logo
२०८१ मंसिर ८ शनिवार



नेपाली काँग्रेसको रूपान्तरण

विचार/दृष्टिकोण |




राजकुमार सिवाकोटी

राजनीतिक दल लोकतन्त्रमा राज्य गर्ने शक्ति हुन् । दलका कार्यक्रमले राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गचित्र निर्धारण गर्छ । दलले लोेकतान्त्रिक शासन व्यवस्थामार्फत राजनीतिक परसांस्कृतिक–स्वसंस्कृतीकरण, राजनीतिक सामाजिकीकरण, सामाजिक परिचालन र सामाजिक आधुनिकीकरणजस्ता प्रक्रियालाई आत्मसात् गरी सामाजिक रूपान्तरणको खाका तयार गर्नुपर्छ । नेपालमा त्यसो हुन नसक्दा प्रजातान्त्रिक व्यवस्थाभित्र धेरै विकृतिले प्रवेश पाएका छन् ।
राजनीतिक दल लोकतन्त्रका प्रमुख अभिकर्ता भए पनि सत्तास्वार्थको द्वन्द्व र अन्तरपार्टी लोकतन्त्रको अभावमा दलभित्रको द्वन्द्व समाधान गर्न चुकेका छन् । दलभित्र सुविधाभोगी, अस्थिरता, भ्रष्टाचार, अपराधीकरण, दण्डहीनता, स्रोतसाधनको दुरुपयोग तथा जवाफदेहिता र पारदर्शिताको अभावजस्ता दर्जनाँै विकृति संस्थागत हुँदै आएका छन् । जसले क्रमिक रूपमा लोेकतान्त्रिक प्रणालीलाई कमजोर र अवरुद्ध बनाउँदै लगेको छ । दलहरूमा राजनीतिक सिद्धान्तको ह्रास, असंसदीय आचरण, दलीय क्रियाकलापको अपारदर्शिता, महँगो निर्वाचन, राष्ट्रियताका सवालमा साझा अडान र सोचको अभाव बढ्दो छ । यस्ता कारणले बहुलवादी लोकतन्त्रको जगलाई कमजोर बनाएको छ । बहुदलीय लोकतन्त्रको संस्थागत विकास हुनुको बदला यसको जग नै कमजोर बन्न सक्ने अवस्था देखिएको छ ।
लोकतन्त्रमा सफल राजनीतिक दल निष्ठा र इमानदारीसाथ प्रस्तुत हुन्छन् । नागरिक र राज्यप्रति अत्यन्तै जवाफदेही हुन्छन् । जवाफदेही राजनीतिक दलले मात्र राज्यलाई सही मार्गनिर्देशन गर्न सक्छ । लोकतान्त्रिक परिपाटीले घनिभूत भएको दलले मात्र देश र जनताको भविष्यलाई विश्लेषण गर्दै दृष्टिकोण प्रस्तुत र प्रक्रिया स्थापित गर्छ तर नेपालमा सत्यको कसीमा जवाफदेही लोकतान्त्रिक दलको उदाहरण दुर्लभ छ । त्यसैले इतिहासले रचेको यो परिदृष्यको वेदीमा हाम्रा राजनीतिक दलको सुधार र पुनःसंरचना गर्ने समय बित्न लागेको छ । नेपाली नागरिकले दलभित्र आमूल रूपान्तरणको अभिलाषा लामो समयदेखि राख्दै आएका हुन् । यसै घुम्तीमा नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । महाधिवेशनले काँग्रेसको रूपान्तरणप्रति नेपाली नागरिकको चाहनालाई कसरी सम्बोधन गर्छ, यो प्रतीक्षाको विषय भएको छ । कतिपय काँग्रेसका नेताभित्र सङ्कीर्ण राजनीतिक संस्कार हुर्कंदै छ र सहिष्णुताको अभाव छ । यसले गर्दा नागरिक तहमा पार्टीको साख गिर्न सक्छ । साखको पुनःस्थापना गर्न काँग्रेसको सुधार र पुनःसंरचना जरुरी छ । अर्कोतर्फ, पार्टीभित्रको आन्तरिक लोकतन्त्रको मुद्दालाई महाधिवेशनले टुङ्गो लगाउनुपर्नेछ । काँग्रेसका लागि यो एउटा अवसर पनि हो ।
नेपाली राजनीतिमा लामो इतिहास बोकेको काँग्रेसले मुलुकको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पु¥याएको छ । काँग्रेसले धेरै आरोह अवरोहको सामना गर्दै आएको छ । कतिपय परिस्थितिमा लोकतन्त्रको पक्ष र विपक्षमा यसका नेताहरू प्रस्तुत भएको इतिहास पनि छ । समग्रमा यस काँग्रसको मूलभूत कमजोरी भनेको आन्तरिक लोकतन्त्रको अभाव हो । जसले गर्दा नेपाली काँग्रेसले आफ्नो इतिहासमा विजय र पराजयलाई बराबर सामना गर्नुपरेको छ । तथापि विगतका कमीकमजोरीलाई सच्चाउने र भविष्यमा निष्ठापूर्ण रूपमा प्रस्तुत हुने अवसर अहिले काँग्रेसलाई आएको छ । लोकतान्त्रिक संस्कृति विकास र विस्तार गर्न यो दलले आफूलाई समर्पण गर्न जरुरी छ । काँग्रेसले प्रजातान्तिक संस्कृति हुर्काएन भने नेपालमा अरू कुन दलले यस्ता काम गर्न सक्छन् ? काँग्रेसले सम्पादन गरेका राजनीतिक क्रियाकलाप तथा राखेका दृष्टिकोणले मुलुकलाई के–कस्ता प्रभाव पा¥यो र कस्तो राजनीतिक संस्कार स्थापित ग-यो भन्ने कुराले दूरगामी अर्थ राख्छ ।
विगतका केही सिकाइ र भोगाइका दृष्टान्त हेर्दा नेपाली काँग्रेसको नेतृत्वको पटक–पटकका सरकारले संसदीय अभ्यासका लोकतान्त्रिक मूल्य–मान्यता र आदर्श स्थापित गर्न सकेनन् । २०४८ को निर्वाचनपछि ३६ र ७४ को अङ्कगणित होस् वा काँग्रेसलाई फुटाएर नेपाली काँग्रेस (प्रजातान्त्रिक)को स्थापना गरिएका घटना हुन्, कुनैले पनि प्रजातन्त्रलाई सुदृढ गरेका छैनन् । लोकतन्त्रको संस्थागत विकास र सुधारका लागि यस्ता प्रवृत्ति दुर्भाग्यपूर्ण थिए । कतिले फुटलाई सत्ता प्राप्तिको औजार बनाए । काँग्रेसको नेतृत्व पारिवारिक विरासतबाट वाक्क भएका कतिपयले पार्टी विभाजनलाई विकल्पका रूपमा समेत लिए । काँग्रेसमा भएको फुट र जुटले लोकतन्त्रको संस्थागत विकासमा के मनोवैज्ञानिक असर पा¥यो भन्ने साह्रै ठूलो विश्लेषणको पाटो बनेको छ । निःसन्देह यस कार्यले तत्कालीन समयमा विद्रोही पक्ष र दरबारलाई बल पु¥याएकै हो । लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएकै हो । नागरिक सर्वोच्चतामाथि तुषारापात भएकै हो ।
काँग्रेस नेतृत्वको सरकारले मानवअधिकार उल्लङ्घनका सवालमा अन्तर्राष्ट्रिय समुदायसामु गरेका प्रतिबद्धता बिर्सन हुँदैन । विविध राजनीतिक समस्या र कोभिड–१९ लगायतका सामाजिक चुनौतीबीच आसन्न काँग्रेस महाधिवेशनले दलको आन्तरिक सुधार, पुनःसंरचना, विगतको समीक्षा र भविष्यको मार्गचित्र कसरी तय गर्छ भन्ने विषयलाई चासोसाथ नागरिकले प्रतीक्षा गरिरहेका छन् । अपेक्षा गराँै महाधिवेशन गुटगत राजनीति र स्वार्थयुक्त नौटङ्कीमा सुरु भएर यसैमा अन्त्य नहोस् । महाधिवेशनले सक्षम नेतृत्व छान्ने हो । त्यस्तो नेतृत्वले देश र नागरिकको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ । मुलुकको राष्ट्रिय पुँजी, ऊर्जा र प्रविधिलाई जोडेर कार्यादेश दिन सक्नुपर्छ । पुँजीवादी उत्पादन प्रणालीको प्रतिस्पर्धाका प्रभाव र समाजवादी आर्थिक कार्यक्रमबीच सन्तुलन गर्नुपर्छ । यसका लागि नीति, कार्यक्रम र कार्यावन्यन संयन्त्र बनाउन सक्ने सामथ्र्य राख्नुपर्छ । यद्यपि, यो पाटोमा हाम्रा राजनीतिक दल चुकेका छन् । उदाहरणका लागि नेपाली नागरिकको ७० प्रतिशत हिस्सा निर्वाहमुखी कृषि प्रणालीमा आश्रित छ । यस क्षेत्रले ३० प्रतिशत हाराहारीमा कुल गार्हस्थ उत्पादनमा योगदान गरेको छ । यद्यपि, कृषक मल, बीउ र कृषि उपकरणप्रति राष्ट्रिय उत्पादनमा निर्भर छैनन् । दलले त परै जावोस् युवा पुस्ताका भरोसायोग्य भनिएका नेताले पनि राष्ट्रिय सीप, पुँजी र प्रविधि विकासबारे कुनै सपना साँचेको पाइँदैन । उनीहरूले नेपालमा फलाम खानी छ, उत्पादन सुरु गराँै र पाँच वर्षभित्रमा नेपालीलाई चाहिने कृषि उपकरण नेपालमै बनाऊँ भनी लेखेको र बोलेको सुन्नमा आएको छैन ।
हामीले यी अहम् सवालका चक्रमा २१औँ शताब्दीमा कुन नेतालाई भरोसा गर्ने ? यस्तो अवस्थामा कसरी राष्ट्रियता र राष्ट्रिय पुँजीवादको प्रवद्र्धन हुन्छ ? यी सवाललाई काँग्रेसको महाधिवेशनले सूक्ष्म रूपमा समीक्षा गर्नुपर्छ । यो महाधिवेशनले त्यस्तो आदर्श नेतृत्व खोजोस्, जसले नेपालीले देखेको समुन्नत नेपालको सपनालाई डो-याउन सकोस् । पद, नाम र दामको सेरोफेरोमा घुमेको राजनीतिक चक्रलाई क्रमभङ्ग गर्न सकोस् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?