logo
२०८१ बैशाख १३ बिहीवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



सभापतिमा प्रधानमन्त्रीसहित छ जनाको उम्मेदवारी

राजनीति |


सभापतिमा प्रधानमन्त्रीसहित छ जनाको उम्मेदवारी
तस्बिरः केशब गुरुङ्ग


काठमाडौं, मङ्सिर २५ गते । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा छ जनाले सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित छ जनाले शनिबार उम्मेदवारी दर्ता गर्नुभएको हो ।

काँग्रेस सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेलको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्याय र कमला पन्त, जनजातीतर्फ भिष्मराज आङ्दाम्बे र विकास लामा ,मधेशीतर्फ महेन्द्र यादव र रामकृष्ण यादव, खसआर्यतर्फ किशोरसिं राठोर र देवराज चालीसे, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी मुष्लिमतर्फ फरम्ल्ला मनसुर र शेद वकिल, पिछडिएकोतर्फ जीवनबहादुर शाही र बद्री पाण्डे तथा दलिततर्फ मान बहादुर विश्वकर्मा र जीवन परियारले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी, सभापतिमा डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सभापति उम्मेदवारमध्ये गुरुङ्ग र न्यौपानेले एक्लाएक्लै उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकास शर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ । सँगै सहमहामन्त्रीमा रञ्जीत कर्ण, गंगा सुनार, चेतराज बजाल र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 त्यस्तै राससका अनुसार केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।    
    
 यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।    
    
 यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।    
    
 यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो ।    

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?