडि बढदै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवालमा देखापरेका समस्या समाधान गर्न न्यूनतम साझा नीति तथा कार्यक्रम बनाएर जनता समक्ष ल्याउन जरुरी छ ।
यस सन्दर्भमा राष्ट्रियता र राष्ट्रिय सुरक्षामा आँच पुग्ने एमसीसी सम्झौता खारेज गर्ने, भारतबाट लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रलगायत देशका अन्य भागमा भएको अतिक्रमण बन्द गर्न भारत सरकारसँग शीघ्र राजनीतिक एवम् कूूटनीतिक तहबाट वार्तालाई अगाडि बढाउन आवश्यक छ । विगतका असमान सन्धि सम्झौताको पुनरावलोकन गरी पारस्परिक लाभ र समानताका आधारमा सन्धि सम्झौता गर्न पहलकदमी गर्नुपर्नेछ । वास्तविक नेपाली नागरिकले नागरिकता पाउने र विदेशी नागरिकले जथाभावी नागरिकता पाउनेमा व्यवस्था कडाइसाथ नियन्त्रण गर्नुपर्नेछ । नेपाल इन्डोप्यासिफिक रणनीतिजस्तो सैनिक गठबन्धनमा संलग्न नहुने तथा पञ्चशील र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने नीतिका साथ भूमिका निर्वाह गर्ने सुनिश्चितता र विगतमा राज्य सत्ता सञ्चालन गर्दा भएका कमीकमजोरीलाई पनि पाँचदलीय गठबन्धनले गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ । यस्तै सबै नेपालीलाई कोरोनाको भ्याक्सिन निःशुल्क उपलब्ध गराई महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेछ । राहत र रोजगारीको कार्यक्रमको घोषणा, भ्रष्टाचार नियन्त्रण र सुशासनका मूल्य मान्यता स्थापित गर्न पाँचदलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाउन जरुरी छ ।
अन्त्यमा पुष्पलालले अगाडि सार्नुभएका विचारलाई आत्मसात् गर्दै वाम एवम् लोकतान्त्रिक शक्तिले सहकार्य गर्दै अगाडि बढ्दा मात्रै मुलुकको लोकतान्त्रिक तथा वाम आन्दोलनलाई अगाडि बढाउन सकिन्छ र संविधानले दिशाबोध गरेअनुरूप आर्थिक, सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्न सकिन्छ ।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।)