logo
२०८१ जेष्ठ ५ शनिवार



सञ्चारकर्मीलाई नोबेल शान्ति पुरस्कार

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभयो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्तित्वलाई नोबेल पुरस्कार दिन थालिएको हो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फ यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन थालियो ।
यी पुरस्कार स्वरूप विजेतालाई स्वर्ण पदक, प्रमाणपत्र र १० लाख डलर प्रदान गरिन्छ । नोबेलले जम्मा ३५५ वटा आविष्कार गर्नुभयो, जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंशक शक्तिबारे पूरै ज्ञान थियो । मर्ने बेलामा उहाँले विज्ञानकोे दुरुपयोग नहोस् भनी पुरस्कार स्थापना गर्नुभयो । सन् १८९६ को डिसेम्बर १० मा उहाँको निधन भयो । सन् १८९५ मा उहाँले इच्छापत्र तयार पार्न लगाई आफ्नो सम्पत्तिबाट अक्षयकोष खडा गर्नुभयो । उहाँको इच्छाअनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक वर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने व्यक्ति वा संस्थालाई सम्मानित गरिन्छ । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेञ्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो ।
शान्तितर्फको पुरस्कार नर्वेको ओस्लोबाट र अन्य पुरस्कार स्वीडेनको स्टोकहोल्मबाट प्रदान गरिन्छ । यस वर्ष भने कोरोना महामारीका कारण नोबेल विजेताहरूलाई सम्बन्धित देशबाटै पुरस्कार उपलब्ध गराउने व्यवस्था गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ । यस वर्षका नोबेल विजेताहरू

चिकित्साशास्त्र
शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई यस वर्षको नोबेल पुरस्कार दिइने भएको छ । वैज्ञानिक डेभिड जुलियस अमेरिकी र आर्डम पाटापोटियन लेबनान मूलका अमेरिकी नागरिक हुनुहुन्छ । दुवैलाई संयुक्त रूपमा चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ । उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो । शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुनेछ ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा समेत अध्ययन गर्नुभएको थियो । त्यस्तै, पाटापोटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाब वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लागेको थियो । गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिक जे एल्टर, माइकल हटन र चाल्र्स एम राइसलाई दिइएको थियो ।

भौतिकशास्त्र
भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिका, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले अमेरिकाका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासेलमन र इटलीका गियोर्जियो परिसीलाई भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गर्नुभएको हो । मानाबे र क्लाउसलाई उनीहरूको पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबडीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । यी वैज्ञानिकहरूले पृथ्वीको जलवायु र मानवीय क्रियाकलापले त्यसलाई कसरी प्रभावित पार्छन् भन्नेबारेको अध्ययन गर्नुभएकोे छ । उहाँहरूको अध्ययनले पृथ्वीको जलवायु कसरी परिवर्तन भइरहेको छ र त्यसमा मानवीय क्रियाकलापले पार्ने प्रभाव बुझ्न सघाउँछ । गत वर्ष ब्ल्याक होल र आकाशगङ्गा तारापुञ्जको रहस्य पत्ता लगाउने बेलायत, जर्मनी र अमेरिकाका तीन वैज्ञानिक रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिएको थियो ।

रसायनशास्त्र
अणु निर्माण कार्य विकसित गर्ने वैज्ञानिकद्वयलाई सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटीले वैज्ञानिकद्वय बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रूपमा उक्त पुरस्कार दिने निर्णय गरेको हो । उहाँहरूको कार्यले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको कमिटीले जनाएको छ ।
जर्मन नागरिक लिस्ट र अमेरिकी नागरिक क्याकमिलनको खोजले रासायनिक अणुहरूलाई कसरी सँगसँगै राख्ने भन्ने नयाँ अवधारणा विकसित भएको छ । यो नयाँ औजार यसअघि नै औषधिको विकासलगायतका नयाँ आविष्कारका लागि प्रयोगमा आइसकेको छ । यसले मानवजगत्लाई ठूलो फाइदा पु¥याइरहेको छ । वैज्ञानिकद्वयले छुट्टाछुट्टै रूपमा अध्ययन, अनुसन्धान गरेका भए पनि कमिटीले पुरस्कार भने संयुक्त रूपमा दिने निर्णय लिएको हो । ५३ वर्षीय म्याकमिलन अमेरिकाको न्युजर्सीस्थित प्रिन्स्टन विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक हुनुहुन्छ । त्यस्तै, जर्मनीको फ्याङ्कफर्टका ५३ वर्षीय लिस्ट कोलोग्न विश्वविद्यालयमा
प्राध्यापन गर्नुहुुन्छ ।

साहित्य
यस वर्षको नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ । स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो । तान्जानियाको जन्जिबारमा जन्मिएका गुर्नहले बेलायतमा बसेर अङ्ग्रेजीमा लेख्दै आउनुभएको छ । ‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ निरन्तरको लेखनलाई आधार बनाएर उहाँलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ । सन् १९४८ मा तान्जानियाको जन्जिबार टापुमा जन्मिएका उहाँ सन् १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत प्रवेश गर्नुभएको थियो । सन् १९६३ मा बेलायती उपनिवेशबाट मुक्त भएको जन्जिबारमा राष्ट्रपति अबिद कारुमेको शासन कालमा अरबी मूलका नागरिकमाथि शोषण, अत्याचार र नरसंहारसम्मका गतिविधि भएका थिए । गुर्नहको परिवार पनि पीडित अल्पसङ्ख्यक समुदायमा थियो । त्यसैले, उहाँको परिवार पनि मुलुक छाड्न बाध्य भएको थियो । गत वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई प्रदान गरिएको थियो ।

शान्ति
यस पटकको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटीले फिलिपिन्सकी पत्रकार रेसा र रुसी पत्रकार मुराटोभलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । वाक स्वतन्त्रताका लागि पत्रकारिताका माध्यमबाट उहाँहरूले गरेको लडाइँको सम्मान गर्दै उक्त पुरस्कार दिइएको कमिटीले जनाएको छ । ‘स्वतन्त्र तथा तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग, ढाँट र युद्धबारे गरिने सङ्गठित प्रचारलाई रोक्न सहयोग गर्छ’, कमिटीकी अध्यक्ष बेरिट रेस एन्डर्सनले पुरस्कार घोषणापछि भन्नुभयो । उहाँले वाक र प्रेस स्वतन्त्रताको अभावमा देशहरूबीचको भ्रातृत्व, निशस्त्रीकरण तथा राम्रो संसार निर्माण गर्न नसकिने बताउनुभयो ।
सन् २०१२ मा सुरु गरिएको ¥याप्लर नामक अनलाइन समाचार पोर्टलकी सहसंस्थापक पत्रकार रेसाले उक्त पोर्टलमार्फत राष्ट्रपति रोड्रिगो डुटर्टेको शासनकालमा भएका विवादास्पद, आपराधिक क्रियाकलाप तथा लागूपदार्थविरुद्धको अभियानअन्तर्गत भएका गतिविधिलाई समाचार बनाएर सार्वजनिक गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालको प्रयोगमार्फत गलत समाचारको कसरी प्रचारप्रसार गरिन्छ, प्रतिद्वन्द्वीलाई कसरी धम्क्याइन्छ र आमधारणालाई कसरी बङ्ग्याइन्छ भन्ने विषयमा समाचार लेख्दै आउनुभएको छ । पुरस्कारका लागि छनोट भएपछि उहाँले यो निर्णयबाट फिलिपिन्स सरकार खुसी नहुने बताउनुभयो ।
त्यस्तै, रुसी पत्रकार मुराटोभ सन् १९९३ मा स्थापना गरिएको पत्रिका नोभाया गजेटाका एक संस्थापक हुनुहुन्छ । रुसको सबैभन्दा स्वतन्त्र पत्रिका नोभाया गजेटा हो र यो पत्रिकाले शक्तिको गलत प्रयोगप्रति जहिले पनि आलोचनात्मक भूमिका निर्वाह गर्दै आएको नोबेल कमिटीले जोड दिएको छ । ‘तथ्यमा आधारित पत्रकारिता र व्यावसायिक निष्ठाका कारण यो पत्रिका रुसी समाजका लागि समाचारको विश्वसनीय स्रोत बनेको छ । अन्य समाचार संस्थाभन्दा फरक हिसाबले यो पत्रिकाले रुसी समाजका लागि सेन्सरयोग्य मानिने समाचार सामग्री प्रकाशन गर्दै आएको छ’, कमिटीले भनेको छ ।
पुरस्कार घोषणापछि रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकार मुराटोभ प्रतिभावान् र बहादुर भएको बताउनुभयो । ‘हामी मुराटोभलाई बधाई दिन सक्छौँ । उहाँले लगातार मूल्य र निश्चित आदर्शमा आधारित काम गर्नुभएको छ’, प्रवक्ता पेस्कोभले भन्नुभयो ।
विश्वमा हाल ‘फेक’ समाचारले वाक स्वतन्त्रतामा जोखिम बढाएको उल्लेख गर्दै फिलिपिनी पत्रकार रेसाले सार्वजनिक बहसलाई बङ्ग्याउन फेसबुकको भूमिका रहेकाले यसको आलोचना गर्दै आउनुभएको छ । फेक समाचार मूल रूपमा वाक स्वतन्त्रताविरुद्धको गतिविधि हो । वाक स्वतन्त्रताका पनि आफ्नै सीमा छन् । सीमाबाहिर कोही जानु हुँदैन । यसअघि सन् १९०७ मा इटालीका पत्रकार एर्नेस्टो टिओडोरो मोनेटासहितलाई शान्ति पुरस्कार प्रदान गरिएको थियो । यसैगरी, सन् १९३५ मा जर्मनीका पत्रकार कार्लभोन ओसिच्कीले उक्त पुरस्कार दिइएको थियो । गत वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई दिइएको थियो ।

अर्थशास्त्र
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई दिइने भएको छ । श्रम अर्थशास्त्र र कारण सम्बन्धको विश्लेषणमा विशेष योगदान दिने तीन अर्थशास्त्रीले नोबेल पुरस्कार पाउनुभएको हो । नोबेल पुरस्कार समितिले डेभिड कार्ड, जोसुआ एन्ग्रिस्ट र गुइडो इम्बेन्सलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । डेभिड क्यानडाका, गुइडो नेदरल्यान्ड र जोसुआ अमेरिकाका अर्थशास्त्री हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?