डा. दामोदर रेग्मी
प्रजातन्त्र आदर्श शासकीय पाटोको सुन्दर र अपरिहार्य पक्ष हो । यो जनमुखी शासन प्रणालीको प्रतिरूप हो । प्रजातन्त्रले राजनीतिक आयामको सशक्तीकरण गर्दै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामथ्र्य राख्छ । जनताले वास्तविक प्रजातन्त्रको अनुभूति मूलतः दुई तहबाट गर्न पाउँछन् । पहिलो, राजनीतिक परिपाटीले अँगालेको समग्र शासकीय परिपाटी र दोस्रो, जनताले सेवा प्राप्ति गर्ने बिन्दुमा रहेका प्रशासनिक संयन्त्रको उपस्थिति र प्रभावकारिता । यसबाट शासन प्रणालीप्रति जनताको अपनत्वबोध रहेको हुन्छ । प्रजातान्त्रिक सरकार सधैँ असल, प्रभावकारी, जनमैत्री एवं जनसरोकारको शीघ्र सम्बोधन गर्ने कार्यमा तल्लीन रहेको हुन्छ । सार्वजनिक प्रशासकहरू सेवा प्रवाहका प्रभावकारी मध्यस्थकर्ता हुन् । सरकार सार्वजनिक सेवाको आपूर्तिकर्ता हो भने जनता सार्वजनिक सेवाको मागकर्ता हुन् । सरकार र जनताको सम्बन्ध सेवाको वितरक र प्रापकको रूपमा रहेको हुन्छ । सरकार र जनताको बीचमा सेवा प्रवाहको जिम्मा लिएर बसेको प्रशासनयन्त्र वा सार्वजनिक प्रशासन जति प्रभावकारी भयो, त्यति नै जनताको सरकारप्रति सन्तुष्टि र अपनत्वबोध कायम हुन जान्छ । प्रजातान्त्रिक सरकारको कार्यशैलीलाई प्रभावकारी बनाई प्रजातन्त्रको सम्बद्र्धन गर्ने कार्यमा प्रशासनको भूमिका विविध आयाममा महत्त्वपूर्ण रहने गर्छ ।
सार्वजनिक प्रशासन राज्यद्वारा जनतासमक्ष प्रतिबद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिका लागि निरन्तर दत्तचित्त भई तयारी अवस्थामा रहनुपर्ने र सक्रिय भइरहनुपर्ने अङ्ग हो । सार्वजनिक प्रशासन सेवा प्रवाहको विषयसँग ज्यादै नजिकबाट परिचित हुनुपर्ने, विज्ञ र व्यावसायिकसमेत हुनु पर्छ । यही विज्ञता र व्यावसायिकताबाट सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूति गर्ने कार्यमा प्रशासनको भूमिका महìवपूर्ण हुने गर्छ । सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूतिबाट नै प्रजातान्त्रिक शासन संयन्त्रप्रति जनताको विश्वास वृद्धि हुन जान्छ ।
राज्यले जनतासमक्ष पु-याउनुपर्ने सेवा सुविधालाई विषयगत विज्ञताको आधारमा जनताको निकटतम दूरीमा रहेर सेवा प्रवाह गर्ने उद्देश्यका साथ नीतिगत विषयका लागि विभिन्न क्षेत्रगत मन्त्रालयहरू, विकासात्मक कार्यका लागि क्षेत्रगत मन्त्रालयअन्तर्गत आवश्यकताअनुसार विभागहरू र सेवा प्रवाहका लागि स्थानीय तहहरूमा विभिन्न कार्यालयको व्यवस्था गरिएको हुन्छ । दूरदराजसम्म फैलिएको यो बृहत् संयन्त्रले जनतालाई सेवा प्रवाह गर्ने आधारशीला प्रदान गरेको मात्र होइन कि राज्यको उपस्थितिसमेत देखाइरहेको हुन्छ । जनताको निकटतम दूरीमा रहेको उपस्थितिले जनताले सार्वजनिक सेवाको सहज प्राप्ति तथा आफ्नो चाहना र आवाजलाई प्रशासनिक संयन्त्रमार्फत सरकारसम्म पु-याउने अवसर पाउँछ । जुन कुरा आमनागरिकले प्रजातन्त्रको अनुभूति गर्न सक्ने महìवपूर्ण आधार हो ।
प्रशासनविज्ञ व्यावसायिक, क्षमतावान व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो । यसै कारणले सरकारी नीति निर्माण तथा कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवेशमा हेर्न सकिन्छ । प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) बीचको प्रभावकारी तथा असल सम्बन्ध सेतु हो । प्रशासनयन्त्रको सकारात्मक सक्रियताले राजनीतिज्ञले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति नियम र प्रक्रियामा आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गराउन सक्छन् । यसका साथै नीति कार्यान्वयनको क्रममा जनअपेक्षाको सम्बोधन भयो–भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकतासहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र शासकीय प्रणालीको संवाहक तथा प्रजातान्त्रिक शासन प्रणालीका लागि अपरिहार्य पक्ष हो ।
प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अङ्ग हुन् । राजनीति सधैँ भविष्यद्रष्टा, महत्त्वाकाङ्क्षी, शीघ्र परिणाम खोज्ने, जोखिम लिने र परिणामको उपलब्धताबाट सरकारको लोकप्रियता खोज्ने तथा यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ । यस्तो चाहनाको परिपूर्ति राजनीतिज्ञ आफैँ एक्लैले गर्न सक्दैन । यसमा कानुनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्छ । प्रशासनयन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसँग पूर्ण परिचित हुन्छ । राजनीतिज्ञले भविष्यको अमूर्तचित्रको परिकल्पना गर्छ भने प्रशासनयन्त्रले त्यसलाई मूर्त रूप दिने प्रयत्न गर्छ । राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र बसका इन्जिन हुन् । चालकले चालकको भूमिका सही रूपमा सम्पादन गर्ने र इन्जिन सधैँ चलायमान रहने हो भने यात्रा सदा सुखद र सुरक्षित रहन्छ । यदि यी दुवैले आफ्नो भूमिका सही रूपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज बन्न सक्छ । यसर्थ यी दुवैबीच कायम भएको लक्ष्मणरेखाको मर्यादाभित्र रही सहयोगी र परिपूरक अङ्गको रूपमा प्रशासन रहनु आवश्यक छ ।
प्रजातान्त्रिक शासन प्रणालीमा सरोकारवालाको उपस्थिति र सम्बन्ध महìवपूर्ण विषय मानिने गर्छ । सार्वजनिक सेवा विविध सरोकारवालाको अन्तरसम्बन्धको सम्मिश्रण भएको हुँदा यी सरोकारवालाको बीचमा धेरै आवश्यकता रहेका हुन्छन् । आवश्यकताको सम्बोधनको आधारमा नै सरोकारवालाको सम्बन्ध निर्धारण हुने गर्छ । यस्ता आवश्यकताको एकल वा सामूहिक प्रयत्नद्वारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरूको व्यवस्थापन हो । सार्वजनिक आवश्यकताको माग र आपूर्तिमा धेरै सरोकारवालाको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सबै सरोकारवालाको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यो नै सार्वजनिक मामिलाको व्यवस्थापनको सुन्दर पक्ष हो । प्रजातान्त्रिक शासकीय प्रणालीमा सरोकारवालासँग सहकार्य र समन्वय क्षमताबाट सार्वजनिक मामिलाको व्यवस्थापनमा सार्वजनिक प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ।
सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महìवपूर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता र कार्यगत विशिष्टतायुक्त हुन्छ । प्रजातान्त्रिक वातावरणमा समय, शिक्षा, प्रविधिको परिवर्तनसँगै राजनीतिक र शासकीय आयामहरू धेरै परिवर्तनीय हुन्छन् र परिवर्तनले स्वभावतः सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयाम सिर्जना गर्छन् । यस्ता परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्छ । सार्वजनिक प्रशासन राज्यद्वारा जनतासमक्ष प्रतिबद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिका लागि निरन्तर रूपमा दत्तचित्त, सधैँ तयारी अवस्थामा र सक्रिय रहनुपर्ने अङ्ग हो । जसरी समयको परिवर्तन भएको हुन्छ, तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ । त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ । अन्ततः लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्छ । त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूतिजस्ता क्षेत्रमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । यस्ता आवश्यकताको परिपूर्ति गर्नसक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरू हुन् । यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन, समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्छ । राज्य संयन्त्रप्रति जनताको अपनत्वबोध कायम गर्न प्रशासनयन्त्रको सकारात्मक भूमिकाले सरकारप्रति जनमानसमा विश्वसनीयता वृद्धि भई जनअपनत्वयुक्त दिगो सरकार बन्न सक्छ ।
व्यावसायिक प्रशासन प्रजातन्त्रको अर्को अपरिहार्य पक्ष हो । व्यावसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो, जसले कम साधन स्रोतको अत्यधिक उपयोग गरी उत्पादकत्वमा वृद्धि ल्याउने सामथ्र्य राख्छ । साधन स्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपूर उपयोग र निर्धारित समायावधिभित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यावसायिक प्रशासनको गुण हो । आफ्नो कामप्रति पूर्णप्रतिबद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमानदारिता, विश्वास र लक्ष्यप्रति प्रतिबद्ध जनशक्तिले नै व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्छ । व्यावसायिक प्रशासन नै प्रजातन्त्रको सुदृढीकरणको आधारशीला हो । अवधारणागत रूपमा प्रजातन्त्र राजनीतिक आयामसँग सम्बन्धित विषय भएकोले यो साध्य हो । प्रजातन्त्र असल शासन प्रणालीको पाटो भएकोले यो साधन पनि हो । साधनको प्रभावकारिता त्यतिबेला मात्र प्रतिविम्बित हुन्छ, जतिबेला यसको प्रभावकारी रूपमा परिचालन गरिन्छ । प्रजातन्त्रको आदर्श पक्षलाई यथार्थमा परिणत गर्ने दायित्व शासकीय परिपाटीमा संलग्न निकाय, संस्था र पदाधिकारीहरूमा निर्भर रहेको हुन्छ । प्रशासन शासकीय संयन्त्रको स्थायी संरचना भएकोले प्रजातन्त्रको सुदृढीकरण, सबलीकरण र प्रभावकारिता अभिवृद्धिमा प्रशासनको भूमिका सधैँ महìवपूर्ण रहने गर्छ ।
सङ्घीयता राज्यसत्ताको अधिकारको प्रयोग राज्यका बहुसरकारबीच विनियोजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रतिक्रिया हो । यसैले पनि सङ्घीय शासन प्रणाली बढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । सङ्घीय शासन प्रणाली बहुसरकारबीचको साझा प्रतिज्ञापत्र हो । यसले राष्ट्रिय उद्देश्य प्राप्ति, स्वशासन र साझा शासनको आदर्श परिकल्पनामार्फत जनताको निकटतम बिन्दुमा रहेर जनकल्याणको क्षेत्रमा दत्तचित्त रहने अभिलाषा राखेको हुन्छ । यसै पृष्ठभूमिमा सङ्घीयताले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारणको सहभागिता र अवसरको सुनिश्चितता गर्ने संयन्त्र मात्र होइन, समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विविधतालाई पनि सम्बोधन गरी शासन प्रणालीप्रति जनअपनत्व जुटाउने उद्देश्य राखेको हुन्छ । यी सबै कार्यमा सार्वजनिक प्रशासनको प्रभावकारी भूमिका रहने गर्छ ।