logo
२०७९ श्रावण २५ बुधवार



नेपाल भूमिबाट भएको आन्दोलन

नेपाली राष्ट्रिय कांँग्रेसको स्थापनाको डेढ महिना नपुग्दै, मजदुर आन्दोलन प्रारम्भ भयो

विचार/दृष्टिकोण |


नेपाल भूमिबाट भएको आन्दोलन


पुरुषोत्तम बस्नेत
वि.सं. २००७ को जन–क्रान्ति एवं लामो सङ्घर्षपछिको २०४६ को जन–आन्दोलन र २०६२/६३ को जन–आन्दोलन यी सबै नेपालको अग्रगामी परिवर्तनका सम्बाहक थिए । यी सबैमा गिरिजाप्रसाद कोइराला ((गिरिजाबाबु) को नेतृत्वदायी भूमिका रह्यो । वि.सं. २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरस्थित खाल्सा स्कुलमा भएको अधिवेशनले–‘नेपाली राष्ट्रिय काँग्रेस’ को स्थापना ग-यो । नेपाली राष्ट्रिय काँग्रेसले आफ्नो उद्देश्यमा भनेको थियो–‘अहिंसात्मक साधनद्वारा, जनताको सहयोगले नेपालमा जन–उत्तरदायी शासन व्यवस्था स्थापना गर्ने ।’

नेपाली राष्ट्रिय काँग्रेसको स्थापना, नेपालको जनसङ्घर्षको इतिहासको एक अविस्मरणीय अध्याय थियो । यसले एकतन्त्रीय शासनको विरोधको सङ्घर्षमा आउन सबै चेतनशील नेपालीलाई अभिप्रेरित ग-यो । यसलाई गिरिजाबाबुले एकतन्त्रीय शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्ने एक उपयुक्त उपलब्धिको रूपमा लिनुभयो ।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सबैतिर उपभोग्य वस्तुहरूको अभाव बढ्दै गयो । नेपालमा उद्योगहरू सञ्चालन गरेर आवश्यक वस्तुहरूको उत्पादन गर्न सके, ती वस्तुहरूलाई भारतका बजारहरूमा पनि निर्यात गर्न सकिने राम्रो सम्भावना थियो । त्यसैकारण कतिपय व्यापारी र उद्योगपति विराटनगरमा उद्योग सञ्चालन गर्न इच्छुक थिए ।

यी सबैलाई दृष्टिगत गरेर वि.सं. २००० को प्रारम्भभन्दा केही पहिले विराटनगरको दक्षिण किनारको करिब डेढ माइल क्षेत्रफलको भूभागलाई औद्योगिक क्षेत्रको रूपमा छुट्याइयो । त्यहाँ–कटन मिल, जुट मिल, तेल मिल, सलाई कारखाना, केमिकल कारखाना आदि खुलेका थिए । कटन मिलमा केही समयदेखि गिरिजाप्रसादले काम गर्न थाल्नुभएको थियो । जुट मिलमा–तारणीप्रसाद कोइराला, गहेन्द्रहरि शर्मा, युवराज अधिकारी तथा केमिकल कारखानामा मनमोहन अधिकारी काम गर्नुहुन्थ्यो ।

कारखानाबाट सञ्चालकहरूले ठूलो मुनाफा कमाइरहेका थिए तर मजदुरहरूले उचित ज्याला पनि पाइरहेका थिएनन् । काम गर्दा गर्दै दुर्घटनामा परे वा बिरामी परे उपचारको कुनै व्यवस्था थिएन । रोजगारीको कुनै सुरक्षा थिएन । जसलाई जहिले पनि बर्खास्त गर्न सकिन्थ्यो । मजदुरहरूले लगातार दस–बाह्र घण्टासम्म काम गर्नुपथ्र्यो । काम गर्नुपर्ने समयको निर्धारण थिएन । उनीहरूलाई बोनस, उपदान आदिको कुनै व्यवस्था थिएन । काम गनुपर्ने ठाउँहरू फोहोर र अस्वस्थकर थिए । यी सबै असुविधा, असुरक्षा र शोषणहरूलाई मजदुरहरूले एक्लाएक्लै बेहोरिरहन परेको थियो । यी सबैको विरोधमा सङ्गठित भएर आवाज उठाउने कुनै मञ्च थिएन ।

सङ्गठित भएर एकले अर्कालाई सहयोग गर्ने उचित वातावरण थिएन । यी सबैलाई गिरिजा बाबुले नजिकैबाट हेरिरहनु भएको थियो । २००३ को फागुनको प्रारम्भसँगै उहाँ मजदुरहरूलाई सङ्गठित गरेर, कारखानामा भएका अव्यवस्था र शोषणको अन्त्य गर्न, मजदुरहरूको हक र हितको रक्षा गर्न सक्रिय भएर लागिरहनु भयो ।

गिरिजाबाबुलाई मजदुरहरूको सहयोग प्राप्त हुँदै गयो । अन्ततः २००३ को फागुन २१ को बिहान विराटनगरको सम्पूर्ण कारखानाका मजदुर जुट मिलको प्राङ्गणमा एकत्रित भएर उनीहरूका मागहरू पूरा नभएसम्म काममा नफर्कने अठोटका साथ आन्दोलनमा समाहित भए । यसरी नेपाली राष्ट्रिय कांँग्रेसको स्थापनाको डेढ महिना पनि नपुग्दै, गिरिजा बाबुको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भयो ।

त्यस दिन फागुन २१ को बिहानदेखि सबै कारखाना बन्द रहे । त्यसै दिन अपराह्न २ बजे, जुट मिलको प्राङ्गणमा विशाल आमसभा भयो । त्यहाँको विभिन्न कारखानामा कार्यरत पच्चीस–तीस हजार मजदुरहरू ठूलो उत्साहका साथ त्यसमा उपस्थित थिए । त्यो आन्दोलनको एउटा प्रमुख माग–मजदुरहरूले आफ्नो युनियन गठन गर्न पाउनु पर्छ भन्ने थियो । त्यही आमसभामा मजदुरहरूले आफ्नो युनियन गठन गरे । त्यसलाई ‘विराटनगर मजदुर युनियन’ भनियो । सर्वसम्मतिले गिरिजाप्रसाद कोइरालालाई त्यो युनियनको अध्यक्ष छानियो । त्यसको सचिवमा विश्वनाथ छानिए ।

हिन्दीका ख्यातिप्राप्त कथाकार तथा उपन्यासकार फणीश्वरनाथ रेणुले यो आन्दोलनलाई ठूलो सहयोग पु-याइरहेका थिए । उनले भारतका विभिन्न पत्रपत्रिकामा मजदुर आन्दोलनको हरेक दिनको समाचारहरू सम्प्रेषण गराइरहेका थिए । त्यसबाट बीपी कोइरालालगायत नेपाली राष्ट्रिय काँग्रेसका सबै नेताले यो आन्दोलनका बारेमा सबै कुराको जानकारी हासिल गरिरहेका थिए ।

नेपाली राष्ट्रिय काँग्रेसका नेताहरू–बीपी कोइराला, गणेशमान सिंह, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई फागुन २८ का दिन विराटनगर आइपुग्नु भयो । त्यहाँ गणेशमान सिंहलाई बेग्लै खतरा थियो । २००१ को असारमा उहाँ जेलबाट उम्कन सफल हुनुभयो । त्यसपछि उहाँलाई, १५ दिनभित्र आफैँ हाजिर हुन आउनु, नआए पक्राउ परेको बेला ज्यान सजाय हुनेछ भन्ने इस्तिहार त्यसैबेला जारी भइसकेको थियो । विराटनगरमा रहनु उहाँको निमित्त ज्यान सजायलाई पर्खनुजस्तै थियो । त्यसैले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले फागुन २९ देखि जोगवनीमा रहेर आन्दोलनलाई सहयोग पु-याउन थाल्नु भयो ।

नेपाली राष्ट्रिय काँग्रेसको स्थापना र त्यसका नेताहरू–बीपी कोइरालासमेतको उपस्थितिले आन्दोलनमा संलग्न सबैलाई ठूलो हौसला प्रदान गरेको थियो । उद्योगपतिहरू माग पूरा गरेर, आन्दोलन स्थगन गर्ने पक्षमा थिए तर यसबाट मजदुरहरूको मनोबल वृद्धि हुन्छ भन्ने धारणा सरकारको थियो । सरकारले मजदुरहरूको माग पूरा गर्न बाधा दिइरह्यो । आन्दोलन अझ अघि बढ्दै गयो । यसलाई दमन गर्न सरकारले काठमाडौंँबाट पठाएको २५० जना सैनिकको एउटा टोली चैत १० गते विराटनगर आयो । यसले चैत १२ गते बिहान– बीपी कोइराला, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलार्ई पक्राउ ग-यो । उहाँहरू सबैलाई विराटनगरबाट धनकुटा लगियो ।

चैत १२ कै दिन सरकारले उद्योगपतिबाट मजदुरहरूको सबै माग पूरा गरायो र अविलम्ब काममा फर्कन सबै मजदुरलाई आग्रह ग-यो तर मजदुरहरू कोही पनि काममा फर्केनन् । आफ्नो युनियनका अध्यक्ष गिरिजाप्रसाद समेत आन्दोलनलाई सहयोग पु-याउने सबै नेताहरूलाई पक्राउ गरेकोमा उनीहरू अझ आक्रोशित भए । पक्राउ गरिएका सबैको रिहाइको थप माग राखेर, चैत १४ गते उनीहरूले विशाल जुलुस प्रदर्शन गरे ।

आमा दिव्या कोइरालालगायत धेरै स्थानीय जनताको जुलुसमा सहभागिता थियो । निहत्था जनताको शान्तिपूर्ण जुलुसमा सेनाले गोली चलायो । मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए । अरू धेरै घाइते भए । त्यसै दिन, चैत १४ गते आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराईलगायत केही मजदुर नेताहरूलाई र अरूहरूलाई पनि पक्राउ गरियो । त्यस दिन पक्राउ गरिएकाहरू पनि सबैलाई धनकुटा लगियो । यो बर्बर दमनबाट आन्दोलन मत्थर भएन अझ चर्कंदै गयो ।

बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद, मनमोहन, गहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई धनकुटाबाट पूर्वी पहाडैपहाड–भोजपुर, ओखलढुङ्गा, रामेछाप, धुलिखेल हुँदै ‘अड्डासार’ बाट काठमाडौँ ल्याइयो । आमा दिव्या कोइरालालगायत चैत १४ गते पक्राउ गरिएकाहरू सबैलाई धनकुटा जेलमा राखियो । नेपाली राष्ट्रिय कांँग्रेसको कलकत्तामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मजदुर आन्दोलनलाई स्थगन गर्ने तथा पक्राउ गरिएकाहरू सबैलाई चैत मसान्तभित्र रिहा नगरिए, त्यसको विरोधमा २००४ को वैशाख १ देखि देशव्यापी रूपमा सत्याग्रह गर्ने निर्णय ग-यो । चैत मसान्तभित्र कसैलाई रिहा गरिएन । त्यसैले देशको धेरै भागमा सत्याग्रह सुरु भयो ।

अतुलनीय साहस र अगाध देशभक्तिको प्रदर्शन गर्दै धेरैले सत्याग्रहमा आफूलाई समर्पण गरे । सत्याग्रहमा सरिक हुने सबैलाई सरकारले कठोर दमन ग-यो । कतिलाई असहनीय यातना दिएर जेलमा र सैनिक गारतमा राख्यो तर यसबाट कोही पनि विचलित भएनन् । सत्याग्रह अझ अघि बढिरह्यो । काठमाडौँ उपत्यकामा लामो समयदेखि अनवरत रूपमा सञ्चालित सशक्त सत्याग्रहले प्रधानमन्त्री पद्म शमशेरलाई वैधानिक सुधार गर्ने र पक्राउ गरिएका सबैलाई रिहा गर्ने, त्यसको निमित्त सत्याग्रह रोकियोस् भन्न बाध्य पा-यो ।

२००४ को जेठ १९ र २० का दिन बनारसमा नेपाली राष्ट्रिय कांँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्यो । त्यो बैठकले सत्याग्रह स्थगन गर्ने निर्णय ग¥यो र पद्म शमशेरलाई वैधानिक सुधार गर्न र पक्राउ गरिएकाहरूलाई रिहा गर्ने अवसर दियो तर पद्म शमशेरले यसमा तत्परता देखाएनन् ।

स्वास्थ्य स्थिति केही नाजुक हुँदै गएकाले २००४ को भदौमा मात्र बीपीलाई तथा त्यसको केही पहिले आमा दिव्यालगायत महिला बन्दीहरूलाई रिहा गरियो । गिरिजाप्रसाद, तारिणीप्रसाद, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई उहाँहरूको २४ दिनको लामो अनशनपछि २००६ को मङ्सिर १५ गते मात्र रिहा गरियो ।

वास्तवमा गिरिजाबाबुको नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलन तुरुन्तै पछि सत्याग्रहमा रूपान्तरण भएर देशको धेरै ठाउँमा पुग्यो । नेपालको भूमिमा नेपाली जनताले आफ्ना मागहरू राखेर गरेको यो पहिलो ऐतिहासिक आन्दोलन थियो । प्रारम्भका दिनहरूमा नै नेपाली राष्ट्रिय काँग्रेसलाई यसले सशक्त आन्दोलनलाई पनि सँगै लिएर देशभित्र प्रवेश गरायो ।

सबै कुराको समाधान केवल गोली मात्र हो भन्ने सोचाइ राख्ने एकतन्त्रीय शासनको विरोधको सङ्घर्ष अहिंसात्मक तबरको हुन सक्दैन भन्ने यथार्थलाई पनि यसले उजागर ग-यो । यही यथार्थले नेपाली राष्ट्रिय कांँग्रेस र नेपाल प्रजातन्त्र कांँग्रेसको एकीकरण भयो र ‘नेपाली कांँग्रेस’ को गठन भयो । नेपाली कांँग्रेसले २००७ को जनक्रान्तिलाई सफल अवतरणमा पु-यायो । त्यो क्रान्तिद्वारा स्थापित युगान्तकारी उपलब्धिहरू खोसिदा जनताबाट भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनहरूलाई सुदूर अतीततिर फर्केर हेर्दा देखिने पहिलो पाइला यही– विराटनगरको मजदुर आन्दोलन थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?