पुरुषोत्तम बस्नेत
रेडियो नेपालको पहिलो आवाज २००७ को जनक्रान्तिको विराटनगर मोर्चाबाट प्रस्फुटन भएको थियो । नेपाली कांँग्रेसको जन–मुक्तिसेनाले २००७ कात्तिक २६ को मध्यरातमा वीरगञ्ज कब्जा गरेर जनक्रान्तिको प्रारम्भ ग¥यो । त्यसको भोलिपल्ट कात्तिक २७ कोे मध्यरातमा क्रान्तिकारीले विराटनगर माल र अरू केही कार्यालय कब्जा गरेर देशले जनक्रान्तिमा प्रवेश गरिसकेको सन्देश दिए । मङ्सिर १९ सम्म आइपुग्दा विराटनगरको बडाहाकिम भवनबाहेक त्यहाँका अरू सबै कार्यालयमा जन–मुक्तिसेनाले आफ्नो आधिपत्य स्थापित गरिसकेको थियो । जन–मुक्तिसेनाले आफ्नो प्रमुख कार्यालय विराटनगरको नेपाल बैङ्क लिमिटेडको भवनमा तथा त्यहाँको औद्योगिक क्षेत्रको भवनमा पनि यसले आफ्ना कार्यालय सञ्चालन गरेको थियो ।
सन् १९५० को डिसेम्बर ३ देखि तारिणीप्रसाद कोइराला र फणीश्वरनाथ रेणुको सम्पादनमा मुक्ति सन्देश बुलेटिन प्रकाशित हुन थालेको थियो । तारिणीप्रसाद कोइराला नेपालीका एक ख्यातिप्राप्त लेखक, कवि र गीतकार हुनुहुन्थ्यो । उहाँका कथा र कविता काठमाडौँबाट प्रकाशित हुने शारदा मासिकमा प्रकाशित भइरहेका थिए । फणीश्वरनाथ रेणु हिन्दीका एक वरिष्ठ लेखक हुनुहुन्थ्यो । उहाँहरू दुवै जनाबाटै मुक्ति सन्देशमा विराटनगरको क्रान्तिको विस्तृत फेहरिस्त एवं देशको अरू भागमा जनक्रान्ति कहाँ–कहाँ, कसरी अघि बढिरहेको छ, यी सबैको वस्तुपरक विवरण प्रकाशित हुन्थे । मुक्ति सन्देशमा छापिएका समाचार, सम्पादकीय, विश्लेषण, टिप्पणी तथा अरू सबै विवरण आदिले यसको लोकप्रियता सबैतिर बढिरहेको थियो । यसलाई खोजी–खोजी पढ्नेहरूको सङ्ख्यामा हरेक दिन वृद्धि भइरहेको थियो । यसले तारिणी र रेणुलाई उत्साहित पा-यो ।
देशको धेरै भागमा क्रान्ति सञ्चालन भइरहेको थियो । त्यसैले हुलाक वा अरू माध्यमबाट मुक्ति सन्देश सबैतिर पुग्न सक्तैनथ्यो । तारिणी र रेणुले त्यहाँको वायरलेस सेटलाई परिमार्जन गरेर रेडियो प्रसारण प्रारम्भ गर्ने योजना तयार पार्नुभयोे । त्यसबेला जनक्रान्तिका कमान्डर बीपी कोइराला विराटनगरको क्रान्ति मोर्चामा हुनुहुन्थ्यो । तारिणी र रेणुले बीपीलाई भेटेर रेडियो प्रसारणको योजना उहाँलाई अवगत गराउनुभयो । तारिणी र रेणुको योजना बीपीलाई उचित लाग्यो । २००७ को मङ्सिर २७ गते पटनाबाट नयाँ ट्रान्समिटर ल्याइयो । मङ्सिर २८ गते बिहान ८ बजेदेखि सर्टवेभ ४१ मिटर ब्यान्डमा रेडियो प्रसारण सुरु हुने सूचना दिइयो ।
२७ गतेको अपराह्नतिर विराटनगर जुट मिलको एउटा कोठालाई साउन्ड प्रुफ पारियो र त्यसमा वायरलेस सेट र अरू केही औजार राखियो । २७ गते साँझ बल्लतल्ल जोगबनीको भजनमण्डलीबाट रेणुले एउटा हारमोनियम प्राप्त गर्नुभयो । रेडियो प्रसारण सुरु हुनुभन्दा केही पहिले मङ्सिर २८ गते बिहान मात्र घाइते बिरामीको हेरचाह गर्न अस्पतालमा कार्यरत विजयालक्ष्मी कोइराला र रानु अधिकारी पनि रेडियो प्रसारण हुने स्थानमा आए । उहाँहरूको र वायरलेसमा काम गर्नेहरूको सामूहिक स्वरमा विराटनगरमा जनक्रान्तिको प्रारम्भसँंगै तयार पारिएको ‘नेपाली अघि बढ हातमा क्रान्ति झन्डा ली’को रिहर्सल गरियो ।
२००७ को मङ्सिर २८ गते बिहान ८ बज्न लाग्दा अपरेटर लामाले वायरलेस सेट मिलाए । त्यसपछि भरखरै रिहर्सल गरिएको क्रान्ति गीत सुनाइयो । ठीक ८ बजे बिहान माइक्रोफोनको अगाडि उभिएर तारिणीप्रसाद कोइरालाले भन्नुभयो, “जय नेपाल प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको अभिवादन ।” हामी नेपालको मुक्त क्षेत्र विराटनगरबाट प्रजातन्त्रको सन्देश सुनाउन लागेका छौंँ । त्यसपछि तारिणीप्रसाद कोइरालाले नेपालीमा समाचार वाचन गर्नुभयो । हिन्दीमा फणीश्वरनाथ रेणुले र अङ्ग्रेजीमा विजयालक्ष्मी कोइरालाले समाचार वाचन गर्नुभयो ।
मङ्सिर २८ देखि प्रत्येक बिहान दुई घण्टा, अपराह्न दुई घण्टा र साँझ दुई घण्टाको आफ्नो प्रसारणमा प्रजातन्त्र नेपाल रेडियोले क्रान्तिको सन्देश प्रसारित गरिरह्यो । २००३ सालमा आइपुगेपछि मात्र सबै नेपालीलाई पद्म शमशेरले रेडियो राख्न पाउने अनुमति दिएका थिए । त्यसैले २००७ सम्म पनि धेरैसित रेडियो थिएन । प्रजातन्त्र नेपाल रेडियोको प्रसारण प्रारम्भ हुन थालेपछि देशमा के भइरहेछ, त्यो थाहा पाउन उत्सुकता धेरैमा देखा प¥यो । रेडियो उपलब्ध हुने ठाउँमा धेरै मानिस एकत्रित भएर ध्यानमग्नताका साथ रेडियो सुन्न थाले । कहाँ–कहाँ जनक्रान्तिले कसरी सफलता हासिल गरिरहेको छ, त्यसको यथार्थ थाहा पाउन थाले । देशको धेरै भागमा बन्दुक र गोलीसँगै बढ्दै गएको जनक्रान्ति बोलीमा पनि रूपान्तरण हुँदै गयो । क्रान्तिभन्दा केही टाढा तटस्थजस्तो स्थितिमा बसिरहेका नेपालीलाई पनि प्रजातन्त्र नेपाल रेडियोले एकतन्त्रीय राणा शासनको विरोधमा उभिएर देशको निमित्त केही गर्न प्रेरणाा दियो, उत्साह र साहस दिइरह्यो ।
जन–मुक्तिसेना र राणा पक्षका सेनाको बीचमा दुवैतिरबाट धुवाँधार गोली चलिरहेको बेला दुवैतिरको गोलीको बीचमा सिङ्ग्याई नदीको किनारमा उभिएर एउटा ट्रकमा राखिएको ट्रान्समिटरबाट तारिणीप्रसाद कोइरालाले प्रत्यक्ष वर्णन दिइरहनुभयो । गोली र ग्रिनेडको आवाजले रेडियो सेटलाई नै हल्लाउने जस्तो स्थितिमा श्रोता भयभित भए तर दुईतिरको गोलीको बीचमा उभिएर तारिणीले आफ्नो असाधारण साहस प्रदर्शन गरिरहनुभयो ।
सम्पूर्ण मोरङमा जन–मुक्तिसेनाले आफ्नो आधिपत्य कायम गरेपछि रेडियो प्रसारणलाई बडाहाकिम भवनमा सारियो । त्यसबेलासम्म निर्भmर, राजेन्द्रप्रसाद, शान्ति मास्के र अरूहरू पनि प्रजातन्त्र नेपाल रेडियोको सहयोगी भएर आइसकेका थिए । रानु अधिकारीको स्वरमा तारिणीको क्रान्तिकारी गीतहरू मात्र होइन, अरू गीत पनि आउन थाले । प्रजातन्त्र नेपाल रेडियो क्रान्तिको सन्देश वाहकका रूपमा मात्र रहेन, यो सञ्चारको समग्र माध्यम भएर आयो । जनताको सुसूचित हुने हकको सशक्त माध्यम भएर आयो । यसले साहित्यका विभिन्न विधालाई र अरू कतिपय सामग्रीलाई आफ्नो कार्यक्रममा समावेश गर्दै गयो ।
नेपाली काँग्रेसको यही जनक्रान्तिले २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना ग-यो । यही ऐतिहासिक दिन फागुन ७ देखि युगकवि सिद्धिचरण श्रेष्ठ र गोविन्दबहादुर मल्ल ‘गोठाले’को सम्पादनमा दैनिक आवाज प्रकाशित हुन थालेको थियो । नेपालबाट प्रकाशित हुने यो पहिलो दैनिक थियो । नवस्थापित प्रजातन्त्रको संस्थागत विकासका प्रति प्रतिबद्ध भएर प्रजातन्त्र र नेपाली जनताको बीचमा सामञ्जस्य कायम गर्न र प्रजातन्त्रको उपादेयतालाई जन–जीवनसम्म पु-याउन आवाजको प्रकाशन सुरु भएको थियो । यसरी प्रजातन्त्रलाई सुदृढ पार्न सबै चेतनशील नेपाली लागिरहेका थिए । उनीहरू राजधानी काठमाडौंँबाट रेडियो प्रसारणको आवश्यकतालाई पनि महसुस गरिरहेका थिए ।
त्यसैले गृहमन्त्री बीपी कोइरालाले तारिणीप्रसाद कोइरालालाई काठमाडौँमा बोलाउनुभयो र प्रजातन्त्र नेपाल रेडियोको प्रसारणलाई विराटनगरबाट काठमाडौंँमा स्थानन्तरण गर्न भन्नुभयो । प्रजातन्त्र नेपाल रेडियोले विराटनगरको चैत १९ को प्रसारणमा भन्यो– भोलि चैत २० गतेदेखि यसको प्रसारण काठमाडौँबाट हुनेछ र यसको विराटनगरको प्रसारण बन्द हुनेछ ।
२००७ को चैत २० देखि प्रजातन्त्र नेपाल रेडियोको प्रसारण काठमाडौँको सिंहदरबारभित्र, राणाहरूको छोराछोरीको पठनपाठन हुने स्कुल भनिने भवनबाट सुरु भयो । तारिणीप्रसाद कोइराला यसको डाइरेक्टर हुनुहुन्थ्यो । यसको प्रमुख सहयोगी बालकृष्ण सम हुनुहुन्थ्यो । उहाँको छोरी रश्मी राज्यलक्ष्मी शाह थिइन् । छोरा जनार्दन सम थिए । अरू सहयोगी थिए– नातिकाजी, हरिप्रसाद रिमाल, रत्नदास प्रकाश, धर्मराज थापा, कोइली देवी, भैरवबहादुर थापा, उही गोविन्दबहादुर गुरुङ, एम.एस. देवकोटा, नीरविक्रम प्यासी आदि ।
काठमाडौँबाट पनि प्रजातन्त्र नेपाल रेडियोले विराटनगरकै निरन्तरतामा नेपाली, हिन्दी र अङ्ग्रेजीमा समाचार प्रसारित ग-यो । केहीपछि नेवारीमा पनि समाचार वाचन हुन थाल्यो । जनताको सुसूचित हुने हकको सम्मान गर्ने र अरू कतिपय कुरामा यसले सधैँ ध्यान दिइरह्यो । यसले छात्र कार्यक्रम, महिला कार्यक्रम आदि तथा कथा, कविता, नाटक, आधुनिक गीत, लोकगीत प्रसारित गरिरह्यो । प्रत्येक शनिबार प्रसारित हुने बालबाटिका कार्यक्रमलाई तारिणीप्रसाद कोइराला आफैँले सञ्चालन गर्नुहुन्थ्यो । यी सबैबाट प्रजातन्त्र नेपाल रेडियोले आफ्नो श्रोता बढाउँदै लग्यो । यो घर–घरमा पुग्यो । व्यक्ति–व्यक्तिमा पुग्यो । २००८ को असारमा यसको नाम परिवर्तन गरियो र यसलाई ‘रेडियो नेपाल’ भनियो ।
प्रजातन्त्र नेपाल रेडियोले आफ्नो आवाज लिएर आउँदा, ‘नेपाल’ले त्यसबेला राजधानी काठमाडौँलाई मात्र बुझाउने गथ्र्यो । हिमाल, पहाड, मधेस समग्र देशको अविभाज्यता ‘नेपाल’मा प्रकट हुनुपर्छ भन्ने राष्ट्रिय भावनालाई प्रजातन्त्र नेपाल रेडियोको प्रत्येक दिनको पहिलो आवाज ‘जय नेपाल’मा र जनक्रान्तिको मोर्चामा जन–मुक्तिसेनाको आफ्नो आवाज ‘जय नेपाल’मा यही राष्ट्रिय भावना अन्तरनिहित थियो । यो ‘जय नेपाल’ले अहिलेसम्म पनि रेडियो नेपालमा र जन–मुक्तिसेना समाहित नेपाल प्रहरीमा निरन्तरता पाइरहेको छ ।